सम्पादकीय: कवि नारायणप्रसाद लुइटेल र उनको साहित्यसाधना

Published in: Editorial,Nepali,Year 9 - Issue 3 |

भूटानको साहित्यिक लेखन यात्राका सन्दर्भमा चर्चा गर्दा कवि नारायणप्रसाद लुइटेलको नाम अग्र पङ्तिमा आउँदछ । यद्यपि उनको व्यक्तित्व र कृतित्वका बारेमा खासै चर्चा भएको देखिँदैन । साहित्यप्रति प्रतिबद्ध व्यक्ति र संस्थाहरूबाट नै उनको खोजी र अध्ययन हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । यसपालि अमेरिकाको एक्रोनमा, उनको जन्मजयन्ती पालना गरिनु एउटा सह्रनीय कार्य हो । हाम्रा स्रष्टाहरूको मूल्य हामीले नै नगरे अरू कसैले गरिदिने छैन ।

वि.सं १९६६ को माघ १५ गते जन्मेका नारायणप्रसाद लुइटेल साम्ची जिल्लाको सिब्शुका बासिन्दा हुन् । तर यनको जन्म कुन ठाउँमा भएको थियो भन्ने कुरा यकिन छैन । भारतको मथुरा पुगेर संस्कृतमा मध्यमासम्म गरेका पण्डित नारायणप्रसाद लुइटेलले आफूलाई केवल कर्मकाण्ड गर्ने व्यक्तिका रूपमा मात्रै सीमित गरेनन्, लेखनतर्फ पनि अग्रसरता देखाए ।

मूलतः उनी अध्यात्मवादी चिन्तक थिए, हिन्दुधर्मका जागरण कर्ता थिए । आध्यत्मिकता, नैतिक शिक्षा, धार्मिक जागरण,उपदेशात्मकता, राजभक्ति, देशभक्ति उनका रचनागत विशेषता हुन् । उनका प्रकाशित कृतिहरूमा शिवालय महात्म्य (सन् १९७२), मध्यम षोडषी (१९८१), ज्ञान दर्पण (१९८५), नारायणोपदेश (१९८५) र ज्ञानमञ्जरी (२०१०) रहेकाछन् । सारमा उनका कृतिहरू धर्म, नीति, दर्शन र कर्मकाण्डसँग सम्बन्धित छन् ।

जुनबेला उनी लेखन क्षेत्रमा देखा परे, भूटानका सरकारी विद्यालयमा भर्खरै मात्र नेपाली भाषालाई समावेश गरिएको थियो । भारतमा गएर अध्ययन गर्ने क्रममा बाहिर जगतसँग उनको साक्षातकार  भयो । त्यहाँको बसाइ र सम्पर्कले उनलाई लेखनतर्फ आकर्षित गर्‍यो । उनले तत्कालीन समाजमा धार्मिक विधि–विधान गर्ने सरल तरिकाको अभाव मात्रै देखेनन्, समाजमा शैक्षिक जागरण, आध्यात्मिक चेतना र नैतिक शिक्षाको खाँचो पनि महसुस गरे । त्यसलाई परिपूर्ति गर्ने हेतुले उनी लेखनमा लागे । उनको लेखन हेतु साहित्य सेवा थियो कि थिएन अर्कै कुरा हो तर त्यसले भूटानको साहित्यिक यात्राको आरम्भ गर्ने काममा पक्कै पनि योगदान गरेको छ ।

९७ वर्षको दीर्घ जीवन बाँचेका कवि नारायणप्रसाद लुइटेलको बेलडाँगी शरणार्थी शिविरमा वि.सं २०५४ मा निधन भएको थियो । उनका समग्र कृतिहरूको सङ्कलन र विस्तृत अध्ययन नै उनीप्रतिको सच्चा सम्मान र कदर हनेछ ।

Find us on Facebook