अतीतसँग नमिठो विछोड

डमर घिमिरे / अस्ट्रेलिया

फिक्का- अन्धकार मनभित्र
छाँद हालेपछि,
जीवनतताको गोरेंटो गन्तब्य
ऊ….पर बिचैमा हराएर
छताछुल्ल पोखिनुको आहत
यदा-कदा कर्णपटमा गुञ्जिरहेको
आज पाइलाहरु खोजिरहेछन्।
हर पल
यथार्थ म सँग सोध्छ-
वास्तविक्ता मसँग अनगिन्ती प्रस्तावहरु तेर्स्याएर
मलाई धर्मसंकटमा पार्छ,
म बसिभूत हुन्छु
म हारेको हुन्छु
म विवशतासँग नजिकिएको हुन्छु
अनि म प्रश्नको घात-प्रतिघातको
छालसँगै बगिरहेको हुन्छु ।
जब म बिगत सम्झन्छु
जब म अतीतका मुर्छनाहरु अँगाल्छु
जब म आफनै अर्थ खोज्छु,
मौनताले मलाई खोतल्न चाहन्छ,
इच्छाहरु मलाई बदल्न चाहन्छन्,
म समयको बगाइसँगै
तिम्रो आकृति ठम्याउन खोज्छु तर,
निश्चित आकार भेट्दिन ,
म अन्योलमा रुमलिएको छु,
मलाई माफ गर प्रिय अतीत,
मलाई माफ गर म रणभुल्लमा छु
म अन्योलमा छु ,
मलाई अब दिक्क लाग्यो ,
तिमी मलाई पच्छयाउन छाडिदेऊ ,
मलाई अब फेरि तितो कहानी र
तिम्रो परिवर्तित आकृतीले
मलाई तर्साउन थालेको छ,
मलाई डरले गाँजेको छ,
फेरी उही अत्यासलाग्दो
अस्मिताको लडाईं दोहोरिने पो हो कि ?
म बिन्ती गर्छु ,
तिमी अब कहिल्यै नफर्क
तिमी आफनो बाटो लिएर जाऊ,
मलाई मेरो आफ्नै संसारमा छाडिदेऊ।
मलाई अत्याधुनिक परिवेश चाहिन्न,
चाहिन्न मलाई अत्याधुनिक सभ्यता,
आधुनिक्ताको नाममा म
नग्न हुन चाहन्न,
मलाई मेरो अस्मिता फर्काइदेऊ,
मेरो अस्तित्व बन्धकी राख्न चाहन्न
म भ्रमित छु या तिमी अतीत ?
म तिमीदेखि आशक्त छैन
त्यसैले तिमी,
मलाई भविष्यको नाममा नडस
आदर्शको नाममा नटोक
म आफ्नै गतिले बाँच्न चाहन्छु
म आफ्नै रीतमा रमाउन चाहन्छु
म आफ्नै परिवेशमा फुल्न चाहन्छु,
अतीत,
म तिमीसँग विदा माग्छु ।

2 Replies to “अतीतसँग नमिठो विछोड”

  1. Yug Dabadi

    अतितलाई भुलेको राम्रो,
    बर्तमनलाई अगालेको राम्रो
    भविश्यलाई कल्पेको राम्रो
    सबै इस्वरलाई छोडे राम्रो ||

    कविता राम्रो लाग्यो | लेख्दै गर्नु होला | धन्यवाद |

Leave a Reply

Your email address will not be published. Required fields are marked *