नर्तांगिनी

डम्बर ओस्ती / क्यानाडा

हजारौ-हजार दर्शकहरु बीच
छाम-छाम गरी नाच्दछे एउटी नर्तांगिनी
उनीहरुको मनोकांक्षा पुरा गर्नु छ
उनीहरुलाई आनन्द तुल्याउनु छ
आफू समयसीमा भित्र रहेर पनि
उनीहरुको समय सार्थक बनाइदिनुछ
एउटी नर्तांगिनीले |
जब ऊ मन्चमा पुग्दछे
दर्शकहरुले भब्य स्वागत गरेको देख्दछे
बस् ! उसले आफ्नू वास्तविक जीवन बिर्सिदिन्छे
मानौ ऊ आफूलाई स्वर्गकी अप्सरा ठान्दछे
वा ! क्या रुप छ !
सुन्दर छे/आकर्षक छे
नाशालु हेराइ छ
संगीतमा जादु छ
गीतका शब्दहरुले बोल्दै थिए
“सुन्दर संसार छ
सुन्दर संसारको सुन्दरी हुँ म
आऊ अंकमाल गरी बिताउँ जीवन |”
अहा ! गीतमा क्या दम छ
ऊ शब्द-शब्दलाई अभिनयमा पगाल्दछे
मानौं ऊ संसारकी सबैभन्दा खुशी छे
मख्ख छे/ सन्तुष्ट छे
तर ऊ आफ्नू वास्तविक जीवन भन्दा धेरै टाढा छे
अनि साटिरहिछे पल-पललाई
आफ्नू अमुल्य जीवनलाई
मात्र पाँच रुपयाँमा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *