अर्को क्लाइमेक्स
तारा पराजुली
मोरङ-नेपाल
उस बेला
मैले कलमले क्रान्ति गरौँ भनेँ
तिमीले मानेनौ ।
तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै
बन्दुकलाई कलम भन्यौ,
फूललाई आगो भन्यौ ।
फूलमा आगो सल्किएपछि
उठेर गयो सौरभको बस्ती
निभेर गयो उज्यालोको संसार ।
कुनै आदिम भक्तले मन्दिरमा उडाएको पक्षीजस्तो
एकमुट्ठी बारुदको धुलो आकाशतिर उडाएर
सुरु गऱ्यौ उद्घाटन सत्र
चिसा दाउहरूको बुई चढेर
उठ्यो एउटा आतङ्क
हाम्रो घरको धुरीबाट निस्क्यो कालो धुवाँ
सल्बलायो गाउँ, गोठ, पँधेरो सबै सबैतिर ।
किताब बोक्ने झोलामा बम र गोला बोकाएर नानीहरूलाई
बन्दुकसँगै खेल्न सिकायौ
मैले यी बाँझा खेतहरूमा
पसिनाले भिजाएर पसिना नै लेख्न सिकाऔँ भनेँ
जहाँबाट एक राज्य अँध्याराको झ्याङ खस्ने सम्झेर
नफुल्दै गरेको फूललाई लालिमा दिऔँ भनेँ
तिमीले त्यो पनि मानेनौ ।
विचारको घाम क्षितिजमा नउदाउँदै
विश्वासको ब्याडमा बेर्नाहरू नपलउँदै
अर्थात्, समय पाउलिन नपाउँदै
तिमी बर्सियौ कमजोर छानाहरूमा आँधी भएर
फूलबारी काँडाघारी केही भनेनौ
आगो रोप्ने अँगेनामा विघ्नता रोप्दै गयौ
मैले फूलबारीमा त फूलै सुहाउँछ भनेँ
अहँ, तिमी मान्दै मानेनौँ ।
मैले श्रमिकका चक्रैचक्र टाँसिएका
सङ्क्रमित भवनहरू देखाउँदै भनें
मेटिँदै गएका हत्केलाका डोब
अपहृत काखको घाम
अनुहारको बत्ती निभेका बेसाहारा आमा
त्रासले खेदिएका नागरिकहरू
ढोकामा भोटेताल्चा झुन्डिएका रित्ता घरहरू
गमलाझैँ सुकेको मिनी लालुपाते
सबै सबै देखाउँदै भनेँ
विध्वंस र विनाश त भयानक हुन्छ
काँधमा बन्दुक भिरेर ढुकढुकी नाप्दै भनें
हातमा तरबार राखेर औँलाले धारहरू छाम्दै भनेँ
सालिकहरूसँग युद्ध नगरौँ
तिमीले त्यो पनि मानेनौँ ।
सयपत्रीका कलिला थुँगाजस्तै
पैताला नचाउँदै हिँड्ने केटाकेटीका हुल देखाउँदै भनेँ
निर्दाेष लालगट्टीहरू जङ्घार तर्छन्
साँघु र फूलसँग युद्ध नगरौं
फितलो कागजमाथिको इतिहास कतिन्जेल रहला ?
लामो समय उँघिरह्यो
तोरीबारीमा घुमेनन् मौरीहरू
मन्दिरमा कुनै घण्ट बजेन
खेतालाहरू भरदिन काम गर्न पाएनन्
एक दशकसम्म आतङ्क बोक्ने हुरीबाहेक कोही फर्केन गाउँमा
सुराकी बोक्ने जूनबाहेक
कुनै उज्यालो छिरेन सहरमा
भिजामा डेट थप्दै
ओभरटाइमले चित्त बुझाइरहे परदेशीहरू
छिमेकीकहाँ आगो लिन जाँदा
पक्राउ पऱ्यो मेरो नाबालक छोरो
अनाम हतियारधारीको निगरानीमा पऱ्यो परिवार ।
त्यति मात्र कहाँ हो र ?
तत्कालीन अधकल्चाहरूले जलाइदिए
कलेज पढ्दै गरेकी मेरी छोरीको पुस्तक
आगामा झन्झन् जोडले कराए
‘मुनामदन’, ‘शाकुन्तल’, ‘घुम्नेमेचमाथि अन्धो मान्छे’ र ‘देउमाइको किनार’
सबै सबै जले भत्किए
आफू मात्र जल्न र भत्किन बाँकी रहेपछि
अनाम मन्दिरमा विश्रान्तिको घण्ट बज्यो
फेरियो क्लाइमेक्स नजानिँदो गरी
अनि फेरियौ तिमी पनि ।
अहिले सुन्छु
हाम्रै मूलचोकमा
सहोदर भाइको सालिकअगाडि तिमीले पुस्तक पसल थापेका छौ रे
खुब चलेको छ रे !