गोर्खाल्याण्डको फेसबुक फोबिया

Filed under: Bhakta Ghimire,Dialogue,Nepali,लेख / रचना |
लेखक

लेखक

भक्त घिमिरे

केही वर्षअघिको कुरा हो, प्रशान्त तामाङ भन्ने भारतीय युवालाई गायनको सेलिब्रिटी बनाउनमा भारत र नेपाल सबैतिरका दाजुभाइ, दिदी-बहिनीहरु खटेका थिए । तेरिया मगरलगायत अनेकन नेपाली नामका सेलिब्रिटीहरु भारतबाट विकसित हुँदैछन् जसमा नेपालका इष्टमित्रहरुको बलियो हात छ । अनि ऐतिहासिक कालदेखि नै दार्जीलिङलगायत भारतभरिका कलाकार, गीतकार, संगीतकार, साहित्यकारहरुले नेपालको गौरवगाथालाई उकास्न अकथनीय समर्पण गरेका छन् ।

यद्यपि, केहीदिनदेखि धेरै दुःख लाग्दो कुरा भइरहेको छ । भएको के छ भने गोर्खाल्याण्ड आन्दोलनको प्रसंगबाट उठेको कुरामा भारतमा रहने नेपालीहरु र नेपालमा रहने आफ्नै परिवारबीच विवाद नै सृजना भइसक्यो । हुँदा हुँदा सीमा सुवेदी नामको फेसबुक फोबियालाई अब विश्राम दिनुपर्ने बेलामा नेपालका ख्यातीप्राप्त कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपालहरुसमेत पोखिन थालेपछि केही बोल्नुपर्ने छट्पटी जाग्यो । हरिवंश आचार्य, दीपकराज गिरी, जितु नेपाल, सीमा सुवेदी, दार्जीलिङका बिमल गुरुङ, सिके श्रेष्ठ, हर्क क्षेत्री, निरज जिम्बा र रोशन गिरीलगायत भारत, नेपाल, भूटान र संसारभरि फैलिएका गोर्खा/नेपाली दाजु-भाइ, दिदी-बहिनीहरु सबै अरु कोही नभएर हाम्रै सन्तान हुन् । राष्ट्रियताले हामीलाई छुट्याए पनि हामी एकै परिवारका मान्छे हौं ।

खासगरी यो विषयमा बोलेर वा लेखेर कुनै समस्याको समाधान हुने पनि हैन र कुनै अभियानको सफलता पनि हुने हैन । तर, यत्रा तमाम युवाशक्तिले नै नाम लिइसकेपछि यो फेसबुक विवादकी सूत्रधार सीमा नानीको बारे पनि केही त बोल्नैपर्ने भयो । म व्यक्तिगत तहमा यो नानीलाई चिन्दिनँ । पक्कै पनि सीमा नानीले केही शब्दावली र वाक्यहरु गलत शैलीमा बोलेकी छन् । त्यसप्रति उनले क्षमायाचना गर्नुपर्छ । तर, कुन स्थितिमा के विषय लिएर कुन प्रसंगमा त्यो कुरा आयो भनेर सप्रसंग व्याख्यासहित विश्लेषण हुन जरुरी छ । सीमा सुवेदीले फेसबुकमा आफ्नो आवाज प्रसारित गर्नुभन्दा अघिदेखि नै नेपालमा “दार्जीलिङेहरुले गोर्खाल्याण्ड माग्नु हुँदैन; यो शब्द नेपाल र नेपालीको मात्र हो”, भन्ने आवाज उठेको थियो । यहीबेला दार्जीलिङ नेपालको हो र दार्जीलिङेहरुले गरेको आन्दोलन त्यो क्षेत्रलाई नेपालमा मिलाउन चालिएको अभियान हो पनि भनिदै थियो । ग्रेटर नेपाल भन्ने नारा भारतीय दूतावासकै अगाडि लागिरहेको थियो । कि हिम्मतले दाबी गरेजति सबै क्षेत्रहरु कब्जा गरेर ग्रेटर नेपाल बनाइहाल्नु हैन भने फुइयाँको गफ नजोत्नु नेपालका इष्टमित्रहरुले । तपाईंहरुका यस्ता हावा गफले नेपाल बाहिरको राष्ट्रियता बोक्ने नेपालीभाषीहरुलाई संकटमा पार्छ । यो चर्चाको प्रसंगमा यस्तै कुराले ममता ब्यानर्जीलाई दार्जीलिङको आन्दोलन दबाउन सहयोग पुग्दै’थ्यो । ममताले दार्जीलिङेहरु नेपालमा एउटा खुट्टा र भारतमा अर्को खुट्टा टेकेर बसेका छन् भन्दै थिइन् अनि नेपालका कच्चा चेतनाहरु वर्तमान नेपाल र सीमानाको आधारमा तोकिएका नेपालीबाहेक अरुले गोर्खा शब्द प्रयोग गर्नै पाउँदैन भन्दै थिए ।

ठीक यही बेला पारेर नेपालका केही युवाहरुले ममता ब्यानर्जीको दाबीलाई सघाउने हिसाबले दार्जीलिङेहरुले गोर्खाल्याण्ड माग्नै पाउँदैनन् भन्न थाले । यस्तो स्थितिमा सीमा सुवेदीले त्यसको डिफेन्समा “हामी भारतीय हौं, हाम्रो सन्तानले नेपाल देखेकै छैन”, भन्दा कहाँनेर नेपालीहरुको स्वाभिमानमा चोट लाग्यो? सीमा सुवेदीले आफ्नो पहिलो सारनीमा भनेकी छन्,“हम नेपाली नही हैं, मेरे दादा, परदादाओं ने नेपाल नही देखे !” गोर्खा राज्य विस्तारको अभियानले नेपाल देश निर्माण गरेपछि विशाल नेपाल निर्माणको सिलसिलामा फौजी बनेर हिँडेका कति नेपालीहरु अहिलेको नेपालको सिमानाभित्र अँट्न सकेका छैनन् ? ल त्यो कुरा पनि छोडौं, कोही प्रथम विश्वयुद्ध र कोही दोस्रो विश्वयुद्धमा संसारले हौस्याएर आगोमाथि खन्याएका कति नेपाली सन्तान अहिलेको नेपालभित्र फिर्ता आएनन्, आउन सकेनन्, आउन पाएनन् ? यसको हिसाब छ अहिले फेसबुकमा पोखिने केटाकेटीहरुसँग ? अनि यस्तो परिस्थितिमा वर्तमान नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई बुझाइमा राखेर २०/२२ वर्ष उमेरकी केटीले “मेरा बाजे-बराजुले नेपाल देखेका छैनन्, हामी भारतीय हौं, मलाई भारतीय हुनुमा गर्व छ, जय हिन्द”, भन्दा कहाँनेर नेपालप्रति घृणा भयो, मलाई यो कुरा आधिकारिक रूपमा जान्न इच्छा छ ।

यहाँनेर भन्नैपर्ने भयो, सीमा सुवेदी नाम गरेकी एकजना नारीले आफ्नो व्यक्तिगत आवाज फेसबुकमा प्रकाशित गरेको कुरालाई लिएर यति धेरै नेपालीहरु पोखिएको देख्ता सीमा सुवेदी नै गोर्खाल्याण्ड आन्दोलनलाई नेतृत्व दिएर अघि बढिरहेकी छन् कि भन्ने भान हुनथालेको छ । एउटी सामान्य युवतीविरुद्ध यसरी फेसबुकमा पोखिएका अनेकन अपुष्ट र अपरिपक्व विचारहरुमा हेर्ने हो भने गोर्खाल्याण्ड नाममा चलिरहेको आन्दोलनले भारतको पश्चिम बंगालका शासकहरुलाई भन्दा नेपालभित्र पो बढी हलचल ल्याइरहेको छ कि भन्ने लक्षणहरु देखिए ? नेपाल र नेपालीको अस्तित्व के यति धेरै कमजोर र असुरक्षित छ, ताकि भारतमा बस्ने एउटी केटी बोल्दा थर्कमान हुन्छ ? हैन भने “वीर गोर्खाली हामीमात्रै हौं” भनेर दाबी गर्नेहरुले एउटी सामान्य पेशा गरीखाने युवतीको कुरामा किन यसरी देशको सम्पूर्ण उर्जाशक्ति खर्च गर्दैछ ? हौ नेपाली (नेपालमा बस्ने) इष्टमित्र हो, हरेक कुकुर भुकाइका विरुद्ध झम्टिनुपर्ने तपाईंहरुको मानसिकतामा के छ हँ ? साँच्चै देशका चुनौतीहरुमा यो उर्जा खर्च गरे राम्रो हैन र ? सुस्ता, कालापानीमा सीमाको सुरक्षा गर न बरु, वर्तमान नेपालको आजसम्म बाँचेको भूभागको रक्षामा लगाऊ त्यो उर्जा !

सीमा सुवेदीले “हम भारतीय हैं, जय हिन्द” भनेको कुरामा आपत्ति जनाएर फेसबुक र यूट्यूबमा छरिएका अश्लील गालीका वाक्यहरु म यहाँ लेख्न पनि सक्तिनँ । यो कुन विशालता र वीरता हो ? यही हो गोर्खाली वीरता ? त्यही कुरामा सीमा सुवेदीलाई नराम्रो नराम्रो गाली गरेर, व्यक्तिगत पेशा र सम्बन्धसम्म कुरा लगेपछि उनले प्रतिक्रियास्वरूप बोलेको व्यक्तिगत कुरालाई लिएर दार्जीलिङलगायत भारतभरि रहेका आफ्नै सन्तानले चालेको न्यायको अभियानकै विरुद्धमा मिडियाको उपयोग गर्नु महाअपराध हो । र, उनले हामी नेपाली हैन, भारतीय हौं; जय हिन्द भनेको कुरामा नेपालका इष्टमित्रहरुले रडाको मच्चाइरहेमा यो महामूर्खता हुनेछ, यो चरम कूटनीतिक दरिद्रता साबित हुनेछ । यस मानेमा नेपाल दरिद्र छ भन्नलाई म यहाँ कसैको पनि अनुमति लिइरहन चाहन्न । तर, के कुरामा दरिद्र छ नेपाल ? भन्ने थप प्रश्न आउन जरुरी छ र, त्यसको उत्तर पनि व्यक्ति व्यक्तिमा फरक हुनसक्छ । अवर्णनीय प्राकृतिक स्रोतसाधन, वीरताको पौरख कमाएका नागरिकहरु, दुई विशाल क्षेत्रीय महत्वाकांक्ष बोकेका आणविक शक्तिसम्पन्न देशहरुको छिमेकी आदि आदि विशेषणले परिभाषित नेपाल देश आजसम्म किन तमाम दृष्टिले कहालीलाग्दो अवस्थामा छ? यसको एउटैमात्र कारण, कूटनीतिक दरिद्रता हैन भनेर ठोकुवा गर्न कसले सक्छ ?

यसमा थप कुरा, एकजना दार्जीलिङे युवाले अर्को भिडियो सन्देश जारी गर्दै नेपालका मित्रहरुलाई स्पशष्टीकरण दिइरहेका थिए । सन्देशमा के थियो भने दार्जीलिङकै कुनै एक नेताले नेपाललाई गरीब छ भन्यो रे…! नेपाललाई गरीब भन्यो भनेर फेसबुके तुजुक देखाइरहेका नेपाली इष्टमित्रलाई सान्त्वना दिँदै दार्जीलिङे ती युवा भन्दै थिए, “हामीले दार्जीलिङका एकजना नेता जसलाई म राम्ररी चिन्छु, तिनलाई हामीले लखेटीसक्यौं । गोर्खाल्याण्डको माग गरिएको वर्तमान आन्दोलनमा त्यो मान्छे छैन…त्यसकारण उसको कुरामा तपाईं नेपाली साथीहरु नरिसाइदिनुस ।”

उनले सीमा सुवेदी दार्जीलिङकी हैनन् भनेर पनि जोड दिँदै थिए । गोर्खाल्याण्डको माग दार्जीलिङमा रहनेहरुको मात्रै हैन र वर्तमान आन्दोलन सफल पार्ने दायित्व पनि उनीहरुको मात्र हैन भनेर सबैले बुझेकै छन् । कसैले नबुझेको भए बुझ्न जरुरी छ अनि मलाई लाग्छ, त्यस्ता कुरामा कसैलाई फकाउन स्पष्टीकरण दिइरहनु पनि जरुरी छैन । किनभने नेपाल बाहिरको कुनै पनि राष्ट्रियता बोकेको नेपालीभाषीले आ-आफ्नो क्षेत्रमा जारी न्यायको आन्दोलनलाई कहिल्यै पनि “अलगाववादी” (भारतीय शब्दावली विखण्डनवादी) बनाएर नेपालसँग जोड्न लानेवाला छैन र कसैले लान चाह्यो भने त्यो सम्भव पनि छैन । किनकि त्यसरी नेपालीभाषीहरु रहेका सबै ठाउँहरु आ-आफ्नो वर्तमान राष्ट्रियताबाट टुक्रिँदै नेपालसित मिल्न आएमा वर्तमान नेपालले त्यो सम्हाल्न सक्नेवाला छैन । यदि त्यस्तो अवस्था नै आइहाल्ने हो भने वर्तमान नेपालको अस्तित्व नै मेटाउने काम छिमेकीहरुले नै गर्नेछन् । छिमेकी शक्तिहरुले नेपाललाई सधैं परनिर्भर नै रहेको हेर्न चाहन्छन् अनि धेरै नेपाली नेतृत्वले आजसम्म त्यसैमा शालिनता र सम्पन्नता देख्ने गरेका छन् ।

यस्तो परिस्थितिको मूल्यांकन गरेर नेपाललाई कसैले “गरिब छ” भन्दा किन यत्रो विधि टाउको दुखाइ ? नेपाली (नेपालका) जनता र भुगोलप्रति विश्वमा छरिएका सबै नेपालीहरुको मनमा उच्च अस्था छ । साँच्चै भन्ने हो भने नेपाली भाषा र जातीय अस्तित्व धान्ने नेपाली समाजको मूल्यांकन गर्ने हो भने नेपालको तुलनामा दार्जीलिङ धेरै अघि छ । यो मेरो दाबी मात्र हैन, ऐतिहासिक तथ्य नै हो । भानुभक्तलाई नेपाली साहित्य जगतका आदिकविको पदवी दिलाउने दार्जीलिङ हैन कसले भन्नसक्छ ? साँच्चो मनले छात्तिमा हात राखेर सोच्ने हो भने कुनै किसिमको व्यक्तिविशेष निहीत “टिट फर ट्याट” को प्रसंग नभई छिः छिः र दूर दूर गर्ने आशयमा नेपालबाहिर रहने कुनै पनि नेपालीभाषीले नेपाल र नेपालीलाई गाली गर्नेवाला छैन । यस्ता विषयवस्तुको उचित मूल्यांकन गरेर सोच्नहरुले “नेपाल गरीब छ” भन्नुमा त्यस्तो कुनै अपराध देख्तैनन् । तर, साबिक कुरो भन्नमा किन मान्छेलाई यति सारो खरो पल्टिन्छ हँ ?

नेपाल गरीब थिएन भने वर्तमान नेपालको आधा जनसंख्या अरबका खाडीहरुमा किन जाक्किनु पर्दैछ, किन त्यहाँका मरुभूमिहरुमा बिस्कुन लागेर सुक्नु पर्दैछ ? नेपालका ठालूहरुले वर्षेनी संसारका देशहरु घुमी घुमी “हाम्रो देश सारै गरीब छ, हामीलाई दान दिनुहोस्” भनेर किन अरबौं खरबौं सम्पत्तिको भकारी ठड्याउँछन् र देशलाई जहिल्यै पनि कंगालको कंगाल राख्छन् ? विश्वमा सबैभन्दा अधिकतम विद्युत उत्पादन गर्ने क्षमता बोकेको देशले किन युगौंसम्म भारतबाट आफूले बेचेको भन्दा बढी मूल्यमा बिजुली किनेर चलाउनुपर्छ ? हरेक राजनीतिक दाउपेचमा काठमाडौं र दिल्लीको सौदाबाजी किन हुन्छ ? एकदिन, ए हप्ता वा एक महिना र एक वर्ष मात्रै हो र…शताब्दियौंसम्म यो परनिर्भरता र लम्पसारवाद कस्तो खाले सम्पन्नता हो ? जति नै राजनीतिक सौदाबाजी गरे पनि आफ्नै देशको सीमानाको भरोसापूर्ण ढंगमा सुरक्षा गर्न नसक्ने नेपालको दरिद्रता देखी देखी छिमेकी क्षेत्रका नेपालीभाषीहरुले “आफ्नो भूमि छुट्याएर हामी नेपालसित मिल्न जाँदैनौं” भन्दा किन आपत्ति भयो ? यहाँनेर सबैले विचार पुऱ्याउनुपर्ने कुरो छ, कतै नेपालका हाम्रै इष्टमित्रलाई भारतीय गुप्तचरहरुले गोर्खाल्याण्ड आन्दोलनका विरुद्ध उक्साइरहेको त छैन ?

संसारका सबै नेपालीहरुले “हामी नेपाली मात्रै हौं, हामी आ-आफ्नो क्षेत्रलाई वर्तमान राष्ट्रियताबाट छुट्याएर नेपालमा लगी मिलाउने छौं, ए नेपाली (अहिलेको नेपालमा रहने) दाजु-भाइ हो, हामीलाई सहयोग गर, गुहार गुहार” भन्दामात्र नेपालबाहिरकाहरुले चालेको नेपाली भाषा र स्वास्तित्वको न्यायिक अभियानलाई नेपालकाहरुले सघाउने हो ? त्यसो भए वर्तमान नेपालले हल्लामात्र नगरी साँच्चै शक्तिसञ्चय सहित विश्वमा जहाँ जहाँ नेपालीभाषी र जाति (गोर्खा शब्दावलीसँगै) उपस्थित छन्, ती सबै क्षेत्रलाई आफ्नो भूभागको रूपमा गाभ्ने अभियान चाल्न सक्छ ? आज नेपालीभाषी (अमूर्त जातीय अर्थसहित) सतलजदेखि टिस्टाबीचमा मात्र छैनन् भन्ने कुरा यो फेसबुके दोहोरीमा सामेल कच्चा मानसिकताहरुलाई याद छ ?

गोर्खा वा गोर्खाली शब्द वर्तमान नेपालको गोर्खा राज्यस्थापना हुनुभन्दा धेरै धेरै वर्षअघि उत्पति भएको हो र सबैभन्दा पहिले गोर्खाली उपाधि पाएको व्यक्तिबाट मेवाड (वर्तमान भारतको राजस्थान) राज्य स्थापना भएको इतिहास बुझेका छन् ? अनि यस्तो विशाल अर्थभाव बोकेको शब्दलाई कसरी यति धेरै खुम्चिएको वर्तमान नेपालको माटोभित्र कैद गर्दैछौ ए इष्टमित्र हो ? वास्तवमा यसरी कुराको अर्थना, लक्षणा र भावबोध नगरी नै, कारण र तात्पर्यहरु नकेलाइ आफ्नै जाति र आफ्नै खुशीविरुद्ध पनि पोखिन्छ यो जाति भनेरै अरुले कथित वीरताको तक्मा भिराएर युद्धमा होमेका थिए उहिलेदेखि र अहिले पनि त्यही भइरहेको छ ! वास्तवमा यो जातिले आफ्नोबाहेक अरुको न्याय र अधिकारको लागि युद्ध गर्नसक्छ । तर जब आफ्नो पालो आउँछ, आफू-आफैं चिथोरा-चिथोर गर्नथाल्छ र, शत्रु आफैं आएर मध्यस्थता गर्छ । यस्तै हुँदै आएको छ अहिलेसम्म । यो विषयमा कोही गम्भीर भएर सोचेको छ ? अब सोच्ने कि नसोच्ने ?

अझै सोच्नुपर्ने कुरा अर्को पनि छः नेपाल अनि सबैतिरका नेपाली (नेपाली/गोर्खा जातीय) जनसमुदायलाई पछि पार्ने काम दूरदर्शी नेतृत्वको अभावले गराइरहेको छ । नेपाललाई पनि आजको दूरावस्थामा पुऱ्याउने काम आम नेपाली जनताले गरेका हैनन् । यसो हुनाले आम नेपाली जनसाधारणप्रति दार्जीलिङ, आसाम, मेघालय, भूटान, सिक्किम आदिका नेपालीभाषीहरुले कुनै सत्तोश्राप गर्नु, गुनासो पोख्नु कुनै अर्थको कुरा पनि हैन । नेपाल लगायत सबैतिरका नेपालीभाषी, नेपाली जातीय अगुवा र नेतृत्वहरुले यस्ता सारा त्रुटीहरुका लागि दायित्व लिनुपर्छ । यस्ता तमाम विषयहरुमा औपचारिक सभा-समारोह र अन्तरक्रियाहरुमा छलफल हुनसक्छन् । सीमा सुवेदी जोसुकै होस्, जेसुकै भनोस्; सार्वजनिक मिडियामा आपसी तानातान र लुछाचुँडीको खिचडी पकाएर तपाईंहरुलाई कसले स्याब्बासी दिन्छ ?

नेपालको राजनीति र चेतनाको स्तरमा देखिएको कूटनीतिक दरिद्रता औंल्याउनलाई कसैलाई कसैको अनुमति जरुरी छैन । कहिल्यै “विदेशी दासता र गुलामी स्वीकार नगरेको” नेपालले कहिल्यै नेपाली जनतालाई उन्मुक्तिको सास फेर्न पनि दिएको छैन । र, यही मारमा परेका छन् विश्वमा छरिएका आम नेपालीहरु पनि । सोच्नुस न; आज नेपाल साँच्चै उन्नत र शान्त थियो भने, न्याय र शान्तिका लागि विश्वमञ्चमा नीतिगत कुरा उठाउन हिम्मतदार थियो, चेतनाले भरपूर शक्तिशाली थियो भने बर्मा, भूटान, मेघालय, मणिपुर, आसाम, दार्जीलिङ आदि ठाउँमा रहने नेपालीभाषीहरु किन हेपिनुपर्थ्यो ? किन पीडाले थिल्थिलो हुनुपर्थ्यो ? नेपालको गौरव फल्नु फुल्नु संसारका सबै नेपालीको हर्षको कुरा हो भने संसारमा छरिएका सबै नेपालीभाषीहरुको क्षेत्रीय उपलब्धि, उन्नति, न्याय र विकासका कुराले नेपाल र नेपालीहरू पनि खुशी हुनुपर्छ । यदि यसो हैन भने कि अहिले भएको नेपालले सतलजदेखि इरावदी नदीसम्म आफ्नो दाबी राख्तै कब्जा गर र विशाल नेपाल बनाऊ …। यदि यो पनि हैन भने आऊ अहिलेको नेपाललाई पनि भारतमै गाभौं र विशाल गोर्खाल्याण्ड राज्य बनाऊ सतलजदेखि इरावदीसम्म । किन सधैं एकातिर विशाल नेपालको भूत देखाएर तर्साइरहनु …सोझा पहाडेहरुलाई ? यसो गरिएमा ठूलो गोर्खाल्याण्ड राज्यको बहुसंख्याले कुनै दिन भारतको केन्द्रिय शासन हाँक्ने व्यक्तित्व पनि पैदा गर्न सक्छ । नत्र त नेपालले सधैं बाहिरबाट परशासित गुलामीको दासता नभोगेको घमण्ड हाँक्तै भित्रभित्र सधैं लुब्धो बनेर दिल्लीको गुलामी गर्ने अनि नेपाल बाहिरकाले जहिल्यै थिचिएर, चेप्टिएर, कोचिएर बस्नुपर्ने, अन्यथा घरबारबाट, गाउँ-शहरबाट र कहिले देशबाटै लखेटिनुपर्ने यो सिलसिला चलीइनै रहनेछ । फेसबुक फोबिया छोडेर भाषा र जाति बँचाऊको यस्तो पवित्र र ऐतिहासिक कामको लागि पाइला चाल्ने कसैको हिम्मत छ ?
#जय गोर्खाल्याण्ड#

Find us on Facebook