उठाउछौं झण्डा देशमा

लेखक

 

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

गगनचुम्बी भवनहरूबीच व्यस्त सवारी साधन गुड्ने सड़क अनि विभिन्न वर्ण र पहिरनका मानवजाति । देश अनेक तर बोली, लवज भिन्न भए पनि भाषा एक अनि स्पष्ट । मठ-मन्दिर, गुम्बज, चर्च र मस्जिद अनि चाहेअनुसारको स्वतन्त्रता ! अहोरात्र मेहनत गर्नेहरूको मात्र गाँस, बास, कपास अनि आनन्दको सास-प्रस्वास ।

अचम्म ! एक रंगीन संसारको रंगीन पानामा मानव रंग पनि कोरिनुपर्ने, त्यसमा पनि आधा दुःख त आधा सुख भएर । ओल्टे कोल्टे भएर समय र प्ररिस्थितिसँग चिनजान गरी असल मान्छे हुनुपर्ने । ‘खुइ…कस्तो जिन्दगानी’, भन्नेहरु धेरै छन् । सुखले आनन्दित भएर जीइसक्नेहरू पनि अन्तमा जिन्दगीलाई धारे हात पारी मट्टिलाई सलाम चढाउने लगभग सबै हुन्छन् भने पनि हुन्छ ! किनकि मर्न कसैलाई इच्छा छैन यो संसारमा ! तर, यो पनि असत्य साबित भएको छ आज ! कोही मान्छेहरू अमूल्य जीवन फाल्न हतारिएका पनि छन् ।

ती हरेक पुस्ताहरूबीचको एक प्राविधिक रुपसँग प्रतिस्पर्धा गर्ने हामी नौला नमूनाका मान्छे । जोसँग साउँ अक्षरमात्र छ , जोसँग कलम-कापी अनि विभिन्न प्राविधिक सञ्चारका शीप छैनन् तर, जाँगर अनि उत्सुकताले जन्मेदेखि मृत्युसम्म निरन्तर अँगालेको छ त्यस जमातलाई । त्यही भीड़मा आज म पनि उपस्थित छु । घनचक्करमा मेरो मष्तिष्क आमाको कोखबाट पृथ्वीमा आएदेखि नै दिन, महिना अनि वर्ष हुँदै छुनामुना भएर पिसिई रहेको छ । समयको हरेक परिवर्तनमा म आधा असल हुन खोज्छु तर, आधा पूरा हुनलाई हरेक घुम्तीहरूमा दायाँ-बायाँ गरी पौरखी पाइला चाल्छु, निरन्तरसम्म निश्चित लक्षमा पुग्नलाई, यो जारी क्रम कहिले पूरा हुने हो थाहा छैन मलाई र अरु कसैलाई पनि !
मजस्ता… गोलो आकारको पृथ्वीमा जीवन जिउने कला सिक्नलाई आमाको कोखबाट हरेक पलमा अनगिन्ती बहादुर पुस्ताको जन्म हुन्छ त कसै-कसैले पुनर्जन्म लिएर आएका हुन्छन् । पुनर्जम्मको सास लिएर आएका जातिहरू प्राविधिक मान्छेलाई नोकर, चाकर अनि भक्तिभावका दास बनाउन पछि नपरेका होइनन् । उनीहरु फुलहरुको आसनमा अन्तरलोकसम्मको सुख जिई रमाइरहेका हुन्छन् । हामी उनीहरुको दिव्योपदेश लिएर सुखको सर्गम खोजीरहेका हुन्छौं । त्यसमा पनि काँड़ै काँड़ाको गोरेंटो पन्छाएर । थाहा छैन कहिले अनि कुन जुनिसम्म हो भनेर…!!!

भक्तिभाव बिसाएर सधैं हामी आत्मालाई शान्त राख्न खोज्छौं तर, हरेक पटक जञ्जिरमा बाँधिनु अनि आक्रान्त मनलाई यसै-उसै शान्त बनाउन खोजीरहने मान्छेमाथि मान्छेको दाहीँ चलिरहन्छ । युग परिवर्तन जारी छ रे- त्यसैले हरेक नयाँ काम गर्नुपर्छ भन्ने पनि धेरै छन् रंगीन दुनियाँमा ।
निश्चित परिवर्तनका लागि हरेक मानवले आफूबाट सकारात्मक कार्य गर्नुपर्छ । त्यसो त, गर्नेहरूमा पनि विभाजित हिसाबको राजनीति हुने मुलुकबाट आएका हामी कति असल त कति असफल भन्ने कुरा अबको सिर्जनशील तरंगले सिकाउने छ दूरदेशमा । आफैंले आफैंलाई हराएर खोजेको हामीले धेरै उपन्यास तथा लेखहरुमा पढ्ने मौका पाएका छौं । त्यसर्थ, खोजिरहेछु म पनि शरणार्थीजस्तो कष्टकर जीवनबाट सुन्दर अनि शान्त, विश्वका हरेक कुनामा आफ्नो पन, मनलाई स्वतन्त्रता दिन । शायद यो विचारमा सयमा पचास प्रतिशत सहमत हुने मित्रजन हुनुहुन्छ होला ।

कार्यक्षेत्रको अर्को कुरा तर गन्त्बय आफ्नो छ । म अब के हुने अनि के गर्ने भन्ने विषयमा गर्दै गएपछि हरेक अभ्यासले सकारात्मक दिशाको मार्गनिर्देश गर्दोरहेछ भन्ने अमेरिकाको व्यस्त सड़कले परिचय दियो मलाई । शायद अमेरिका हल्लाहरूको रंगीन संस्कृति भएर संयुक्त भएको होला तर, व्यावहारिक पक्ष पनि उतिकै मजबूत रहेको मैले पाएँ । एउटा भनाइ नै छ “झर्नाको पानी जति नै शक्ति परिवर्तन गरेर आए पनि सदैव मिठो स्वाद अनि सुन्दरताको आफ्नोपन, प्रतिरूप दिइरहन्छ ।’’

अब यो हो कि, जति नै उकाली ओराली गरे पनि आफ्नो सुनिश्चित भविष्यमा पुग्नलाई संघर्षरत हुनैपर्छ सबैले सबै हिसाबमा । हिजो अन्धकारमय जीवनबाट उज्यालो प्रकाशमा उभिएका हामी मानव सफलताको शिखरमा नपुगे पनि आफ्नो ठाँउबाट दूरदेशको माटो, बाटोलाई आफ्नो सम्झी अघि बढ्दा नराम्रो भन्ने कुनै वस्तु नहोला ।

हामी चाहे जुनै कुनामा भए पनि हाम्रो कला, साहित्य, संस्कृति अनि जातीय गुण भन्ने एकै हुन्छ अनि हुनेछ । इतिहासमा वीरताका गाथा स्वर्णिम अक्षरहरूले लेखिसकेका छन् । त्यसमा हाम्रा गौरवशाली पाइलाहरूले सही मार्ग निर्देश गर्न सक्नेछन् विश्व अदालतमा । हाम्रा पुर्खाहरुले भोगेको चरम यातना अनि वाक् स्वतन्त्रतामाथिको बन्देजको पूर्ण खुलासा नभई यथार्थबाट टाढ़ा रष्ट्रिय खुशीयालीको रड़ाकोमा देशलाई नचाइएको छ आज । आज देशको शासन तथा प्रसाशनको बागडोर मानवता नबुझ्ने निर्मोहीहरूका हातमा पुगेको छ । तर कति दिन आँखामा छारो हालेर राख्लान् र यो परिवेशलाई ओझेलमा त्यो कथित राष्ट्रिय खुशीयालीका प्रवर्तकहरूले ?

हामी कलमको धारले जीवन, समय र प्ररिस्थितिलाई अर्जाप्ने छौं । समयका हरेक पललाई घनचक्करबाट परिष्कृत तथा रंगरोगन गरी बाहिर निकाल्ने छौं । सब एक भई राष्ट्रले हिजो गरेका दमनलाई बर्तमानमा आवाज भएर मानव अधिकारको सही निर्णय विश्वका प्रत्येक कुनाबाट प्रकाश गर्ने छौं । यो चुनौतीको अर्को विषय हुनेछ मेरो देश भूटानलाई । बाघका जंगलहरू गाउँबाट टाढ़ा शून्यतामा हराउने छन् अनि गाँउका मानवहरू शहरका राज भण्डारमा रमाउने छन् । त्यसैले अप्ठेरोमा संघर्षशील पाइलाहरू चलाउँदा हाम्रो अनि मेरो के गल्ती हुन्छ होला र ? हामी एक भई उठाउछौं झण्डा देशमा भित्रिएर अनि हटाउछौं पुरातनवादका लट्ठी टेकी हिड्नेहरूलाई शहर, गाउँबाट सधैं सधैंलाई एउटा गन्तव्यहीन दिशातिर ।

Find us on Facebook