देश हराएको म एक्लो मान्छे

Filed under: Indra Prakash Khawas,Nepali,Poetry |
कवि

कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका

मलाई स्वच्छन्द प्राणी भएर बाँच्न देऊ
पिन्जराको चरीलाई झैँ बन्द नगर
अस्थिर पञ्जर सिहँलाई झैँ थुनामा नराख
म त देश र राष्ट्रको अस्मितालाई सम्मान गर्ने मान्छे
सधैँ न्याय र मुक्ति चाहाँने मान्छे ।
मलाई कसैको दासव्त मन पर्दैन
म त बराबर हेर्ने मान्छे
म त समानता खोज्ने मान्छे
मलाई मान्छे जस्तो गरेर बाँच्न देऊ
मलाई मान्छे खाने व्यवहार चाहिँन्न
म मान्छे–मान्छे माझको खुसीलाई
मनपराउँने मान्छे ।
म अन्याय र अत्यचार
कालो कोठरी भन्दा
अलि नौलो परिवेश खोज्ने मान्छे
स्वर्गको परीको रूप र रङ्गा
भन्दा अलिक बेग्लै
मेहनत र पैरखमा हाँस्ने मान्छे ।
मलाई मुटु दुखाएर बाँच्ने रहर छैन
मलाई छाती फुटाएर
रुन मन छैन
म त आकाशमा उड्ने पञ्छी झैँ
झुल्न चाहाँने मान्छे
देश र राष्ट्रलाई फूलाउँन चाहाँने मान्छे ।
म त अन्यायमा पिसिएको मान्छे
पहरा जस्तो लिछिएको मान्छे
मलाई देशको सुख चाहिन्छ
म त लिछिएको पाँखामा रमाँउने मान्छे
आफ्नै देश र राष्ट्रलाई सुन्दर बनाउँने मान्छे ।
म बास खोसिएको मान्छे
लास घोषित गरिएको मान्छे
म यसै लुटिएको मान्छे
चामल जस्तो कुटिएको मान्छे
घाँटी सुकुन्जेल कराएको मान्छे
देश हराएको म एक्लो मान्छे ।

Find us on Facebook