भाषा विरासत महिना : पहिचान संरक्षण र पुस्तान्तरणका लागि एक सामुदायिक अभियान

१. पृष्ठभूमि
पुनर्वासपछि हाम्रो समुदायले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यापार–व्यवसाय तथा आर्थिक समृद्धिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यी उपलब्धिहरू हाम्रो समुदायका लागि सुखद र गर्वका विषय हुन्। तथापि, भौतिक तथा आर्थिक प्रगतिसँगै हाम्रो भाषा, संस्कृति, इतिहास र पहिचानको संरक्षण तथा पुस्तान्तरणको विषयमा भने गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ।
कुनै पनि समुदायको पहिचानका प्रमुख आधारमध्ये भाषा र संस्कृति महत्वपूर्ण हुन्छन्। हाम्रो सामुदायिक जीवनमा नेपाली भाषा अझै पनि विभिन्न जातजाति, भाषा र समुदायबीच आपसी सम्बन्ध, संवाद, दुःख–सुखको आदानप्रदान तथा सामाजिक र व्यावसायिक सम्पर्कको साझा माध्यमका रूपमा स्थापित छ। सभा, बैठक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विवाह, उत्सवलगायतका अवसरमा नेपाली भाषाको प्रयोग भइरहेको छ। यो हाम्रो सामुदायिक एकताको सकारात्मक पक्ष हो।
तर नयाँ पुस्तामा नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासप्रतिको सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने प्रश्न अझै चुनौतीकै रूपमा रहेको छ।
२. वर्तमान अवस्था र चुनौती
हामी भाषा बोलिरहेका छौँ, संस्कृति मनाइरहेका छौँ र विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छौँ। तर नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र इतिहाससँग भावनात्मक तथा बौद्धिक रूपमा जोड्ने दीर्घकालीन योजना र प्रभावकारी कार्यक्रमहरू पर्याप्त रूपमा अघि बढ्न सकेका छैनन्।
भाषा, साहित्य र संगीतका क्षेत्रमा विभिन्न गतिविधि भइरहे पनि समुदायभित्र हुर्किरहेको नयाँ पुस्तालाई—
- हामी को हौँ?
- हाम्रो भाषा र संस्कृति कहाँबाट आयो?
- हाम्रो इतिहास के हो?
- हाम्रो पहिचानका लागि विगतका पुस्ताले के–कस्ता संघर्ष र त्याग गरे?
भन्ने प्रश्नसँग जोड्ने प्रयास अझ सशक्त बनाउनुपर्ने आवश्यकता देखिएको छ।
यो विषय केवल भाषा संरक्षणको विषय होइन। यो हाम्रो अस्तित्व, पहिचान, इतिहास र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय हो।
३. ऐतिहासिक पृष्ठभूमि
हाम्रो भाषा र पहिचानको इतिहास संघर्षपूर्ण रहेको छ। नेपाली भाषा पाठ्यक्रमबाट हटाइनु, नेपाली पुस्तकहरू जलाइनु, नागरिकहरूमाथि विभिन्न प्रकारका दमन र मानवअधिकार उल्लङ्घन हुनु, धेरै अग्रजहरू जेल पर्नु तथा सहिद हुनु, घर–आँगन र सम्पत्ति गुमाउनुजस्ता घटनाहरू हाम्रो सामूहिक इतिहासका पीडादायी अध्याय हुन्।
अन्ततः सन् १९९० को दशकमा एक लाखभन्दा बढी भूटानी नागरिक आफ्नो जन्मभूमि छोड्न बाध्य भए। त्यसपछिको पुनर्वाससम्म आइपुग्दा हाम्रो समुदायले अनेकौँ कठिनाइ पार गरेको छ।
यी घटनाहरू केवल विगतका कथा होइनन्। ती हाम्रा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने ऐतिहासिक विरासत हुन्।
यदि हामीले आफ्नो इतिहास नयाँ पुस्तासम्म पुर्याउन सकेनौँ भने समयसँगै इतिहासको स्मृति कमजोर हुँदै जानेछ र त्यससँगै हाम्रो पहिचान पनि क्रमशः ओझेलमा पर्न सक्छ।
४. “भाषा विरासत महिना”को अवधारणा
यही ऐतिहासिक चेतना, भाषा संरक्षण र सांस्कृतिक पहिचानलाई जीवित राख्ने उद्देश्यले साहित्य परिषद्, भूटानले गत वर्षदेखि सेप्टेम्बर महिनालाई “भाषा विरासत महिना”का रूपमा मनाउने अभियान प्रारम्भ गरेको हो।
सेप्टेम्बर महिना हाम्रो इतिहाससँग विशेष रूपमा जोडिएको छ। यही महिनामा भूटानका दक्षिणी छवटै जिल्लामा भाषा, संस्कृति, अधिकार र पहिचानको पुनर्स्थापनाका लागि शान्तिपूर्ण जनप्रदर्शनहरू भएका थिए। जनताले आफ्ना माग सरकारसमक्ष राखेका थिए। सरकारबाट अपेक्षित सुनुवाइ नभएपछि सामूहिक रूपमा राजासमक्ष समेत अपिल गरिएको ऐतिहासिक सन्दर्भ यस महिनासँग जोडिएको छ।
त्यसैले सेप्टेम्बरलाई “भाषा विरासत महिना”का रूपमा स्मरण गर्नु केवल भाषासम्बन्धी कार्यक्रम आयोजना गर्नु मात्र नभई इतिहास, त्याग, संघर्ष, सहिद र पहिचानलाई भावी पुस्तासम्म पुर्याउने अभियानका रूपमा अघि बढाउनु आवश्यक छ।
५. अभियानका प्रमुख उद्देश्य
“भाषा विरासत महिना” अभियानका प्रमुख उद्देश्यहरू निम्न छन् :
१. नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धन गर्नु।
२. नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्नु।
३. भूटानी नेपाली समुदायको इतिहास नयाँ पुस्तासम्म पुर्याउनु।
४. भाषा, संस्कृति र पहिचानको महत्वबारे सामुदायिक चेतना अभिवृद्धि गर्नु।
५. अग्रजहरूको संघर्ष, त्याग र योगदानको सम्मान तथा स्मरण गर्नु।
६. समुदायमा भाषा संरक्षणका लागि दीर्घकालीन योजना र कार्यक्रम निर्माणका लागि वातावरण तयार गर्नु।
७. संसारभर छरिएर रहेका पुनर्वासित भूटानी समुदायलाई साझा ऐतिहासिक भावनामा जोड्नु।
६. साझा राष्ट्रिय स्मृति दिवसको आवश्यकता
“भाषा विरासत महिना” सँगै हाम्रो समुदायका लागि अर्को महत्वपूर्ण विषय पनि जोडिएको छ—देश, इतिहास, सहिद र समर्पणलाई स्मरण गर्ने एउटा साझा विशेष दिवसको स्थापना।
संसारका विभिन्न देशमा छरिएर रहेका पुनर्वासित भूटानी समुदायलाई एउटै ऐतिहासिक भावनामा जोड्न, सहिद तथा अग्रजहरूको योगदानलाई सम्मान गर्न र जन्मभूमिको स्मृतिलाई पुस्तौँसम्म जीवित राख्न यस्तो दिवस महत्वपूर्ण हुन सक्छ।
यसका लागि समुदायका विभिन्न संस्था, साहित्यकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सरोकारवाला पक्षबीच व्यापक छलफल गरी सर्वसम्मत रूपमा एउटा विशेष दिवस निर्धारण गर्ने पहल आवश्यक देखिन्छ।
७. आगामी कार्यदिशा
भाषा विरासत महिना एउटा वार्षिक कार्यक्रममै सीमित नरही दीर्घकालीन सामुदायिक अभियान बन्न आवश्यक छ। त्यसका लागि :
- नयाँ पुस्ताका लागि नेपाली भाषा शिक्षाका प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने।
- बालबालिका तथा युवालाई लक्षित साहित्यिक, सांस्कृतिक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने।
- भूटानी नेपाली इतिहाससम्बन्धी सामग्री संकलन तथा अभिलेखीकरण गर्ने।
- मौखिक इतिहास तथा अग्रजहरूको अनुभव दस्तावेजीकरण गर्ने।
- नेपाली पुस्तक, साहित्य र सांस्कृतिक सामग्री नयाँ पुस्ताको पहुँचमा पुर्याउने।
- विश्वभर रहेका पुनर्वासित भूटानी समुदायबीच भाषा तथा संस्कृति संरक्षणका लागि सहकार्य विस्तार गर्ने।
- भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि संस्थागत तथा आर्थिक लगानी बढाउने।
- साहित्य,सृजना र समाज सेवाको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई विभिन्न सम्मानबाट पुरष्कृत गर्ने
८. निष्कर्ष
भाषा रहेसम्म पहिचान रहन्छ, पहिचान रहेसम्म समाजको निरन्तरता रहन्छ। त्यसैले भाषा संरक्षण कुनै एक व्यक्ति, संस्था वा साहित्यकारको मात्र जिम्मेवारी होइन; यो सम्पूर्ण समुदायको साझा दायित्व हो।
आज हामीले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षणका लागि सचेत प्रयास गर्न सकेनौँ भने भोलि हाम्रा सन्तानले आफ्नै पहिचान खोज्न इतिहासका पुस्तक वा इन्टरनेटका पानाहरू पल्टाउनुपर्ने अवस्था आउन सक्छ।
त्यसैले “भाषा विरासत महिना”लाई एउटा औपचारिक कार्यक्रमका रूपमा मात्र नभई इतिहास सम्झने, सहिद र अग्रजहरूको सम्मान गर्ने, भाषा–संस्कृति जोगाउने र भावी पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सामुदायिक संकल्पका रूपमा अघि बढाउनु आवश्यक छ।
हाम्रा सन्तानले भोलि गर्वका साथ भन्न सकून्—
“हामीसँग भाषा छ, संस्कृति छ, इतिहास छ र हाम्रो पहिचान जीवित छ।”
यही उद्देश्य र संकल्पका साथ “भाषा विरासत महिना”लाई पुस्तौँपुस्तासम्म निरन्तर रहने साझा अभियानका रूपमा अघि बढाउन सम्पूर्ण समुदायको सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक आह्वान गर्दछौँ।

