भानुभक्त: ‘आदिकवि’ विवाद र जन्मबारे अन्योल

Filed under: Bhakta Ghimire,Nepali,समीक्षा/समालोचना |
लेखक

लेखक

भक्त घिमिरे

वर्षेनी भानुजयन्ती मनाउँदा भानुको जन्म सालबारे द्विविधा रहने गर्दछ । यसपालि पनि संसारभरि जहाँ जहाँ भानुजयन्ती मनाइयो ती सबैतिर कतै २०३ औं र कतै २०४ औं भनियो । भारतको दार्जीलिङमा नेपाली साहित्य सम्मेलनले मनाएको प्रथम भानुजयन्तीबाट गनेर ल्याउँदा यो वर्ष २०३ औं नै हुनुपर्ने हो । तर, यो पनि भानुभक्तको जन्म १८७१ साललाई मान्दा मात्र । खासमा भानुभक्तको जन्मसालबारे ठूलो द्विविधा रहँदै आएको छ ।

“चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ।”

कुमारीचोकको कैदखानाबाट श्री 3 कमाण्डर इन् चिफ (जंगबहादुर राणा)- लाई विसं १९०९ मा लेखेको विन्ति पत्रमा भानुभक्तले लेखेको यो कवितांशले उनको जन्म १८७१ सालमा नभएर १८६९ मा भएको हो भन्ने प्रष्टै बुझाउँछ । भानुभक्तले आफू चालिस् पुगेको कुरा सो विन्ति पत्र लेखिएको १९०९ सालबाट घटाउँदा ठ्याक्क १८६९ हुन पुग्दछ । भानुभक्तले आफ्नो जन्मसाल नै भुलेर कविता लेखे भन्न सक्ने ठाउँ छैन । त्यतिका विद्वत र ज्योतिष शास्त्रसमेतका ज्ञाता भएका कवि भानुभक्तलाई आफ्नै उमेर ज्ञान भएन कसरी भन्नु ! यस अतिरिक्त मोतिराम भट्टको “कवि भानुभक्तको जीवन चरित्र”, (१९४८) मा भानुभक्तको जन्म १९६९ भनेर बारम्बार दोहोऱ्या तेहऱ्याइ लेखेका छन् । भानुभक्त जन्मेको १२७ वर्षपछि उनकी नातिनी (रमानाथकी छोरी) विष्णुमायाले “भानुभक्त मणिमाला” लेखिन् र सो को भूमिकामा रङ्गनाथ शर्मालाई भानुभक्तको जन्म १८७१ हो भनेर भूमिका लेखाइन् ! अब मोतिरामको लेखोटलाई सदर मान्ने कि विष्णुमायाको ? श्रद्देय स्व.कवि भानुभक्तको जन्म सालबारे अन्योल कायम छ । Bhanu

हुन त मोतिरामका दाबीहरुलाई पनि सबैले हाई हाई त गरेनन् । भट्टविरुद्ध पनि थुप्रै अपुष्ट र अतथ्यहरु जोडेको आरोप साहित्यिक वृत्तमा प्रशस्तै छन् । नेपाली साहित्यको इतिहासलाई राम्ररी गोडेर हेरे विसं १९४८ मा मोतिराम भट्टले ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ भन्ने पुस्तक लेखेर छपाएपछिमात्र भानुभक्तका कृतिहरूबारे खोजी र विवेचना शुरु भएको हो । आफ्नो आदर्शको ऐतिहाकि पुरुष खोजेर राष्ट्रिय भाषा र साहित्यको शिखर मर्यादित बनाउने उद्देश्यले गर्दा नै मोतिरामले फूल–बुट्टाले सजाइएका भानुभक्तको जीवनी लेखेका हुन् । आफूले खोजेर पत्तो लगाएका कविलाई प्रतिभासम्पन्न र सर्वप्रिय थिए भन्ने प्रमाणित गर्नलाई उनी आफैंले ‘भानुभक्तले रचेका’ भनेर फुटकर कविताहरू समेटेका पनि भट्टमाथि आरोप लागेको थियो–छ । भट्ट आफैंले लेखेर भानुभक्तले रचेका भनी दाबी गरिएका रचनाको नमूना घाँसीसम्बन्धी श्लोकहरूलाई लिइएको छ ।
“भर् जन्म घाँसतिर मन् दिई धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भै कन आज यस्तो”-
उक्त श्लोकको चौथो हरफमा रहेको ‘मो’ शब्द भानुभक्तले प्रयोग गर्ने नभई मोतिरामले प्रयोग गर्ने शब्द भएको नेपाली साहित्यका इतिहासकारहरूले पुष्टि गरिसकेका छन् । हुन पनि हो, भानुभक्तले कतै पनि ‘म’ भन्ने ठाउ“मा ‘मो’ लेखेका छैनन् तर, भट्टका प्रायः सबैजसो कृतिहरूमा ‘म’ सम्बोधनलाई ‘मो’ लेखिएको पाइन्छ । पाल्पाको मालखानामा खजाञ्ची रहेका आफ्ना बाबुको खजाना हिसाब गडबडीले गर्दा लागेको मुद्दामा कुमारीचोक जेल पसेका भानुभक्तले ‘कान्तिपुरी नगरी’–जस्ता अनेकौं फुट्कर रचना गरेका मोतिरामले दाबी गरेका छन् । हुन पनि भानु बाजेले कुमारीचोकमै रामायणको बालकाण्ड लेखी सिध्याएका इतिहासमा उल्लेख छ । तर, यथार्थमा भानुभक्तले आफ्नै मौलिक कृतिको रूपमा ‘भक्तमाला’ एउटा कृतिमात्र सृजना गर्नसकेका बताइएको छ । ‘भक्तमाला’ उनले बिरामी अवस्थामा आफ्ना छोरा रघुनाथलाई लेख्न लगाएर सिध्याएका नेपाली साहित्यका इतिहासजनित कतिपय पुस्तकहरूले पुष्टि गरेका छन् । उनका नाति नरनाथले केही वर्ष पहिले लेखेका पुस्तकहरू पनि अहिले बजारमा छन् । तर, यी सबैको अध्ययनपछि पनि भानुभक्त नेपालीका ‘आदिकवि’ नै हुन् भन्ने ठोकुवा गर्नसक्ने केही आधारहरू पाइँदैन ।
कुरा यतिमात्र होइन, घाँस बेचेर आर्जेको पैसाले पाटी बनाउने, कुवा खन्ने घाँसीको परोपकारी कुरा सुनेर भानु बाजेलाई रामायण अनुवाद गरी ‘स्वर्ग’ सपार्ने प्रेरणा मिल्यो भन्ने भट्टको दाबी पनि बिल्कुल निराधार, उडन्ते लहडमात्र भएको बुझिन्छ । पहाडका समुदायहरूमा यसै पनि मरेर गएका मान्छेहरूको स्मृतिमा सामूहिक प्रयासबाट पाटी–चौतारा बनाउने चलन छ । त्यो पनि भानुबाजेको युगमा पैसा खर्चेर पाटी बनाउने सन्दर्भ नै उठ्तैन । मोतिरामले वनारसको शहरमा धनी मानिसहरूले पैसा खर्चेर धर्मशाला र आश्रम बनाएको कुरालाई तनहुँजस्तो तत्कालीन जंगलामुलुकमा ल्याएर जोडेका छन् ।

कुरो जेसुकै होस्. खासगरी हामी यहाँ भानुभक्तको जन्मसालका बारेमा चर्चा गरिरहेका छौं । यस सवालमा स्व. मोतिराम भट्टकृत “कवि भानुभक्तको जीवन चरित्र”, (१९४८) र विष्णुमायाको “भानुभक्त मणिमाला” पढ्नुहोस् अनि नइ प्रकाशनको श्री नरेन्द्रराज प्रसाईकृत “भानुभक्त आचार्यको जीवनवृत्त” (२०७१) पृष्ठ ६७( मा घोत्लिन आइपुग्नु होस् । यसरी गणना गर्ने हो भने भानुभक्त आचार्यको जन्मजयन्ती भारतकाहरुले मनाए जसरी जाँदा २०५ औं र नेपालकाहरुले मनाए जसरी जाँदा २०६ औं हुन पुग्दछ । अनि थप कुरा, भानुभक्तलाई “आदि कवि”, को उपाधि दिइएको सन्दर्भमा पनि थुप्रै विवादहरु छन् । वास्तवमा मोतिराम भट्टका अतिरिक्त श्री तीन जुद्ध शमशेरले “भानुभक्तलाई आदिकवि भने पनि हुन्छ”, भनेर दार्जीलिङको नेपाली साहित्य सम्मेलनलाई सम्बोधन गरिएको पत्रमा लेखिदिएको वाक्यांशलाई आधार मानेर उनलाई आदिकवि भन्न थालिएको हो । कवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, “युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग׏”, निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार आदिका आ-आफ्नै धारणाहरु छन् । कसैले जातीय कवि भनेका छन् कतिले भाषिक रसका कवि भनेका छन् । तर, आदिकवि भन्ने उपमाचाहिं मोतिराम र जुद्ध शमेशेरको हुकूमभन्दा पहिले कतै पाइँदैन । यी सबै कुरामा ध्यान लगाउने हो भने, “आदि” र “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका केहीमध्ये एक अभिभावक भानुभक्तलाई “आदिकवि” –को माला पहिरिदिएर नेपाली साहित्यको खोज तथा अनुसन्धानको ढोका बन्द गर्ने थिएनन्, तर भयो यस्तै ।

भानुभक्तका कृति–कार्यले, उनीप्रतिको आस्थाभावले हो? कि उनी ‘आदिकवि’ भएका कारणले जन्मजयन्ती मनाइएको हो? उनीप्रति श्रद्धाभाव दर्शाइएको हो कि शासकीय भक्तिपरम्परा धानिएको हो ? यो प्रश्नलाई सबैले गोडेर यथार्थ भेट्टाउने प्रयत्न नगरे नेपाली साहित्यको इतिहासप्रति अन्याय हुन जानेछ ।

वास्तवमा इतिहास र घटनाक्रमलाई राम्ररी अध्ययन गर्दा कुनै राजनीतिक नेतालाई झैं ‘सबैभन्दा ठूलो’ र ‘गतिलो’ भनिदिएर सर्काउँदै त्यसको श्रेयमा आफू ढलिमली गर्ने मनोवृत्तिले भानुभक्तलाई नेपालीका कथित आदिकवि बनाइएको छनक पाइन्छ । भानुभन्दा अघिका कैयौं युद्ध र मानवीय उत्पीडनका कथाहरू नेपाली भाषामा सवाई तथा झ्याउरे लयमा कथेर जनतालाई सुनाउने सर्जकहरूचाहिं नेपालीका आदिकवि नभएर जनविरोधी राणाकालीन साहुहरूलाई खुशी पार्न कहाँको अयोध्याका रामको, एउटा दरबारिया राजखलकको कथा लेख्ने भानुभक्तचाहिं आदिकवि कसरी भए ? राष्ट्रियताको दृष्टि र नेपाली जातीय प्रेमको हिसाबले पनि भानु बाजेभन्दा पहिले साहित्य सिर्जनेहरू थुप्रै छन् , उनी नै ‘आदिकवि’ हुनुपर्ने ठोस आधार के छ त ? भन्ने प्रश्नहरू सर्वत्र छन् । यस्ता प्रश्नमा केही सत्यता पनिछ नै । तर, यसैलाई ठोस र पर्याप्त सत्य ठानेर थप्पडी मार्न भने आवश्यक छैन । किनकि कथा र कथानक जहाँको अनि जुनसुकै विषयको भए पनि त्यसको भाषा–शैली र प्रस्तुतिको ओजनमा भानुले नेपाली भाषाका जनप्रिय, सर्वमान्य, उत्कृष्ट, संस्कृतका उपमा, अनुप्रास तथा आलंकारिक लयका प्रदर्शक कवि वा सबैभन्दा श्रेष्ठ शिल्पी कविको दर्जा पाउनुपर्ने कुरा निर्विवाद छ । यद्यपि, आदिकवि भन्ने तक्मा उनलाई भिराउनचाहिं हतार भएको पक्कै विश्वास गर्न सकिन्छ ।

नेपालमा राणाकालीन तानाशाही शासकहरूले जनतालाई न्याय र अधिकारको पक्षमा बोल्न नदिएर त्राही–त्राही पारेका बेला वनारसमा पढेर–बढेर आएका मोतीराम भट्टले उनीभन्दा लगभग ५० वर्षअघि नै बितेका भानुभक्त बाजेलाई एकाएक आदिकवि बनाएर त्यसैको आडमा आफू अघि बढ्ने चतु-याइँ अप्नाएका हुन् भनेर पनि धेरैले दाबी गरेका छन् । भट्टले साहित्यकारहरूको वृत्तमा भानुभक्तबारे यो विचार सार्वजनिक गरे अनि त्यसबेलाका रागी युवा साहित्यकार मोतिराम भएका कारण त्यही जोड–बलमा तत्कालीन राणाशासक जुद्ध शमशेर जबराले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भनेर सिफारिश गरिदिए । त्यही हैकमयुक्त घोषणाले भानु बाजेलाई ‘आदिकवि’ बनाइदिएको इतिहासले बताएको छ । तर उनलाई आदिकवि भनेपछि उनीभन्दा अघिका कवि–साहित्यकार अनि नेपाली साहित्यको जग नै बिलाउन पुग्यो । कविता साहित्यको इतिहास केलाउनेहरूलाई भानुभक्तसम्म पुगेपछि अरू अघि बढ्ने जमर्को नै गर्नुपरेन, किनकि उनीहरू ‘आदिकवि’सम्म पुगेकाले ढुक्क भइहाले । यसैकारण नेपाली भाषा–साहित्यले विश्वसाहित्यको तुलनामा आजसम्म निकै पछौटे दर्जा लिइराखेको छ । आख्यान, सवाइ र वीर रसका कविताको सिर्जनापछिका श्रृङ्गारिक र भक्तिरसयुक्त कविताका सर्जक भानुभक्त साँच्चै कसरी आदिकवि बने, इतिहासप्रति गम्भीर भई न्याय दिने व्यक्तिले गर्नसक्ने सामान्य गल्ती होइन यो । यो अति भावुक लहडमा गरिएको निर्णय हो अनि भाषा–साहित्य र स्रष्टाहरूप्रति, इतिहासप्रति नै अन्याय हो, अपराध हो ।

भानुभक्तले जे गरे, राम्रो र भलो गरे । तर उनले आदिकविको तक्मा भिर्छु भनेर माग त गरेनन् नि! उनी पछिकाहरूले नै उनलाई ‘राजा’ चुनेर आफू ढोके–भँडारे बन्ने दाउपेचमा उनलाई जबरजस्ती आदिकवि बनाए । अन्त्यमा भन्नैपर्ने कुरोचाहिं के रह्यो भने, उनीप्रतिको आस्था जगाउन र बढाउनलाई उनको उपाधिको कुनै खाँचो छैन, उनको काम र योग्यता नै काफी छ ।

Find us on Facebook