इतिहासमा समाधिस्त घटनाहरूको पुनर्लखन गर्ने काव्य

समीक्षक

समीक्षक

शिवलाल दाहाल
केन्टकी, अमेरिका

दर्पण कवितासङ्ग्रमाथि केही शब्द लेखेर पठाएको लगत्तै उनको फोन आयो मेरो अर्को पनि कृति तयार छ त्यसमा पनि लेखिदिनु पर्‍यो । मलाई अप्ठ्यारो लाग्छ । म कस्तो कृति भनेर सोध्न पुग्छु । उहाँ भन्नु हुन्छ “मेरा लागि त महाकाव्य नै लेखेको छु ।” यस भनाइबाट उहाँ आफैँ पनि यो कृति महाकाव्य भयो कि भएन भन्ने सन्देहमा हुनुहुन्छ भन्ने कुराको छनक मिल्दछ । कवि ददिराम अधिकारकिो मातृभूमि काव्यको पाण्डुलिपि हुलाक मार्फत प्राप्त गरेपछि सरसर्ती पढेँ । पढिसकेपछि म पनि सन्देहमा नै परेँ। कविताको विराट रूप हो महाकाव्य तर लामो श्रृंखलावद्ध कविता हुँदैमा महाकाव्य हुँदैन । महाकाव्यमा हुनु पर्ने धेरै अभिलक्षणहरु यसमा छैनन् । संस्कृत साहित्यमा महाकाव्यका बारेमा जुन परिभाषा दिइएका छन् त्यसभन्दा धेरै फरक छ यो लेखन । यद्यपि नेपाली साहित्यमा लेखिएका कतिपय महाकाव्यहरुमा प्नि केही न केही प्रयोग हुँदै आएका छन् । यस दृष्टिले हेर्दा पनि यसलाई महाकाव्यको पुष्टि गर्न मलाई कठिन नै प¥यो । जे होस् कृति प्रकाशनपछि पाठक र विश्लेषकहरुले यसको छिनोफानो गर्लान् । अहिलेलाई महाकाव्य नै भनौँ । त्यसो भए उनी भूटानको सन्दर्भमा गौरीशंकर अधिकारी, डिल्लीराम आचार्य पछिका तेस्रो महाकाव्यकारका रूपमा पङ्तिबद्ध हुन आइपुग्दछन् । काव्यगत गुण–दोष, प्राप्ति र परिसिमा आ–आप्नै होलान् ।

यो काव्यको नाम सुन्दा मलाई के लागेको थियो भने यसमा भूटानको पाखा–पखेरा, खेतबारी, वन–पाखा, हिमाल, खोला–नाला आदिको मनोरम चित्र खिचिएको होला, झर्ना खोलाको सुसेली, गोठालाको बाँसुरीको धुन, कोल्कोले र न्याउलीको विरही गीत झंकृति होला, त्यहाँ पाइने सुनाखरी, लालीगुराँस जस्ता फूलहरुको सौन्दर्य वर्णनले सुशोभित होला । आखिरी महाकाव्यले प्रकृतिको त्यस किसिमको वर्णनको माग पनि गर्छ नै । तर मेरो सोचभन्दा अलिक फरक रहेछ काव्यको अन्तर्वस्तु, लेखकीय दृष्टि । उनले भूटानको ब्युत्पति, विभिन्न जातिको भूटान प्रेवश, ती जातिहरुको भाषिक–सांस्कृतिक र धार्मिक विविधता, विभिन्न समयको शासन व्यवस्था, देशको भौगोलिक अवस्थिति, विभिन्न समयमा भएका राजनीतिक दाउपेचका घटना, हत्याका श्रृंखला, देशमा भएको शासकीय स्वेच्छाचारीता, विशेष गरेर नेपाली भाषीमाथि भएका षड्यान्त्र, दमन र शोषण आदिलाई विषय वस्तुका रूपमा प्रस्तुत गरेका छन् । काव्यभित्र हत्यैहत्या र दमनका घटनाहरूको लामो विवरण नायिका भूटान जननीका मुखबाट प्रकटित हुन्छ । यी धेरै घटनाहरू राज्यसत्ताले इतिहासमा लेख्न अस्वीकार गरेका घटनाहरू हुन् । मनौँ कविसँग इतिहासका यस्ता घटनाको पोको नै छ । यस हिसाबले यो कृति इतिहासमा लुकाइएका, दबाइएका वा समाधिस्त घटनाहरूको पुनर्लेखन हो । यस्तो लेखनले हामीलाई इतिहासको हिसाब–किताब गर्न अझै कतै बाँकी नै त छैन भन्ने कुराको बोध गराउँछ किन भने हामी न्याय प्राप्तिको अनन्त लडाइँमा नै छौँ । तर काव्यगत हिसाबले हेर्ने हो भने यतिधेरै घटनाहरूको विवरण पेस गर्नुभन्दा कुनै एक घटनालाई मात्रै लिएर त्यसमा कल्पना,अनुभूति र सम्वेदनाले मोरेर रचना गरेको भए काव्यले भिन्नै रूप पो लिने थियो कि भन्ने लाग्छ । काव्यमा वर्णनभन्दा विवरण बढ्ता भएको देखिन्छ जसले गर्दा काव्यलाई रसहीनतातर्फ धकेलेको छ । मानिसले आफू जन्मेको, हुर्केको र बढेको माटोलाई कहिल्यै बिर्सन सक्तैन । जहाँ गए पनि उसलाई त्यही देश र माटाको मायाले पच्छ्याइरहेको हुन्छ । कवि दधिरामको माटोप्रतिको त्यही सम्झना र मायाको प्रस्फुटन हो यो काव्य । एकापट्टि हामी यति दूर देशमा आएर पनि त्यही देशको गाथा गाइरहेछौँ अर्कातिर त्यहाँका शाषकहरु हामीलाई कहिल्यै त्यो मायाको हकदार बनाउन चाँहदैनन् । कस्तो विडम्बना छ यो संसार ।

अमेरिकाको व्यस्त जीवनबाट पनि समय निकालेर कविताको यत्रो ठेली लेख्नु चानचुने कुरा होइन । यो उमेरमा उहाँमा काव्य साधना गर्ने जुन जोस्, जाँगर र उत्साह छ त्यो हाम्रा लागि अत्यन्त प्रेरणा पद कार्य हो ।

Find us on Facebook