भोटाङे

Filed under: Nepali,Poetry,Shankar Rainpure |
कवि

कवि

शंकर रैनपुरे
युटा, अमेरिका

कति टर्रो तिम्रो जिब्रो हँ?
कति पिरो तिम्रा शब्दहरू!
कति पोल्ने तिम्रा आवाजहरू!
“भोटाङे! भोटाङे!” भनेर
जति जति तिमी चिच्याएर
निच्याएर मलाई
भोटाङे!..भन्दछौ
मभित्रका लाखौँ भोटाङेहरु
मभित्रका लाखौँ शिविरेहरु
मभित्रका लाखौँ बगडेहरु
एकसाथ..
स्वाभिमानको नारा मुस्कुराउँदै
पहिचानको शिर उच्च पारेर
झन् ‘भूटानी’ भएर बाँच्दछन्
याद छ
म एक बोतल तेल बोकेर
एक बटुको गहुँत साट्न आएको दिन
साँझ तिम्रो तिहुनमा
कराईले भुटुन चाखेको हो
सम्झना छ
मेरी आमाले
एक पोको चिनीसित
एक थाप्रो गोबर साटेको दिन
बिहान तिम्रो चियामा
ओठले गुलियो चाखेको हो
हामी गहुँत र गोबर पनि
तेल र चिनी दिएर लिन्छौं
स्वाभिमानको नारा मुस्कुराउँदै
पहिचानको शिर उच्च पारेर
झन् ‘ भूटानी’ भएर जिउँछौं
कति टर्रो तिम्रो जिब्रो हँ?
सम्झन्छु
बिहानै एक कित्ली मोहि
र निन्याउरो अनुहार लिएर
हाम्रो झुप्रा बस्तिहरुमा
तिमी दही बेच्न आउँथ्यौ
फर्कँदा एक झोला चामल
र एक झुत्तो खुसी लिएर
फर्कन्थ्यौ
सम्झना छ
एक पोको गुन्द्रुक बोकेर आउँथ्यौ
एक थुन्से किनिमा बोकेर आउँथ्यौ
एक डोको मेसु बोकेर आउँथ्यौ
एक भारी दाउरा बोकेर आउँथ्यौ
हाम्रै बस्तीमा तलमाथि गर्थ्यौ
र फर्कदा एक पोको दाल
एक थुन्से बगडा
एक डोको हाँसो
र एक भारी आनन्द लिएर फर्कन्थ्यौ
र पो तिमीलाई बगडे गना’को हो
कति पिरो तिम्रा शब्दहरू!
सम्झन्छु
मेरी दिदीले दसैँ पोत्न
एक अञ्जुली कमेरो खेनेकी हो
मेरी बहिनीले तिहार पोत्न
एक मुठी रातो माटो खनेकी हो
भोटाङेले माटो सक्नेभए भन्यौ
भोटाङेले देश सिध्याए भन्यौ
तिमीले साँझ बिहान सराप्यौ
धारे हात लगायौ
तर
सिमानाको जङ्गे पिलर हराएको
कहिल्यै देखेनौ
कति पोल्ने तिम्रा आवाजहरू!
कति पिरो तिम्रा शब्दहरू!
कति टर्रो तिम्रो जिब्रो हँ!

Find us on Facebook