नर्वेमा २०४ औं भानु जयन्ती सम्पन्न

Filed under: Literary News |

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वे (अनेसास, नर्वे) को आयोजनामा नर्वेको राजधानी ओस्लोमा २०४ औं भानु जयन्ती तथा साहित्यिक रचना वाचन समारोह भव्यताका साथ सम्पन्न गरिएको छ।

आयोजकहरुले उत्तर युरोपियन देश नर्वेमा पहिलो पटक भौतिक कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउँदै अनेसास नर्वेले सबैभन्दा पहिले नर्वे आउने अग्रज नेपालीदेखि भर्खर नर्वे आएका नेपाली लगायत, नर्वेमा बसोबास गर्दै आएका नेपाली, नेपाली भाषीहरु लगायत सबै प्रकारका नेपाली संघसस्थाहरुलाई यसरी पहिलो पटक एउटै थलोमा जम्मा गरी ऐतिहासिक कार्यक्रम गर्न सफल भएको दावी गरेका छन् ।

यस अघि सन् २०११ मा नर्वेमा रहेका भूटानी नेपालीहरूले भानु जयन्ति मनाएका थिए जसमा अनलाइन मार्फत विभिन्न स्थानमा रहेका स्रष्टाहरूलाई सहभागी गराइएको थियो।

गैर आवासीय नेपाली सङ्घ नर्वेका अध्यक्ष संजीव कुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा प्राध्यापक विशाल सिटौला, नर्बे आउने पहिलो नेपाली हेम गुरुङ, गैर आवासीय नेपाली सङ्घ नर्वेका निवर्तमान अध्यक्ष कुमार पण्डित विशिष्ट अतिथि थिए। आदिकवि भानुभक्तको फोटोमा माल्यार्पण गरी सुरु गरिएको सो कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी सदस्य दुर्गा प्रसाद न्यौपानेले गरेका थिए भने संस्थाका सचिव बरुण पौडेलले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।कार्यक्रममा तारा ढुंगाना र बबिशा पौडेलले खादा तथा गुलाफका थुङ्गाहरुले अतिथिको स्वागत गरेका थिए।

This slideshow requires JavaScript.

कार्यक्रममा खुम ढकाल, सागर काफ्ले, विकल्प अधिकारी, डिपि न्यौपाने, अमर सिंह, देवी चरण चाम्लागाई लगायतका स्रष्टा हरुले भानुभक्तको सम्मानमा लेखिएका रचना सहित आफ्ना अन्य रचनाहरू वाचन तथा गायन गर्नुभएको थियो। त्यसै गरी हेम गुरुङ, विशाल सिटौला, सालिकराम अर्याल, देबेन्द्र प्रसाद अधिकारी लगायतका अतिथिहरुले आदिकवि भानुभक्तको सम्झना गर्दै आफ्ना मन्तव्यका साथै रचनाहरू प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा नेपाली जन सम्पर्क समिति नर्बेका अध्यक्ष जितेन्द्र विक्रम शाहीले नर्बेमा रहेका सबै राजनैतिक संघसस्थाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा अतिथिहरुले नर्वेमा पहिलो पटक यस किसिमको साहित्यिक कार्यक्रम भएकोमा खुसी व्यक्त गर्दै नर्वेमा पहिलो पटक ऐतिहासिक साहित्यिक कार्यक्रम गर्न सफल भएकोमा अनेसास नर्वेलाई बधाई ज्ञापन गरे साथै भविष्यमा पनि यस किसिमका ऐतिहासिक कार्यको निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए।

नर्वेमा रहेका हरेक नेपाली संघसस्था र उनीहरूले गर्ने कार्यक्रमहरूमा महिलाको सङ्ख्या अत्यन्तै न्यून रहँदै आएको र यस कार्यक्रममा पनि महिलाको सहभागिता अत्यन्तै न्यून देखिएको अवस्थामा अनेसास नर्बेकी अध्यक्ष नै महिला रहेको र उनको नेतृत्वमा यस्तो ऐतिहासिक कार्यक्रम सम्पन्न भएकोमा अतिथि तथा सहभागीहरुले अध्यक्ष बिष्णुमाया बिभुको खुलेरै प्रशंसा गरेका थिए।

४० जनाको सहभागिता रहेको यस कार्यक्रमलाई रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरी संसारभर पुर्याएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति साहित्यकार बिष्णुमाया विभुले अनेसास नर्वे बारे जानकारी दिँदै आफ्नो धन्यवाद मन्तव्यकासाथ आफ्ना साहित्यिक रचनाहरू वाचन गरी कार्यक्रमको औपचारिक समापन गरेकी थिइन्।

पूरा कार्यक्रम तल सुन्नुहोस्:

Find us on Facebook