‘हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

लेखक

भक्त घिमिरे
अमेरिका

भनिन्छ, ‘‘२१ औं शताब्दिमा सामाजिक दृष्टिले युगपरिवर्तन भएको छ ।’’ तर, यथार्थमा युगौंदेखि जेजस्तो हुँदै आएको थियो, त्यही नै आज पनि भइरहेको छ । पूर्वबाट उदाउने सूर्य पूर्वमै छ, दिनपछि रात उस्तै छ अनि जून-ताराहरू आकाशमै छन् । मान्छेहरू जन्मने र मर्ने प्रक्रियामा कुनै फेरबदल भएको छैन । ठूलोले सानोलाई निल्ने, धनीले गरीबलाई दल्ने, सबलले निर्बललाई पछार्ने सबै विधिहरू उस्तै छन् । जो शक्तिसम्पन्न छ उसले शक्तिहीनमाथि सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक जुनसुकै दृष्टिमा हमला गर्नु सदियौंदेखि आजसम्म भइरहेको सर्वमान्य सामाजिक विधि हो भने पनि हुन्छ । केवल प्रक्रिया र शैलीमा परिवर्तन आएको हुनसक्छ । सोचाइको यस क्रमागत विधिलाई प्रतिकारको वञ्चरोले हानेर चिर्दै समाजमा मानवताप्रति नयाँ सोच र मान्यता खड़ा गर्न नेपाली साहित्यले पनि कम योगदान गरेको छैन भन्ने पुष्टि गर्नलाई हाम्रा अग्रज साहित्यिक हस्ती स्वःवी.पी. कोइरालाको उपन्यास ‘हिटलर र यहूदी’ गतिलो साधन साबित भएको छ । सारा संसारले एउटा युद्ध-अपराधी दानवको रूपमा प्रस्तुत गरेको हिटलरलाई  उसले गरेको कथित अपराध होइन, मान्छे भएकै कारण स्वर्ग जान नदिइएको कल्पना गरेर कोइरालाले स्वर्गको कल्पना गर्नेहरूलाई झापड़ हानेका छन् । करिब ६० हजार यहूदीहरूलाई ज्यूँदै जलाउने, त्यस्तो क्रूर व्यक्तित्व बोकेको हिटलर, विश्वयुद्धको प्रमुख कारक, मानवीय क्षतिको कारण भएर पनि उसले पाउनुपर्ने न्यायका सम्बन्धमा उपन्यासकार सचेत देखिन्छन् । महाभारतको भीषण युद्धका प्रमुख कारक कृष्ण स्वर्गमा पुगेका तर हिटलर धर्तीको मान्छे भएकै कारण स्वर्गप्राप्तिमा अयोग्य ठहरिएको गुनासो गरेका छन् उपन्यासकारले । उनको यस आशयले युगौंदेखि विद्धमान सामाजिक असमानता र आजसम्म रहेको अन्यायविरुद्धको व्यापक दण्डहीनतालाई प्रष्ट पारेको  छ ।  ठूला गनिएका र चर्चितहरूले जस्तै अपराध गरे पनि सहजै मुक्ति पाउने तर निम्सराहरूले कठोरभन्दा कठोर सजाय खेप्नुपर्ने युगौंदेखिको चलनचल्तीलाई कोइरालाले आफ्नो उपन्यासमार्फत व्यंग्यको वञ्चरो हानेका छन् ।

स्वः कोइरालाको उपन्यास ‘हिटलर र यहूदी’-मा प्रवेश गर्नअघि यसमा हिटलर र यहूदीबारे धेरै चर्चा रहेकोले को हुन् त हिटलर भन्ने जिज्ञासालाई अल्पसाधान गर्ने हेतुले निम्न चर्चा उठाउन वाञ्छनीय ठानेको छु ।  सन् १८८९ मा अष्ट्रियाको ब्राउन्यू-आ-मिन भन्ने स्थानमा जन्मिएको एउटा बालक एडोल्फ हिटलर । अष्ट्रिया र जर्मनीको सीमामा अवस्थित यस शहरमा अलोइस हिटलर भञ्सार अधिकृत थिए । अलोइस र क्लारा हिटलरले एडोल्फभन्दा पहिले नै गुस्ताब र ईदालाई जन्माएका भए पनि उनीहरू बाँचेनन् । पछि क्लाराले एडोल्फको एउटा भाइलाई जन्म दिइन्, एडमण्ड तर, ऊ पनि ६ वर्षभन्दा धेर बाँचेन । तर सन् १८९६ मा क्लाराले जन्माएकी एडोल्फकी बहिनी पावला भने एडोल्फ हिटलरको जीवनमा मुख्य अंगस्वरूप रहिरहिन् ।

अरुले भरखरै पढाइ शुरु गर्ने बेला आफू ६ वर्षको हुँदै पढ्न छोड़ेका एडोल्फ हिटलरले अध्ययनतर्फ कुनै चासो गरेनन् । पढ्नमा कहिल्यै चासो नगर्ने हिटलर कलामा आकर्षित थिए भनिन्छ । कलाकारिता अध्ययनका लागि भियनाको कला प्रतिष्ठानमा भर्ना हुन जाँदा उनी प्रवेश-परीक्षामा उत्तीर्ण भएनन् । त्यसपछि त उनी बेकम्मा नै भए । तत्कालीन यूरोपमा जताततै युद्ध र देशकब्जा, भूमिविस्तारको अभियान चलिरहेको कुराले उनलाई पनि गहिरो प्रभाव पार्यो । सन् १९१४ मा जर्मन सेनामा भर्ती भएका हिटलर त्यसपछि क्रमशः युद्धमैदानमै बाँचे र बन्दुकसँगै उनको जीवनचर्या चल्यो । खासगरी सन् १९१८ ब्रिटेनद्वारा जर्मनीमाथि गरिएको ग्यास आक्रमणमा परेर हिटलरका आँखाहरू बन्द भएका थिए । यसको उपचारार्थ हिटलर अस्पतालमा हुँदा उनले युद्ध गरेरै विश्वविजेता बन्ने परिकल्पना गरेका भन्ने इतिहासकारहरूले दाबी गरेका छन् ।

एकचोटि जर्मनीको एउटा सानो भागमा प्रभाव जमाइरहेको कम्यूनिस्ट समूहलाई भरखरै जर्मन सेनाले तहसनहस बनाएको थियो । विभिन्न क्षेत्रमा युद्धबन्दी बनेर फर्किने सेनाहरूलाई कम्यूनिस्टहरूको दलमा प्रवेश गर्नबाट रोक लगाउने सेनाको एउटा शाखामा हिटलरले जिम्मेवारी   पाए ।  सेनाबाहेक उनी एउटा गोप्य राजनीतिक अभियानमा पनि सामेल थिए । आफ्नो वाकचातुर्यले सहजै सयौं मानिसहरूलाई प्रभावित गर्ने उनको शक्ति भएको कुरा पनि इतिहासले नै जनाएको छ । जर्मन वर्कर्स पार्टीमा उनको प्रवेशमा समेत उनको वाकचातुर्यलाई श्रेय जान्छ ।  सो पार्टीमा प्रवेश गरी १९१९ मा उनी सातौं अधिकृत बनेका थिए ।

वाकचातुर्यको बलमा सर्वत्र आकर्षक वक्ता बनेका हिटलर सबै नेताहरूलाई लतारेर सैनिक शासक बनिसकेका थिए जर्मनीमा । शासक बनेरमात्र उनले सन्तुष्टि लिएनन् । उनलाई राज्यको सीमा विस्तार गर्ने भूत चढ्यो । अनेकौं कसरतपछि सन् १९३८ को मार्च १३ को दिन अष्ट्रियामाथि कुनै युद्धबिना जर्मनीले कब्जा जमायो । यसरी नै सोही वर्षको सेप्टेम्बर २८-२९ मा चेकोस्लोभाकिया पनि युद्धबिनै जर्मनीको अधीनस्थ बन्यो । प्रथम विश्वयुद्धको मारमा परेर  खूनखराबीबाट दिक्क भएका देशहरूले हिटलरलाई अर्को युद्धमा जानबाट रोक्ने आशामा अष्ट्रिया र चेकोस्लोभाकियाको हड़प गर्न दिएका थिए । यसरी अति-उत्साहित बनेका हिटलरले पूर्वका सारा देशहरू आफ्नो कब्जामा ल्याउने र विशाल जर्मन-साम्राज्य खड़ा गर्ने सपना देखे । यही विचारमा हिटलरले पोल्याण्डमाथि हमला बोले अनि यूरोपका अन्य देशहरूले हिटलरको यो चाल निको मानेनन् । यसपछि त शुरु भयो फेरि यूरोपबाट अर्को ‘महाभारत’ । हो, हिटलरको कारण शुरु भएको दोस्रो विश्वयुद्धलाई म यहाँ महाभारत किन भनिरहेको छु भने, वी.पी. कोइरालाले यसलाई महाभारतको युद्धसित दाँजेका छन् । त्यहाँका पात्रहरूसित हिटलरलाई तुलना गरेका छन् ।

हो, स्वः विश्वेश्वरप्रसाद वा वी.पी. कोइरालाले यही विषय उठान गरी प्रथम प्रवृत्तिको उपन्यास लेखेर नेपाली साहित्याकाशमा साहित्यिक ऊर्जा थपेका थिए । नेपाली उपन्यास लेखनको सन्दर्भमा उनको यो कदम नौलो आयाम खड़ा गर्ने सूत्रधार नै थियो । ‘हिटलर र यहूदी’ नामक कोइरालाको सो उपन्यास  दोस्रो विश्वयुद्धको सेरोफेरो र जर्मनीमा हिटलरले मच्चाएको भीषण नरसंहारमा केन्द्रित रहेको छ । हुन त स्वः दौलत विक्रम विष्टको उपन्यास ‘चपाइएका अनुहार’ पनि यही परिवेशमा केन्द्रित थियो र त्यो विसं २०३० सालमै प्रकाशित पनि भएको थियो । महाभारत युद्धका छनकहरू कता कता ‘चपाइएका अनुहार’मा पनि नसमेटिएका होइनन् । तर, त्यहाँ हिटलर र यहूदीमा जति मानवीय संवेदनाहरूलाई केलाइएको थिएन । अनन्त (नेपाली सैनिक) र किम्रिक (जर्मन सैनिक) भन्ने पात्रहरूलाई सैन्य जीवनको मूल भूमिका दिएर जर्मनहरूलाई युद्धपिपाशु, लड़ाकू जातिकै रूपमा खड़ा गरिएको थियो र त्यसमा नेपालीपनको तुलनामात्र बढी गरिएको थियो । विष्टको ‘चपाइएका अनुहार’ को तुलनामा कोइरालाको ‘हिटलर र यहूदी’ विश्वव्यापी मानवीय मूल्यप्रति बढी आकृष्ट र स्पष्ट छ भने फरक पर्दैन ।

‘‘हामी त आफ्नो छातीमा मान्छेहरूको चिहान लिएर हिँड़्दैछौं, आफन्तहरूको चिहान, यौवनका सारा सपनाहरूको चिहान’’, उपन्यास पात्र थियोडोराले भनी-‘‘‘मेरो प्रणय-वश्, त्यही एउटा चुम्बन हो, जसलाई मैलै अधीर भएर उसँग खोसेर लिएकी थिएँ ।’’ ( पृष्ठ ७१)

‘‘विदेशबाट भ्रमणमा आउने यात्रीहरू बिहे गरेर घुम्न आउँछन् … जर्मनीमा केटा पाइँदैनन्,  बिहे कसरी हुन्छ त हाम्रो’’, अर्की पात्र इल्जेले भनी । (पृष्ठ ८८) ‘‘दुई खुट्टाले नउभिएको मानिस नै हुन्न रे’’, लियोनार्ड नामको अझ अर्को पात्रले भन्यो, ‘‘मोरी डोरिस भन्ने त्यो कुकुर्नीले  मलाई खिल्ली उडाएर भनी-लियोनार्ड, दुईवटा खुट्टाले उभिएर मेरो हात माग्नु ।’’ (पृष्ठ ९४)

माथिका पंक्तिहरू स्वः कोइरालाकृत उपन्यास ‘हिटलर र यहूदी’-का उद्धृतांशहरू हुन् । कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यासमा हिटलरलाई मूल नायकको रूपमा प्रस्तुत गरिए पनि कृति विश्वव्यापी नरसंहारविरुद्ध मानवतावादी अवधारणालाई व्यक्त गर्ने लक्ष्यमा अग्रसर भएको छ जुन नेपाली साहित्यको एउटा धरोहर बन्न सफल पनि छ । उपन्यासले भनेअनुसार यसमा धर्तीलाई भोग्न चाहने ग्रेटा, थियोडोरा, इल्जे, लियोनार्डजस्ता पात्रहरूको चाहना पूरा हुन सकेको छैन भने सारा यहूदीहरूले बाँच्ने अधिकार गुमाएका छन् । दोस्रो विश्वयुद्धपश्चात जति जीवित छन्, उनीहरूमा आफन्तहरूमा वियोग सहेर पनि बाँच्ने उत्कट इच्छा बाँकी छ । जतिसुकै ठूलो प्रलय आए पनि झिनो आशामै बाँचेको मान्छे अझ बाँच्न मन गर्छ, यो मानवीय प्रवृत्तिलाई उपन्यासकारले खुलस्त पारेकै   छन् । उल्लिखित नामका उपन्यास पात्रहरू उनीहरूमा अझै पनि उत्कृष्ट जीवन बाँच्ने इच्छा बाँकी छ भनेर आफ्ना अभिव्यक्तिमार्फत सबैलाई जनाइरहेका छन् भन्ने माथिका भनाइबाट प्रष्ट हुन्छ ।

यी भनाइबाट इल्जेमा बिहे गरेर घरबार बसाल्ने रहर थियो, थियोडोरामा आफ्नो प्रेमी पाउने चाहना अनि लियोनार्डमा शारीरिक अपाङ्ग भए पनि मानसिकरूपमा सवलांगता भएको भावनामा  प्रेमिकाको माया पाउने अभिप्राय कायम थियो । यी पात्रहरूमा संसारमा रमाउने उत्कट अभिलाषा हुँदाहँदै उनीहरू दोस्रो विश्वयुद्धले छोडेका वीभत्सता बोकेर बाँचेका थिए । प्रत्येक मान्छेले प्राकृतिक सुन्दरतामा, ब्रम्हाण्डको मनोरम धरातलमा खेल्न-रम्न पाउनैपर्छ । स्वतन्त्रतापूर्वक जीवन बाँच्न चाहनेहरूले बाँच्न पाउनुपर्छ । जीवनलाई समाप्त पार्ने अधिकार कसैलाई पनि हुँदैन । मान्छेले मान्छेकै हत्या गर्नु अमानवीय र निन्दनीय काम हो । यदि मान्छेले मानवताप्रति खिल्ली उड़ाउने, उपेक्षा गर्ने हो भने मानव जीवनको कुनै अस्तित्व रहन्न, महत्त्व हुँदैन । यिनै तर्कहरूलाई वस्तुगत ढंगमा कोइरालाले उपन्यास-हिटलर र यहूदी-मार्फत अघि सारेका छन् ।

अब अघि बढ़्नभन्दा पहिले उपन्यास के हो भन्ने प्रसंग उठ्ने भो । मध्यपूर्वीय देश इटलीको भाषामा रहेको ‘नोभेल’ वा ‘नोभेला’ शब्दबाट अवतरित हुँदै आएर अंग्रेजीमा ‘नोबल’ बनेको यो शब्द हिन्दी र नेपालीमा ‘उपन्यास’ बनेर रुपान्तरित भएको मानिएको छ । औपन्यासिक साहित्यका व्याख्याताहरूले उपन्यासलाई मानव जीवनको सम्पूर्णताको अभिव्यक्ति भन्ने गरेका छन् । उपन्यासलाई ‘मानव सभ्यताका विभिन्न पक्षमाथि आधारित घटनाहरूको शृङ्खलालाई अतिरञ्जित वा यथार्थपरक धार दिँदै साहित्यको धरातलमा ओरालिने गद्यपरक कलात्मक अभिव्यक्ति’ पनि भन्ने गरिएको छ । मानव जीवनका पीड़ा-दर्द, हाँसो-खुशी, प्रणय, सपना, आशा-निराशा, करुणा, सहानुभूति, विपत साथै यथार्थ, आदर्श, विसङ्गत पक्षलगायत जीवनका सबै आरोह-अवरोहहरू उपन्यासमा समावेश हुन्छन् । जीवनका सारा भोगाइ तथा अनुभवहरू उतारिएको हुन्छ-हुनुपर्छ । पूर्वीय साहित्यमा आख्यान तथा आख्यायिका भनिने यो उपन्यास शब्दले आज जीवनका व्यापक तस्वीरहरू उतारेर जनमानसमा प्रस्तुत गर्ने साहित्यिक खुबीको रूप लिइसकेको छ । यो वर्तमान युगको वास्तविकता, जटिलता र परिवर्तनशील स्वभावलाई अभिव्यक्त गर्न सक्षम विधाका रूपमा स्थापित भइसकेकोले कोइरालाका औपन्यासिक कृतिहरूलाई पनि यसै परिप्रेक्षका उपज मानिएको छ ।

क्रमशः अर्को अंकमा …