रुन्चे रुमाल

Published in: J N Dahal,Nepali,Poetry,Year 9 - Issue 3 |
कवि

कवि

जे एन दाहाल
हेरिस्वर्ग, पेन्सिलभेनिया

एउटा बन्द कोठामा
उस्तै आँखा, नाक र कान भएको
सेतो रुन्चे रुमाल
झुण्डी रहेछ भित्तामा
विचल्लीत भएर एक्लै
खै, कुन इतिहासको खण्ड देखी !
आज
म त्यसैको अनुहार पढिरहेछु
एउटा नमिठो व्यगंक कस्तै
लेखिएको छ अनुहारमा
“रुन्चे रुमाल”
यी शब्दहरूले दैनिक गिज्याउँदैछ
उसैको मालिकलाई
जसले मिल्कायो प..र
दोबाटोमा ।
यस्तै संझदै ..
म कोठा फर्कन्छु त्यस साँझ
अँधेरीले झन् सताउँछ र
आँखा मिच्तै अर्को बिहानी
फेरि त्यहाँ पुगेर हेर्छु
रुमाल अझै झुण्डिरहेको छ
एक्लोपनको महसुस गर्दै
म सोच्छु, दैनिक रुन्चे अनुहार पारेर
अझै अरू कत्ति दिन झुण्डिनु पर्ने छ त्यसले !

Find us on Facebook