निदान

Filed under: Dinesh Dhungyel,Nepali,Poetry,Writers,कविता |

Dinesh Dhungyel

कवि

दिनेश ढुङ्ग्येल
अमेरिका

समय अनुकूल उदाउन नसकेका
नमौलाएका
नहुर्किएका
समाजका अंकुराहरुको व्यथा
क्रिस्टल जस्तै स्पष्ट छ
अलमल्लमा परेको ‘एक्स’ पुस्ता
त्यसमाथि राजतन्त्रको बर्बरता
बन्देज
निगरानी अनि सुनियोजित षड्यन्त्रको प्रकोपले
विछिप्त जीवन
क्रुर शासकले लादेको
शिक्षाको खडेरी
अन्याय र अत्याचारको
दशकौं लामो तुषारापातले
सृजना गरेको डर र त्रासले
जीवनभर अज्ञानतामै सुस्ताएको मस्तिष्क
कसरी गरोस
जीवनका महत्वपूर्ण निर्णयहरू
तिमीले कुनै प्रश्न गर्न निरार्थक छ
उनीहरू किन यस्तो भए
अर्कोतर्फ
आफ्नै सामाजिक रीतिका मण्डलेहरु
भगवान् मानेको महाराजाले गरेको दुर्व्यवहारले
अपहेलित नागरिकको
आतंकित जिन्दगीलाई
मौका छोपी-छोपी दाउ हान्छन्
महाभारतको शकुनी जस्तै
आफ्नो त गरिखाने पेसा हो
उसको मलाई के मतलब
चाए ऋणमा होस् या मुनाफामा
मलाई मेरो रोजगार भए पुग्छ
जनजागरण र चेतना आवश्यक छैन
नभए मेरो टुप्पी डुब्छ
बिचरो ठेकेदारको सातो जाने दिन आउँदैछ
उसको विशिष्ट सत्कार हराउदैछ
चेतनाको ज्वालाले जलाउदैछ
जानेरै ढाँट्ने उसको पुर्खेउली परम्परा
अन्त्य हुँदैछ
ढाटेकै भरमा बाँचेको जिन्दगी
कतिन्जेल रहला तिमीले देख्नेछौ
अनि प्रश्न गर्नेछौ
म कुन कित्तामा छु
उता ‘एक्स’ पुस्ताको लम्पटताले
ओजेल परेको ‘बाइ’ पुस्ता
अनिर्णयको काल खेप्तै
दुई दशकमा विकसित
आशे जीवन बिताउछन्
अपेक्षा गर्छन्
कतै ‘जी’ पुस्ताले
थलो सार्छकि
‘बाइ’ पुस्ताको निरीहता
शिशिर जस्तै उजाड लाग्दो छ
‘जी’ पुस्तामा तुसारापात गर्न
दुस्ट मण्डलेहरु लागि परेका छन्
खबरदार ‘बाइ’ पुस्ता
तिमीले ‘जी’ पुस्ताको
समरक्षण गर्नु पर्छ
उनीहरूमाथिको आक्रमण
ढाल बनेर छेक्नु छ
नत्र तिमी जस्तै
‘जी’ पुस्ता पनि दास बन्नेछन्
कहिल्यै नउक्सिने गरी

Find us on Facebook