यथार्थ नखुलेको शरणार्थी पीडा
दागाने काइँलो
राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरि एक करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा दुई करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको रुपमा आफ्नै देशभित्र शिविर अथवा आवश्यक पूर्वाधार नभएका क्षेत्रहरुमा दयनीय जीवन निर्वाह गर्न बाध्य छन् । यसरी हेर्दा, तीन करोड ७० लाखको हाराहारीमा रहेको विस्थापितहरुको यो संख्या विस्थापन परिदृष्यको एक हिस्सा मात्रै हो । यदि यसमा राजनीतिक, विकास निर्माण, प्राकृतिक विपत्ति वा अन्य कारणबाट विस्थापित भएकाहरुलाई जोड्ने हो भने यो संख्या कम्तीमा पाँचदेखि छ करोडको बीचमा पुग्न आउँछ । आफूसँग भएको सर्वस्व गुमाएर पीडादायी जीवन गुजारिरहेका शरणार्थीमध्ये नेपालमा पनि एक लाखभन्दा बढी शरणार्थीले आश्रय लिएको अवस्था छ । जसमा सबैभन्दा ठूलो संख्या भूटानी शरणार्थीहरुको छ । हुन त भूटानी शरणार्थीहरुको आधिकारिक संख्या १०६,००० जति भए पनि तेस्रो मुलुक पुनर्वाशका कारण हालमा यो संख्या ७५,००० जति मात्र रहेको छ । दिनानुदिन यी भूटानी शरणार्थीहरु विभिन्न पश्चिमा मुलुकतिर लाग्नेक्रम बढेकाले आगामी पाँच वर्षभित्र सायद नेपालमा भूटानी शरणार्थीको संख्या १५–२० हजारमा सीमित रहने देखिन्छ, जुन जनसंख्या शिविरमै कुरेर भूटान जान चाहन्छ ।
भूटानी तानाशाहको अत्याचार खप्न नसकेर रातारात भारतहुँदै नेपाल छिरेका यी भूटानी नागरिकहरुले दातृसंस्थाको भरमा गुजारा चलाउँदै आएको दुई दशक वितिसकेको छ । प्रजातन्त्रका लागि दुई दशकदेखि लडिरहेका भूटानी शरणार्थीहरु आज आफ्नो माटोमा ससम्मान फर्कनसक्ने वातावरण नबनेपछि बाध्यभएर नयाँ जीवनको खोजी गर्दै तेस्रो मुलुकतिर लाग्नुपरेको छ । पछिल्लो तथ्याङ्क अनुसार तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तरगत ३५,००० शरणार्थीहरु नेपालबाट अमेरिकालगायत अन्य मुलुकमा पुगिसकेका छन् जसमा ३०,००० त अमेरिका छिरेका छन् । अझ धेरै शरणार्थीहरु उतैतिर जाने तयारीमा छन् भने कतिले पुनर्वाशको सोच बनाइसकेका छैनन् । संसारभर छरिएका शरणार्थी जस्तै पहिचानका लागि राष्ट्रियता र बसोबासका लागि आफ्नो घरबाट टाढिएका भूटानीहरु विकसित देशका मानिसहरुले गर्ने अनुदानका भरमा बाँचेका छन् । त्यसका लागि नेपाली जनताले संरक्षण तथा सुरक्षित बसोबास दिएका छन, जसप्रति भूटानीहरु सदाका लागि ऋणि छन् । यसरी आर्थिकरूपले सम्पन्न दाताहरुले शरणार्थी र आन्तरिक विस्थापितहरूलाई सहयोग नगर्ने हो भने शरणार्थीहरूको पीडा चुलिँदै जाने निश्चित छ, अनि अभाव र छटपटि बाँचुञ्जेलको बाध्यता हुनेछ ।
पुनर्वाश प्रक्रिया शुरुभए पनि विभिन्न प्रकारका टिका–टिप्पणी र कति अमिल्दा विचारहरु पनि संचारमाध्यममा आए । चर्चित टेलिभिजन कार्यक्रम तितोसत्यले पनि पुनर्वाशको छिद्रा खोल्यो । एकीकृत नेकपा–माओवादी नेताहरूले भूटानीहरु पलायनतिर लागेको कुरा पनि उठाए । तर झापा र मोरङका सात शिविरमा छरिएर बसेका भूटानी शरणार्थीको पीडा अलिक सुनेको र बुझेको भन्दा फरक किसिमको छ । भएभरको सम्पत्ति चुसेर शारीरिक तथा मानसकि पीडा भूटानी तानाशाहले यी नागरिकहरुमा थोपरेको यथार्थ सबैले नबुझेका होलान् । नेपाल आफैं आर्थिकरुपले सम्पन्न मुलुक पनि होइन । अझ शरणार्थीको हकहितका लागि बनेका कुनै पनि सन्धि-सम्झौतामा नेपालले हस्ताक्षर गरेको छैन । दुख परेको बेला भावनात्मक सहयोग तथा ‘विचारा’ शब्दबाहेक वास्तविक कुनै पनि सहयोग नेपालमा शरणार्थीले अपेक्षा नगरे पनि हुन्छ । राम्रो शिक्षा, बैधानिक रोजगारी, धनसम्पत्तिको स्वमित्व आदि कुनै पनि कुरा शरणार्थीका लागि नेपालमा कल्पना मात्रका कुरा हुन् । वास्तवमा भन्ने हो भने देखेर अनुभव गर्नेले भोगाइको पीडा कदापि गर्न सक्दैन । कुनै पनि देशको एक स्वतन्त्र नागरिकलेभन्दा तल्लोस्तरको जीवन गुजारिरहेका यस्ता शरणार्थीका कथा-व्यथा धेरै प्रकारका छन् जसले सबैलाई अवाक बनाउँछ । शिविरमा आज भूटानीका तीन पुस्ता हुर्किसकेका छन, जसको सकारात्मक भविष्य छैन । उता भूटानले उनीहरुलाई सजिलै स्वीकार्ने अवस्था पनि तल्कालै देखिएको छैन । त्यसैले पुनर्वाश शरणार्थीहरुको एउटा बाध्यात्मक विकल्पको रूपमा आएको अस्थायी अवसर हो । धेरै शरणार्थीहरु खुशिले नेपाल छाडेर हिँडेका छैनन् । केवल नेपालमा भोगेको पीडाबाट मुक्ति पाइन्छ कि भनेर हिँडेको अवस्था हो ।
बरु, भूटानी शरणार्थीको पुनर्वाश प्रक्रियालाई हेर्ने सोचमा परिवर्तन आउनु पर्छ जस्तो लाग्छ । शरणार्थीभित्र जरा गाडिसकेको ‘भूटानफिर्ती’ को भावना घटेर वा सदाका लागि मरेर जान्न, बरु विदेशमा अझ बढेर जानसक्छ । विश्वप्रशिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइन पनि कुनै दिन शरणार्थी नै थिए । उनीजस्ता सयौं विश्वचर्चित व्यक्तित्वहरु पनि शरणार्थी बनेको इतिहास हामीसामु छ । नेपालकै कुरा गर्ने हो भने पनि पूर्व परराष्ट्रमन्त्री शाहना प्रधान शरणार्थीकै रूपमा बर्माबाट नेपाल छिरेकी थिइन् । यसरी नै प्रगतितिर उन्मूख हुने पुनर्वाशमा गएका भूटानी शरणार्थीमा पनि सकारात्मक भावना छ । त्यसर्थ यहाँ भावुकता र सहानुभूतिभन्दा पनि समान व्यवहारको कसीमा ल्याउने प्रयासको खाँचो छ । विश्वका अन्य शरणार्थीले जस्तै भूटानबाट लखेटिएका नेपालीभाषी भूटानीहरुको आफ्नो जीवनमा आर्जेको सम्पत्ति र भौतिक बस्तु खोसिएको छ । अझ महत्वपूर्ण कुरा त ‘म भूटानी हुँ’ भन्ने सबै प्रमाण भूटान सरकारले उतै खोसेर राखेको छ । तर, उनीहरुसँग आफ्नो रहन-सहन, परम्परा, चाड-बाड, सीप र सिर्जना आफैसँग छन्, किनभने उनीहरु आफ्नो पहिचान खोजिरहेका जीवन्त भूटानीहरु हुन् । एकछाक खाना, लगाउने सुकिलो लुगा र टाउको ओताउने टहरा मात्रै शरणार्थीको अपेक्षा होइन । आफ्नो पहिचानको रक्षा गर्दै अधिकार प्राप्तिको लागि लडिरहेका भूटानी शरणार्थीहरुका लागि धेरै कुराको खाँचो छ, जुन शिविरमा कुरेर पाइँदैन । यही कारणले गर्दा भूटानबाट लखेटिएर बिताएको २० वर्षको दुखद भोगाइको यथार्थताबाट केही समयका लागि टाढिने निर्णय सबै पक्षबाट नकारात्मक भन्न मिल्दैन ।
शरणार्थी विश्व परिदृश्यमा भूटानीहरुको दृष्टान्त छोटो भएको कुरा पनि नउठेका होइनन् । त्यसका लागि अफ्गानी र प्यालेस्टाइनी शरणार्थीहरुको समस्या कोट्याउने गरिन्छ, किन कि ती शरणार्थीहरुले पराईको माटोमा ५० वर्षभन्दा बढी बिताइसकेका छन् । तर, अस्तित्व खोसिएर पराई भूमिमा एक सेकेण्ड बिताउनु जोकसैको पनि कल्पनाबाहिरको पीडा हो । यो सबैले बुझिदिनु पर्छ । अर्को आरोप हो – स्वदेश फिर्तीका काम नभएको भन्ने । आज भूटानीहरु विशाल भारत काटेर नेपाल छिरेकै कारणले पहिला नेपाल, त्यसपछि भारत अनि भूटानसँग लड्नु परेको छ । नेपालले शान्तिसुरक्षा भड्कने आशंकामा शरणार्थीहरुलाई शिविरबाट बाहिर जान दिँदैन भने भारत सधैंका लागि तगारो बन्न तयार छ । त्यसपछि मात्र भूटानसँगको लडाइको कुरा आउँछ । शरणार्थी समस्याका कारणहरुलाई राम्ररी नियाल्ने हो विश्वमा अकल्पनीय रूपमा मानिसहरु शरणार्थी हुन बाध्य छन् । शरणार्थी छाप्रोभित्रको दृष्य जति कारुणिक छ, त्योभन्दा बढी उनीहरुभित्र पीडाबोध भएको हुन्छ । शरणार्थीका छाप्राभित्र उभिएर शरणार्थी हुनुपर्दाको पीडाको कल्पना गर्न सीमितरुमा केही दिनमा सकिएला तर वास्तविक पीडा शरणार्थी स्वयंबाहेक कसैले बुझ्न सक्दैन, यो यथार्थ हो ।