भानु तिमीलाई श्रद्धाञ्जली छ

Filed under: Nepali,Poetry,Tilchan Acharya,Writers,कविता |

कवि

तिलचन आचार्य
पिट्सबर्ग,पेन्सिलभेनिया

भानु तिमीलाई श्रद्धाञ्जली छ फूलको हारले
नेपाली साहित्यले फड्को मारेको छ तिम्रै कारणले ।

आऊ आऊ भानु तिमी बुद्ध भएरै आऊ
साहित्य कला अनि कविता बनेरै आऊ
फूल अनि दीपकलश तिम्रै स्वागतमा जुटेको छ
नेपाली अस्तित्व-साहस पनि तिम्रै हातमा लुकेको छ ।

राष्ट्र अनि अन्तर्राष्ट्र तिम्रै नाम फैलिँदैछ
स्वर्गमात्र होइन यहाँ धर्ती पनि चम्किँदैछ
हातमा तिम्रो रामायण छ शीरमा ढाका टोपी
तिम्रो माया कति रै‘छ हेरौंला निः जोखी ।

तिम्रै योगदान फैलिएछ सारा संसारभरि
तिम्रै भाका कवितामा गाउँछे रानी चरी
आऊ अब कति बस्छौ बिरानो त्यो देशमा
तिम्रै भाका गुञ्जिरहेछ पाखा अनि लेकमा ।

तिमी छँदा नेपालीको कति राम्रो संस्कार
लोकतन्त्र छाइसक्यो देशले फेर्यो मुहार
आऊ-आऊ हातमा तिमी कलम बोकेरै आऊ
नेपालीको हाँसो अनि खुशी बोकेरै आऊ ।

असार २९ प्रत्येक वर्ष तिम्रै प्रतीक्षामा
भाका हाली गाउँछौं हामी तिम्रै कवितामा
इतिहासले बोल्छ आज सयौं वर्ष बिते पनि
नेपालीत्व हट्ने छैन यूरोप-अमेरिकै पुगे पनि ।

आदि कवि भानुभक्त बनिदियौ आज
लोकप्रिय बन्यौ आज नेपालीको माझ
तिम्रै गुनगान जति गाए निः अधुरो छ यहाँ
तिम्लाई कस्तो होला त्यहाँ हाम्लाई सञ्चै यहाँ
अन्त्यमा तिम्लाई हाम्रो श्रद्धाञ्जली छ ।