मोतिराम र गजल

लेखक

लेखक

भक्त घिमिरे
अमेरिका

“इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे

कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे

एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे

बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे

अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोति’ पनि झर्न लागे”

मोतिराम भट्टको उल्लिखित रसरंगयुक्त गजलीय उद्धरणसहित मोतिजयन्तीको औपचारिकता  थालियो । वर्षभरि पटुकी, खुकुरी र ढाका-टोपीलाई गिल्ला गर्ने, नेपालीभाषालाई ‘कमाई नहुने भाषा’ भनेर उपेक्षा गर्ने अधिकतम मान्छेहरूले गत जुलाईमा लामो लेग्रो तानी तानी भानुभक्तीय रामायणका श्लोकहरू गाए यसपाली मोतिराम भट्टका गजलहरु फेरि गाइए, फेरि पनि मोतिराम-गद्यको प्रशंसा गरियो र फेरि पनि ‘समस्यापूर्ति’-को रूढिलाई दोहोर्याइयो-तेहर्याइयो। यसरी नै मोति जयन्ती फेरि पनि मनाइयो। अनि फेरि पनि हाम्रा साहित्यिक विभूतिहरूलाई निश्चित तिथि र सीमाभित्र खुम्च्याएर उनिहरूको रूढिवादी श्राद्ध गर्ने परम्पराकै जग बसाइयो ! भट्टको जन्म-मृत्युको तिथिमिति केलाएर मोतिराम भट्टले ‘यस्ता गरे’, ‘उस्ता गरे’-भन्दै झर्को लाग्ने भाषणहरूको तर्पण दिइयो ! अनि फेरि तिनका अमूल्य गुण, कृति र योगदानहरूलाई भोलिपल्टै ‘राम नाम सत्य’-पार्दै पिण्ड सेलाइयो! यो हाम्रो दीर्घकालीन साहित्यिक अस्तित्वरक्षाको लागि विघटनकारी प्रवृत्ति हो!

भानुभक्त र भट्टको मात्र कुरा होइन, लेखनाथ, देवकोटा, सम र सबै सबै साहित्यिक द्रष्टाहरूलाई यही रूढिवादी सञ्जालमा कोच्न चाहन्छौं हामी! अनुकरणीय पथानुशरणको कुरै छैन, बुढो पुस्ता किनार लागिसक्यो अनि आफ्नै दुनियाँमा छ हाम्रो नयाँ पुस्ता! कसैले नेपाली राम्रो शैलीमा, राँटा नराखीकन बोल्यो, अल्पविराम वा बीचतिर अंग्रेजीका खोस्टा घुसाएन भने नयाँ पुस्ताले कता-कता आफ्नो जमातको ठान्न छोडिहाल्छ! ‘केही नजानेको, असभ्य, पाखे’-जस्ता विशेषणहरू जोडिन थाल्छन्। प्रौढ पुस्ता पनि अन्य भाषाहरुको नेपाली खिचडी पकाउन नपाउँदा निकै खिन्नता बोध गर्छ । अंग्रेजी जान्नु राम्रो हो, अर्काको भाषा सिक्नु नराम्रो कहाँ हो र? तर मूल कुरा के भने अर्काको भाषा सिक्न वा जान्नअघि आफ्नो भाषाको जग राम्रो बसाल्नु अति जरुरी हुन्छ । तर हामी आफ्नोलाई पर सारेर अर्काकोलाई पहिले काखी च्याप्छौं। अनि परिणतिमा अर्काको त अर्काकै भइहाल्यो, आफ्नो पनि सकिन्छ र भइन्छ टुहूरो। निरन्तर हामी ओरालो गतिमा छौं सामाजिक, भाषिक-साहित्यिक दृष्टिकोणले ! हामी यसरी आफ्नै आधारशिला र आफैंलाई त माया गर्न जान्दैनौं भने हामीलाई कसले माया गर्छ?

यो पंक्तिकारले माथि कुरा थाल्दा कसैको जन्म-जयन्ती मनाइएकोमा आपत्ति दर्शाएको हो कि भन्ने भ्रम नरहोस् कसैमा ! कुनै पनि महामानव, विद्वान र लेखकहरूको जन्म-जयन्ती मनाउनु राम्रो कुरा हो, तर जयन्ती मनाउँदैमा हाम्रो दायित्व पूरा हुँदैन है भन्न मात्र खोजेको ।

क्षमा गर्नुहोला पाठकवृन्द, कुरा कताको थियो, कता पो पुग्न थालिएछ! कुरा शुरु भएको थियो मोतिजयन्तीको सन्दर्भबाट । मोतिराम भट्ट जयन्तीमै टुंगिने प्रतिभाको नाम होइन । विसं १९२३ (ई.सं.१८६६) मा काठमाडौको भोसिको टोलमा जन्मिएर ५ वर्षकै उमेरमा शिक्षार्जनका लागि काशी पसेका भट्टले नपाली भाषा-साहित्यमा धेरै इँटा थपेका छन्। एउटा सिंगै साहित्यिक कालखण्डलाई नेतृत्व दिँदै निजी पहिचान खडा गरेर अपार मौलिकताको स्वतन्त्र जग बसालेका भट्टलाई भानुभक्तका अन्वेषकमात्र बनाउन खोज्नु उपयुक्त नहोला। नेपालमा सर्वप्रथम अर्काको भाषा सिकेर प्रयोगमा ल्याउने उनी नै हुन् । नेपालका लागि प्रथम आधुनिकतावादी (मानवतावादी) कवि, समालोचक, पत्रकार हुन् भट्ट र खास्सै हुन् प्रथम नेपाली गजलकार। गजल फारसी र उर्दू भाषाबाट हिन्दी, अवधी र ब्रज भाषाको माध्यम हुँदै नेपाली जगतमा प्रवेश गरेको मानिन्छ। जमानामा गजल माया-प्रेम, वियोग र एकान्तताको अभिव्यक्ति दिने साधनमात्र थियो। त्यो पनि धनी-मानि र धेरै पढेका अनि रइसी घरानीयाहरूका कुरामात्र गजलमा पस्किने चलन थियो भनिन्छ। हुन पनि सर्वसाधारणले बुझ्ने हेतुको हुँदैनथ्यो प्राचीन गजल। अनेक सूत्र, राग र ध्वनिहरूको बन्धनमा जेलिएको गजलीय प्रारूप जुनसुकै साधारण व्यक्तिले बुझ्ने कुरा पनि आएन। तर क्रमैले आधुनिक गजलमा रूपान्तरण हुँदै गयो र यसले बिस्तारै अधिकतम श्रोता र पाठकहरू पाउँदै गयो। यस धरातलीय यथार्थका ज्ञाता मोतिराम भट्टले गजललाई नेपालीमा प्रवेशाज्ञा दिँदा त्यो कुरामा समेत विचार पुर्याएर गजलमा सर्वसाधारनको भाषा प्रयोग गरिदिए र अति निम्न जनसाधारणले बुझ्ने हेतु राखेर गजलहरूको सिर्जना गरे, जुन कुराको नमूना यस पंक्तिकारले प्रारम्भमै उद्धृत गरेको छ।

गजल वास्तवमा १० औं शताब्दीतिर पर्सियाबाट उत्पत्ति भएको मानिन्छ। यसमा अल्प-कवितात्क शैली र भावात्मक अभिव्यञ्जना भए पनि यसलाई कविता भनिन्न। किनकि यो कवितासँग मिल्दैमिल्दैन। कवितालेखनका कतिपय नियमहरू यसमा लागू हुँदैनन् र यसमा लाग्ने कतिपय ढाँचागत नियमहरू कवितामा लाग्दैनन्। यसमा लाग्ने कतिपय नियमलाई पनि फारसी र उर्दूकै पदावलीमा बुझिन्छ जस्तै-‘रदिफ’,‘काफिया’, ‘बहर’, ‘मिसरा’, ‘तखल्लूस’, ‘मकता’, ‘मतला’ आदि। गजलीय अभिव्यक्ति मध्ययुगीन फारसी सभ्यताबाट क्रमशः मध्यपूर्तिर लम्किँदै इस्लामिक जमातमा पसेको र करिब १२ औं शताब्दीतिर दक्षिण एसियाली भूमिमा प्रवेश गरेको इतिहासिक दाबीहरु पाइएको छ। मुगलकालीन भारतमा यसले प्रश्रय पाएर उर्दूबाट हिन्दीको प्रारूप ग्रहण गर्‍यो र पछि काशी पढ्न गएका रवाफिला, जोशिला र रोमाञ्चक प्रवृत्तिका मोतिरामले यसलाई नेपालीमा भित्र्याए।

नेपाली गजलले उसको नामोच्चारणसम्म रूपान्तरण गरिसकेको छ आजभोलि। किनकि गजलको प्राचीन अंग गजल होइन, ‘घजल’ हो। यतिबेला पनि गजलको जननी  भाषा उर्दूमा गजललाई ‘घजल’ भनिन्छ र यो फारसी ढाचामा लेखिन्छ पनि । प्राचीन फारसी घजल लेखककहरूमा जलाल अल-दीन (१३ औं शताब्दी), हाफिज (१४ औं शताब्दी) थिए भने तूर्कीमा घजल लेख्नेहरू फ्यूजुली (१६ औं शताब्दी) थिए। यसरी नै मिर्जा घालिब (सन् १७९७-१८६९) र मोहम्मद इकबाल (सन् १८७७-१९३८)-ले फारसी र उर्दू दुवै भाषामा घजल लेखेका थिए भन्ने उर्दूको घजलीय इतिहासमा वर्णन पाइएको छ।

यसरी नै बिस्तारै जोहन ह्वोल्फग्याङ (१७४९-१८३२) ले गजललाई १९ औं शताब्दीमा जर्मनीमा भित्र्याएका थिए भने फ्रेडरिक रोकर्ट (१७८८-१८८६ ), अगष्ट वोन प्लातेन (१७९६-१८३५) लगायतका साहित्यिकहरूको प्रयासबाट गजलले अंग्रेजी संसारमा पनि राम्रै प्रभाव फैलाएको देखिन्छ। यही क्रममा एकजना काश्मिरी अमेरिकी अघा शहीद अली-जसले धेरै भाषाका गजलहरूलाई अंग्रेजी र अन्य धेरै भाषामा रूपान्तरित गर्दै गजलीय संसारको फैलावट बढाएका छन्-ले आधुनिक गजलीय ढाचाको परिचय गराएका छन् जस ढाचामा लेखकले अन्तिम वाक्यको बीचमा कतै आफ्नो नाम नै उल्लेख गरेको हुन्छ तर विल्कुलै अप्रत्यक्ष ढंगमा। गजलमा अमूर्त शैलीमार्फत लेखकले आफ्नो परिचय दर्शाउने चलन अलीकै सिर्जनाबाट शुरु भएको जानिफकार साहित्यिकहरूको कथन छ। गजलीय ढाचाको यही नमूना मोतिराम भट्टले पनि नेपाली गजलमा भित्र्याएका थिए भन्ने निम्न उदाहरणले प्रष्ट पार्नसक्छः-

“म तिम्रा अघी पर्न लायक् कहाँ छू,

त्यसैले अघी सर्न लायक् कहाँ छू।

हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,

बिना मर्जि आँट गर्न लायक् कहाँ छू।

अरूका ऊपर आँखिभौं तानि हाने,

म जावो हरे! मर्न लायक् कहाँ छू।

जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,

तिनै झैं नजर् तर्न लायक् कहाँ छू।

सडकमै छ मन् हर्न सक्नू हरीले,

सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू।”

(शारदा मासिक अंक ११)

आदयणीय पाठकहरू, पुनः क्षमादान चाहन्छु। मोतिराम भट्टको सम्झनामा श्रद्धा-सुमन चढाउने अवसरमा कता गजलको बखान पो बढाउन थालिएछ! जे होस्, मोतिराम र गजल नेपाली साहित्यमा एउटै सिक्काका दुई पाटाझैं परेकाले यस्तो भएको हो। भट्टलाई नेपाली साहित्यमा अघि बढ्न हुटहुटी लगाउने उनका समकक्षी मित्रहरू धेरै थिए भनिन्छ। भट्टको साहित्यिक सफलतामा उनको साहित्यिक मण्डलीमा रहेका कवि तथा गजलकारहरूमध्ये राजीवलोचन जोशी, पद्मविलास पन्त, काशीनाथ, रंगनाथ, चेत सिंह, तेजबहादुर राना आदिका नाम उल्लेख्य मानिन्छ। राजीवलोचन जोशीले त भट्टलाई बारम्बार घच्घच्याएर भानुभक्त बाजेका बारेमा लेख्न लगाएका हुन् भन्ने कुरा विभिन्न ऐतिहासिक तथ्यहरूमै समेटिएका छन् । पिकदूत, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा, उषाचरित्र, मनोद्वेग प्रवाह, कविसमूह वर्णन, भ्रमर गीत, कमल-भ्रमर संवाद, भानुभक्ताचार्यको जीवनी आदिजस्ता कृतिहरूमार्फत अवर्णनीय साहित्यिक योग्यताको परिचय दिँदा दिँदै पनि उनलाई आचार्यको साधारण जीवनी लेखकका रूपमा मात्र अर्थ्याउनु उनीप्रतिको ठूलो अपमान हो। भानु बाजेलाई खोज्नेमात्र काम पनि कम बोझिलो होइन। तनहुँको खोचबाट एउटा पछौटे वर्ग (तत्कालीन अवस्थामा आर्थिक तथा राजनीतिक रूपमा पछि परेका)-का अझ त्यो पनि आफूभन्दा धेरै अघिका बाहुन बाजेलाई टिपेर सजीव चित्रण गरी सिंगो नेपाली साहित्यको जग उकास्नु सानु काम अवश्य पनि होइन।  त्यसैले उनका साहित्यिक कृतिहरूको ऐतिहासिक तथा वैज्ञानिक अनुसन्धान, प्रयोगात्मक तथा व्यवहारिक अध्ययन र विश्लेषण गर्नु अति जरुरी छ । आजैदेखि हामी त्यसतर्फ लाग्यौं भने भट्ट र उनको योगदानप्रति न्याय होला ! नत्र त हाम्रो साहित्यिक धरातल यति बरालिँदो छ कि व्याख्या गरी साध्य छैन ।

फेरि मोतिरामकै कुरामा जाऊँ । उनको कुरा उठ्नेबित्तिकै सबै भन्छन्-भानुभक्त आचार्यलाई जनसमक्ष उपस्थित गर्ने उनै हुन् । नेपाली साहित्यिक शिक्षणमा एम.ए. डिग्रीसम्म भट्टका नाटक, कविता र गजलीय कृतिहरुको चर्चा हुन्छ, यद्धपि, उनलाई सामान्य रूपमा भानुभक्त खोज्ने गोताखोरमात्र स्वीकार गरिन्छ-किन? उनको आफ्नै स्वतन्त्र परिचय किन दिन सक्दैनौं हामी-भट्टलाई किन भानु बाजेसित जोडेरमात्र चिन्छौं ?

निश्चय हो कि भानुभक्तको रामायणलाई प्रकाशन गर्ने र भानुलाई चिनाउने भट्ट नै हुन् । तर हाम्रा यी दुई साहित्यिक आधारशिलाहरूको सम्बन्ध यतिमै सीमित भने छैन। यहाँ भट्टका कृति र प्रवृत्तिको मनोवैज्ञानिक विश्लेषण गरिनु अनिवार्य छ । मोतिराम भट्ट अतितिक्ष्ण प्रतिभाका धनी थिए। नेपाली साहित्यमा पाश्चात्य प्रवृत्ति भित्र्याउने प्रथम व्यक्ति उनी नै थिए। त्यसर्थ पूर्वेली संस्कारका अधिकतम प्रौढ सामन्ती सोचहरूबाट उनी मुक्त थिए भन्न सकिन्छ। उनलाई नेपालका प्रथम मानवतावादी साहित्यकार पनि भन्ने गरिएको छ । यही पूर्ण र अन्धविश्वासमुक्त मानवतावादले उनलाई नेपालमा उदार राष्ट्रवादी बनायो। त्यसर्थ नै राजा-महाराजा र युद्धवीरहरूको मात्र वर्णन गरिने जमानामा उनले पश्चिम नेपालको खोचभित्रको एउटा गाउँ, रम्घामा बस्ने साधारण बाहुनको जीवनी लेखे। राजा, राजाको छोरो, युद्धको महानायक र कुबेरहरूको मात्र नायकी स्वीकार गरिने त्यसबेलाको शास्त्रीय रूढिवादलाई बालकृष्ण समले आफ्नो कृति ‘चिसो चुह्लो’-मार्फत् लुरे दमाईलाई नायक बनाएर भेदभावपूर्ण र परम्परावादी असामाजिक संस्कारमाथि  लात हानेजस्तै मोतिरामले पनि पछौटे र गरीब बाहुन भानुभक्तलाई नायक बनाएर साहित्यिक फाँटमा हलचल ल्याए। नेपाली राष्ट्रिय लोक साहित्यको जग उठाउने र त्यसलाई सुदृढ पार्दै साहित्यमा अधिकारी-शासकवर्गको घमण्डी नियन्त्रण नरहोस् भन्ने पाश्चात्य जनमुखी उदार भावनाको प्रभावबाट नै भट्टले भानुभक्त आचार्यलाई जन्माए। र, नै निरंकुश राणाशासनको दबदबाभित्र उनले आफैंलाई सुरक्षित राख्ने र साहित्यलाई पनि मलजल पुर्याइराख्ने सोचमा कति ठाउँ आफैंलाई चिटिक्क रंगरोगन गरिएका भानुभक्तको रूपमा बाहिर ल्याए ! जमानाभन्दा निकै अघि दौडने भट्ट अंग्रेजी भाषामा समेत पारंगत थिए। अंग्रेजी प्रभावलाई उनले भानुभक्तको ताँदो गाँसेर नेपाली साहित्यमा पनि घुसाइदिए।  सन् १९८६ मा श्री मोतिवीर राईद्वारा अनुवादित (नेपाली-अंग्रेजी) र नेपाली साहित्य सम्मेलन-दार्जीलिङद्वारा प्रकाशित  मोतिराम लिखित ‘भानुभक्त आचार्यको जीवन एउटा खुल्ला पुस्तकालय’,  {The life of Bhanubhakta Acharya Open Library }-ले पनि हामीलाई भानु-मोति साहित्यिक सम्बन्धरेको शंकानिवारणमा केही टेवा दिन सकेको छैन। बरू थपेको नै छ।

हुनलाई त अनुमान र आशङ्का जे पनि हुनसक्छन्, यद्धपि ती कुराको सत्यता कति छ भनेर खोज्नु साहित्यका अध्येयता र अनुसन्धानकर्ताहरूको काम हो। अंग्रेजी साहित्यिक संसारमा पनि ह्विलियम शेक्सपियर र क्रिस्टोफर मार्लोबीचको सम्बन्धमा ठूलो शङ्का गरिएको छ।  अंग्रेजी जगतमा मार्लोप्रति जुन किसिमले अन्याय भएको छ, त्यो नेपाली साहित्य जगतमा मोतिरामप्रति पनि भएको हुनसक्छ! यतिबेला ह्विलियम शेक्सपियरको नाममा प्रकाशित सारा नाटक र कविता कृतिहरू क्रिस्टोफर मार्लोले लेखेका थिए भन्ने विचार प्रशस्त मौलाउन थालेको छ।

अंग्रेजी साहित्यको ऐतिहासिक पूर्वाधार अनुसार सन् १५६४ तिरको हाराहारीमा अनुमान गरिएको छ, शेक्सपियर र मार्लो दुवैको जन्म। यसो घोत्लिँदा, मार्लोचाहिं १५९३ तिरै अनेकौं कविता र नाटकहरूका सर्जक बनिसक्नु, तिनको प्रकाशनसमेतमा सफल हुनु अनि शेक्सपियरचाहिं मार्लोको हत्यापछि-अर्थात सन् १५९३ पश्चातमात्र साहित्यिक संसारमा देखिनु! कुनै प्रायोगिक अभ्यासबिनै शेक्सपियरले यसरी उच्चकोटिका साहित्यिक सिर्जना गरेकामा उनीप्रति शंकाको सुई घुमेकै थियो। हुन पनि त विचार गर्नु नि-क्याम्ब्रिज विश्वविद्धालयबाट एम.ए. गरिसकेका विद्वान मार्लोले मात्र शेक्सपियर सिर्जित भन्ठानिएका रचनाहरू लेख्न सम्भव थियो, विद्धालयको मुखै नदेखेका ह्विलियम शेक्सपियरले त्यस्ता साहित्य निर्माण गर्ने कुरा प्राय असम्भव थियो। यही कुरा हाम्रा भानुभक्त र मोतिराम भट्टबीच पनि लागू नहोला भन्ने कुनै किटानी छैन। भानुभक्तीय रामायणको सवालमा यो शंका लागू हुन सक्दैन। विभिन्न ऐतिहासिक दस्तावेज र भानु र भट्ट दुवैबारे जानकार प्रौढ राजीवलोचन जोशीको उपस्थितिले, भानुभक्तीय रामायणको पाण्डुलिपीय दस्तावेज आदि कुराले पनि रामायणमा त्यो शंका लागू हुने ठाउँ छैन, तर भानुभक्तका भनिएका अनेकौं फुटकर कविताहरूमा भट्ट र भानुबीच मार्लो र शेक्सपियरबीच रहेको रहस्यात्मक आशंका लागू हुने ठाउँ प्रशस्तै छन्।

भानुभक्तले लेखेका भनिएको ‘बालाजुको वर्णन’ संक्षेपमा यस्तो छः-

‘………बसेर कविता यदि गर्न पाऊँ

यसदेखि सोख अरू….म के पाऊँ

त्यसमाथि झन् असल सुन्दरी एक् नचाऊँ

खैंचेर इन्द्रकन स्वर्ग यही बनाऊँ…..….

यो क्षृङ्गार रसले भरिपूर्ण, मोज गर्ने भावना समेटिएको कवितांश रामका चरणधुली हुनखोज्ने र बधुशिक्षाजस्तो पुस्तक लेख्ने हठी परम्परावादी भानुले लेखेहोलान् भन्नै सकिन्न। यो रसरंगयुक्त गजलीय ज्ञान पाएका, पाश्चात्य प्रभाव लिएर नेपाल फिरेका भट्ट आफैंले लेखे भन्न सुहाउँदो छ। फेरि अर्को एउटा नमूना हेरौः-

‘………कहिं भोट र लण्डन चीन सरी

……………………………दिल्ली सरी

लखनौ, ….पटना र मदरास सरी…….’

यसरी विभिन्न भूगोलीय क्षेत्रको तुलनात्मक वर्णन गर्ने क्षमता त अंग्रेजी पढेर फिरंगी मत बुझेका मोतिराममा मात्र सम्भव थियो। श्रीकृष्ण ब्राम्हणका नाति अथवा पाल्पाको खजाञ्ची हुँदा आफ्ना बाबुले राजस्व छलेको अभियोगमा कुमारीचोक कैदखानामा थुनिएका भानुभक्तले लण्डन, चीन र मदरासको भौगोलिक ढाचा पक्कै जानेनन्! मोतिरामले भानुभक्तको जीवनी लेख्ता भानुका फुटकर कविता भेट्टाउन असम्भव थियो, किनकि ती कुनै पनि कविता छापिएका थिएनन् अनि उनको जीवनीबारे धेरै कुरा मोतिरामले राजीवलोचन जोशी लगायतका व्यक्तिहरूबाट सुनेका आधारमै लेखेका थिए। कुरो जे भए पनि एक्लो पंक्तिकारले ठेगान लाउन सक्ने विषय परेन यो। साहित्यिक अनुसन्धाता र विश्लेषकहरूले यो कुराको टुङ्गो लगाउन्।

जे भए पनि शक्तिको भक्ति र रहस्यको विश्वास गरिने त्य युगमा भानुभक्तलाई असाधारण व्यक्तित्व धारण गराएर जन-जनमा उनीप्रति श्रद्धा भर्दै नेपाली साहित्यको उन्नतिमा मोतिरामले जोड-बल दिए। प्रसिद्ध र रहस्यका धनी बनाएर भानुलाई अगाडि नल्याएका भए आफ्नै अघिल्तिर उभिएका मोतिरामलाई तत्कालीन जन-जमातले विश्वास गर्ने थिएन र विश्वासकै अभावमा मोतिरामले पनि त्यति धेरै केही गर्न सक्ने थिएनन् जति भानुलाई उभ्याएर उनले गर्न सके।

यसरी आफ्ना कृतिसमेत अरूको नाममा छपाउन सक्ने त्यागी र स्वार्थरहित साहित्यसेवक आजको साहित्यिक फाँटले पाउला त? नेपालीमा प्रथम मौलिक जीवनी लेखक, प्रथम पत्रकार, मुद्रणालयका संस्थापक, मौलिक नाटकका शिल्पकार, लोकप्रिय गायक, गजल सर्जक तथा गायक अनि लोकसाहित्यका प्रवर्तक मोतिराम भट्ट साँच्चै हाम्रो साहित्यका महान् हस्ती हुन्, श्रद्धेय अभिभावक हुन्।

अँ ! हामी त मोतिराम र गजल साहित्यको कुरा पो गरिरहेका थ्यौं-माथि नै प्रष्ट भइसकेको हुनुपर्छ- केही वर्षअघिसम्म गजलको धरातलीय सत्य के थियो भने यो आजको झैं एउटा सांगीतिक राग-ध्वनीको संघटन नभएर लेखन शैलीमात्र थियो । तर कालान्तरको विकासक्रममा यसको रूपान्तरणले यो एउटा सांगीतिक गायनमा समेटिएको छ। मोतिराम पश्चात नेपाली गजलको सन्दर्भमा कुरा गर्दा विसं १९६० को दशकमा नातिकाजी, शिवशंकर तथा डा.राममान तृसितजस्ता सांगीतिक हस्तीहरूको स्याहार-सम्हार पायो तत्कालीन गजलले अनि त्यपछि क्रमशः आए दीपक जंगम, भक्तराज आचार्य, शक्तिबल्लभ आदि। यसरी नै विसं 1980 को दशकमा फेरि तत्कालीन नेपालको सरकारी स्वामित्वको संगीत प्रसारण गृह, रत्न रेकर्डिङ कर्पोरेशनले युगकवि मोतिरामका कैयौं गजलहरूलाई दीपक जंगमको संगीतमा बाहिर ल्यायो। तर यति हुँदा पनि नेपालीमा गजलको चाख भिजेको देखिएकै थिएन। जब पाकिस्तानी गजल गायक मेहेन्दी हशनले नेपाली गजल गाउन थाले, जब प्रख्यात पाकिस्तानी गायक गुलाम अलीले म.वि.वि. शाहको गीत गाए तब शुरु भयो नेपाली गजलप्रति पारखीहरूको भीडभाड। ‘लोलाएका ती ठूला……’ ‘गाजलु ती ठूला ठूला आँखा……’ ‘किन किन तिम्रो तस्वीर………..’ ‘के छ र… दिउँ तिमीलाई मैले….’ जस्ता गजलीय प्रारूपका गीतहरू गुलाम अलीले गाएर ख्याति कमाएपछि साँच्चै नेपाली गजलले मौलाउने फाँट पाएको छ भने यतिबेला त अझ गजलको ब्याड नै राख्न थालिएको छ-तर यो दौडमा हामी नेपाली गजलका पिता मोतिरामलाई सही आदर गर्दैछौं कि छैनौं-यसप्रति सबैले विचार पुर्याउनु जरुरी छ।

सन्दर्भ सामग्रीहरु :

१ . नेपाली साहित्य सम्मेलन दार्जिलिङ-का गतिविधि (नेसास-को वार्षिक बुलेटिन)

२ .भानुभक्तका कृति: अध्ययनहरू –सं. इन्द्रबहादुर राई

३ .पुराना कवि र कविता– सं. बाबुराम आचार्य

४ .पिकदूत– मोतिराम भट्ट

५ .नेपाली साहित्यको इतिहास र भानुभक्तदेखि तेस्रो आयामसम्म– डा. तारानाथ शर्मा

६ .विभिन्न भाषाका इ-नेट र राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्र-पत्रिकाहरू

Find us on Facebook