“मूल्यबोध”को मूल्य नहराओस्

कवि

समीक्षक

प्रतिमान सिवा
अमेरिका

भूटानी नेपाली डायस्पोरिक साहित्याकाशको क्षेत्रमा छुट्टै विशेषता र गहनता लिएर उदाएको समसामयिक साहित्यिक पत्रिका ‘मूल्यबोध’ गुणस्तरको हिसाबले निक्कै उच्चस्थानमा र अग्रपङ्ग्तिमा उभिने कोसेढुङ्गाको रूपमा स्विकार्न योग्य कृति हो । आकारको रूपमा पातलो र छरितो देखिने ‘मूल्यबोध’मा जम्मा ७२ पृष्ठ रहेको छ भने आवरण, सजावट र डिजाइनको हिसाबले पनि चिटिक्क परेको; हेर्दै पढौं-पढौं लाग्ने, एकदम आकर्षक देखिन्छ । सम्पादक त्रय : शिवलाल दाहाल, डेन्जोम साम्पाङ राई र याम थुलुङको सामूहिक सम्पादन रहेको यो पत्रिका दमक, नेपालको स्रष्टा छापाखानाको मुद्रणमा जम्मा ३५० प्रति पहिलो अंङ्कको रूपमा वि० स० २०६७ सालमा प्रकाशित भएको थियो । मूल्यको हिसाबले पनि सरल रहेको यो कृति प्रकाशनमा सन्चमान खालिङ, रुपनारायण पोख्रेल र कर्ण गुरुङको नाउँ आर्थिक सहयोगीका रूपमा जोडिएको देखिएता पनि आर्थिक प्रबन्धको बोझ सम्पादन मण्डलीले नै उठाएको बुझिएको छ। (सत्य-तथ्य सम्पादन मण्डलीमा निहित छ ।)

भूटानी नेपालीहरूको तेस्रो मुलुक पुनर्स्थापना सङ्गै, पाश्चात्य साहित्य झैँ नेपाली साहित्यले पनि विश्वव्यापीकरणमा व्यापक तीव्रता हाँसिल गरेको छ भने अत्याधुनिक प्राविधिकिकरणले साहित्य लेखनको प्रयोग, चिन्तन र प्रवृत्तिमा दिनानुदिन परिस्कृत र विश्वकृत बन्दै गएको जो कोहीले पनि अनुमान गर्न सकिन्छ । त्यस कारण मूल्यबोधले सर्वाङ्ग नेपाली साहित्य जगतमा अर्को नयाँ मोहर ठोकेको सत्य-तथ्यलाई यस पत्रिकाको शुभचिन्तक, पाठक र विश्लेषकहरुले समयानुकुल र न्यायोचित ठहर एक दिन अवश्य गर्लान भनी आशातित रहन सकिन्छ ।

सम्पादक त्रय नै भूटानी नेपाली डायस्पोरिक साहित्य क्षेत्रमा आ-आफ्नो विधा, क्षेत्र र सृजनशिलतामा सिद्धहस्त र स्थापित व्यक्तित्वहरु हुनुका कारण पनि यो कृति गुणस्तरीय र परिस्कृत बन्न पुगेको छ भने यसमा समावेश भएका सम्पूर्ण रचनाहरू बैद्धिकस्तरमा, संरचनात्मक रूपमा र विधागत रूपमा पनि अति खारिएका र निपुण छन् । यी सृजनाहरू जन्माउँने स्रष्टाहरु पनि प्राय जाने-चुनेका, स्थापित र नियमित साहित्य साधनामा मान्य साधकहरु रहेका छन् । यहाँ समावेश गरिएका लेख/रचनाहरू सबै छोटा, छरिता र पढ्दा पटक्कै पट्यार नलाग्ने छन् भने विधाको विविधताले पनि अझ रोचक बनाएको छ । यी सम्पूर्ण गुणहरुको समुचित समायोजनले यस कृतिको गहनतालाई चरमोत्कर्षमा उचालेको छ ।

मूल्यबोधमा एउटा सम्पादकीय, बाह्रवटा कविता, दुईवटा कथा, एउटा निबन्ध, एउटा संस्मरण, दुईवटा पुस्तक समीक्षा (समालोचना) र पाँचवटा गजलहरु रहेका छन् भने नेपाली वाङ्ग्मयमा तेस्रो आयाम र लीला-लेखन जस्ता वादहरुका (वैचारिक आन्दोलनका) प्रबर्तक डा० ईन्द्रबहादुर राईको शुभेच्छा र नवोदित सङ्गीत साधक डम्बर खापुङसँगको एउटा अन्तरवार्ता रहेको छ । नेपाली साहित्य विधाका प्रायजसो सबै विधाहरुलाई समेट्न सफल भएता पनि यो कृति पत्रिका भएकै कारण केही विशेष विधाहरु भने छुटेको देखिन्छ । जस्तै: नाटक/एकाङ्की, मुक्तक, रूवाई, हाईकु आदि पनि एउटा पत्रिकामा समावेश हुनुपर्ने विधाहरु हुन् ।

Mulyabodh-1डेढ पृष्टमा लेखिएको सम्पादकीय छोटो, छरितो र खरो छ । विश्व नेपाली साहित्याकाशमा भारत र नेपालको एकलौतिपनालाई तोड्दै भूटानी नेपाली साहित्यले पनि आफ्नो उपस्थिति कायम गर्न सफल भएको दाबी यस सम्पादकीयले गर्दछ । भूटानी तानाशाहले अन्यायपूर्वक तरिकाले दशकौंसम्म शरणार्थी बनाउंदा शरणार्थी जीवनको पूर्वकालमा देश फिर्तीको आक्रोश, दु:ख-कष्ट र दरिद्रताको प्रतिध्वनिले भरिएका सृजनाहरू उम्रन्थे भने देश फिर्तीलाई थाती राखी विश्वका विभिन्न राष्ट्रहरूमा छरिनु पर्दा साहित्यिक सृजनाका परिवेशहरू र शैलीहरू पनि फेरिएको तथ्यलाई यस सम्पादकीयले उजागार गरेको छ । कविता खण्डका सबै कविताहरू उत्कृष्ट छन् , सरल छन् र सुमधुर बहावले भरिएका छन् । दोह्र्याई-तेह्र्याई पढ्दा पनि धित नमर्ने यी छन्दमुक्त कविताहरू पाठकसम्म ल्याईपुर्याउन सफल मूल्यबोधका प्रतेक कविहरुले आ-आफ्नै स्तर र वजनको अमर छाप पाठक माझ छोडेका छन् । कवि शिवलाल दाहालको ‘अमरवल्लिको लहरा’ शीर्षकको कविताले हामी प्रतेकले दुई-अढाई दशकसम्म पाएको उपाधि ‘शरणार्थी’ र त्यससँग जोडिएर आएका अभाव, नैराश्य र उत्कट पिंडाको वावजुद बाँची आएको जिन्दगीलाई सम्झाउँछ । यदि परिस्थितीहरू विपरीत नहोईदिनु, जिउने आधारभूत वातावरणहरू विखण्डित नहोईदिनु हो भने उर्वर र असल/सफल जीवन हामीले पनि जिउँने सामर्थ्य पाउँथ्यौं भन्ने कुराहरू सबैको मन बोलेको छ यस कविताले ।

“…………………….
बिना कुनै जरा
बिना कुनै हाँगा
फगत
पँहेला-पँहेला लामा त्यान्द्रा
हो,
अचेल (धेरै समय पछि) म,
झस्किन्छु
सायद
माटामा झरेको भए
गुलाफको फुल
मकैको बोट
खरिको रूख
यस्तै केही हुँदो हुँ !
परिस्थितिले, परिवेशले
म बाँचेको छु
फगत अमरवल्लिको लहरा ! ”

अर्का कवि डेन्जोम साम्पाङ राईको ‘क्रम भङ्गताको उत्कण्ठता’ शीर्षकको कविताले पनि भूटान फिर्तिको कठोर सङ्घर्षमा उदाएको क्रम भङ्गता र अप्राप्य-लक्ष्य वाक्क लाग्न थालेको महसुस यसरी गराउँछ र यो पनि तेतिकै गम्य कविता छ । कविता छोटो छ तर हृदय-स्पर्सी भावलाई प्रस्तुत गरेको छ ।

“……………………….
यहाँ सम्मको लहरा
यो निरन्तर हिँडाइ
यस्तो लाग्छ
यो अप्राप्तिका अन्त्यहीन
अवैध ओलिम्पस यात्रा
समय आफैमा अमन गनाउन थालेको छ ।
…………………………………………………..”

कवि गणपती दाहालको “पुर्खाको भूमि: मेरो अंश” शीर्षकको कविता भने यस कृति ‘मूल्यबोध’को प्रतिनिधि रचनाको रूपमा लिन सकिन्छ । पूर्ख्यौली देश नेपाल: नेपालबाट विविध कारणले विश्वभरि छरिएका नेपालका सन्तानहररूबीचको राष्ट्रमोह र हाल नेपालले भोगिरहेको राज्नैतिक खललताको वरिपरि घुम्दै अखण्ड नेपाललाई जातीयताको घिनलाग्दो आधारमा देश टुक्र्याउँने अहितकारी तत्त्वमाथि गतिलो मुक्का प्रहार गर्ने यो कालजयी कविता भूपी शेरचनस्तरको कविता छ भन्दा अत्युक्ती नहोला । पूर्ख्यौली देश नेपाललाई कविले यसरी अखण्डतामा कायम राख्न चाहन्छन् र पुर्ख्यौली देश नेपाल प्रति आफ्नो मोह र हक यसरी दाबी गर्छन् ।

“……………………..
मेरो अंशमा
एक टुक्रा सगरमाथा
एक टुक्रा हिँऊ
अनि अलिकति तेन्जिङ्गको गोरेटो चाहिन्छ ।

एक टुक्रा लुम्बिनी
एक टुक्रा बुद्ध सालिक
अनि अलिकति शान्तीमार्ग चाहिन्छ ।

एक टुक्रा रम्घा, चुँदिबेसी
एक टुक्रा भानु सालिक
अनि अलिकति रामायणका पङ्ग्ती चाहिन्छ ।
……………………………………………………….”

यसरी नै अन्य प्रखर र चेतनशिल कविहरु: जस्तै रमेश गौतम, सन्चमान खालिङ, लीला निशा, रुपनारायण पोख्रेल, मन थापा, कर्ण गुरुङ्ग्, डम्बर ओस्ती आदिका उत्कृष्ट र प्रगतिशील कविताहरू समाविष्ट छन् यस कृति ‘मूल्यबोधमा’ । सरल शब्दहरूलाई जोख्दै, तौलदै एकपछि अर्को माथि मिलाएर राखी संगीतमय भावको प्रवाह बगाउँन सफल यी सम्पूर्ण कविताहरू फुलगुच्छा जस्तै छोइरहुँ जस्ता छन् , पढिरहौं जस्ता छन् र मष्तिस्कमा खेलाइरहु जस्ता छन् ।

Mulyabodh-2भूटानी नेपाली साहित्य क्षेत्रका वर्तमान पिँढीका धेरै जसो युवा स्रष्टाहरुले कलम चलाउन रुचाउँने विधा गजल क्षेत्रमा धेरै नवोदित युवा गजलकारहरू कृतिकारका रूपमा उदाई सके पनि मूल्यबोधमा समावेश भएका सम्पूर्ण गजलहरू भूटानी सन्दर्भका साहित्य जगतमा जेठा र स्थापित व्यक्तित्वहरूले स्थान पाएको देखिन्छ । सायद असल र उचित रचनाहरू/कृतिहरूको छनौट गर्ने सम्पादन मण्डलीको यही कुसलताको प्रतिफल हुनसक्छ यो पत्रिकाको गुणस्तर । पुरानाघरे, भक्त घिरिरे, गोविन्द फुयल र याम थुलुङ्ग जस्ता भूटानी नेपाली साहित्याकाशमा धेर गुन-गान गाईरहनु नपर्ने महारथीहरूको गजलले यस पत्रिकालाई अझ गरिमामय बनाएको छ । पाँच शेर र चार शेरका यी गजलहरूमा रदिफ र काफियाहरूले असल प्रयोग पाएर गजल हुनुको अस्तित्व राम्रो ढङ्गले धानेका छन् भने आफ्नो देश र देशसङ्ग जोडिएका भावनाहरूसङ्गै समसामयिक असमन्जसहरूलाई बुलन्द बोलेकाछन् यी गजलहरूले । यी मिठा शेरहरूले साङ्गीतिक स्वरूप पाउँनु हो भने त्यसै जीवन्त र सुरिला धुनसङ्ग अविरल बगिरहन्छन् यी गजलका प्रतेक शब्द-शब्दहरू ।

भद्रपुर मेची क्याम्पसका उ० प्रा० पुण्य खरेलद्वारा ‘धनेहरु निरन्तर हिँडिरहे !’ कवि सन्चमान खालिङको पहिलो र वजनदार कवितासङ्ग्रहलाई चिरफार गरी विधागत रूपमा हरेक पाटाहरुलाई पल्टाउँदै, केलाउँदै मुख्य-मुख्य अंशहरुलाई उधृत गर्दै लेखिएको समिक्षात्मक प्रस्तुति गाभिएको छ भने त्यसरी नै भूटानी नेपाली साहित्य क्षेत्रका प्रखर र उदयीमान आख्यानकार , समालोचक/समिक्क्षक तथा ‘मूल्यबोध’का सम्पादक शिवलाल दाहालद्वारा कवि मन थापाको ‘आश्ना’ कवितासङ्ग्रह भित्रको कवित्व प्रवृत्ति र सृजनात्मक चिन्तनलाई खोतल-खातल पारी कविका मौलाउँदा सृजनात्मक सम्भावनाहरूलाई उघारेका छन् यस पत्रिका मूल्यबोधमा ।

दु:ख र अभावसङ्ग पौंठेजोरी खेल्दै सङ्घर्षको आधारशिला टेकी संगीतक्षेत्रमा स्थापित भएका नवोदित युवा सङ्गीतकार डम्बर खापुङको प्रेरणादायी र हौसलाबर्धक अन्तरवार्तालाई सम्पादक दाहालले समेटेर पत्रिकाको रूपलाई पूर्ण तुल्याएका छन् भने डम्बर खरेलको रोचक निबन्ध ‘कुचो’ र दाहालको यात्रा संस्मरण ‘कालेबुङको सम्झाना : एक अधुरो चित्र’ले यो साहित्यिक पत्रिका ‘मूल्यबोध’को मूल्य बढाएको छ । स्विकारोक्तीलाई नेपाली साहित्यमा प्रवेश गराई स्थापित गराउँने कथाकार डेन्जोम साम्पङ राई (जि०बि०एल०ओ०का अधक्ष्य) को कथा ‘ठेगाना’ले हामी प्रतेक शरणार्थिले आफ्नो जीविका चलाउने क्रममा शिविरको परिधिलाई नाँघेर आस-पासको क्षेत्रमा शरणार्थी भएकै कारण कहिल्यै खुलेर आफ्नो ठेगाना र परिचय दिन नसकेको तितो सत्यलाई दर्साउँछ भने अर्का कथाकार विशु बटुवाको ‘नसोचिएका जीवनहरू’ एक नारीवादी कथा हो जसमा नारी सम्मानको प्रतिध्वनीले ओत-प्रोत छ ।

समग्रमा भूटानी नेपाली साहित्य फाँटमा ‘मूल्यबोध’को झैँ गरिमामय र गुणस्तरीय गहनता बोकेर अरू कुनै साहित्यिक पत्रिका उदाउँन सकेको छैन भन्ने कुरामा म दुई मत छुइनँ । यसमा उत्कृष्ट रचनाहरूको छनौट, सम्पादन मण्डलीको मेहेनत र मुद्रण/डिजाइनमा आएको निखरपनले यो कृति त्यसै पठनीय बनेको छ । यहाँ समाविष्ट प्रतेक रचनाहरूमा भाषागत शैली एकदम सरल रहेको छ भने वैयाकरणीय अशुद्धताले यहाँ कुनै स्थान पाएको छैन । कृतिलाई अल्छी नमानिकन एकै बसाइमा सुरुदेखि अन्तसम्म छिचोल्न कोही पनि हिच्किचाउँदैन ।

मूल्यबोध’ यती उत्कृष्ट र गुणस्तरीय हुँदा-हुँदै पनि पहिलो अङ्कपछि यसले निरन्तरता पाउँन नसकेको आभास हामी सम्पूर्ण पाठकहरूमा विदितै हुनुपर्छ । अहिलेसम्म यसको दोस्रो अङ्क प्रकाशनमा आउँन नसक्नुमा आ-आफ्नै किसिमका विविध बाधा-अड्चनहरू हुन सक्छन् तर पनि यसलाई यतिमै पुर्णविराम लगाउँनु हुँदैन र यसले पुन:जागृत भएर निरन्तरता पाउँनुपर्छ तब मात्र भूटानी नेपाली साहित्य, पाठकवृन्द र मूल्यबोधलाई पनि उचित न्याय हुन जान्छ भन्ने मेरो मत छ । हामी सम्पूर्ण साहित्यानुरागीहरूले पनि यसरी हाम्रो आफ्नै समाजभित्र जन्मिने प्रतेक साहित्यिक रचनाहरू, कृतिहरूलाई (पुस्ताकाकार रूपमा आएका सृजनाहरू) माया, आदार र सदुपयोग गरी तोकिएको दस्तुर वा मूल्य चुकाएर आफ्नो प्रति सुरक्षित बनाइ अध्ययन गर्ने बानी बसाल्नु हो भने यसरी उदाँउदै गरेका साहित्यिक कृतिहरूले/पत्रिकाहरूले आर्थिक सङ्कटले ग्रस्त भई मुर्झाउँदै कलीलो आयुमै आत्महत्या गर्नु पर्ने अथवा तुहिनु पर्ने अवस्था अवश्य आउँदैन । विगतका दिनहरूमा आर्थिक सङ्कट झेल्नु परे पनि आज भने हामी सम्पूर्ण यथेस्टमा जिउने भएका छौँ त्यसैले हामी प्रतेकको दायित्व बन्न जान्छ की यस्ता यान्त्रिक जमाना र व्यस्त दिनाचार्यका वावजुद आफ्नो अमूल्य समय खर्चिँदै सर्जकहरूले आफ्नो भाषा र साहित्यको सम्बर्धन गर्ने हेतुले सिर्जिएका सृजनाहरूलाई हौसला र प्रेरणा दिन जरुरी छ । भाषा, साहित्य र सङ्गितसृजनाहरूले जीवन पाउँन हामी पाठक/दर्शक/श्रोताहरूको मायाको सदैव खाँचो पर्दछ ।

पुस्तक प्रकाशनमा सबै भन्दा ठुलो अड्चन आर्थिक पक्ष हो भन्ने कुरा जान्दा-जान्दै पनि यस ‘मूल्यबोध’का सम्पादक त्रयलाई यसमा आईपरेका वैचारिक विविधता, विभिन्न प्राविधिक बाध्यताहरु तोडी वैकल्पिक निर्णयमा उभिएर यो अमूल्य ‘मूल्यबोध’को मूल्यलाई न्याय दिनुहुन यसै लेखबाट अनुरोध पठाउँन चहान्छु ।

कृति : मूल्यबोध (समसामयिक भूटानी साहित्यिक पत्रिका)
प्रकाशक: सम्पादन मण्डली
पृष्ट: ७२
मूल्य: नेपालामा रु/-२०
अमेरिका: $:५
अङ्क: अङ्क-१, वर्ष-१, २०६७
सम्पादन मण्डली: शिवलाल दाहाल
डेन्जोम साम्पाङ राई
याम थुलुङ

Find us on Facebook