खेमनाथ दाहालसँग अर्जुन प्रधान

Filed under: Interview,Mixed Bag |

इतिहास मर्दैन, जनजनमा लोकप्रिय भए हंगामा मच्चाइरहन्छ । स्वाभिमानको खोजीमा लडेका, मरेका ज्ञातअज्ञात शहीद र पुर्खाका पौरखी पाइलालाई नयाँ पुस्ताले विशाल पूस्तककारूपमा अध्ययन गरी अघि परिवर्तनशील पाइला चाली रहन्छ । इतिहासभित्र पनि देखाउने र चबाउने गरी दुइटा दाँत हुन्छन् । जस्तै हात्ती हाम्रो साथी भनेको जस्तै गरी ।

कवि दाहाल

राज्य एकीकरणको बेला नेपालले टिस्टा-कांगड़ादेखि मेची-महाकालीसम्म, भारतले सिक्किम, दार्जीलिङ हुँदै मेची-महाकालीका धेरै प्रान्तमा भएका दशगजा जबरजस्ती घोषणा गरेको छ । भूटानले चार किल्लादेखि चार सीमा मिचाउँदै कहीले भारतलाई त कहीले चाइनालाई अनि कहीले बंग्लादेशलाई विभिन्न दस्तावेजमा हस्ताक्षर गरी आफू निकासको सुलिमा रही अरुलाई विकासमा पु-याई सलाम चढ़ाएको छ ।

दशगजाको रक्षा र देश–जनताको सुनिश्चित भविष्यको निम्ति साना ठूला देशहरुले भेटवार्तापछि नारा जुलुसका साथ ठुल–ठुला युद्धपछि विकल्पमा निस्केको भयवादसगँको सन्धि हस्ताक्षर प्रकरणहरुले लुकाएका बुँदाहरुलाई २१औं शप्ताब्दीका पुस्ताका युवाहरुले आफ्नो ठाँउबाट वकालतको विषयमा अभ्यास गरी जनताको साहस बटुलेका छन् र निरन्तरताको अभियानमा छन् ।

काँचो–आलो रगतद्वारा निर्मित नेपाल-बेलायत सुगौली सन्धि, ब्रिटीश एन्ग्लो वार, सिक्किमको तितालिया सन्धि, टि इस्टेट सन्धि, दार्जीलिङ एकीकरणको सन्धि अनि पछि गोर्खाल्याण्ड आन्दोलनमाथि जबरजस्ती सन्धि, सिक्किममाथि भारतीय हस्तक्षेपको प्रकरणबाट निस्केको विकल्पको सन्धि आदि २१औं शब्तादीसम्म आइपुग्दा पनि छलकपट गर्न खोजी आफैंले आफैंलाई विस्तारवादपछि एकात्मतावादी साम्राज्यवादको दाउपेच लाउन खोजेको आज प्रष्ट हुन्छ ।

गोर्खालीहरुको वीरतालाई प्रयोग गरी विश्वमा खुल्ला हात हल्लाउने विस्तारवाद राज्य, गोर्खालीहरुको चार सीमाका आवाजलाई बुलन्द हुनबाट रोक्न चलखेल १९१४ देखि १९५० सम्म अनि वर्तमान स्थितिसम्म निरन्तर अभ्यासमा पाइला चालीरहेको छ रात, दिन र वर्षयताका प्रचण्ड घामहरुबीच, हावाहुरीबीच कहिले लुकेर खेल्छ त कहिले मैदानमा दस्ताहरुसगँ बुटबजारेर ।

अन्याय, अत्याचारपछि जबरजस्ती दस्तावेजहरू खारेज गरी कला, साहित्य, संस्कृति हुँदै हिमायती राज्यहरूबीच आफ्ना सकुनी राजदूत पठाई षड़्न्त्रको खेल खेली भाइचाराको सम्बन्धमाथि घात-प्रतिघात गरी राष्ट्रको स्वाभिमान लुटेको हामीले कहिले कालो झण्डाले त कहिले रङ्गिन झण्डा उठाएर अनवरत रूपमा विरोध गरिरहेका छौं ।
देशको शान्ति राजा, प्राकृतिक सुन्दरता, दशगजामा निलम्बन गरिदिने विश्वासघातिमाथि छापामार युद्ध पटक पटक नलडेको होइन नेपाल, भूटान, सिक्किम–दार्जीलिङका गोर्खालीहरुले । विजय हातमा, खाता काखमा राखी कुर्सीमोहका गोर्खाली नेतृत्वलाई आज आवाजविहीन बनाई पिन्जडामा थुनिएको छ । धेरैलाई गुण्डाराजबाट अन्त्य गरी भयको रणनीति पैसामा रचेको खेलले देशका नाइकेहरु इसारामा नाची देशवासीहरुलाई विस्थापित पारेका छन् ।
तिनै उदारहणीय राजनैतिक चलखेलका सन्धिहरुका कारण नेपालीभाषीहरु भूटानबाट, सिक्किमबाट, बर्माबाट, चीनलगायत नेपालका हरेक दशगजा मिचिएपछि शरणार्थी आवस्थामा शरण खोजीरहेका छन् भन्दा फरक नपर्ला ।

आज तिनै भित्रिकलह मच्चाएर फाइदाको खेतीउब्जनी गरी मालिक भई घरदेश र परदेशका नागरिकलाई दास बनाउने विशाल राज्यलाई चेताउनीका साथ पारिवारिक सम्बन्धबाट खेल मैदानमा उतारी सामाजिक, आर्थिक, धार्मिक, भु-खण्डबीचका रेखीहरुमा सिर्जनात्मक शैलीमा २१ औं शताब्दीका महाकवि खेमनाथ दाहाल ले-“श्वेतपत्र” महाकाव्यमा ऐतिहाशीक पृष्ठभूमिलाई सकारात्मकरुपमा रेखी बाँधी सबैको मनमुटुलाई दरो पार्न समेत चेतावनी दिनुभएको छ ।

इतिहासले हामी सबैको स्वाभिमान कायम राख्दछ । चाहे हारमा होस् या जीतमा, गोरखालीहरुको वीरता युगिन घडिसम्म जीवित रहिरहेको छ । तसर्थ, हामी बाँचेको बाटो–बाटो कस्को हो भनी सोच्ने दिन कम्तिमा पनि दिनको बिहान र बेलुकाको समय आएकोमा कवि दाहाल “श्वतेपत्र” महाकाव्यमार्फत मञ्चमा उदाउनु भएको छ जोश, जाँगरका साथ इतिहासको सकारात्त्मक गोरेंटो देखाउनका लागि ।
महाकाव्यले समाजशास्त्रको विषयमा नेपाल (ठुल दिदी), सिक्किम (माइली) र भूटान (कान्छी) आदि भित्र भईआएका अन्तरिक कलंक, छिमेकीको लुछाचुँडी आदिलाई राम्रोसँग केलाई विश्वका संयुक्त सघं-सस्था, मानवाधिकारका ठुल–ठुला सघं-सस्थाहरुलाई फेरि एकचोटि अध्ययन गरी सही निर्णयको दाबी गर्ने किताब बनाइदिनु भएको छ ।

कविले पहिलो कविता सङ्ग्रह श्रद्धाञ्जली (२०५४), तथा रश्मि (खण्डकाव्यः २०५६), योद्धा (काव्य :२०६०) हार्वर्डको चौतारीमा (२०६३) कविता सङ्ग्रह,पछि प्रस्तुत श्वेतपत्र (महाकाव्य : २०६७) म बन्दी भएको छु (कविता सङ्ग्रह : प्रकाशोन्मुख) गरी पाँचौं कृतिका महाकाव्यका रुपमा पस्किनु हुने खेमनाथ दाहाल –वि.सं २००९,तेह्रथुम, लाब्री)मा पिता स्व.पं.ज्यो सोमनाथ र माता.श्रीमती जानुकादेवी दाहालका कोखबाट जन्मनु भएको हो ।

“श्वेतपत्र” महाकाव्य ११११ कविताका गुच्छामा पुरै पारिवारिक संवादका साथ नाटकीयरुपमा नेपाल, भूटान र सिक्किमको कथा-व्यथाहरुलाई मुलभूत रुपमा रोचकताका साथ अघि बढ़ाइ निरंकुशता, विस्तारवाद, साम्राज्यवाद र उपनिवेशको अघि नेपाली स्वाभिमानलाई उचा राखी भाइचारा सम्बन्धलाई कायम राख्नुपर्छ भने घोषणाका साथ महाकाव्य पन्ध्र सर्गसम्म अनुष्टुप छन्दमा रचिएको छ । श्वेतपत्रको मुख्य उद्देश्य साम्राज्यवादी, सामन्त र निरंकुश शासकसामु नझुकेर प्रत्येक देशभक्तलाई स्वतन्त्रता र स्वाभिमानका साथ बाँच्ने सल्लाह दिएको छ भने साना–साना हिमाली देशहरुबीच भातृत्व सम्बन्ध र पारस्परिक सहयोगको भावना

कायम राखी असमान सन्धिको खारेजीमा विशाल झण्डा उठाउने सन्देश दिनुभएको छ । यिनै विषयको सेरोफेरोमा आज म अर्जुन प्रधान कवि खेमनाथ दाहालसगँ श्वेतपत्र, भर्खरै नेपालको काडमाडौमा राष्ट्र कवि माधवप्रसाद घिमिरेको हस्तबाहुलीबाट विमोचित महाकाव्यमा आधारित रहेर कुराकानी गर्दैछु  । प्रस्तुत छः

१. “श्वेतपत्र”के लाई भन्ने ?

शब्दकोषमा श्वेतपत्रको अर्थ, परिभाषा जे जस्तो भएपनि यस कृतिको अर्थमा श्वेतपत्र यौटा अभियान हो , एउटा प्रतिबद्धता हो र राष्टिय जागरणको उद्घोषण हो ।

२. “श्वेतपत्र” महाकाव्य लेख्नुको उद्देश्य चाहिं ?

नेपालमा गणतन्त्रको मार्ग प्रसस्त र अग्रगमन, भुटानमा गणतन्त्र स्थापना र भूटानी शरणार्थी वापसीको लागि सचेतकको भूमिका, सिक्किम स्वतन्त्रता जागरण र स्वतन्त्रता सड्ग्रामको पथ प्रदर्शन गर्ने अभिप्राय र हाम्रा ठूला छिमेकी मुलुकले हामी अझ दक्षिण एसियाका साना मुलुकप्रति गरिएको थिचोमिचो, हैकमवादको उजागर गर्न र प्रतिकार गर्ने क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले लेखिएको हो यो कृति ।

३. काव्यलाई कति सर्ग र कति भागमा विभाजन गरी लेख्नु भा छ ?

श्वेतपत्र महाकाव्य पन्ध्र सर्गमा बिभक्त गरी लेखिएको छ र त्यसभित्र आवश्यकता अनुसार कथनका आधारमा विभिन्न भागमा विभाजित भएको छ तर, उपसर्ग भनेर कतै खुलाइएको छैन ।

३. “श्वेतपत्र” महाकाव्यमा प्रयोग गरिएका पात्रको भिन्न भिन्नै परिचय लिँदा ?

“श्वेतपत्र” महाकाव्यमा हिमालयका पुत्री नेपाल, सिक्किम , भूटानलाई जेठी, माइली र कान्छी तीन दिदी बहिनीका रुपमा र हिमालय स्वयंलाई पिताका रुपमा मानवीकरण गरिएको छ । त्यसको अलावा तिनका सन्ततिहरु ( तीनै देशका जनताहरु) तिनीहरुलाई सताउने भारत इतिहासले मागेका पात्रहरm र स्वयम् स्रष्टाको उपस्थिति टड्कारो रुपमा प्रयुक्त भएको छ ।

४. युगिन अवस्थासम्म आइपुग्दा नेपाल एकीकरणदेखि असमान सन्धिलाई कसरी लिनु भाछ ?

नेपाल एकीकरण हाम्रा पुर्खाहरुको दूरदर्शिताको परिचय हो । एकीकरण नभएको भए नेपालका मात्र होइन विश्वकै नेपालीभाषीहरुको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुनेथियो । असमान सन्धिको सन्दर्भका कुरा गर्दा हरेक सन्धिहरु हम्रो बाध्यतामाथि उठाइएका फाइदाहरु हुन् जुन दिन समस्त नेपालीभाषी एक भएर अवज्ञा गर्ने छौं त्यस दिन स्वतः खारेज हुनेछन् ।

५. सिक्किम, भूटान आदिको इतिहास पनि सुगौली सन्धिबाट पीडा खेपिरहेको छ भन्ने छ नी ?

सबैलाई सुगौली सन्धिको पीडा भन्दापनि भारतसँग भएका सन्धिहरुको पीडाले सताइरहेको छ भन्नु ज्यादा उपयुक्त होला । सुगौली सन्धि नेपाल अंग्रेजबीच २८नोभेम्वर१८१५मा प्रस्तावित सन्धि हो जो नेपालका तर्फबाट अनुमोदित नभए पनि अंग्रेजले शक्तिको आडमा लागु गरी वर्तमान नेपालको एक तिहाई भूभाग हडपेको थियो जो अहिलेसम्म भारतको अधिनमा छ ।

६. सुगौली सन्धिमा खास के थियो त्यस्तो ?

अन्तरवार्ताकार प्रधान

यस सन्धिमा अंग्रेजले मुख्य चार सर्तहरु राखेका थिए (१) युद्धमा नेपालीले जीतेका सबै पहाडी प्रदेशबाट हट्नु पर्ने (२

) तराईको ठूलो क्षेत्र काटेर अंग्रेजलाई दिनुपर्ने (३)सिक्किमतर्फको नेपालका अधिनको भूभाग पनि छाड्नु पर्ने र (४) स्थायी ब्रिटीश रेजिडेन्ट काठमाण्डौमा राख्नैपर्ने तर यी चारैकुरामा नेपालको सहमति नभए पनि यी सर्तलाई जबरजस्ति सन्धि भनियो र लागु गरिएको छ अद्यापि । श्वेतपत्रमा यो सन्धिलाई मैले यसरी नेपाल आमामार्फत् व्यक्त गरेको छु ।

सुगौली सन्धिको गन्ध छ यो दुर्गन्ध साथमा

टिष्टा र काँङ्गडा त्याग्ने कालो कलंक माथमा

जति सम्झन्छु झन् बढ्छ मुटुमा अझ वेदना

छुट्टिए कसरी मेरा खेल्ने सन्तान काखमा ।।

७. के सन्धिकै कारण नेपाल, सिक्किम, भूटान त्रासमय अवस्थाबाट गुज्रिरहेका हुन् ?

हो, तीनै देशहरु असमान सन्धिका कारण अघोषित वन्दीझैं पृथक पृथक अवस्थाबाट गुज्रिरहेका छन् । नेपाल सुगौली सन्धि र १९५०का सन्धिका कारण आफ्ना हरेक आन्तरिक मामलामा भारतीय हस्तक्षेप भएको महशुस गर्दछ, पीडा बोध गर्दछ । सिक्किम ५ डिसेम्वर १९५०को सन्धिको जालोमा फँसेर अस्मिता समेत गुमाउनु परेकोमा टाउकोमा हात राखेर बस्न बाध्य छ । भूटान ८ अगस्त १९४९को सन्धिको दबाबका कारण भारतीय ईशारामा (जसलाई मैले श्वेतपत्र महाकाव्यमा बुमाथाङ्को मन्त्रणा भनेको छु )आफ्ना नागरिक समेतलाई देशनिकाला गरी देश अस्थिर र गृहयुद्ध उन्मुख बनाउन बाध्य छ । तर अब यी सन्धिहरु खारेज गर्नुपर्छ भन्दै श्वेतपत्र उद्घोषण गर्दछ यस प्रकार-

असमान सबै सन्धि हाम्रा कारण दुःखका

आजपर्यन्त बाँकी ती काँडा समान वृक्षका

खारेजीको ग¥यौँ आजै घोषणा यो मुहूर्तमा

भन्ने सन्देश हामीले दिऔँ लौ अब लोकमा

८. भुटानी राजनैतिक आन्दोलनदेखि भूटानी तेस्रो देश पुनर्वाशसम्मको इतिहास पस्कनु भएको छ नि “श्वेतपत्र”मा, किन ?

शरणार्थी समस्या भनेको मानवीय संवेदनशीलताको विषय हो । त्यसमाथि विश्वका हरेक प्राणीलाई माया गर्नुपर्छ भन्ने हाम्रो संस्कार र संस्कृतिमा दीक्षित नेपालीहरुका सामने भूटानी शरणार्थी समस्या आइपर्नु भनेको यौटा अत्यन्त कष्टदायी आफूभित्र घटेको दुर्घटना हो । यो समस्याको निराकरण गर्न विश्वका हरेक नेपाली, नेपालीभाषीहरुले ऐकबद्धता जनाउनु पर्दछ र त्यहाँको वर्तमान शासकलाई देशबाट निकालिएका जनतालाई यथाशीघ्र भूटान फिर्ता गराउन बाध्य पार्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यता अनुरुप ऐकबद्धता जनाउने यौटा सानु प्रयास हो श्वेतपत्र महाकाव्य । राजनीतिबाट नै शुरु भएको यो दुर्घटनाको कुरागर्दा राजनैतिक आन्दोलनका कुराहरु स्वतः स्फूर्त उठ्दछन् र श्वेतपत्रमा पनि उठेका हुन् । पुनर्वाशको कुरालाई शक्ति  संचय गर्ने अवसरको रुपमा लिनु पर्दछ भन्ने मेरो आशय हो ।

९. अबको देश कस्तो हुनु पर्छ ? तपाईंको “श्वतेपत्र”को बुँदा कस्तो रहन्छ ?

तपाईले देश भन्नाले नेपाल, भारत र सिक्किम भन्नु भएको होला । तर श्वेतपत्र त्योभन्दा एक कदम अगाडि बढेको छ यस्तो बुँदासहित-

यथाशक्य बनाएर सङ्घ राज्य हिमालको

काश्मिर अनि नेपाल, सिक्किम र भूटानको

गोर्खाल्याण्ड र लद्दाख समस्त भाग एक नै

बनाऔं नव साम्राज्य हिमाली गणतन्त्र नै ।।

१०. अन्तमा ?

अन्तमा म सबै हिमाली देशवासीलाई एकजुट भएर हाम्रो साझा दुश्मनको प्रतिकार गर्न आव्हान गर्न चाहन्छु । हाम्रो पहिचान हाम्रो सार्वभौम भएर बाँच्ने अधिकार अर्काको हातबाट आजैदेखि खोसौँ ।
हामीलाई लडाएर हामीमै राज गर्नेको

दिवास्वप्न सधैँ देख्ने आफैँ द्रोही दलालको

प¥यौ चङ्गुलमा हामी बुझ्यौँ आज कुरा सब

पर्दैनौ अब फन्दामा भन्दै बाचा गरौँ सब ।।

Find us on Facebook