अन्योलः चाड-पर्व, बलिप्रथा र हामी

Filed under: Bhakta Ghimire,Nepali,लेख / रचना,संस्कृति |

भक्त घिमिरे

लेखक

लेखक

जब जब चाड-पर्वहरु आउँछन्, नेपाली समाजमा बलिप्रथाका बारेमा अनेक तर्कातर्कीहरु शुरु हुन्छन् । दशैं वा विजयादशमीको अवसरमा चली आएको बलिप्रथाका बारेमा सदियौंदेखि चर्चा हुँदै आएको छ । कसैले बलिप्रथा गलत छ भन्छन् त कसैले यो सही छ । कुरैकुरामा मांश भक्षणसम्म आइपुगेर यो कुरा टुंगिन्छ, तर प्रश्नको समाधान कहिल्यै हुँदैन ।

यस पर्वलाई हिन्दूहरुको मात्र माने पनि, नेपालीहरुको पर्व भने पनि बलिप्रथाको कुरो भने समग्रमा एकनासले चलिरहेको छ । बलिप्रथाका पक्षधरहरु भन्छन्,“वेद-पुराणहरुमा समेत देवताहरुले बलि दिएका छन्, मांश भोग गरेका छन् । हामीले किन गर्न नहुने ?” यसप्रथाका विरुद्धमा रहेकाहरु भन्छन्, “बलि भनेकै समर्पण हो, हरण होइन । त्यसकारण कसैको ज्यान हरेर, ईश्वरलाई खुशी पार्ने कुरा कतै सम्भव छैन ।” उनीहरुले पुराणमा रहेको असूर राजा बलि र वामनको कथाप्रसंगसम्म पुऱ्याएर बलि भन्ने शब्दको पुष्टि दिने गरेका छन् । अब हामी पनि मासु खान हुने र नहुने वा खाए के हुने, नखाए के हुने भन्ने कुरा छोडेर यहाँ यो बलिप्रथा कहाँ कसरी शुरु भएछ भन्ने कुरामा चर्चा गरौं ।

वास्तवमा दशैं र दशैंमा बलिको नामबाट हुने हत्याको विषयले मलाई पनि प्राचीन मानव समुदायले बलि कुन उद्देश्यमा शुरु गरेको थियो त भन्ने चर्चाको उठान गर्न हुट्हुटी चलायो । सबैभन्दा पहिले मान्छेले पुनर्जन्मको कुरालाई मान्य ठानेको छ जुन विश्वासले गर्दा उसलाई बलिप्रथा शुरु गर्न उत्प्रेरित गरेको देखिन्छ । प्राचीन संस्कारमा विभिन्न राजाका दरबारबाट ‘नरबलि’ अर्थात मान्छेको बलि दिने चलन विकास भएको थियो । राजा, महाराजहरुको देहान्त हुँदा हजारौं राँगा, भैंसी, अन्य उपयोगी पशु-पंक्षी, दास-दासी र सुसारे तथा पटरानी (राजाका पत्नी) हरुको बलि दिने चलन ती मृतकहरुको अर्को जन्मको लागि भनेर शुरु गरिएको तथ्य पाइन्छ ।

तानाशाह सम्राटहरुको मृत्यु हुँदा, ठूला ठूला मन्दिर, पूल आदि बनाउँदा, खडेरी, अनिकाल, भूकम्प, ज्वालामुखी र भलबाढी आदि अवस्थामा प्रकृति वा देवी-देवता जे भने पनि खुशी पारेर आफू र आफ्नो दर-सन्तानको रक्षा गर्न नरबलि दिने चलन हाम्रै बेलासम्म सुन्नमा आएकै कुरा हुन् । गाउँ गाउँमा टाउको काट्ने मान्छे पसेको हल्ला सुनेर सिँबी झ्यालतिर लुकी हिँडेका मेरा कैयौं दौंतरीहरु यस लेखका पाठकहरु नै हुन सक्छन् ! भारतका ठूल्ठूला पुल, दरबारमा भोग दिनलाई मान्छेको टाउको चाहिएकाले टाउको काट्नेहरु सिमाना देशका गाउँतिर पसेका हल्ला खूब चल्थे हिँजो-अस्तिसम्म ! हेरौं न त यो बलिको नाममा मानवहत्याको चलन कहाँबाट शुरु भएछ ।
करिब करिब ७००० ईशापूर्वतिर मेसोअमेरिकन प्रान्तमा मान्छेको बलि दिने यो चलन शुरु भएको मानिएको छ । यो प्रान्त भनेको १५ औं शदाब्दीमा कोलम्बसमार्फत स्पेनको वर्चस्व कायम हुनभन्दा अघिको अमेरिकी प्रायदीप अर्थात् वर्तमान बेलाइज, ग्वाटेमाला, साल्भाडोर, होण्डुरस, निराकागुवा, कोस्टारिका आदि क्षेत्र हुन् ।

त्यसपछि क्रमशः ग्रीसमा पशुबलिको चलन शुरु भएको छ । पशुबलि विषयका विश्व-अध्येता वाल्टर बुर्कर्टका अनुसार पशुबलिको चलन मानिसहरुले आधुनिक सम्भयतामा प्रवेश गर्नभन्दा अघि शिकार खेलेर जीवनयापन गर्दैगर्दा शुरु गरेका हुन् । ‘पशुबलि’ शीर्षकीय उनको एउटा मूल लेखको आशय अनुसार जुनसुकै धर्म वा जातीय समुदाय भए पनि पशुबलिको उद्देश्यचाहिं एकै किसिमको भेटिएको छ जसमा सामाजिक, आर्थिक समृद्धिका अभिलाषाहरु छन् । हिब्र्यू, ग्रीक, रोमन हुँदै यो पशुबलिको चलन मध्यपूर्व र एशियाली क्षेत्रमा प्रवेश गरेको वाल्टरको भनाइ छ ।

हाम्रो समुदायको बाहुल्य रहेको एशियाली, विशेष गरी नेपाल, भारत, भूटान, बर्मा र वरिपरिका क्षेत्रमा पनि नरबलिका विभिन्न रुपबारे हामीले पढ्नसम्म पाएका छौं । जस्तै हिन्दू समुदायभित्र सतीप्रथा भयो अनि सयौं कमारा- कमारी वा दास-दासीलाई जिउँदै चितामा राखेर दोहन गरिने चलन आधुनिक राणाशासक जंगबहादुरकै पालासम्म आइपुगेको छ । जंगबहादुर आधुनिक किनभने उनी नै प्रथमपटक बेलायतको भ्रमण गर्ने पूर्वेली शासक थिए । त्यस्ता आधुनिक बनिसकेका शासकले पनि आफू मर्दा अठारवटी पटरानी र सयौं दास-दासीलाई चितामा सँगै लिएर गए । यो त भयो नरबलि वा मान्छेको बलि दिने चलनको नमूना । अब पशुबलिको कुरा गरौं । विभिन्न समुदाय (हिन्दू अहिन्दूको कुरा छैन)-ले पशुबलि दिने गरेका छन् जसमा सबैको उद्देश्य करिब करिब एकै खाले हुन्छ ।

समग्रमा भय र लालच जस्ता कुराहरुले नै मानिसलाई पशुबलिका लागि उत्प्रेरित गरेका छन् । देवीपूजा, संसारी माई पुजा, कुल पूजा, आठाने पूजा, मष्टपूजा, दक्षिणकाली, कालभैरव, तलेजु भवानी आदि आदि सबै पूजाहरु पशुबलिबाट शुरु गरिन्छ र यो वर्तमान नेपालको भूगोलभित्र सीमित छैन बरु नेपालीहरु संसारको जुन जुन कुनासम्म पुगेका छन्, ती सबै क्षेत्रमा यो संस्कार प्रवेश गरेको छ । यसपालिको दशैंमा अमेरिकाको न्यूयोर्कमा आफ्नै सवारी साधनभित्र बलिकै नाममा बाख्राको खसी काट्न लागेको अवस्थामा एकजना नेपालीको गिरफ्तारी भएको समाचार त शायद धेरैले सुन्नुभएकै होला !
अब नेपाली समुदायहरुबीच यो परम्पराको सरोकार उठाउँ । जहिल्यै पनि सामान्य यात्राका लागि अघि बढ्दा समेत देउराली वा देवीथानतिर पाती चढाउने परम्परा हाम्रै बेलासम्म भोगेर आएका छौं । गच्छे अनुसार सबैले देवी-देउताको पूजा गरे आफूले चाहेको फल पाउने विभिन्न किंवदन्तीहरु हाम्रो समाजमा प्रशस्तै श्रुतीको रूपमा चलेका छन् ।

यसरी नै सदियौंदेखि पशुपालन, खेती किसानी गरेर बाँचेको हाम्रो समाजमा कुखुरा, परेवा, बोका-खसी, भेडा, राँगा बलि दिने परम्परा बसेको मान्न सकिन्छ । यी पशु-पंक्षीहरुको बलि दिइनुको कारण यिनै पशु-पंक्षीहरु मान्छेका लागि उपयोगी थिए । पशुपालकहरु प्रकृतिलाई देउता मान्थे र उसलाई खुशी राख्नुपर्ने आफ्नो धर्म ठान्थे । पछि नेपाली समाजमा विभिन्न आयातीत धर्मका कुराहरु आए । ती धर्मका सिद्धान्तहरुले नेपालीहरुलाई प्रकृतिको ठाउँमा अन्य देवी-देउताको स्थापना गरिदिए । धर्मका गुरुहरुलाई शुरुमा विपरीत नीति-चेतना बोकेर बसेका ती स्थानीय समाजमा प्रवेश पाउन गारो परिरहेको थियो । त्यही भएर उनीहरुले भन्दिए,“हाम्रो धर्मको पथमा लाग्दा तपाईंहरुले मानेर ल्याएको चलन मास्नु पर्दैन । तर, पूजा पद्दतिलाई अलिकति परिवर्तन गर्दा पुगिहाल्छ । उठ्ता, बस्ता, सुत्ता, खाँदा ईश्वरलाई सम्झिनुहोस् ।” गुरुहरुका यस्तै उपदेशका क्रममा आफूले जे जे खाए पनि खानेबेला इष्टदेवलाई सम्झिएर खानू भन्ने अर्ती उनीहरुले मानेका मात्र हुन् । पशु-पंक्षी हत्या गरे मासु खाए, खानेबेला उनीहरुले आफ्नो इष्टदेवलाई सम्झना गरी अर्पिए । पशुबलि भनेको त्यति नै हो । देवी-देउताले पाउने नपाउने कुरो त बेग्लै विषय हो । उनीहरुलाई विषयमा सरोकार रहने कुरै भएन । केवल “पुर्खाले गरी ल्याएको” भनेर बिँडो थाम्नेभन्दा अरु उनीहरुले सोच्ने पनि होइनन् । यसर्थ पशुबलिको परम्परा व्यर्थ हो । यसले व्यापक पर्यावरण क्षतिभन्दा बढी कुनै पनि मानवहित गर्न सम्भव छैन ।

अब अर्को पक्षको कुरा पनि गरौं । बलिप्रथा र मांशाहारका विरुद्धमा वकालत गर्नेहरुको तर्कचाहिं के रहन्छ भने,“पशु-पंक्षीको हत्या गरेर देवी-देउता खुशी हुँदैनन् । मान्छे, पशु, पंक्षी र सारा यो विश्वब्रह्माण्ड एउटै ईश्वरको सिर्जना हो । प्राणहत्या गर्नु महापाप हो ।” यद्यपि, व्यवहारिक जीवनका कुरामा पुगेपछि ती अर्ती र उपदेशहरु सहजै बिलाएर जान्छन् । प्राणहत्याको नाममा मासु खानेहरुलाई छिः छिः र दूर-दूर गर्ने, गाउँको बाटै नहिँड्नेहरु पनि आफ्नो रछ्यानमा दौडिरहेको सर्पलाई मारिदिन्छन् । आफ्नै शरीरमा उत्पन्न भएको जुम्रा औंठाले किच्याएर मारिदिन्छन् । मच्छड, झिँगा आदिलाई जहर हाली हाली मार्छन् । जहर हालेरै ओछ्यानका उडूसको निर्मम हत्या गर्छन् ।

यी त भए देख्ने कुरा । यो धर्तीमा सामान्य आँखाले नदेख्ने कैयौं जिवाणुहरु छन् । यस ब्रह्माण्डका सबै जीव-अजीव सबै वस्तुहरु त्यस्तै अणुहरुको संयोजनबाट बनेका हुन् । हामी बाँचेको स्वास प्रश्वासमा, हामी हिँड्ने बाटोमा हरेक ठाउँमा कणका रूपमा रहेका अरबौं जीवत्वलाई हामी मारिरहेका हुन्छौं । यहाँसम्म कि प्रजनन् प्रक्रियामार्फत आमाको गर्भबाट हामी जन्मिँदा पनि कोटी कोटी कणिका जीवहरुलाई मारेर यस धर्तीमा ओर्लिएका हुन्छौं । यस कुरालाई धर्म र आधुनिक विज्ञान दुवैले मानेका पनि छन् । भारतीय वैज्ञानिक जगदिशचन्द्र बोसले पशु र पंक्षीमात्र हैन, धर्तीका सारा वनस्तपति (बोट-बिरुवा) मा सजीव प्राण छ भन्ने प्रमाणित गरिदिएका छन् । कथित प्राणहत्याका विरोधी धर्मात्माहरुले पश्चिमा वैज्ञानिकहरुलाई “इशाई प्रभावित” भनेर उनीहरुको मत नमाने पनि वेदका ज्ञाता पूर्वेली वैज्ञानिक बोसको अनुसन्धानलाई त मान्नैपर्ने हो । त्यसो हुँदा प्राण-हत्याका विपक्षीहरुले आफू निर्पराधि रहन खानै छोड्नुपऱ्यो ।

अतः सबैले मान्नुपर्ने कुराचाहिं के हो भने आफूलाई अर्थात मानव जातिलाई आफ्नो हितका लागि, यस धर्तीको सुरक्षाका लागि, पर्यावरण संरक्षणका लागि केके आवश्यक छ, के के सम्भव छ; त्यसमा सबै सचेत र समर्पित हुनुपर्छ । आफूलाई आवश्यक परेको अवस्थामा निश्चित वस्तुको उपभोग मानिसले गर्ने हो, गर्नुपर्छ । तर मोज गर्नका लागि अनेक बहानाबाजी गरी आफूले गरेको धुर्त्याइँ, दुष्ट्याइँलाई न्यायिक बनाउनु सभ्यता होइन । मासु नखाएर पनि मानिस बाँच्छ, यसर्थ त्यो आवश्यकता होइन । तर ‘प्राणहत्या’ नगरी मानिस बाँच्तैन । किनकि यो संसार त्यसरी नै एका-अर्कामा परिपूरक बनेर अस्तित्वमा रहेको छ । बोलीचालिको भाषामा प्राणहत्या भनिए पनि यसको परिभाषिक अर्थमा जाने हो भने प्राण भनेको आत्मा हो । प्राण वा आत्मा कहिल्यै मर्दैन, जन्मिँदैन । यो अजर अमर छ । त्यसर्थ यसको हत्या सम्भव पनि छैन । त्यसर्थ; आफ्नो हितविपरीत कोही आइलाग्यो भने रमिता नहेर, जसरी एक थप्पडमा मच्छडलाई किच्याउँछौ, त्यसै गर । तर, अर्काको अहितबारे आफू पहिले कहिल्यै नसोच । सारा धार्मिक शास्त्र र धर्मका प्राध्यापकहरुले सिकाउने कुरा पनि यति नै हो ।

अन्त्यमा हाम्रा चाड-पर्वहरु कस्ता हुनुपर्छ अथवा कसरी मनाउन राम्रो हुन्छ भन्ने चर्चा पनि गरिहालौं । अब हामीले मान्ने चाड-पर्वहरु प्रेम र सद्भावनाको सन्देश सञ्चार गर्ने खालका हुनुपर्छ । गुरु, पण्डित-महात्माहरुले सर्वसाधारणलाई स्पष्ट बुझ्ने भाषामा सयंमता र भाइचाराको ज्ञान बाँड्ने काम गर्नुपर्छ । दुष्ट प्रवृत्तिको विनाश र सभ्य प्रवृत्तिको विजयकै प्रतीक हुन् चाडपर्वहरु भने मानिसहरु चाड-पर्वकै बेला अति निर्मम र दुष्ट किन हुँदैछन्, यसबारे चर्चा र विमर्श गर्नुपर्छ । चाड-पर्व अबको समयमा केवल मीठो खाने, राम्रो लाउने, पिङ, जुवातास, कौडी खेल्ने वा रक्सी धोक्ने अवसरको रूपमा रहनु हुँदैन । यो त सामाजिक एकता, शान्ति, उद्दारता र सामाजिक सम्बन्ध विकासको आधार बन्नुपर्छ । देश, काल र परिस्थितिमा अनुकूल हुनेगरी सन्तुलन मिलाएर नीति-नियमहरुको परिमार्जन गर्नु जरुरी छ । चाड-पर्व विगतलाई भन्दा भविष्यलाई बढी अर्थपूर्ण रूपमा लक्षित गरेको हुनुपर्छ । अतः दशैं-तिहार जस्ता हाम्रा चाडहरु आपसी हित, परोपकार अनि सामाजिक अन्तरसम्बन्धको विकास गराउने नयाँ दिनको रूपमा उदाउन सकून् भन्ने कामनासहित यस विचार प्रवाहलाई यहीँनेर पूर्णविराम दिएँ ।

Find us on Facebook