अगुवाहरूको क्रान्ति

लेखक
लेखक

दामोदर घिमिरे
अमेरिका 

भोलिपल्ट म सबेरै कसैलाई ख़बर नगरी यामकोमा पुगेँ। बिहानै पुगेर होला जहिले उठाउनु पर्ने साथी आज के भयो भनेर आत्तियो । सबै छक्क परेको मलाई महसुस भएको थियो । अनि यामको ममी चिया चुल्होमा बसाएर दाउरा भाँच्दै हुनुहुन्थ्यो। म भने सिधै यामको कोठामा गएँ।  ऊ उठ्न लागेको रहेछ। मलाई देख्नसाथ ऊ जुरुक्क उठेर मलाई हेर्दै हाँस्यो र भन्यो,

“अनि आज घाम कताबाट झुल्के त्यो पनि शनिवार?” म पनि हाँसे।

“के भयो तँलाई? बिहानै आएछस्  त ?”

मैले, “केही नै हैन तेत्तिकै आएको हो हौ। आइजन गोल खेल्न भरे ल?” भन्दै म बाहिर के जान लागेको थिऐँ यामकी ममीले चिया खाएर जा भन्नुभयो। म चिया खान थालेँ। याम बाथरूम गएर आयो अनि हामी हाँसी-मज़ाक़ गर्दै चिया खायौँ ।

चिया खाइसके पछि “ममी ! म पढ्न गएको है” भन्दै मसँगै बाहिर निस्क्यो याम।

उसलाई थाहा छ तैपनि मलाई के हो भन्न भन भन्दै थियो अनि म भने केही हैन भन्दै थिएँ। कता कता मलाई डर लागेको भान हुन्थ्यो तर मैले आँट गरेर भनेँ,

” हेर ! हामी भोलि हाम्रा साथीहरूसँग मेची जाँदै छौँ। ”

“के?” उसले छक्क पर्दै मलाई सोध्यो।

“तँलाई तेरी आमाले मार्छिन्, तर मैले तँ पनि जान्छस् भनेँ भने मेरी आमाले केही गर्दिनन्।” मैले सम्झाउने कोसिसमा उसलाई साउती मार्दै भनेको थिएँ। उसले हेरौँ भनेको थियो। मलाई अझ मेची जानु थियो जुन अगुवाहरुको भनाइमा एक सच्चा योद्धा भएर। उसले जसो तसो मेरी आमालाई मनायो अनि मैले उसको आमालाई मनाएँ। हामी दुवै टाढाबाट हेरेर फर्किन्छौँ भन्दै डाँडामा मेचीको पुलसम्म पुग्ने बसमा चढ्यौ। त्यो पल मेरा लागि अब कहिल्यै आउँदैन; पहिलो लामो दुरीको यात्रा खल्तीमा पाँच रुपैयाँ अनि मेरो प्यारो साथीसँग। मैले अरू साथीहरूलाई मेचीमै भेट्ने भनेको थिएँ। जब बस स्टेण्डमा उत्रियौँ अनि हामी पुलतिर गयौँ।  उसले टाढाबाट हेर्नुपर्छ भन्दैथियो। नजिक गइस् भने तेरी आमालाई भन्दिन्छु भन्दै मलाई धम्की दिए जसरी मलाई फकाउदै थियो। किनकि उसलाई थाहा छ म बिना घर गयो भने के केसम्म हुन्छ भनेर। यतिकैमा मलाई जोस-जाँगर अनि हौसला दिने अगुवा भनौदालाई माथिको डाँडामा बरफ चुस्दै गरेको देख्छु अनि पुलको बिचको लडाई हेर्दा मलाई अचम्म लाग्छ। सिधा-सोझा जनाताहरुलाई लडाएर आफू चिसो बरफ चुस्दै डाँडाबाट रमिता हेरेर देशको स्वतन्त्रता माग्ने कप्टी र मतलबी नेताहरूको चाला बल्ल मेरो सोझो मस्तिष्कले निर्क्योल गर्‍यो । मैले मेरो साथीलाई हाम्रो लड़ाई राम्ररी बुझियो त्यसैले होसियार हुनुपर्छ भनेँ ।

उसले, ” हुन्छ” भन्दै “मेरो देशको लडाई हो जो सुकैले रमिता किन नहेरुन तर म यो लड़ाईमा एक हिस्सा लिन चाहन्छु” भन्दै अनुहारमा एक किसिमको अनौठो जोस र ताकत चम्काएर मबाट ऊ फुत्त निस्कियो ।

“ओए सुन्न यार…….,याम….., ओए…., ओए……,” भीडको खैला-बैलामा ठुलो स्वरले उसलाई कराउँदै उसको पछि पछि दौड्दै म पुलको बिचको भागमा पुग्छु जहाँ धेरै खैला बैला मच्चिरहेको थियो । त्यहाँ जुलुस अनि हाम्रा अगुवाहरूले लेखेको नारा “भारत हाम्लाई बाटो दे….” यस्तै-यस्तै नारा चलिराको थियो । जो अग्रज भनौदाको बरफ रमिताबाट झल्किन्थ्यो। अश्रु ग्यासमा म बेहोश भएछु…जब थाहा पाउँदा मेरो साथी छैन। “याम्….. याम्…..”। म त्यो भिडमा उसलाई खोज्छु। टाउकै टाउका र हातै हातको भिडमा आँखा तन्काइ तन्काइ हेरेँ, खोजेँ, चिच्च्याएँ कतै देखिएन । एकमनले सोचेँ कि यो अघि नै मलाई छोडेर निस्किएछ । तर वास्तवमा ऊ त अघिनै सबैभन्दा अगाडि जुलुसमा भारतीय फौजी नजिक पुगेको थियो। “याम.. ! घर जौँ!, बेस्सरी कराएँ । अहँ ! उसलाई यो लडाई जो आफ्नो लागेको थियो।

“याम……, याम……”, त्यत्रो भिडमा कसरी सुन्थ्यो? मेरो चिच्च्याहट सगैं एउटा ठुलो धमाकाले सबैको कान रन्कियो र त्योसँगै एउटा चर्को चीत्कार निस्कियो । जो भारतको सीमा रक्षक सैनिकको बन्दुकबाट निस्किएको गोली थियो। त्यसैले मेरो प्रिय साथी यामको पखेरु हर्‍यो, एउटा अपुर्ण शहीद बनाएर। देब्रे छातीमा गोली लागेर हाम्रा लागि सदैव शहीद भयो। उसकी ममीसम्म कसरी यो समाचार पुर्‍याउनु मैले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *