स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग २)

Filed under: Arjun Pradhan,Expression & Opinion,Nepali,पुस्तक-विमर्श |

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

स्वेतपत्रको भावभित्र नेपाल

हिमाल, पाहाड, तराईमा चारजात छत्तिस वर्णका रंगीन फूलहरु फुल्ने सुन्दर शान्त देश हो नेपाल । नेपाली चेली चीनमा भृकुटी तारा झैं चम्किइन्, जीवन र जगतको लड़ाइँमा भगवान गौत्तम बुद्ध, राम-लिलामा शालीन सीता हुँदै पौरणिककालका महान व्यक्तिहरुको जन्म भइसकेको पुण्यभूमि हो नेपाल । त्यस्तै गौरवशाली राजा, गोर्खालीहरुको स्वाभीमानलाई उच्च राख्नका लागि लिच्छवीकालदेखि लिएर ५२ वटा राज्यलाई पुनर्एकीकरणको अभियानमा साहसी भएर जनताको भावनालाई कदर गरी साहस बटुली गोरखाका राजा भई बाइसे र चौबीसे राज्यलाई एकीकृत गर्दै किराँती राजाहरु जो संघीय प्रान्तहरुको नेतृत्व गरिरहेका थिए-तिनीहरुसँग गरिएका विभिन्न सन्धिपश्चात विजयको शुरुवत १७९९ वि.संदेखि नुवाकोट, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, ललितपुरलाई १८२६ सम्म एकीकरण गर्ने राजा पृथ्वी नारायण शाह हुन् ।

एकीकरणको क्रमलाई निरन्तरता दिँदै वि.सं १८३०–३१सम्म पूर्वको चौदण्डी, विजयपुरलाई मेचीसम्म एकीकरण गरी प्रतापसिंह शाहले चितवनलाई नेपाल बनाएपछि रणबहादुर शाहलाई नेपालको राजा घोषणा गरी गद्दी सुम्पिए तापनि बडारानी राजेन्द्रलक्ष्मी शाहले राज्य सम्हालिन् र फेरि उनकै अर्का पुत्र बहादुर शाहले विं.सं १८३४ देखि निरन्तर १८२४ सम्म बाइसे राज्यको एकीकरण गरी पूर्वको भूभाग जिती सिक्किमको टिस्टासम्म पुर्याएको नेपालको इतिहास स्वेतपत्रले उल्लेख गरेकै छ ।

‘सिरमौर म सम्झन्छु गोर्खाल्यान्ड झनै अझ

मबाट दूर पार्नाले टुहुराझैँ भए सब

हरिद्वार र अल्मोडा, कुमाउ, देहरादून

गंगा र जमुना सम्झी काट्तै छु तड्पँदै दिन’- (सर्ग दशः २९)

त्यसै गरी अदम्य साहसका साथ १८४४–१८४७ सम्म कर्णाली राज्यको डोटी, जुम्ला राज्य विजय गरेर पश्चिम सिमानालाई महाकाली पारिसम्म विस्तार गरी कुमाउको अल्मोडा हुँदै गढवालको श्रीनगर राज्यलाई नेपालमा विलय गर्दा नगर्दै उत्तरतर्फको छिमेकी तिब्बतसँग युद्ध भई एकीकरणको अभियान रोकिएको पाइन्छ । वर्तमान स्थितिमा आइपुग्दा देशबाट राजामहाराजको अस्तित्व विलय भइसकेको र देश अग्रगमनतिर तीव्र गतिमा जानुपर्ने जुन नेपाल र नेपालीको चाहना थियो त्यसअनुरुप नभएकोमा कविको चासो र चिन्ताको विषय स्वेतपत्रमा प्रष्ट व्यक्त भएको छ ।

भूटान

नेपाल र तिब्बतबीच सिमाना क्षेत्रमा विशाल युद्ध भएपछि तिब्बतीहरु विस्थापित भई हिमाली भूटानक्षेत्रमा प्रवेश गरे । तिनै तिब्बती बौद्धिष्टहरुले धार्मिक स्वायत्ततकाको लक्ष्य राखेर  १७ औं शताब्दीमा तिब्बती धर्मगुरु साब्ड्रूङ नावाङ नाम्गेलको नेतृत्वमा भूटानका साना–साना भूभागहरुलाई एकीकरण गरी स्वतन्त्रराज्य स्थापना गरेको इतिहासमा पाइन्छ ।

नाम्ग्याल-जसलाई धर्मराजासमेत भनिन्छ-ले नेपालका राजा राम शाहसँग वि.सं १६२४ मा भूटानको धार्मिक विकास एवं सुरक्षाका लागि १६ परिवार ल्याउनको लागि मैत्रीसन्धि हस्ताक्षर गरी शिल्प र सुरक्षाको लागि नेपालीहरुलाई बसईं सरुवा गरी राजकीय सम्मानसाथ भूटान प्रवेश गराएको इतिहासमा प्रमाण पाइन्छ । नेपालीहरुले भूटान प्रवेशपश्चात विशाल राज्यमा परिणत गरेर आवाद गरेपछि सड़क, सदन हुँदै प्राकृतिक सम्पदासम्पन्न भूटान वाङचुकको निरंकुशताको शिकार भयो जसको फलस्वरुप वि.सं १९९० को दशकमा आदिवासी नेपालीभाषीहरुमाथि दमन शुरु गरी जबरजस्ति देश निकाला गरी अघोषित युद्धको थालनी भयो । यसै प्रसंगलाई कवि दाहाल यो वाङचुक राजाको इतिहास भन्दा नेपालीभाषी भूटानीको इतिहास पुरानो हो भन्दै लेख्नुहुन्छः-

‘डर मान्ने कुरै छैन हक आफ्नो जताउन

भूटानी इतिहासैको मूलपात्र भनाउन

राजवंश अझै भन्दा पुराना हौ तिमीहरु

जाम्वे लाखाङका साथै किंचु बनाउनेहरु’-(पृष्ट १६१; ३१)

बौद्धधर्म क्षेत्र घोषणाका निमित्त अहोरात्र ध्यान तपष्यामा लागेका अनुयायीहरुको क्षेत्र भूटानमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको त्यो घड़ीमा धर्मगुरु नाम्गेलले विभिन्न शान्ति सम्झौता गरेर जोगाए पनि १६५१मा वहाँको निधन भएपछि भूटानभित्र गृह युद्धको शुरु भयो । त्यसपश्चात तिब्बतीहरुले मङ्गोलीयनहरुसँग मिली युद्ध गरेपछि दुई देशबीच १७५९मा युद्धविरामको सन्धिमा हस्ताक्षर भएको थियो ।

भूटानको पारो र ट्रोङसालाई वाङचुकले साहसका साथ विजय गरेपछि राज्यको सर्वोच्च पद जनताले बौद्ध धर्मका अनुयायी पुत्र भनी दिलाए र त्यसपछि पूर्वी भारतको कुचविहार सिमानासम्म एकीकरण गर्नखोज्दा सिमानामा विवाद नहोस् भनी भूटानले गाभेको तिब्बती भूभागको केही भाग बेलायतलाई दिनुपर्ने भनेपछि शान्ति सम्झौतामा हस्ताक्षर गरी आफ्नो शीरलाई घुँडा टेकाएको पाइन्छ । भूटानले डुवर्स युद्ध, पूर्वी बंगाल सिमानाको युद्ध लडेपछि बेलाइती, भारतीयसँग अधिपति राज्यमा सुगौली सन्धि गरेको पाइन्छ । त्यसपश्चात ब्रिटिस इन्डियालाई स्वतन्त्रतादिवस मनाउन सघाउँदै भूटानले “let guide” जस्ता विदेशपरास्त (आत्मघाती) सन्धिहरुमा हस्ताक्षर गरेपछि भारतको इसारामा देशभित्र ठूलो षयन्त्रको चलखेल शुरु भयो र वाङचुकले अन्तत निरंकुश शासनको शुरुवात गरे ।

 

 

विं.स १९८८ मा जमनगणना भएपछि नेपालीभाषी भूटानीलाई मात्र चरम यातना दिँदै नेपाली लिपि, पोषाक, पाठशाला आदिलाई ध्वस्त गरी सातभागमा विभाजन गरेर सबैलाई देशद्रोही, बौध धर्मावलम्बीहरुका विरोधी र छिमेकी देशबाट कामदारको रुपमा प्रवेश गरेका अनागरिक भन्ने फत्तुर लगाई देशनिकाला गरेको इतिहास जीवित छ ।

नागरिक स्वतन्त्रता, वाक् स्वतन्त्रतामा कुमार साहब, महासुर क्षेत्रीलगायत सयौं नेपालीभाषी भूटानीले माटोमा सहादत्त प्राप्त गरे भने अहिलेसम्म धेरैले जेल जीवन बिताइरहेका छन् । अन्याय, अत्याचारले सिमाना नाघेपछि प्रजातन्त्रको नाउँमा धेरैले सदनसम्म आवाज उठाए तर वाङचुक शासनले नेपालीभाषीका प्रतिनिधि टेकनाथ रिजाल, बलराम पौडेल, आर.के बुडाथोकी, डा.भम्पा राई, रोङथोङ क्युनलेलगायत सार्छोप, ङालोङ, डोया, ख्याङ, लेप्चा–भोटीयाका प्रतिनिधिहरुलाई पनि नजरबन्द गरी यातना दिएको क्रूर यथार्थतालाई स्वेतपत्रबाट जाहेर कवि दाहालको मनाशय अनुसार निश्चय पनि इतिहासले कालो कालका रुपमा अवश्य चित्रण गर्नेछ । भूटानका नेपालीभाषीहरूले अन्याय-अत्याचारविरुद्धको आवाजलाई बुलन्द हुन नदिई रातारात भारतीय ट्रकहरूमा कोचेर देशबाट निकाली नेपालको मेचीपुलमा फालिदिएको तितो सत्य विश्वको आँखामा छ । यो सब भारतको वुम्थाङको मन्त्रणा, चलखेल, ब्रिटिससँगको सन्धि, तिब्बतीसँगको युद्ध र सिक्किम राज्यलाई विलय गर्दा भएका घटना तथा असमान सन्धिका कारण आज एकलाखाधिक भूटानी नेपालको पूर्वी भागमा नेपाल सरकार लगायत यु.एन. एच.सि.आर तथा अन्य सहयोगी सघं-सस्थाहरुको सहयोगमा शरणागत आवस्थामा कष्टकर जीवन यापन गरी १८ वर्षसम्म स्वदेशफिर्तीको अभियानमा आशाका साथ बाँचिरहेका छन् । यही वास्तविकतालाई कवि दाहालले श्वेतपत्रमा बडो मार्मिक भाषामा लेख्नुभएको छः-

‘चुसेर रक्त औँ स्वेद बनाँई जीर्ण राज्यले

पुरस्कार दियो आमा अनागरिक मानले

नीति ड्रिग्लाम नाम्जाको अवलम्बन नै भयो

विश्वका सामुमा हाल राज्य बिहीन नै भयो’-(पेज १३६ ,५८)

चाहे जे होस्,आज निरंकुशताको जगमा बसेको भूटानले यो वास्तविकता भुल्नु हुँदैन कि आजसम्मको आधुनिक भूटान वास्तवमा सिक्किम, दार्जीलिङ र नेपालका महान् शिल्पकारीको (र्गोखालीहरुका) शीप, जाँगर, मेहनत र परिश्रमबाट निर्मित छ । अझ पुरनो इतिहासलाई समेत यी कुराले प्रभावित गरेको थियो । त्यसै भएर, ब्रिटीश अधिनस्थ इष्टइन्डिया कम्पनीले अन्त्यमा भूटानलाई आफ्नो खुशिमा बाँच्न दिएको कुरोसमेत स्वेतपत्रले खुलाएको छ ।

 

 

सिक्किम

सिक्किम पनि हिमाली राज्यको हो । यस राज्यमा लेप्चा, भोटिया, नेपाली, हिन्दू, नेवारीलगायत अन्य जातजातिका संस्कृति र भाषा बोल्ने मानिस बस्छन् । सिक्किमको पश्चिममा नेपाल, पूर्व र उत्तरमा तिब्बत स्वायत्त क्षेत्र, दक्षिण-पूर्वमा भूटान रहेको छ । यसको सत्यतत्थ्य इतिहास भने अनौठो र फरक खाल्को छ । त्यसमध्येः १७ औं शताब्दीअघि धर्मगुरु साब्ड्रुङ नावाङ नाम्गेलले भूटानलाई बौद्ध धर्मक्षेत्र घोषणा गरी विभिन्न भूभागहरुलाई एकीकरण गर्दै जाँदा सिक्किमलाई पनि उत्पत्ति गरी आफैं अनुयायीहरुलाई दर्शन दिएको भन्ने किंवदन्तीहरु छन् ।

भूटानभित्र बौद्ध धर्ममाथि राजनीतिकीकरण हुन थालेपछि गुरु पद्मसम्भव (गुरु रिम्पोचे)-ले सिक्किमलाई पनि बौद्धधर्म क्षेत्रको रूपमा शासन गर्न जुटेपछि सिमाना क्षेत्रको विषयमा ठूलो युद्ध लड्नु परेको थियो । भूटानले सिक्किमलाई आफ्नो राज्य भनिरहेको बेला, १९५० अघि नेपाल र बिट्रिश राज्यबीच भएको युद्धले भयभित भई बसेको सिक्किमको  मुक्ति अभियानमा महात्मा गान्धी, जवाहरलाल नेहरुहरूले साथ दिएपछिमात्र स्वत्रन्त्र राज्यको रुपमा विकसित भएको हो सिक्किम ।

धेरै वर्षसम्म कैयौं युद्धका वाब्जुद पनि ब्रिटिससँग गोर्खाली योद्धाहरुको सुगौली सन्धि हस्ताक्षर प्रकरण १९५०मा सिक्किम र भारतबीच भएका संझौताहरुले आजपर्यन्त द्वन्द जारी छ भन्नमा अतिशयोक्ति नहोला । ब्रिटिशको उपनिवेशवादी नीतिसँग नेपालले वर्षौं लड्नु पर्यो भने, सिक्किमले कति बर्ष भारतसित लड्पर्ने हो भविष्यले बताउला । जबरजस्त आज सिक्किम भारतमा विलय भएर भारतीय विस्तारवादको पञ्जामा परी, करकापको भरमा सञ्चालन भइरहेको छ । भारतसँग विभिन्न सन्धि हस्ताक्षर भएपछि १९७५ मा भारतले असंवैधानिक तरिकाले सिक्किमको अस्मितामा धावा बोलेर नाम्ग्याल राजसंस्थालाई घुँडा टेकाइ २२ औं प्रदेश बनाई भारतीय गणराज्यमा गाभेको छ । भारतले विस्तारवादको नीति फैलाएपछि सिक्किमका र्गोखाली जातीलाई आफ्नो अस्तित्वमा नरहेको भान भयो र नेपालीभाषी गोर्खलीका संसदीय प्रतिनिधिले धेरैपटक आवाज बुलन्द गरी सिक्किममा आन्दोलन गर्ने प्रयत्न पनि गरे । कवि दाहालको महाकाव्य यी साराको कुराको खुलासा गर्न अघि सरेको छ ।

स्वेतपत्रको मूल भावअनुसार नरबहादुर भण्डारीदेखि पवनकुमार चाम्लिङसम्मका मन्त्रीहरु आजसम्म र्गोखालीहरुको स्वभिमान र वीरतालाई उच्च राख्न संघर्षरत छन् । त्यस्तै, दार्जीलिङका गोर्खाली नेता सुवाष घिसिङले नेपालका राजासमक्ष सिक्किमका गोर्खलीहरु नेपालका हुन् भनी निवेदन गरेका थिए । भारतले विभिन्नपटक सिक्किममा बुट बजारेपछि सिक्किम आज पीडादायी रूपमा भारतको स्वतन्त्रतादिवस मनाउन विवश छ । सिक्किम, नेपाल, भूटानले असमान सन्धिका कारण आफ्नो स्वाभिमानमाथि पटक पटक विस्तारवादसँग सम्झौतारूपी नाटक मञ्चनलाई विवश भएर अंगिराप गर्दै देशलाई आगोको मुश्लोमा होमेर जनतालाई ताप्न बाध्य गराएको वेदना हरेकले व्यहोर्नु परे तापनि सिक्किम आमाका कथनका रुपमा स्वेतपत्र महाकाव्यमा कवि दाहाल लेख्नुहुन्छः-

‘लग्यो शरीर मेरो यो विस्तारवादले लुटी

लगेन तर आत्मा यो सिक्किमे मनको झिकी

हामी बाँच्छौं युगौं बाँच्छौं ब्रह्माण्ड रहँदातक

अस्मिता फेरि फर्कन्छ जाग्नेछौं सिक्किमे जब’-(पृष्ठ १०४, ५३)

प्रेम र वैरभावपूर्ण सन्धिका रहस्य स्वेतपत्रमार्फत खुलासा

तत्कालीन नेपालका प्रधानमन्त्री भिमसेन थापाको पालामा सेनापति अमरसिंह थापा, वीर बलभद्र, भक्ति थापाहरुले एकीकरणको अभिभारा लिई जमुना नदी हुदैँ सतलज नदी आसपासका ससाना राज्यलाई विं.स.१८०६–१५ सम्ममा बहराइच र ठाकुराइ राज्यलाई एकीकरण गरी कांगडासम्म नेपालले आधिपत्य जमाउन पुगेको छ भने नेपाली फौजको तर्फबाट बन्दी बनाइएका कंगडाका राजा संञ्चारजनलाई कांगडा कोटबाट मुक्त गर्न नसकेपछि पञ्जाबका राजा रणजीत सिंहले उद्धार गरी राजा र सेनाबीच ज्वालामुखी सन्धि गरेपछि नेपालको एकीकरण उद्देश्य काश्मीरसम्म नपुगी रोकिएको इतिहासमा उल्लेख पाइन्छ । देवथल मलाउमा भक्ति थापा र अलमोडामा बलभद्रको दुखद निधन पछाडि नेपालको इतिहासले अर्कै मोड लिएर आजपर्यन्त सुगौलि सन्धिको पीडा नेपाल र नेपालीले झेलिरहेको कटु यथार्थलाई कवि दाहाल स्वेतपत्रमार्फत यसरी व्यक्त गर्नुहुन्छः-

‘सुगौलि सन्धिको गन्ध छ यो दुर्गन्ध साथमा

टिष्टा र काँगडा त्याग्ने कालो कलङ्क माथमा

जति सम्झन्छु झन् बढ्छ मुटुमा अझ वेदना

छुट्टिए कसरी मेरा खेल्ने सन्तान काखमा’-(पृष्ठ ११०, २८)

वि.सं १८१४ ताका ब्रिटिश जर्नरल हस्टिङ्गले पाँच ठाउँमा सतलज, दहेरादून, बुटवल, बिरगंजलगायत मोरङसम्म युद्ध घोषणा गरे पनि सुदुर पश्चिममा अमरसिंह थापाले वीरतापूर्वक लडेर नेपाल जोगाए । तापनि आफ्ना वीरमित्रहरुको मृत्युले आहत भएर अन्ततः युद्ध रोक्न बाध्य भए । वीर गोर्खाली बलभद्र कुँवरले चारसय जति फौजको भरमा ब्रिटिश फौजलाई आछु आछु पारी जिलेस्पी, स्ट्रेजको मृत्युको कारक भएको हुनाले पनि होला इतिहासले, नेपाली मनले आजपर्यन्त नालापानीको युद्धलाई सुनौला पातामा सजाएको छ भने तत्कालीन शत्रु अंग्रेजले समेत नेपालीको अदम्य साहसको प्रशंसा गर्दै नेपाली वीरताको सम्मानमा त्यसक्षेत्रमा स्मारक बनाएर बलभद्रको वीरता कुँदेर छाडेको छ । यही कुरालाई थप जीवन्तता दिँदै कवि दाहाल लेख्नुहुन्छः-

‘‘यथावत् छ अझैसम्म स्मारक त्यस क्षेत्रमा

खुलेका छन् सुनौला ती अक्षर अझ वाक्यमा-

‘‘शत्रु हुन् तर हुन् वीर गोर्खा र बलभद्र जो

त्यसैले स्मृतिमा राख्छौं सम्मान उपहार यो”-(पृष्ट ११४ ,४६)

नेपाली योद्धाहरुको मृत्युपश्चात युद्धले नयाँ मोड लिएपछि ब्रिटिश सरकारसँग वाध्य भएर नेपाली पक्षबाट सुलह गर्ने अभिभारा पाएका गजराज मिश्र, बम शाह ततपश्चात् चन्द्रशेखर उपाध्यायको आग्रहलाई जनरल मोयरा तथा इ.गार्डनरले नेपाली पक्ष गलेको अर्थ लगाई सुलहको लागि यस्ता चार शर्त राखे (१) युद्धमा गोरखालीले कब्जामा लिएको सबै पहाडी प्रदेशबाट हट्नु पर्ने (२) तराई क्षेत्रको ठूलो भूभाग काटेर अंग्रेजलाई दिनुपर्ने (३) सिक्किमतर्फ कब्जामा लिई राखेको प्रदेश छाड्नु पर्ने (४) काठमाण्डौमा बृटिश रेजिमेन्ट स्थायी रुपमा राख्नैपर्ने । तराईका क्षेत्र भन्नाले-

१. काली र राप्तीका सम्पूर्ण तराई

२. गंडकी बीचको सबै तराई

३. गंडकी र कोशीबीचको तराई

४. मेची र टिस्टा बीचको तराई

अंग्रेजका यी शर्तहरुलाई वेवास्ता गरी नेपालीपक्ष केही समय अडे पनि शक्तिशाली अंग्रेजको काठमाण्डौ कब्जा गर्ने धम्किका अगाडि नेपालले झुक्नुपर्यो र अन्ततः २८ नोभेम्वर १८१५ मा सुगौलिमा पुगी प्रस्तावित सन्धिपत्रमा गजराज मिश्रले हस्ताक्षर गरे । मिश्रले हस्ताक्षर गरे पनि काठमाण्डौले अनुमोदन गर्दैन कि भनी अंग्रेज शसंकीत नै थियो । त्यसर्थ ९ डिसेम्वर १८१५मा आफ्नो तर्फबाट तुरुन्त अनुमोदन गर्यो र १५ दिनभित्र राजाको लालमोहर लगाएर मेजर ब्राडशासमक्ष ल्याउनुपर्ने शर्त राख्यो ।

यस्तो राष्ट्रघाती सन्धिमा लालमोहर लगाउन राजदरवार तथा मुख्तियार भीमसेन थापालाई इच्छा हुने कुरै भएन अतः भरिसक्य आलटाल गरेर झुलाएर राख्न खोजे तर, यसको परिणाम झनै प्रत्युत्पादक भयो र मकवानपुर गढीसमेतमा अंग्रेजको कब्जा भयो । अंग्रेजले मकवानपुर गढी कब्जा गरी काठमाण्डौ हान्ने तयारीको खबरले पुनः काठमाण्डौ झस्कियो र सन्धिपत्रमा लालमोहर लगाएर चन्द्रशेखरमार्फत ४ मार्च १८१६मा अक्टरलोनीलाई बुझाइयो । जसको परिणाम वर्तमान नेपालको एक चौथाई भूभाग आजपनि भारतीय कब्जामा छ । यो मर्मलाई कवि दाहाल नेपाल आमामार्फत यसरी व्यक्त गर्नुहुन्छः-

‘पखेटा काटिए मेरा पूर्व पश्चिममा गरी

दक्षिणी भागमा धेरै खुम्चिएँ म सरासरी

आज जे छु म यो भन्दा विशाल रुपकी थिएँ

साच्चै एक तिहाई म आजभन्दा बढी थिएँ’-(पृष्ठ ११६,५५)

सुगौलि सन्धिमार्फत नेपालले गुमाएको भूभागमध्ये प्रधानमन्त्री जंगबहादुरको पालामा ब्रिटिशको सिपाही विद्रोह दबाउन गरेको सहयोगबापत ब्रिटिशहरु खुशी भई उपनिवेशमा गाभिएका पश्चिमका चार जिल्लाहरु पुनः नेपाललाई फिर्ता दिएपछि आधुनिक नेपालको नक्सा निस्केको हो ।

ब्रिटिश उपनिवेशलाई भारतवर्षमा टिक्न नदिन भारतले कैयौं सपूतहरुको आहुती दिनुपरेको तितो यथार्थता अद्यापि जीवितै छ । तिनै स्वतन्त्र सेनानीको बलिदानका आडमा पुष्पित र पल्लवीत भएको स्वतन्त्र गणतन्त्र भारतको अवधारणामा माहात्मा गान्धिको सत्याग्रह आन्दोलन र जवाहरलाल नेहरुको वैचारिक आन्दोलनले ५ अगष्ट १९४७ भारतवर्ष स्वतन्त्र भएको भन्ने आख्यान छ । तर ब्रिटिश उपनिवेशले कज्याएको भारतले आफूले हिजो भोगेको पीड़ालाई बिर्सेझैँ हरेक छिमेकी राष्ट्रलाई बारम्बार भुंग्रोमा हाल्ने खेल खेलिरहेको छ ।

भारत स्वतन्त्र भएपछि छिमेकी देशसगँ सम्बन्ध सुमधुर हुनुको साटो झनभन्दा झन् पीडादायक भएको कुरा यथार्थ सत्य हो । अझ प्रष्ट शब्दमा भन्ने हो भने बेलायतले भारत छाडेर गए पनि बेलायती भूतले भारतलाई झन् सताइरहेको छ जसको फलस्वरुप नेपाल, सिक्किम, भूटानमात्र होइन समस्त दक्षिण एसिया आज भारतीय नवविस्तारवादबाट पीडित भएका छन् । यो सत्यलाई कवि दाहाल श्वेतपत्र महाकाव्यमार्फत यसरी सार्वजनिक गर्नुहुन्छः-

‘लियो दक्षिणले आमा नीति दुष्ट प्रवृत्तिको

बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको

तसर्थ कहिल्यै आमा शान्ति छैन छिमेकमा

बङ्गलादेश, बर्मा र पाकिस्तान, सिलोनमा’-(पृष्ठ १४१, ८१)

दोस्रो विश्वयुद्धमा गोर्खालीहरुले देखाएको वीरताको प्रभावले सिक्किम, दार्जीलिङ र भूटानसँग सन्धि गरी नेपाललाई एक्लाइएको पाइन्छ । तर पितापुर्खाले समय समयमा देखाएको बहादुरीलाई कदर गरी अथवा भनौ ब्रिटिस साम्राज्यलाई लगाएको गुनलाई कदर गरी नोभेम्बर ९, १९४७ मा नेपाललाई पनि सहभागी गराई ब्रिटिश गोर्खाको अवधारणा बनाएर सन्धिमार्फत र्गोखालीहरुलाई ब्रिटिश आर्मी र भारतीय आर्मीमा प्रवेश गराइएको इतिहासलाई अहिले पनि वीरताको इतिहास मानिन्छ ।

भारत स्वतन्त्र भएपछि पनि असमान सन्धिका आडमा अझै घरिघरि जाल-झेलका खेल खेली छिमेकलाई रक्ताम्य बनाउने कार्यमा सक्रिय छ । राज्य हस्तक्षेपका बेला भएका घटना, ब्रिटिशले कहाँ कति के गर्यो, भारतसँग जोडीएको सिमाना नेपाल, भूटान, सिक्किम र अन्य देशसँग भएका तीता-मीठा यथार्थता प्रष्टरुपमा भारतीय प्रधानमन्त्री जवहरलाल नेहरुद्धारा लिखित Glimpses of World History नामक कृतिमा उल्लेख गरिएको छ । जसमा १८७०मा भएको ब्रिटिश–सिक्किम सन्धिमा नेपालका केही भूभागहरु उपनिवेश भईबसेका हुन् भन्ने उन्लेख गरिएको छ भने दार्जीलिङको जातीय आन्दोलनको कुनै वैज्ञानिक आधार नभएपछि दार्जीलिङ भारतवर्षमा गाभिएको भनिएको छ । त्यसको असमझदारी जनाउँदै दार्जीलिङका गोर्खाली नेता सुवाष घिसिङले १९८६ मा आन्दोलन थालेपछि भूटानी राजाले भूटानको दक्षिण भागमा बसोबास गर्ने नेपालीभाषीहरू माथि कडाइ गरेको पाइन्छ ।

नेपाल, भारत, सिक्किम, तिब्बत आदि राज्यहरुले गरेजस्तै सन्धिमा हस्ताक्षर भूटानले पनि नगरेको होइन । आज त्यही सन्धिका कारण आफूले वर्चस्व गुमाउन आँटेपछि भारतवर्षको शरणमा परेर थिम्पूले प्रजातन्त्रको वहाली हुन नदिएर निरंकुशताको लाठी भारतीय इशारामा नेपालीभाषी भूटानीको ढाड़मा बजाउँदै देशनिकाला गरी लाखौं देशवासीलाई शरणार्थी शिविरमा बस्न वाध्य पारेको कुरा जगजाहेरै छ । यसै प्रसंगलाई प्रमुखता दिँदै कवि दाहाल भूटान आमाका बोलीमा यसरी शरणार्थीलाई फिर्ता हुन आह्वा गर्नुहुन्छ श्वेतपत्र महाकाव्य मार्फत यसरीः-

‘अन्तत शरणार्थी नै हौ निर्णायक भोलिका

कर्णधार तिमी मेरा सुनौला हौ भविष्यका

त्यसैले अब तड्पेर बस्ने प्रवासमा किन ?

तिमी आउनु नै पर्छ गतिशीघ्र नयाँ दिन’-(पृष्ठ १०८,१०७)

देशका नागरिकहरु छिमेकी देशमा शरणार्थी भई बसेपछि सरकारी मुखपत्रलगायत अन्य विश्व मिडियामा नेपालीहरु देशद्रोही भएकाले र देशको संविधानको विरोध गरेकाले देश बाहिरीएका हुन् भनी भाषण दिँदै हिँड़्ने वाङचुक र उनका प्रतिनिधिहरुलाई कवि स्वेतपत्रले यसो भन्छः-

‘निरंकुश भए राजा चाहेनन् बुझ्न लौ कति

भारदारहरु ठाने उनका प्रिय सन्तति

तिनै आज भएका छन् नव बर्बर शासक

धनका लोभमा साँच्चै विदेशीका उपासक’-(पृष्ठ १३१, २९)

एक लाखभन्दा बढी शरणार्थीहरुको सहभागितामा लङमार्च आन्दोलन, सत्याग्रह आन्दोलनसम्म नभएका होइनन् । तर, ती सबै आन्दोलनहरु मेचीको पुल तर्न सकेनन् भारतीय विस्तारवादको कारणले । दिल्ली, काठमाण्डौ,विभिन्न नियोग अगाडि धर्ना र जुलुस गरिए पनि आवाजविहीन बनाइदिए सत्तामा नेतृत्व गर्ने निकृष्टहरुले । देखावटी रुपमा पहलकदमी लिएर संयुक्त राष्ट्र सघंमार्फत साडाको ओगाटालगायत अन्य प्रतिनिधिहरुले शरणार्थीको स्वदेशफिर्ती ससम्मान हुनुपर्छ भनी भारत, भूटान र नेपाललाई त्रिपक्षीय वार्ताको वातावरण बनाउन खोजेपनि केवल नाटक मञ्चन गरेझैं मात्र भयो थिम्पू र दिल्लिको लागि । यी सब घटना नजदिकबाट नियालिरहेका महाकाव्यकार दाहाल भूटान आमाको बोलीमा आक्रोश यसरी पोख्नुहुन्छः-

‘गर्यौ नियोगमा  र्याली अनशन अहो ! अझै

सचिवालय त्यो सार्क हाँस्छ देख्ता तिमी सधैँ

शान्तिको मार्ग रोज्दामा पायौ के ? अपमान नै

त्यसैले अब देख्तिन विकल्प क्रान्तिको कुनै’-(पृष्ठ १६९, ७३)

भारतीय पृष्ठपोषणका भरमा बाँचेको वाङ्चुक शासनले कदापि भारतीय इशाराभन्दा बाहिर गएर आफ्ना जनताका कुरा सुन्ने मनसुवा राखेन । समस्या समाधानका लागि पटकपटक वार्ता भए तर सबै निरर्थक । १९९३ नेपाल-भूटान वार्ताले निम्न उद्देश्यमा छलफल गर्ने निधो त गर्यो तर समाधानभन्दा झन् समस्या थप्यो थिम्पूले ।

1= Bhutanese who were forcibly evicted.

2. Bhutanese who emigrated Volunterly.

3. Non-Bhutanese People.

4. Bhutanese with criminal records.

उपरोक्त तीन विकल्पका माध्यमबाट शरणार्थीको समस्या सामाधन हुन्छ भनी नेपालले भूटानका प्रतिनिधिहरुलाई खुदुनाबारी शीविरमा प्रमाणीकरण गर्ने आज्ञा दियो । त्यसमा भूटानी नेतृत्वलगायत भूटान सरकारको जबर्जस्ति नीति थोपरी उल्टै जनतालाई विभिन्न लाञ्छना लगाएर बाहिरिएको थियो । यसबारे Dr. S. Chandrasekharan ले प्रष्टरुपमा http://www.southasiaanalysis.org मा विचार संप्रेषण गरेका छन् । त्यसमा पनि भूटानी नेता टेकनाथ रिजालको नयाँ पुस्तक “Torture-Killing Me Softly”, निवार्शन, बलराम पौडेलको “भूटान हिजो र आज”,डा.डि.एन.एस ढकालको A movement in exile लगायत भूटानी साहित्यका अग्रज स्रष्टाका विचारले पनि इतिहासको चिरफारमा निरन्तरता दिइरहेको पाइन्छ । यिनै पुस्तकबाट भूटानी आन्दोलनको स्वरुप कस्तो थियो र सरकारले गर्न खोजेको अभियान के थियो र अद्यावधि के छ भन्ने तितोमिठो सत्यपरक यथार्थता पाइन्छ ।

आजसम्म निवार्शनमा धैरै ठूल्ठूला अभियान लगायत संयुक्त राष्ट्रसघंमा स्वदेश फिर्तीको लागि अपीलहरु भए । तर त्यसको बिकल्पमा संयुक्त राष्ट्रसघंले २००८ बाट भूटानीलाई तेस्रो देश पुर्नस्थापना गरियो । संयुक्त राष्ट्रसंघको यस कार्यलार्ई कवि खेमनाथ दाहाल अन्यायपूर्ण भन्दै व्याख्या गर्नुहुन्छ यसरीः-

‘अन्ततः बुझ्नु यो पर्छ खोटो नियतले यिनी

लाग्दै छन् शरणार्थीको भलो गर्छौं भनी भनी

तर हुन्छ भलो केको सस्तो श्रमिक लोभले

गोहीले आँसु झारेझैँ गर्छन् स्वागत स्वार्थले’-(पृष्ट १६५)

आवाजमा बाटो, माटो माग्न सिकाउने नेतागण नै विकल्पलाई सही मानी बाटो लागेपछि जनताले पनि बिभिन्न देशमा पुनर्वाशमार्फत पुर्नस्थापना हुने निणर्य गरे । घरैमा अफ्ना नेतृत्वकर्ताहरू राजनीतिको नाउमा भारतसँग मिली आफ्नै निर्वाशनमा भएका जनतालाई गोली हानी मार्ने नीतिमा लागेका छन् । आजसम्म निर्वाशनका आर.के बुढाथोकीदेखि समाजसेवी अगुवा के.बी. खड्कासम्मका व्यक्तित्वहरुको निधन भएको छ ।

देश भित्रको भय अनि निर्वाशनको त्रासदीले जनता एकोहोरीका छन् भने लाखौं आमाहरुको सिउँदो पुछिएको बेला दिदीहरु विधुवा भएका छन् भने दाइभाइ शिविरदेखि मेची हुँदै भूटानभित्र जेलजीवन बिताइरहेको आवस्थामा राष्ट्रसघंले विकल्पको नाममा निकालेको (१) शरणार्थी भएको राज्यमा स्थापना गर्ने (२) ससम्मान स्वदेश फिर्ती गर्ने (३) तेस्रो देशमा पुनर्वाश गराउने-जस्ता तीन सिद्धान्तलाई जनताले आत्मासास गरी मजबुरी साथ तेस्रो देशलाई पहिलो महत्व दिएका छन् तापनि आफ्नो अस्तित्व पहिचानका विषयमा कति सचेत र सजग छन् शरणार्थीहरु भन्ने विषयमा कविको अभिव्यक्ति यस्तो छः-

‘कैयौं मुलुक लाँदैछन् गरीब विचरा भनी

जाँदैछौँ अहिले हामी दीन दुःखीहरु बनी

हामीलाई छ यो ज्ञात जहाँ जता गए पनि

भूटानी शरणार्थीकै नाम हुन्छ जहाँ पनि’-

आजसम्म आएर इतिहास घनचक्करमा पिसिएको छ । भोलि इतिहासले कुन मोड लिन्छ भन्ने विषयमा सबैको ध्यान खिच्न महाकवि खेमनाथ दाहालले शरणार्थी पुनर्वाश भएको ठाउँमा “स्वेतपत्र” महाकाव्य लिएर जागरण अभियान छेड्नु भएको छ भूटान आमाका सँगै सँगै उनैको प्रतिनिधिझैं भएर !

 

‘विकल्प छैन राजाको अब देश भूटानमा

रोज्नुपर्छ दुईमध्ये यौटा पक्का निदानमा

कि त बोलाउनै पर्छ तिमीलाई खुशीसित

कि त सिक्किमको बाटो रोज्नु र्छ भनी हित’-(पृष्ठ १७४,९)

द्वैतचरित्र भएका आफूलाई महान् मानव अधिारवादी भन्ने मुलुक, संघ-संस्था, व्यक्ति जसले वचनले एउटा र कर्मले अर्कै काम गरेर हिमाली इतिहासलाई मोड्न-तोड्न खोजेका छन् तिनीहरुलाई कवि दाहालले नितान्त नौलो साहसिक प्रहार गर्नु भएको छ “श्वेतपत्र” महाकाव्यका सर्ग १ देखि सर्ग १५ सम्म । महाकविले वर्तमान स्थितिको यथार्थ मुल्यांकन गरी हिमाली देशको बारेमा धेरै सामूहिक चिन्ता पोख्नु भएको छ । पक्ष प्रतिपक्षामा बस्ने नेतृत्वहरुलगायत राजा माहाराजाहरुलाई पनि देश र जनताको निम्ति उपनिवेशमा रहेका राज्यहरू फिर्ता लिनु पर्नेमा सुझाव छ । त्यसो नभएमा जनताको मशाल जुलुसको लक्ष्य तिमीहरुप्रति नै हुनेछ भन्ने शन्देश दिनु भएको छ यसो भन्दैः-

“मसाल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको,

कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको ”-

अन्तमा, “स्वेतपत्र” महाकाव्य रसाश्वादन गरेपछि प्राप्त हुने देशप्रेमको भावना, नौलो परिर्वतनको विचार, दर्शन, जनजनमा आउने परिवर्तनका धार स्वतःस्फूर्त शुरु भएर गोर्खालीहरुको स्वाभिमानलाई उच्च राख्ने छ भन्ने अपेक्षा यो पंक्तिकार गर्दछ ।

“स्वेतपत्र” माहकाव्यको मूलभुत उद्देश्य प्रा.गोपिकृष्ण शर्माले भनेझैं सामन्त, साम्राज्यवादी र निरंकुश शासकसामु नझुकेर प्रत्येक देशभक्तलाई स्वतन्त्रता र स्वाभिमानका साथ बाँच्ने भावना दिनु नै रहेको छ । त्यस्तै भूटानी मानवाधिकारकर्मी तथा नेता टेकनाथ रिजालले श्वेतपत्र माहाकाव्यलाई ‘इर्ष्या लाग्दो कृति’ भन्दै आफ्नो मन्तव्यमा भनेका छन्न्- “मलाई यो कृतिको पाण्डुलिपि पढिसकेपछि वास्तवमा नै इर्ष्या जागेर आयो कि यो कृति कोही भूटानीले नै लेखिसक्नुपर्दथ्यो । तर एकजना नेपाली विद्वान्ले यो कार्य गर्नुभयो र जन्मजन्मान्तर हामी भूटानीहरुलाई ऋणी बनाउनुभयो ।” यसको तात्पर्य यो हो कि कुनै भूटानीले लेखिदिएको भए पहिले नै भूटान आजको भूटान नभएर जनताको भूटानमा परिवर्तन भइसक्ने थियो ।

पुस्तकको आवरण रेडियो नेपालका सञ्चालक रमेश पौडेलले महाकाव्यमा प्रयोग भएका मुख्यपात्रलाई आफ्नो कलाबाट प्रष्ट देखाइदिनु भएको छ भने युगिन युद्धको देशको रूपमा पनि देखाउँदै आवरणमासंयोजनमा सहयोग गर्नुभएको छ । त्यस्तै महाकाव्यलाई ऐतहासिक धारमा ल्याउनलाई मेहनत गर्ने महाकवि दाहालको सम्मान गर्दै महाकाव्यलाई प्रकाशनको अभिभारा लिई पाठकसामु ल्याइदिनु हुने उषा दाहाललगायतलाई धन्यवाद ज्ञापन गर्दै श्वेतपत्र महाकाव्यले अपेक्षा गरेजस्तै अझ इतिहासलाई परिवर्तन गरी सबै हिमाली राज्यहरु स्वतन्त्र, सार्वभौमसम्पन्न हुन् र रहिरहुन् नयाँ भन्ने अपेक्षाका साथ, महाकविको अल्प अभिव्यक्ति दोहोर्याउँदै पूर्णविराम दिनचाहन्छुः-

‘कतै कैलाश यो झुक्छ झुक्छन् शैलहरु कतै !

जस्तै प्रलयमा देख्यौ ? सुमेरु डुब्छ यो कतै

कसरी तँ झुकिस् छोरा ! पाजी त्यो जार सम्मुख

कति कारणले गर्दा भएन भगिनी हित ।।’

Find us on Facebook

Comments

  1. Pasupati Acharya says:

    लेख राम्रो छ

  2. मित्र तपाइको लेख ईतिहासिक महत्वको छ . राम्रो, ज्ञानबर्द्धक छ , भुटानको इतिहासका कुरामा चाहि ई . सम. नभई बि. सम. होलाकी ?