छात्ती चिरेर देखाइदेऔं भूटानको

Filed under: Nepali,Poetry,Tumbehang Limbu,कविता |

-तुम्बेहाङ लिम्बू

नबगाउ आँशु हे मेरा भूटानी पींढी हो
देशभित्र र देश बाहिर कचल्टिएका
मेरा प्यारा दाज्यू-भाई, दिदी-बहिनीहरु हो!
तिमीलाई अनुशरण गरी
यहाँ गोहीको आँशु झार्नेहरुका संख्या धेरै छन्
तिम्रो दर्दनाक रोदनमा
स्यालको स्वर गुहार्नेहरुका संख्या यहाँ नगण्य छन् ।
तिमीलाई त ललिपपको मायाँ दर्शाएर
निरन्तर चुसी-चुसी निखारिसके
किन अझ यी विटुलो अधरका पप्पी स्वीकारिरहन्छौ ?
तिमीले त आफ्नो देशको परिचय विश्वलाई चिनाउनु छ
गरीब जनता माथि परेको शोषण र अत्याचारको संदेश
भण्डाफोर गरी संसारभरि फैलाउनु छ
……. विश्वले चिनेकै रहेन छ आज हाम्रो भूटानलाई
संयुक्त राष्ट्र संघले देखेकै रहेन छ राम्ररी हाम्रो शासन-प्रणालीलाई
हाम्रो सानो देशभित्रको चाणक्य राजनीति, कूटनीति र ओठे कानूनलाई ।
अब हामीले इतिहास पल्टाएर देखइदेऔँ
हाम्रो गरीमामय भूटानको सत्य प्रतिविम्ब अनि
हामी पोस्टर र साइन बोर्ड बनी उभिदेऔँ
अजस्त्र संसारका दोबाटो र चौरस्ताभरि पनि
हामीले अझ, छात्ती चिरेर देखाइदेऔं–भूटानको
विश्वलाई–“इनक्लाब” भनी-भनी ।।
× × ×
अण्ठाउन्न साल राष्ट्रियता अधिनियममा पारित अधिकारहरु
राजशाही कारागारको चौदिवारभित्रै कुहिसके
पचासी सालको नागरिकता अधिनियममा पारित हकहरु पनि
निरंकुश तानाशाहीको उदरमै मक्किसके
तेस्रो महाराजाले रोपेको भाइचारा धरि यहाँ
अत्याचारको रापिलो पाइलामनि परिसके
त्यसैले त हामीले खोज्न नसकेर होला यहाँ
अस्सी सालको वैवाहिक अधिनियम विलुप्त पारी
हामी सहस्त्र सोझा जनतालई आज
‘इल्लिगल इमिग्रेण्टस्’ मा झारिसके ।

जसले दिलोज्यान दिई देश ठडायो
उ त आजको नियतीमा विदेशी रे
जसको खून-पसीनाले धन-धान्यदा यो देशमा भरायो
उ त सरासर यहाँ सुकुम्बासी रे
एउटै परिवारका सन्ततिहरु
कोही दुइ नम्बर–चार नम्बर कोही सात नम्बर रे
साठी, सत्तरीको दशक भन्दा पछि आएका विदेशीहरु चैं
देशका सर्वोत्तम नागरिक रे ।

सुनाइदेऊ हे मेरा भूटानी पींढी हो !
गर्जमानको पालाको पराक्रम सुनाइदेऊ
‘सौरेनी कोठी’ रोइरहेछ आजको हाम्रो दुर्गति देखेर
सबैले देखिने यसको एउटा चित्र बनाइदेऊ
विश्वले चिन्ने गरी तिम्रो देशभक्त फौलादी हातले
भूटानको – छात्ती चिरेर देखइदेऊ ।
× × ×
साठी सालमा थिम्पु रोड खन्दा
मक्किएका हाम्रा पुर्खाहरुको हाड गनिदेऊ
हत्केलामा मुटु झिकी पुतली भीरमा कम्मर कसेर पीङ खेल्दै
झम्पल हानेको, चट्टान फोरेको
गरीब मजदूरवर्गलाई बालुवा झैँ पहिरोले ग्वावर-ग्वार्ती सोहोरेको
हृदयविदारक एउटा सत्य सुनाइदेऊ
‘सात घुम्तीको’ त्यो कालो कथा भनिदेऊ।
देश निर्माणको भ्रममा परेर
पुँजीवादीहरुको वशमा परेको
समाजवादको मिथ्या पहेलीमा झुक्किएर आफ्नै खाई-पिई
बिना रोजमा ‘झार्लाङ्गे’ र ‘जोङसेओला’ तिरेको
समाजवाद र समावेशी प्रिय ‘कुमार साहेबको’
पुँजी पूजकहरुले कूटनीतिक हत्या गरेको
एक महान धर्मनिरपेक्षताको ठिकादारलाई
भूटानको पूण्यभूमिबाट हिंसात्मक बहिष्कार गरेको
अनि, यो अहिंसाको राष्ट्रभित्र
जबरजस्ती हिंसाको दादागिरी रहेको
एउटा नव्य इतिहास कोरेर देखाइदेऊ
अद्भुत तर…… कुटिल कुटनीतिको भण्डाफोर गरेर देखाइदेऊ !
भूटानको – छात्ती चिरेर देखाइदेऊ !!
× × ×
भूटान आफ्नो मात्र पेवा सम्झने उल्लूहरुलाई
हाम्रो पनि यहाँ कति हक छ – १६२४ को इतिहास पल्टाइदेऊ!
भूटान आफ्नो दाइजो सम्झने लाटाकोसेराहरुलाई
यहाँका मूलवासी को को हौँ? …. आजै चिनाइदेऊ ।

डोया–ब्रोक्पा–खेङ्पा–सारछोप
कहाँ विलाए भूटानमा?
सार्क शिखर र विविध सम्मेलनमा किन आज
ङालोङ र नेपालीभाषीको मात्र परिक्रमा ?
हापा–बुमथाङपा–आदिवासी आदि…………
कहाँ लुकायो भूटानले ?
नैतिक वार्ता यहाँ क्रान्तिको ज्वालामा
फुकाउनै पर्छ विधि-विधानले ।
यहाँ ‘स्रोङ्तेन ग्याम्पो’ र ‘शाब्ड्रुङ ङावाङ नाम्ग्येल’ का खण्डहर आत्माहरु
भौतारिरहेछन् हिंसाले गुम्बा र छोर्तेनहरुमा
धार्मिक सम्प्रदायबाट ‘ड्रक युल’ जन्मेको सत्य कथा
डटिरहेछ भोटदेखि भोट अन्तसम्मको यथार्थ इतिहासमा
यद्यपि : किन कपट कोरल्छन् यी पूँजीवादी शोषकहरु?
झूटो इतिहास किन बनाउँछन् यी तानाशाही घातकहरु?
चाङलिमिथाङको मैदानमा ‘फुञ्चोदोर्जी’ र ‘अलुदोर्जी’ सित महाभारत रच्दैमा
टोङशावासी मात्र भूटानी हुन्न
देवराजाहरुलाई वशमा पारी सिङ्गो भूटान सजाउँदा
वाङछुक वंश मात्रै थिएन भूटानी वृहत वक्षस्थलमा ।

हामीलाई यो कृत्रिम इतिहासको होइन –
भूटानको न्वारान देख्ने पर्वतमाला साक्षी साँचो छ
भूटान बनिनु अघि यो पुण्यभूमिमा कसको भोग थियो?
यहाँ त यही माटो र अधिकारको इतिहासको खाँचो छ
किन कि यो देशमा नागरिकता र आस्था सबै
केवल अनिश्चित समयलाई नासो छ
आत्मामा अहिंसा र मनमा मानवत्व फर्काउनलाई
धेरै जोशिला रगतहरुको खाँचो छ
भूटानमा अत्याचारको ह्याकुला जोती न्यायवाद उमार्न
अब यहाँ एउटै स्वरको खाँचो छ
एउटै ध्येयको खाँचो छ ।
× × ×
यो २१औं शताब्दीको आधुनिक युगमा पनि
अन्तर्राष्ट्रिय कानूनको आँखामा छोरो हालेर
१७औँ÷१८औँ शताब्दीको सामन्तवाद र पुँजीवादले झैं
भूटानी तानाशाही सरकारले जनतालई उखु जस्तो चुसिरहेछ
अनैतिक जाँतोमा अत्याचारको धूवाँधारले पीठो जस्तो पिँधिरहेछ
गला अँठ्याइरहेछ, घाँटी निमाठिरहेछ
चेलीबेटीलाई पनि बलात्कारको सस्तो पुरस्कार मिलिरहेछ
अहिंसाको देशमा जताततै हिंसा र भेदभाव स्पष्ट खुलिरहेछ ।

सुनाइदेऊ मेरा भूटानी वीरहरु हो !
पेट मारी मारी प्रतिवर्ष सामन्तलाई नगद सघाउनी तिरेको
अनिवार्य नियम सुनाइदेऊ
गरीब जनता लखेटी सिपाहींले धन–धान्यदा सोहोरेको
प्रमाण बनेर तिमीले विश्व समुदायलाई देखइदेऊ ।
बालकलाई बाँच्ने अधिकार होइन
थ्री–नट–थ्री को शिकार बनाउने नियम छ यहाँ
मानिसको अस्तित्व सकार्ने होइन
अस्तित्वको संहार गर्ने रकम छ यहाँ ।
हिमाल रोइरहेछ आज जनताको पीडा बोकेर
शहीद रोइरहेछ आज हाम्रो कायरता देखेर
शत्रु हाँसिरहेछ आज हाम्रो दुर्दशा देखेर
शोषक नाँचिरहेछ आज हामीमा विजय पाएर
आओ,………. एकत्रित बनौँ मेरा भूटानीहरु हो !
पाँच औंला हामी एक मुक्का बनौं
गरीबको खून रेस्टुराँमा पिइरहेछन् शोषकहरु
ज्वालामुखी बनी यो व्यवस्थामा कायापलट गरौं ।
राष्ट्रियता र नागरिकता अधिनियमले प्रेरित
सर्वजनीन एउटा संविधान बनाइदिऊँ
निरंकुश सत्ताको दादागिरीलाई खरानी पारी
सार्क शिखर र राष्ट्रसंघलाई हाम्रो सत्य प्रतिविम्ब देखाइदिऊँ !
मानवाधिकारको स्वच्छ बाटिका सजाइदिऊँ
आओ ! –देशभक्त हाम्रो फौलादी हातले
भूटानको – छात्ती चिरेर देखाइदेऔं !!

(जीबीएलओको तत्वावधानमा आयोजित वर्ष पुस्तक (२०१६)-को रूपमा छानिएको कवि तुम्बेहाङ लिम्बूकृत कवितासंग्रह, १९ वर्षअघि प्रकाशित भग्न पर्खालको सयपत्रीबाट उद्धृतांश-सर्जकको पूर्ण अनुमतिमा पुनर्प्रकाशित)

Find us on Facebook