नयाँ वर्ष

डम्बर ओस्ती / क्यानाडा

भर्खर जस्तो लाग्छ
नयाँ वर्षको शुभकामना साटा-साट गरेको
थाहै नपाइकन बगेछ समय त
एक वर्ष भैसकेछ भित्ते पात्रोमा हेर्दा
भित्ते पात्रोले त नयाँ वर्षको तिथि-मिति
लिएर आइसकेछ
तर मलाई विश्वास नै लागेको छैन
नयाँ वर्ष आयो भनेर
किन कि
यसपालिको नयाँ वर्षमा
कुनै रौनक नै छैन
कुनै स्फूर्ति नै देखिँदैन
छ केवल आलस्य र निम्जोपन |
मान्छेहरुमा पनि
नयाँ वर्षाले कुनै नूतनपन दिने लक्षण देखिँदैन
उही पुरातन सोच
पुरानै गतिबिधि
पुरानै समस्या
अनि उही पुरानै राजनैतिक किचलो
खोइ त के आशा गर्नु नयाँ वर्षबाट ?
अनि के साट्नु नयाँ वर्षको शुभकामना ?
हामीले एक आपसमा आदान-प्रदान गरेको शुभकामनाको
उपहाश गर्छ यो नयाँ वर्ष !
अनि हामीले रोजेको शान्तिलाई अपहरण गरिदिन्छ र
अशान्ति बाँडिदिन्छ
हामीले कामना गरेको शु-स्वास्थ्यलाई खोसेर
भयानक रोगब्याधि ,महामारी फैलाइदिन्छ
हाम्रो खुशी चोरेर
दु:ख र पीडा मात्र दिन्छ |
यो कस्तो नयाँ वर्ष ?
के हामीले एक आपसमा साटा-साट गर्ने
कार्डहरुमा/पत्रहरुमा यहि ईच्छा गरेका हुन्छौं र ?
हाम्रो स्वाभिमानको खिल्ली उडाउँछ
अनिच्छामै हामीलाई पराइको दाश बनाउँछ
पात्रोमा वर्णित राशिफल आफैंमा अपमानित छ
सुनामी, ज्वालामुखी र भू-कम्प जस्ता
मानव हिंस्रक,
भयानक प्राकृतिक प्रकोप थोपरिदिन्छ
हरेक वर्ष, यो नयाँ वर्षले|
त्यसैले हे ! नयाँ वर्ष !
यसपाली त तेरै ईच्छा अनुसारको
शुभकामना साटा-साट गर्ने बिचार गरेकोछु
के छ यो वर्षको भीषण योजना?
भित्ते पात्रोमा स्पष्ट सन्देश पठाइदे
सोही मुताविकको शुभकामना आदन-प्रदान गर्न सकौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *