रातो फायल

Filed under: Bhakta Ghimire,Fiction,Nepali,कथा |

भक्त घिमिरे

कथाकार

कथाकार

 आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो मेरो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ । इन्दिराले चिया ल्याएर छेउमा राखिदिएकी थिइन्, पिउनै भुलेंछु । चाहिने दस्तावेजहरु खोजिरहें घण्टौसम्म । कागजका डंगुरहरु केलाउँदै जाँदा एउटा पुरानो रातो फायलमा धुलोले पुर्नलागेको मैला, बाक्लो कागजको ठेली भेटियो । राम्रा नेपाली अक्षरमा लेखिएको पाण्डुलिपि थियो त्यो । यतिकैमा भक्खरै मेरिल्याण्डबाट बसाईँ सरी आएका रामहरि काका आइपुगे । “के गर्दैछस् हौ काइँला ?” एक सासमा काकाको पहिलो प्रश्न थियो । सामान्य उत्तर दिएँ, के गर्नु र काका, आज विदाको दिनलाई काममा लाउँदैछु ।

छेउको कुर्सीमा बस्न आग्रह गर्दै इन्दिराले काकाको लागि पनि चियाको ग्लास ल्याएर मेचमा राखिन् । मैले सोधें, अनि किन कसरी एक्रोनमा बसाईँ सर्नु भो त काका ?

“खै, मेरिल्याण्डको बाल्टिमोर भन्ने ठाममा संस्थाले ल्याएर राखिदिएको थियो । केही महिना अंग्रेजी पढ्न  गइयो । त्यसपछि काममा लागेको, राम्रै थियो तर, सुरक्षा छैन र’छ हौ काइँला”, काकाको अमूर्त उत्तर थियो । अझै केही भन्नु छ काकाको भन्ने आशयले उनको अनुहारमा प्रश्नात्मक नजरले हेरेंमात्र नबोली नै ! उनी  बोल्दै गए,“सारै नराम्रो लाग्यो; बाटो हिँड्नै नसकिने । कुटाइ खानुपर्ने कि त पैसा लुटाउनु पर्ने सधैं । सोध न, त्यहाँबाट आउनेहरु कि कुटिएका कि त लुटिएका छन् सबै । केहीबेर रोकिएर फेरि बोले, “त्यहाँ किनेको गाडी उतै जेठो छोरालाई छोडेर आइयो । यहाँ आएर पनि धेरै दुःखले साँचेर गाडी त किनेको छु । तर, कुदाउन सिकेको छैन । आज तीन बजी काकीको अस्पताल छ, लगी दिन्छस् कि भनेर पो आ’को म ता ।”  काकालाई नआत्तिन भनें र आफ्नो काम सकेपछि अपरान्हतिर जाँदा पनि भ्याइन्छ है भन्दिएँ ।

“चिया सेलायो काका, पिइहाल्नुस”, ग्लासतिर संकेत गर्दै यति भनिराखेर रातो फायल उनको हातमा थमाएँ र खोलेर पढ्न अनुरोध गरें अनि मचाहिं कागज छान्ने काममै लागें । “आफूले त स्कूलको मुखै देखिएन । उहिले गोठ बस्दा बा’ले बाह्रखरी सिकाएका हुन् । त्यसपछि खनाल मामाको छोरा बलरामले रामायण र महाभारत घोकाएको थियो । धन्य ठान्छु आज बा’ र बलरामलाई; उनीहरुले  घोकाएर पढ्न सिकाएकाले नै यति काम दियो आज । तर, खै- निकै धुलो लागेर अक्षर मेटिन लाग्या रै’छन्”, यति भन्दै काका ढिलो ढिलो गरी डायरी शैलीमा लेखिएको त्यो पाण्डुलिपिका अक्षर ‘उक्काउन’ थाले ।

शुरुमा काकाले कसैको नाम उच्चारण गरे,“सुदर्शन शर्मा”, मैले बुझें यो नाम लेखकको हुनुपर्छ । अनि काका पढ्न थाले खर…रर… अगाडि ।

अक्टोबर महिनाको अन्तिम साता । थिम्पूमा ठण्डी शुरु हुनअघिको निकै रमाइलो मौसम । टाशीछोजोङ रजादरबारकै छेउको ‘रोयल सिभिल सर्भिस कमिशन’ (आरसीएससी) मुख्यालयबाट निकै ठूलो छाती बनाएर बाहिर निस्किएँ ।

सानै उमेरमा निकै राम्रो तहको जागिर पाउने ‘एम्प्लोइमेण्ट काउनसेलर’ फुञ्छो वाङ्दीको आश्वासनले मेरो खुट्टा भुइँमा थिएन । दौडिँदै मोतिथाङस्थित आफ्नो कोठामा पुगें । त्यतिकै कसलाई भेटुँ र सुनाउँ नोकरी पाएको पौरखी कुरा भइरहेको थियो मनमा । दैलोमा ठक् ठक् आवाज दियो कसैले । दैलो खोलेर भित्र आउन अनुरोध गरें । गाउँमा छिमेकी बजगाईं बडा बा’का छोरा हस्त दाइ रहेछन्; हामी मालदाइ भन्थ्यौं । मभन्दा निकै ‘सिनियर’ मालदाइ तर, कक्षा ‘छ’ मा पढ्दै स्कूल छोडेर उनले सरकारी नोकरी गरेको पनि दुई वर्ष भइसकेको थियो । उनलाई कोठामा पसेर कुर्सीमा बस्न संकेत गरिराखें र म एउटा मूडा तानेर बसें । मैले जागिर पाउन लागेको कुरा पनि उनलाई सुनाएँ । के जागिर, कस्तो जागिर मलाई सोधिरहे तर, मैले कुनै उत्तर दिइनँ । “आवेशमा निर्णय लिएर उत्ताउलिनु हुँदैन, उमेर छ, पढ्न नछोड्नु”, भन्दै मालदाइ सम्झाउँदै थिए तर, म भने उनले भन्दा दुई क्लास माथि पढिसकेकोमा मनमनै दम्भ कसिरहेको थिएँ । उनले चाहिं मभन्दा दुई क्लास कम्ती पढेर पनि दुई वर्षदेखि सरकारी नोकरी गर्दा हुने, मैलेचाहिं अझै पढिरहनुपर्ने ! नातामा पनि दाइ, सरकारी पद पनि अलिक राम्रै खाले भएकाले उनलाई मैले ठाडै जवाफ लाउन सकिनँ ।

त्यसताक भूटान भनेको सरकारी नोकरशाहहरुले चलाएको राज्य थियो । देशभरि नै चाटुकार नोकरशाहहरुको दबदबा थियो । नोकरशाहहरुले चाहेमा सुल्टालाई उल्टा र उल्टालाई सुल्टा सजिलै पारिदिन्थे । परिवारभित्रै पनि यस्ता जालहरु फिजाइन्थे । जताततै यस्ता दाउपेच हाबी भएका अनेक उदाहरणहरु थिए । मानिसहरु भन्थे,“जित्नु पर्छ भने सहनुपर्छ”, यसै कारण म बोलिनँ । चुपचाप बसिरहें, उनी उठेर गए । मेरो एउटा मनले भन्यो,‘ज्या है, बेकारमा मैले आफ्नै गाउँका छिमेकी दाइ आउँदा पनि के जित्ने र हार्ने सोच बनाएँ, आखिर उनले मेरो नहुँदो पनि त भनेका थिएनन् !’ फेरि गिदीको पल्लो कुनाबाट अर्को मन बोल्यो,‘किन हुन्थ्यो, यसले मेरो भलो गरेको हैन, मैले नोकरी पाउन लागेको बुझेर डाह गरेको । उसले कम पढेर नोकरी गर्दै गरेकोले उभन्दा माथिल्लो तहमा भोलि मेरो पद बहाल भयो भने अप्ठेरो पर्ला भनेर यसले मलाई तर्काउँदैछ !’

यसरी नै मनमा अनेकन प्रसंगले ठेलाठेल गरिरहे । धेरैबेर मनमा खुल्दुलीहरुको लडीबडी भयो । थाहा छैन किन हो फुञ्छो वाङ्दी मप्रति त्यति दयावान् भएर आज ‘जब अफर्’ दिइरहेका दिए । नातावाद-कृपावाद जे भने निः उनीसँगको मेरो साइँनो भनेको उहिले नै गाउँको प्राथमिक स्कूलमा उनी मेरा शिक्षक थिए । म बिहानै धने मण्डलको टुङ्सी घरमाथिको उनको डेरामा ठिकाको एक पावा दूध पुऱ्याउँथें अनि एक क्षण पर्खेर उनीसँगै स्कूल जान्थें । उनी डेरामा एक्लै बस्थे । फुञ्छो वाङ्दीले कैयौंपटक झरीमा मलाई छाता ओडाएर सुरक्षित स्कूल पुऱ्याउँथे त कहिले हिलोमा टेक्न नदिई बोकेर बाटो कटाउँथे । आफ्नै बाल्यकालका माया गर्ने गुरुबाबू आज त्यस्तो ठूलो पदमा आसीन देख्दा मलाई भित्रैबाट हर्ष जागेर आएको थियो । सामान्य प्राथमिक स्कूलका शिक्षकलाई राजकीय लोकसेवा आयोग (रोयल सिभिल सर्भिस कमिशन)-मा नियुक्ति दिइनुको रहस्य पनि राजशाहीहरुमा देशका नागरिकहरुबीच जातीय सन्तुलनबारे फेरिँदै गएको सोच र देशको मौजुदा राजनीतिक परिस्थिति मूल कारक रहेको उनैले भनेपछि मलाई थाहा भयो ।

सन् १९८०मा उनी मेरा शिक्षक भएदेखि १९८८ को आज यतिका दिनसम्ममा झरनाहरुले कति पानी बगाइसके, रुख-बिरुवाले कति पालुवा फेरिसके; राजनीतिक, सामाजिक परिस्थितिले कैयौं कोल्टे फेरिसकेको अवस्थामा हामीले पनि कतिवटा वैचारिक परिवर्तनका सिँढीहरु टेकिसक्यौं; कहाँ हिसाब थियो र ! तै पनि आज धेरै अर्ती-उपदेशका साथमा फुञ्छो वाङ्दीले मलाई जागिरको दिलासा दिए । मनभित्रैबाट उनीप्रति कृतज्ञ बनें । महाभारतको ‘युद्धपर्व’सम्झिँदै फुञ्छो वाङ्दीलाई गुरु द्रोणसँग तुलना गर्न पुगें । भनिन्छ,‘कुरुक्षेत्रको युद्धमा कौरव पक्षका सेनापति बनिसक्दा पनि गुरु द्रोणलाई पाण्डुपुत्र अर्जुनप्रतिको स्नेह टुटेकै थिएन ।’

जागिरको अवसर पाएर खुशी त भएकै थिएँ तर, भूटानको नागरिक परिचयको प्रतिलिपि ‘आरसीएससी’ मुख्यालयमा बुझाउनुपर्ने शर्तले जागिर पाउनलाई मेरो लागि अग्निपरीक्षा खडा गरिदियो । तत्कालीन प्रचलित कानून अनुसार १६ वर्ष पुगेपछि नागरिकताको फोटो खिच्नु पर्थ्यो । छिटो स्कूल भर्ना गर्नलाई बा’ले साबिकभन्दा उमेर बढाइदिनु भएकाले दुई वर्षअघि नैउमेर पुगेर ब्लक मण्डलकोमा मेरो नागरिकताको फोटो खिचिएको थियो; यानिकि १४ वर्षको हुँदै म कानुनी तहमा १६ को पट्ठो बनिसकेको थिएँ । यस अनुसार म सरकारी तथ्यांकमा १८ भइसकें तर, साबिकमा १६ वर्षमात्र हुँदै थिएँ ।दुई वर्षअघि यसरी मण्डलकोमा खिचेको नागरिकताको फोटो थिम्पूमा कहाँबाट कसरी लिने केही थाहा थिएन । उमेर पनि सानै र विद्धार्थी जीवन भएकोले वरपर जाँदा बक्खु लाउनु पर्नेबाहेक कतिपय सरकारी नीति-नियम र कानूनबारे जानकार पनि थिइनँ म । धेरैजनासँग सोधखोज गरेपछि कसैले भन्दियो-‘इमिग्रेशन अफिस’ मा गयो भने पहिले खिचेको नागरिकता पाइन्छ ।

थिम्पूमा बसेको दुईवर्ष नाघिसकेको थियो । तैपनि इमिग्रेशन अफिस कता छ भन्ने कसरी जान्नु ! सरोकारको काम नपरी त्यस्ता सिंहका आशन (सिंहासन) भएका कार्यालयहरु कसले चहारी बस्थ्यो र ! तर, कहर लागेपछि त मान्छेले जत्रै पहरा पनि नाघ्नु पर्दोरै’छ । जत्रै चट्टान फोर्नु पर्दोरै’छ । धेरै जनालाई गुहार मागेपछि बाटोसम्म थाहा भयो । अब कोठामा पसें र बन्नथालें भूटानको तत्कालीन कानूनले बताए अनुसारको ‘असल भूटानी नागरिक ।’ स्कूलमा सधैं लाउने गरेकाले बक्खु त सजिलै लाइयो । त्यसपछिको औपचारिकता के के थियो; मलाई ज्ञान थिएन । सधैं स्कूल जाँदा लगाउने क्यान्भसको सेतो जुत्ता मैलो थियो । अघिल्लो हप्ता कक्षाको साथी टासी दोर्जीसित फुञ्छोलिङ जाँदा किनेको ‘बाटा’ कम्पनीको नयाँ हवाई स्याण्डल खुट्टामा भिरें । तिनताक भारतमा बनेको ‘बाटा’ कम्पनीको जुत्ता-चप्पल लाउनु भनेको देहाती गाउँमा टीनको छानो भएको घर बनाउनु जस्तै थियो । कपाल कोरें र चिरिच्याट्टै भएँ अनि ऐना हेर्दै फुच्चे उमेरमै जागिरदार हुने कुरा सोचेर मुसुक्क मुस्काएँ ।

दैलोमा ताला ठोकेर बाहिर निस्कँदै गर्दा मेरो गरिबीले गिज्यायो एकपटक, बक्खु एउटै मात्र थियो स्कूल जाँदा लाउने । अघिल्लो दिन स्कूलमा दिउँसोको खाजा खाँदा तरकारीको कस लागेर टाटो बसेको रहेछ; बक्खु अलिकति बैगुनी रंगको हुँदा परैबाट झलक्क नदेखिँदो रहेछ; मलाई ख्यालै भएन । अर्को फेरफारे बक्खु थिएन, इमिग्रेशन अफिस बन्द नभई पुग्नुपर्ने चटारोले पोलिरहेको थियो, त्यत्तिकै हिडें ।

आफ्नो गरिबीप्रति तिक्तता पोख्तै अब जागिर गरेर आफ्ना र आफन्तका चाहना पनि सकेसम्म पूरा गर्ने मनमनै अठोट लिएँ । हाम्रो घाराना गरिबीको निकै गतिलो बाकलले कोलमाथि थिचेर चेप्टिएको पेचाजस्तो थियो । खेती-बालीले वर्षदिन खाने अन्न उब्जाउन हम्मे थियो; गाई गोठबाट आएको आम्दानी वर्षदिनको भगतराम कैंयाँको बाँकी बुझाउँदै सकिन्थ्यो । बा’ त बेलाबखत नेपालतिर जमीन किन्न ठाउँ हेर्ने भन्दै देश-परदेश घुमिरहनु हुन्थ्यो तर, गरिबीले गाँजेर बत्तिस ठाउँ टालेको धोत्ती-साडी लाएकी मेरी आमाको चालिस ठाउँ खुम्चिएको अनुहार मैले राम्ररी देखेको थिएँ । उहिले नै चार वर्षको छँदा मैले कुरैकुरामा एकदिन आमालाई ठूलो भएर राम्रो नयाँ साडी किनीदिने वचन दिएको पनि झल्झलि सम्झिएँ । मेरो हैसियत र मेरा बा’को दर्जा तुलना गर्दै यसरी मेरो दिमागले अनेक कुरा केलायो ।

स्कूलमा चाहिने खर्च शिव दाइले कहिलेकाहीं दिनु हुन्थ्यो । तर, दिनेहरुलाई सधैं दिइरहन पुग्दैन तर, टिनेजरहरु माग्न छोड्दैनन्, भएरै नदिएको बुझ्दछन् । टिनेजको एउटा खुड्किलो यस्तो हुन्छ; केही कुराको चाहना यति गहिरो हुन्छ कि त्यो पूरा हुनसकेन भने जीवनभरिलाई पीडा हुनेगरी मन हुँडल्छ । आवेगमा कुनै निर्णय लिइयो भने त्यसले जीवनभरिलाई असर पुग्छ । अनि पछि छिपिएर अनुभवी हुँदै जाँदा आफूले विगतमा उठाएका कदमहरुप्रति आफैंलाई घृणा जाग्छ । मनै अमिलिने गरी पछुतो हुन्छ ।

यद्धपि यो सोचको विपरीत नै थिएँ म झैं लाग्छ मलाई । अर्थात् मैले टिनेजको मनोविज्ञानबारे थाहा नै पाइनँ ! किनकि विषयगत तर्क र व्यावहारिक मिमांसाभन्दा अरु  ‘टिनेजर लिँडेढिपी’, उत्ताउलोपन मेरो मनमा कहिल्यै आएन । स्कूलबाट खर्च लिन घर जाँदा पनि आमाको श्रमले अलि अलि जोहो गरेको लिएर हिँड्न मनले दिँदै दिँदैन थ्यो । घरमा मभन्दा साना भाइ र बहिनी पनि स्कूल जान्थे । गोरे काकाले गोठबाट घिउ र छुर्पी बेचेर राख्न दिएको आना-सुको गरेर आमाले साइँला दाइ, मलगायत भाइ-बहिनीलाई पनि पुऱ्याउनु हुन्थ्यो । फेरि हाम्रो गोठबाट घिउ र छुर्पी बिक्न थालेको पनि कहाँ धेर भएको थियो र ! बा’ले गोठकै पनि राम्रो परिबन्द मिलाउनु हुन्न थ्यो । कहिले ७० दिनको झार्लांगी भन्यो कहिले के ! फेरि झार्लांगी पनि पारिश्रमिकबना, आफ्नै सातु-चामल बोकेर जानुपर्ने ! वर्षैभरि यस्तै केही न केही त परी नै रहन्थ्यो । त्यतिकै पनि बा’ एक दिनलाई बजार गएर दुई महिनामा फर्किनु हुन्थ्यो । कहाँ जानु हुन्थ्यो, कसैलाई थाहा नाई ! गोरे काका आएर हाम्रो गोठ धान्नथालेपछि मात्र अलिकति गोठ सप्रिएको थियो, आय-आर्जन हुनथालेको थियो । कहिलेकाहीँ गोरे काका गोठबाट घर आएको बेला बा’का बारेमा सोधे “चुप लाग, ठूला मान्छेको कुरा गर्नु हुँदैन, बा’लाई राजनीति लागेको छ”, हात हल्लाएर यति मात्रै भन्नुहुन्थ्यो ।

गोरे काकाको सानैदेखि बोली थिएन, पढ्न पनि नपाएका । तर, नपढेर के भो र; सारै बाठा, टाढायो यात्रा गर्न र ठूलो हिसाबको काम परेमा गाउँका मान्छेसमेत उनलाई गुहार माग्न आइपुग्थे । भूटानबाट सिलगढीमा सुन्तला बेच्न ल्याउने गाडीवालहरुले पनि गोरे काकाको सम्झना गर्थे भनेको सुन्या थिएँ मैले । पछि ९० को जुलुसमा नारा लाउँदा लाउँदै गोरे काकाको बोली खुलेर एकैचोटि ‘…जिन्दावाद भन्यो गोरेले’ भन्थे मानिसहरु । तर, असलमा जुलुसको केही दिन अघिदेखि नै उनी बोल्नथालेका थिए रे ! काकाले हामी सबै दाजु-भाइ र बहिनीलाई असाध्य माया गर्ने । ठूलो दाइ धेरै रोगी, वर्षौंदेखि अस्पतालकै बास थियो । माइला दाइ गरिबीले निचोरेर चाउरिएको निम्बूझैं पढ्न नपाएको झोंकमा थिम्पूतिरै सानोतिनो व्यापार थालेर अल्मलिए । म सानै छँदा बा’ले ‘पढ्न छोडेर झार्लांगी तिर्न जा’ भनेपछि माइला दाइ झोंक्किएर घर छोडेका मलाई पनि थाहा थियो । “बेठी-बेगारले आफ्नो खेती-कमाइ गर्न नपाए अनिकाल लाग्छ, त्यही भएर तैंले घरमै काम गर्नु, कि झार्लांगी तिर्न जानु; पढ्न जान पर्दै ”, बा’ ले दाइलाई भनेका कुरा मलाई अझै सम्झना छ । साइँला दाइ पनि टाढाको स्कूलमा पढन्ता ! मेरो लागि घर जाँदा आमाबाहेक अरु अभिभावक कोही थिएन । त्यसैले चाराना चाहिए आमा, आठाना चाहिए आमा;  गाउँघरमा धेरै नगद त धनीहरुकैमा पनि विरलै जोहो हुन्थ्यो ! यसै पनि सानोमा कुनै चीजको अधिक चाह हुँदा वा खर्च चाहिएमा सबैले आमासँगै हो गन्गनाउने ।

बा’लाई स्कूलमा खर्च चाहिन्छ भन्यो भने खरो जवाफ दिइहाल्नु हुन्थ्यो,“पाँच-छ क्लास पढेकाहरु कत्रा कत्रा ‘डासु’ भईरा’न, तँचाहिं के पढी रहन्छस् । नकुरी खोजेर पैसा कमा न ।” बा’लाई छोरोले कमाएर घर चलाउन आर्थिक टेवा दिन्छ भन्ने आशाले हो वा मेरो पनि सरकारी जागिर खाने छोरो छ भनेर गाउँमा धाक दिने घमण्डले यसो भन्न अभिप्रेरित गरेको थियो, मलाई थाहा छैन । तर, गाउँमा मेरा बा’को चप्राशी धक्कु निक्कै चल्छ भन्ने ज्ञानचाहिं मलाई थियो नै ! दशकौं पहिले भूटानको तेस्रो महाराजा जिग्मे दोर्जी वाङ्चुकको पालामा मेरा बा’ लब्सीबोटेमा चप्रासी हुनुहुन्थ्यो रे…। चप्रासी भनेको भूटानको तत्कालीन प्रहरी ! “न्याउली बाउले खटाएर पठा’को चप्रासी भनेपछि मदेखि जिल्ला थरर्हरी हुन्थ्यो, मलाई के ठान्या छौ तिमेर्ले ?” बा’ ले बेलाबखत फूर्ति देखाउनु परेको बेला भन्नुहुन्थ्यो ।

न्याउली बाउ भनेका झुलेन्द्र प्रधान, भूटानको भौगोलिक संचरनामा समेत महत्वूर्ण भूमिका खेलेका मान्छे । झुलेन्द्र प्रधान, गर्जमान गुरुङ, सुब्बा डीसी साहेब, माधव उपाध्याय जस्ताहरुको ठूलो योगदान छ वर्तमान भूटान देशको संरचना बन्नुमा । उनीहरुमा मुद्दा-मामिलाको फसेला गर्ने, तिरो-कर उठाउने, बस्ती बसाउनेसम्मको हक थियो रे त्यतिबेला ।

यस्तै विगत र वर्तमानका अनेकौं कुरा मस्तिष्कमा पौंठेजोरी खेलाउँदै मोतिथाङबाट ओरालो झरी ताकछाङ होटलको आडबाट बाटो मोडें । नजिकैको रोयल सिनेमा हलछेउको कुइनेटो काटेपछि चोरबाटो थियो । चाम्लिमिथाङ फुटबल ग्राउण्डमा कहिलेकाहीं जाने गरेकोले त्यहाँसम्म कुनै सकस थिएन । त्यसपछि बताइएको बाटो सरासर लागें पैदल । बाटोमा जाँदा जाँदै कतिबेलामा म कल्पनालोकमा हराएँ ख्यालै भएन ! बालककालमा हजूर बा’ले आसामबाट हाम्रोमा आउँदा सुनाउनु भएको भूटान स्टेट कंग्रेसको राजनीतिक आन्दोलन र त्यसकै समयान्तरिक पात्रहरुमा मेरो ध्यान केन्द्रित भएछ । कुनै चर्चमा पादरीले प्रभू यशुका बारे प्रवचन दिएझैं कल्पनामा मेरा हजूर बा’ एकोहोरो बोलिरहनु भयो-मैले ‘अँ’..‘हजूर’, ‘हो’, ‘तब’ …केही पनि भन्नै परेन ।

मेरा हजूर बा’ महाशुर क्षेत्रीलाई ज्यूँदै सुनकोश नदीमा डुबाएर मारिएपछि देशबाट लुक्तै-छिप्तै भागेका मान्छे । बर्माको छेउमा पुगेर एउटा चिया कमानमा धेरै वर्ष काम गरेपछि भूटान फिरेका थिए । तर, महाशुरकै मुद्दामा फेरि पक्राउपर्ने खतरा देखाएर धने मण्डलले भूटानभित्र नबस्न चेतावनी दिएपछि हजूर बा’ हाम्रै गाउँको सीमापारि आसाममा घरजम गरी बस्नु भएको थियो ।

हजूर बा’ स्टेट कंग्रेसको दागापेला-चिराङ आन्दोलन, जय गोर्खाको सर्भाङ आन्दोलनमा दर्जनौं मानिसलाई एउटै चिहानमा ज्यूँदै गाडिएको आदिबारे भन्दै जानु भो । महाशुर क्षेत्रीको निर्मम हत्याकाण्ड, षड्यन्त्रपूर्ण गर्जमान गुरुङ हत्या, डी.बी. गुरुङलाई आन्दोलन फिर्ता लिन लगाउने जालसाझी आदि इत्यादि । डी.के. कुमाइ र देबीभक्त लामिटारेको निर्वासित जीवनबारे पनि हजूर बा’ बोल्नु भो । थाहै भएन कतिबेला म ट्याक्सीमा ३० मिनट लाग्ने बाटो पैदल हिँडेर अघि इमिग्रेशन अफिस पुगिसकेंछु ।

अफिसको दैलोमा उभिएको आरबीपी (रोयल भूटान पुलिस) जवानलाई आफू आएको कारण बताएपछि उसले भित्र जान भन्यो । सरासर भित्र पसें । निकै पर एउटा मेच छ । छेउको कुर्सीमा म जाँदै गरेको भन्दा विपरीत दिशा फर्की बसेका एकजना भलाद्मी छन् । “कुनै पनि ठूला मान्छेका अघि गएर उभिनु हुन्न, उनीहरुका मुखाँ हेर्न हुन्न”, सानैमा आफूभन्दा ठूलाहरुले यही शिक्षा दिएका थिए, मुखस्तै, कण्ठस्तै मात्रै थिएन, दिमागमा पनि सल्बलाइरहेको थियो । भलाद्मी बसेको कुर्सीकै छेउ पुगेर उभिरहें । कतिबेला के भो कल्पनाशीलताले मलाई सम्झनै दिएन । मैले उनलाई किन त्यहाँ आएकोसम्म भन्न भ्याएको थिइनँ ।  एकैचोटि ती बसेका भलाद्मीले बजाएको उल्टो हातको झापड्ले मेरो तन्द्रा टुट्यो । हुत्त उछिट्टिएर म कोठाको पछिल्लो दैलोबाट तल फूलबारीमा पछारिएँ । मेरो कन्पारो तात्यो, पीडा र रिसले भाउन्न भएँ म । त्यतिबेला “…ठूला मान्छेका…” भन्ने मन्त्र मैले सबै भुलेंछु क्यारे ! “ढुकुमुकु …कसको हात, …जाँतोले पिस्ता नि भएन, ढिकीले कुट्ता नि भएन, छोडें है भोटे कुकुर”, भन्ने विस्मृत भइसकेको बाल्यकालको खेलतुक्का पो सम्झिरहेको थिएँ । केटाकेटीले भनेको नटेर्दा माया गर्ने ठूलाहरुले डर देखाउँदै भन्थे,“माथिबाट भोटे आयो, बक्खुमा हालेर अब  लान्छ ।” हामी डराएर कुनातिर लुक्तै हराउँथ्यौं ।

यतिमा पढ्न रोकिएर रामहरि काकाले भने,“हौ काइँला, यस्तो जडी कुरो तैंले कहाँ फेला पारिस् हौ, भन् न ।” म अलिकति मुस्कुराइदिएँ जवाफबिनै । पानी मागेर दुई घुट्की पिए काकाले अनि फेरि पढ्न थाले सरसर्ती ।

यसरी ठूलो जिउडाल, ठूला सिङ वा ठुलो जुरो भएको गोरु, ठूलो कुकुर, ठूलो सिउर् भएको भाले, ठूलो पात भएको साग, धनियाँ सबैलाई ‘भोटे’ उपजातिको नाम जोडेर हामीलाई त सानैदेखि भोटे भनेको ठूलो र डरलाग्दो भन्ने सोचमा ‘हिप्नोटाइज’ पो गरिएको रहेछ । त्यो पनि आखिर हामीसरह मान्छे न हो । म समान यही देशको एउटा नागरिक त हो-भन्ने दृढताले मलाई लडेको ठाउँबाट जगायो । बिस्तारै उठेर फूलबारीको बारबाट एउटा इँटा उठाएँ अनि मलाई बज्जाएर उता फर्कीइ आफ्नै सूरमा आनन्द बसेको त्यो भलाद्मीलाई पछाडीबाट टाउकोमा ठोकें । मरे हुन्थ्यो भन्ने मेरो कामना त पूरा भएन तर, निकै ठूलो प्वाल देखिने गरी उसको कानको जरी काट्यो इँटाले । होहल्ला र चिच्याहटले अफिसको वातावरण कोलाहलमय बनेको थियो नै । पुलिसहरुले मेरो कठालो समाउँदै वरपर हुत्याउन थाले । एउटाले मुक्का हान्यो, अर्कोले लात  कस्यो । उठाएर कुटे, हिँडाएर कुटे, सुताएर कुटे,  मलाई गल्लीमा भेटेको  साँप मार्नलाई लाठोले ठटाएझैं गरे पुलिस र अफिसमा भएका अरु स्टाफहरु समेतले । कतिबेला म बेहोश भएँ याद भएन । ब्यूउझिँदा मेरो वरपरि थिए सेता भित्ताहरु । गोजीमा रेडक्रश चिन्ह भएको सेतै कमीज, हल्का नीलो पतलुन लाएको अधवैंसे व्यक्ति मेरो छेउमा उभिएको थियो । म चल्मालएको देखेर हो क्यारे ऊ छेउमा आएर सोध्यो, कस्तो छ अहिले ? मैले अरु कुरा नगरी म कहाँ छु र कति बज्यो-सोधें । थिम्पू जेनरल हस्पिटलको वार्डमा भएको बताउँदैन बिहानको ५ बजेको उसले जनायो । हस्पिटलको वार्ड ब्वाय रहेछ ऊ । बिस्तारै जिउ उठाउन बल गरें, सकिनँ । निकैबेरपछि टाउकोमा ठूलो सेतो पट्टी कसेका, पीडाभरि मुर्च्छना झल्किरहे पनि निकै हँसमुख हुने प्रयत्न गर्दै एकजना अग्लो मानिस मेरो छेउमा आए । प्लास्टिकको झोलामा एप्पल, अंगुरका दाना र एउटा प्याकेट बिस्कुट पनि मेरो छेउमा राखिदिएर खान भने ती मानिसले । उनका पछि पछि सैनिक ढाँचाका एक व्यक्ति पनि थियो; छोटो काटिएको केश, जिउडाल बलिष्ठ, छरितो किसिमको नेपाली अनुहार देखिने उसको व्यक्तित्व !

मैले भलाद्मीतिर फर्किएर सोधें,“तपाईं को ?” ती भलाद्मीले आफू ‘इमिग्रेशन’ डिपार्टमेण्टको डाइरेक्टर भएको जनाए मलाई नेपाली भाषामै । त्यसपछि धाराप्रवाह बोल्नथाले उनी त्यो अर्को व्यक्तिसित जोंखा भाषामा । स्कूलमा जोंखा भाषाको पाठ्यक्रम कडाईका साथ पढाइए पनि त्यो घोकन्ती शिक्षा भएकोले बोल्न र बुझ्न यसको व्यवहारिक प्रयोगबिना साध्य थिएन । थिम्पू बसेको निकै भइसकेकोले म जोंखा खरर नबोले पनि यथेष्ट बुझ्ने भएको थिएँ । उनले त्यो छेउको मानिसलाई मतिर संकेत गर्दै भने,“धेरै वर्षदेखि सरकारी पदमा कार्यारत छु । उहिलेदेखि थिम्पूमा बसें पनि मैले भारतको कालेबुङमा बाल्यकाल बिताएको थिएँ । म नेपाली पहाडेहरुको बानी ब्योहोरा कस्तो हुन्छ भनेर राम्ररी जान्दछु । मैले पहाडेहरुसँगै पढें र साथी संगी धेरै दार्जीलिङ-कालेबुङकै भएकाले नेपाली भाषा पनि राम्रै जानेको छु । यिनीहरुले भूटानलाई नेपालमा मिलाउने कि त यहाँ नेपाली राजा बनाउनु खोज्दैछ । मैले पनि वनारसमा गएर संस्कृतको अध्ययन गरेको छु, यिनीहरुको धेरै भित्री कुरा बुझेको छु । भनी देऊ यो केटालाई ।” मैले उनका सबै कुरा बुझें तर, त्यो उनको छेउमा उभिएको व्यक्तिले मलाई पूरै अनुवाद गरेर सुनायो । म फुच्चेलाई उनको कथा ताइ न तुईको बखान लागिरहेको थियो ।

अनुवादको क्रम सिद्धिना साथ त्यो व्यक्ति मलाई अल्प परिचय दिँदै बोल्यो, “म डासोको सेक्युरिटी गार्ड हो, डासोलाई तिमीले हिँजु इँटाले हिर्कायो रे; किन हिर्काको ?” यसपछि पो मेरो हंसले ठाउँ छोड्यो । आखिर उनी नै मैले हिँजो टाउकोमा इँटा बजारेका भलाद्मी रहेछन् । उनलाई पनि मलाई सँगै उपचारकै सिलसिलामा त्यही अस्पताल लगिएछ । तर, उपचारको तह भने बेग्ला बेग्लै थियो; उनी सरकारी मान्छे, म गल्लीको ठिटो । मेरो लागि आकस्मिक उपचार तर, उनको लागि सघन उपचार । सेक्युरिटी गार्डले भन्यो, “कुनै पनि सरकारी कार्यालयमा जाँदा बक्खुसँग जुत्ता लाउनुपर्छ । जुत्ता छैन भने खाली खुट्टै जानुपर्छ । तिमीले स्याण्डल लाएर आयौ, हाम्रो देशको कानूनविरुद्ध भयो, त्यही भएर तिमीलाई पढाउनु डासोले कुटेको हो, तर तिमी त राँको मान्छे र’छ हौ । डासोको टाउकै फुटायो ।” तर्क गरिनँ मैले; यतिमात्र भनें,“यस्तो कानूनबारे देशभरिका जनतालाई जानकारी छ के त?” उसले दोहोरो जवाफ लाएन । यति स्पष्टीकरणपछि मलाई हस्पिटलबाट उठाएर जेल चलान गरियो ।

चार महिना जेल बसेपछि थिम्पूमै बस्ने मेरा गाउँले दाइ दलबहादुर गुरुङ आएर मलाई उकासे । मलाई उकास्न उनले के के शर्तनामा गर्नुपर्यो भन्ने मलाई कहिल्यै थाहा दिएनन् । नेपाली भाषा बोल्ने र न्यायको लागि बाजी मार्ने, हकी भएकै कारण उनलाई सेनाबाट बर्खास्त गरिएको रहेछ तर, सानोतिनो व्यापार चलाएर उनी थिम्पूमै बसेका थिए । गुरुङ दाइकै सहयोगमा जेलबाट निस्किएपछि नियमबद्ध रूपमा मैले नागरिकता प्रमाण त निकालें तर, जेल बसेको रेकर्ड भएपछि त्यको सफाइ नहुन्जेल जागिरको कुरै आएन; फर्केर पढ्न जाँदा स्कूल पनि पाइएन । गुरुङ दाइकै सहयोग लिएर गाउँ फिर्ता भएँ । गाउँमा धमाधम जनगणना चल्दैथ्यो । “कालो सेन्सस” भनेर चिनिने यो जनगणनाको भूतले दक्षिण भूटान समग्रलाई पोलेको थियो; बिथोलेको थियो । क्रमशः भूटानमा राजनीतिक दाउपेचहरु चल्न थाले । मैले टाउकोमा इँटाले ठोकेका ती भलाद्मी व्यक्ति पनि भूटानको गृहमन्त्रालयमा सचिव हुँदै गृहमन्त्री बनी सकेछन् । उनकै पहलमा दक्षिण भूटानबाट नागरिकहरुलाई बलजफ्ती निकाल्ने योजनाहरु भए । बिस्तारै आन्दोलन र देशबाट नागरिक उच्छेदनको क्रम चल्यो । परिवारसहित म स्वयं निर्वासित भएँ । भारत सरकार र थिम्पूका राजशाहीहरुको गोप्य साँठगाँठमा हाम्रा हज्जारौं साखा-सन्तानलाई मेची नदी तारेर नेपाल छिराइयो । शिविर स्थापना र यस क्रममा आइलागेका संकटहरुको छुट्टै कथा छ । समयसालमा फेरि अर्को पाटो कथा लेख्ने समय मिल्यो भने त्यहाँ उल्लेख गरौंला । शिविरमा एकपटक जीवनको मूल्य हराइसकेर पनि फेरि चेतनाको पुनर्जन्म लिए धेरै युवाहरुले । मैले पनि निर्वासनमै माथिल्लो तहको पढाइ र बौद्धिक विकासका विभिन्न अवसरहरु फेला पारें । नेपालमा शरणार्थी बनेपछि नै मैले उच्च अध्ययनबाट व्यावसायिक पत्रकार बनेर भारतमा काम गर्न थालें ।

करीब २० वर्षपछि पुनः ती भलाद्मी व्यक्तिसित कालेबुङमा एउटा विशेष सरकारी समारोहमा भेट भयो । त्यतिबेला उनी थिए भारतका लागि भूटानका राजदूत अनि म थिएँ दर्शकदीर्घाको एउटा कुनाबाट प्रश्न गरिरहेको पत्रकार ! मैले प्रश्नकै रूपमा धाराप्रवाह विचार राखें, “देशको एउटा गृहमन्त्रीजस्तो गरिमामय पदमा बर्सौं भोगचलन गर्नु भो । ओठे कानूनहरु जनतामा लादेर संसारभरि देशको बदनामी कमाउनु भो ! नागरिकको हत-हित चाहने राजालाई भ्रममा पारेर बाटो बिराउन लाउनु भो । सभ्य किसिमको प्रजातान्त्रिक शासन व्यवस्था माग गर्ने जनतालाई देशबाट धपाउनु भो । अरु देशमा त माथिल्लो सरकारी पद सम्हालिसकेको व्यक्तिले फेरि तल्लो कर्मचारी बनेर काम गरेको थाहा छैन । तपाईंचाहिं एकपटक गृहमन्त्री बनिसकेको व्यक्ति फेरि कसरी आज राजदूत ? सत्तामोह त्याग्न नसकेर राजालाई आजीवन सत्तामा राखिदिन विन्ति गर्नुभो ? के भारत सरकारसँग आफ्नो हितरक्षाको लागि दुःख बिसाउन तपाईँलाई राजाले दिल्ली पठाएका हुन् ?” घोप्टा जुँगा भएका ती व्यक्ति, भूटानका भूतपूर्व गृहमन्त्री तथा वर्तमान राजदूत, दागो छिरिङले आँखा उचाल्दै चस्माको माथिल्लो डिलबाट मलाई हेरिरहे तर, उत्तरमा उनको आवाजबाट एउटै शब्द पनि फुटिरहेको थिएन …!

भारतीय कंग्रेस पार्टीका नेता प्रणव मुखर्जी, राहुल गान्धीसमेत उपस्थित सो सरकारी सतर्कतासहितको कार्याक्रममा छिमेकी देशको सरकार प्रतिनिधिलाई होच्याएर बोलेको, अपमानित गरेको, पत्रकारिताको दायराभन्दा बाहिर गएको इत्यादि अभियोगमा भारतीय सुरक्षाकर्मीहरुले मलाई कार्याक्रमस्थलबाटै गिरफ्तार गरे । यसरी म भारतीय जेलमा परें । त्यसपछि म संलग्न प्रकाशन गृह र सरकारपक्षका वकीलबीच कानुनी दलिलमा ठूलै घम्साघम्सी चल्यो । प्रकाशन गृह पक्षका वकीलहरु देशमा अभिव्यक्ति स्वतन्त्रता र नैसर्गिक मानवाधिकारको कुरा गर्थे भने सरकारी वकीलहरु सरकारी अधिकारीको मानहानि खप्न नसकिने कुरा गर्थे । म भारतीय नागरिक नभई भूटानकै नागरिक भएकोले भारतीय कानूनबमोजिम कारबाही गर्न नमिल्ने आवाज पनि मसँग व्यक्तिगत चिनजान भएका तर मुद्दामा संलग्न नरहेका वकीलहरुले उठाइरहेका थिए । मेरो मुद्दाको फसेला स्थानीय स्तरमा नभएर कलकत्ता हाइकोर्टमा पुगेछ । त्यहाँ पनि निष्कर्ष आउने सम्भावना छैन; शायद दिल्ली सुप्रिम कोर्टमा पुग्ने छ… !

यसरी नै रामहरि काका रातो फायलको पाण्डुलिपि पढ्न मस्त थिए; तर, अझै पढिसक्नलाई धेरै बाँकी थियो । मैले भित्ते घडीमा यसो आँखा ला’को त साढे दुई हुनै लागेछ, म हतारिएँ । “अघि समयले डाँडो काटेछ । चाखिलो कुरो र’छ, पढ्दा पढ्दै दिन ग’को पत्तै भएन”, यति भन्दै काकाले लामो सास फेरे । अब अर्को दिन पढौंला काका, मैले भन्दिएँ । “हिन हिन चाँडो गर, आज पनि डाक्टरले दिएको समय काटियो भने तेरी काकीलाई अस्पताल पुर्याउन फेरि दुई महिना पर्खिनुपर्छ”, काकाले भने । अस्पताल जान तोकिएको समय हुनै लागेकोले हतार हतार गाडी स्टार्ट गरें । काका पछिल्लो सीटमा आएर बसे, तोकिएको स्पीड लिमिटसमेत याद नगरी द्रूत गतिमा गाडी हुइक्याएँ । काका घर पुगिसक्ता पनि एक शब्द बोलेका थिएनन् । गाडीबाट उनी ओर्लिएनन् पनि । मैले नै काकीलाई गाडीमा चढ्न भने र हुर्दुराउँदै हामी अस्पताल पुग्यौं । अस्पताल पुगेपछि डाक्टर कुर्नुपर्ने समयमा पो काकाले मुख खोले । उनलाई लागेको रहेछ; सुदर्शन शर्मा भनिएका त्यो पाण्डुलिपिका लेखक आज कहाँ होलान् ? भारतको जेलबाट उनी छुटे-छुटेनन् ! उनका आफन्तहरु को होलान् ? मलाई सल्लाह दिँदै काकाले भने,“त्यतिबेलाका कुरा यसरी लेखेर राख्ने मान्छेले त्यसपछि पनि अरु थुप्रै कुरा लेखेको हुनुपर्छ, यी लेखकलाई खोज्न पाए कसो हुन्थ्यो काइँला !”

काकाको कुराले मेरो विगत कोट्याइदियो । भारतको सिलगढीबाट प्रकाशित ‘हाम्रो पहाड’ दैनिक पत्रिकामा म डेस्क एडिटर हुँदाताका सुदर्शन पनि संवाददाताको काम गर्थे । धेरैजसो दार्जीलिङ पहाडी क्षेत्र र आसामतिरका समाचार लिन उनको दौडादौडी चलिरहन्थ्यो । कहिलेकाहीं पत्रिकाको मुख्यालय, सिलगढी आउँदा मेरै कोठामा बस्थे । उनी मजस्तै भूटानी भएकोसम्म थाहा थियो तर, त्यसरी बाहिर काम गर्दा धेरैले आफ्नो भूटानी परिचय लुकाउन चाहन्थे, यसर्थ मैले उनलाई धेरै निध्याएर सोधेको पनि थिइनँ । भूटानीहरुले वास्तविक परिचय लुकाउनुमा विभिन्न कारणहरु हुनसक्छन् । जुनकुरा सामान्य मनोविज्ञानले टुंगो लगाउन सक्दैन । ‘हाम्रो पहाड’ बन्द भएपछि ‘हाम्रो प्रजाशक्ति’ नेपाली दैनिकको समाचार सम्पादक बनेर सुदर्शन गान्तोकतिर लागे । मचाहिं ‘द टेलिग्राफ’ अंग्रेजी दैनिक पत्रिकाको संवाददाता बनेर कलकत्तातिर लागें ।

पश्चिम बंगालको सिंगुरमा त्यसताका ममता ब्यानर्जीको पार्टीले उधुम मच्चाइरहेको थियो । सीपीएमको मार्क्सवादी सरकार भूमि अधिग्रहण गरेर कार फ्याक्ट्री बनाउन चाहन्थ्यो, ममताचाहिं खेतीयोग्य जमीनमा कारखाना बनाउन नदिने जिद्दीमा कंग्रेसी राजनीति हाँकिरहेकी थिइन् । ममताको राजनीतिबारे नेपाली र हिन्दी पत्रिकाहरुमा धेरै आलेखहरु मैले प्रकाशित गराएका कारण अंग्रेजी पत्रिकाले मलाई अवसर दिएको थियो । त्यसपछि सुदर्शनसँग मेरो सम्पर्क हुनै सकेन । तर, अनायसै एक दिन डा. डी.एन.एस. ढकाल र मोहन तामाङलाई बंगाल पुलिसले सिलगढीकै एउटा होटलबाट पक्राउ गर्यो भनेको सुनें । कुरो के रहेछ बुझेर न्यायको पहल गरिदिनलाई अपील गर्ने विचारले ‘एसोसिएशल फर् प्रोटेक्शन अफ् डेमोक्रेटिक राइटस्’ (एपीडीआर)-को कलकत्ता शाखा कार्यालय पुगेको थिएँ । कार्यालयका सचिव दिपंकर चक्रवर्ती र मेरो धेरै अघिदेखिको मित्रता थियो ।

दिपंकरले म पुग्नासाथै भनिहाले,“तिम्रो साथी सुदर्शन कालिंपोङमा पक्राउ परेको रहेछ । एक हप्ताअघि उसलाई कोलकाता हाइकोर्टमा ल्याएको थियो । हामीले पनि भेट्यो । अहिले बह्रमपुर जेलमा राखेको छ । आज पनि हाइकोर्टमा ल्याउँछ, भेट्न जाने की ?” मलाई पीडा र हर्षले एकैचोटि चिमोट्यो । उनले पक्राउ खाएकोमा म दुखें तर, धेरैपछि भेट्ने निश्चिततामा खुशीले लालायित पनि भएँ । निकैबेरमा सुदर्शनलाई बोक्ने पुलिसको भ्यान आयो । देखादेख भयो । छेउमा गएर हात मिलाएँ । तरक्क आँसु उनका आँखाले झारे, मेरा आँखाले पनि थाम्न सकेनन् । हाम्रा शब्दहरु भन्दा आँखाहरुले नै धेरै बोले । उनले एउटा रातो फायल झिकेर मलाई दिँदै भने,“अति गोप्य र महत्वपूर्ण कुरो छ, सुरक्षित राखिदिनुस्, म निस्केर आउने कुनै निश्चितता छैन । भूटानतिरै सुपुर्दगी गर्न पनि सक्छ । म आइनँ भने…”,  यतिकैमा पुलिसले तानेर सुदर्शनलाई न्यायालयभित्र लग्यो । दिपंकरले मलाई अँगालेर सम्हाले । मनमनै एपीडीआरलाई पनि कृतज्ञता ज्ञापन गरें, किनभने यो संगठन नहुँदो हो त सयौं भूटानीहरु भारतका कैदखानाहरुमा कुहेर सकिनु पर्थ्यो । सुदर्शनले कहाँ आफ्नो फायल सुरक्षित बाहिर निकाल्न सक्थे र नत्र त ! यसरी कोठामा फर्केपछि मैले सरक्क ब्रिफकेशमा राखेको त्यो रातो फायल आज अमेरिकासम्म आइपुगेर पनि मलाई सुदर्शनको याद ताजा गराउने माध्यम बनिरहेको छ ।

नेपालका शरणार्थी शिविर, एपीडीआरको दिल्ली केन्द्रलगायत भारत सरकार अनि भूटानीहरु छरिएका विभिन्न देशमा सुदर्शन शर्मा नाम गरेका व्यक्तिको खोजी गर्न अनुरोधसहित धेरै साथीहरुलाई आग्रह गर्ने सान्त्वना दिएर मैले रामहरि काकालाई त चुप गराएँ । तर, अहिलेसम्म उनलाई दिएको वचन पूरा गर्नसकेको छुइनँ । सुदर्शन शर्मा खोज्ने उत्सुकताले मेरो मनलाई पनि घरी घरी घच्घच्याइरहेको छ । त्यसैले अब झट्टै अन्तर्राष्ट्रिय रेडक्रश सोसाइटीलाई सुदर्शनका बारेमा सम्पूर्ण उल्लेख गरेर पत्र लेख्ने योजनामा छु । यसका लागि मैले कुनै समय मिलाएर धेरै साथीहरुसँग भलाकुसारी गर्नु पनि जरुरी छ तर, अमेरिकामा फुर्सद र भलाकुसारीको समयका लागि सधैं अनिकाल लाग्छ !

Find us on Facebook