बुवाको सपना

Published in: Dharmindra Timsina,Nepali,Year 9 - Issue 3,कथा |
कथाकार

कथाकार

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

आज बिहानै घरको बत्ती बलेन, पूजा कोठामा आरतीको घण्टी पनि बजेन । गीता पाठ गरेको पनि सुनिएन । टिभीमा भक्तराज आचार्यका भजनहरू पनि सुनिएनन्। सुनसान जस्तो भइरह्यो । लाग्थ्यो आज घरमा कोही छैन । सबै घर छोडेर हिँडिसकेका छन् ।

ब्राह्मणको घर भएकाले बिहानै बुबा पूजापाठ गर्न उठ्नुहुन्थ्यो । बिहानै उठेर नुहाइधुवाई गरेर पूजा पाठ गरेर टिभीमा भक्तराज आचार्यका भजनहरू सुन्नुहुन्थ्यो अनि आफू पनि गुनगुनाउनुहुन्थ्यो । तर आज त्यसो भएन, खाली सन्नाटा छाइरह्यो । मात्र सुनसान भइरह्यो ।

हैन आज किन सुनसान छ भनेर बुढा बुबाको कान्छो छोरो रमेशले बुबा सुत्ने मन्दिर कोठा खोल्यो । चार छोरा र तीन छोरी भए पनि बुबा कान्छो छोरासँग बस्नुहुन्थ्यो । कोठा खोलेर हेर्दा बुबा खाटबाट तल झरेर भुइँमा सुतिरहेको भेट्यो अनि मनमनै हैन यी बुढालाई के को झोंक चलेर आज भुईँमै सुतेछन् भनेर छेउमा गएर झक्झक्यायो । बुबाले थाहा पाएजस्तो गर्नुभएन । अनि उसले बुबालाई घोप्टेबाट उत्तानो फर्कायो । उत्तानो फर्काउँदा पो थाहा पायो बुबाले विष खाएर परमधामतिर जानुभएछ भनेर । रमेश भक्कानियो । भक्कानिँदै घरका अरू परिवारलाई बोलायो । सबै परिवार आएर रुन कराउन थाले । अब रोएर केही हुनेवाला थिएन किनकि बुबाले संसार छोडिसक्नुभएको थियो ।

रमेशले आफैँलाई सम्हालेर एकै छिन सोच्यो । “न मैले केही भनेको थिएँ न बुबालाई अरूले केही भनेका थिए, घरमा बुबाले भनेजस्तै गरेका थियौँ, किन बुबाले यस्तो कठोर निर्णय लिनुभयो” उसले मनमा यिनै कुराहरू खेलाउँदै गर्दा उसको आँसुले भरिएको आँखा बुबाको दाहिने हातमा पर्‍यो, जहाँ वहाँको हातमा एउटा कागजको टुक्रा थियो । रमेशले झट्ट त्यो कागजको टुक्रा हातमा लियो र आफ्नो कोठामा गएर पढ्न थाल्यो । त्यो कागजमा बुबाले यस्तो लेख्नुभएको रहेछ :

” मेरा प्यारा छोराछोरी अनि नातानातिना,

आज म सार्है दुखी भएँ अनि यस्तो कठोर निर्णय लिन बाध्य भएँ । कसैले दुख नमान्नु ल, मेरो क्रियाकर्म राम्ररी गरिदिनु । मैले एक्लो महसुस गरेको, मैले माटो हराएको आभास गरेको, मैले मेरो देशलाई चटक्कै भुलेर स्वार्थी बनेको जस्तो लागेको मैले तेस्रो मुलुक पुनर्वास भएर अमेरिका आएको दिनदेखि हो । मलाई अपुग केही थिएन, छोराछोरीले राम्रो गरेका थियौ । खान लगाउन राम्रो थियो, पाकेट खर्चका लागि बृद्धभत्ता पनि पाएकै थिएँ तर मेरो मनले आफ्नो भाषा, आफ्नो भेष आफ्नो संस्कृति नभएको ठाउँमा बस्न मानेन । मेरा आँखाले हरेक समय पशुपतिनाथ हेर्न चाहन्थ्यो, त्यो देख्न सकिन । मेरा हातहरूले आफ्नो देशको माटो छुन चाहन्थे, छुन सकिन । मेरा शरीरका अङ्ग-अङ्गले मेरै गाउँको स्वच्छ बतासको स्पर्श खोजिरहन्थे, त्यो स्पर्श गर्न सकिन । त्यसैले मैले मृत्युपस्चात मेरै गाउँमा, मेरै जन्मथलोमा गएर अर्को जन्म लिन पाउँ भनी ईश्वरको अराधना गरेर आफैँ विष पिएर आत्महत्या गरेको हुँ ।

बुबा

श्यामलाल”

रमेशले त्यो कागजको टुक्रालाई छातीमा टाँसेर भक्कानिदै बुबालाई जबर्जस्ती तेस्रो मुलुक पुनर्वास गराएकोमा पश्चताप गरिरह्यो ।

Find us on Facebook