आकृति

कवि

नील अधिकारी
ओहायो, अमेरिका

म कुनै इतिहासकार होइन र राजनीतिज्ञ पनि होइन,
हुँ त केवल अर्काको लहै लहैमा साथ दिने काठको टुक्रामा
कपडा बेरेर राखेको तर्साउने मानव आकृति।
मलाई थाहा छ यो आकृतिले आफैँ केही गर्दैन,
अर्कैले पर सारिदिनु पर्छ,
लड्यो भने उठाई दिनु पर्छ,
जाडो गर्मीको पनि आभास हुँदैन,
डर त्रासको भय पनि हुँदैन, चोरिने लुटिने डर पनि हुँदैन
दिन, रात, महिना , वर्ष सबै एकै नाश हुन्छ उसका लागि
न कुनै भविष्यको चिन्ता छ न त कुनै भूतको पश्चात्ताप
न हक चाहिएको छ न अधिकार
न स्वतन्त्रताको आभास छ न त सत्ताको लोलुप्ता
ढॉट्ता पनि ढॉट्तैन सॉचो पनि भन्दै,
हो म त्यही आकृति हुँ,
जसले मन लाग्यो उसैले मेरो आकार बदलिदिन्छ,
मेरो परिचय बदलिदिन्छ, उसलाई मन पर्ने कपडा लगाई दिन्छ
एउटाले मास्तिर सार्छ र अर्काले तलतिर झार्छ,
एउटाले बोल भन्छ अर्को आएर जिब्रो काटिदिन्छ
त्यही तर्साउने आकृतिको आडमा, भरोसामा हॉसछ
रमाउँछ अनि मोज मस्ती गर्छ,पिर पिराउ गर्छ, राइफॉडो गर्छ
जताततै चीत्कार, बलात्कार , हत्या, हिंसा आतङ्कको डढेलो लाग्छ
तर पनि त्यो आकृति बोल्दैन, हो म त्यही मानव आकृति हुँ।

यति सम्म कि अॉखा भएर पनि अन्धा जस्तो, कान भएर पनि बहिरो जस्तो
मुख भएर पनि लाटो जस्तो खुट्टा भएर पनि लङ्गडो जस्तो
सास भएर पनि निर्जीव जस्तो चेतना भएर पनि अर्ध मुर्छित जस्तो
नयॉ प्रविधि देखी कोसौँ टाढा रहेका त्यस्ता मानव आकृतिहरूलाई
आतङ्ककारीको बिल्ला भिरायो, तर पनि त्यो मानव आकृति बोलेन,
सुनकोशले “महासुर” भन्यो आकृति बोलेन,
“बहादुर छ्याब्दा”भन्यो आकृति बोलेन,
दागानाले “स्टेट काँग्रेस” भन्यो आकृति बोलेन,
छोकानाले “सिता मोथे” भन्यो र पनि बोलेन,
हो म त्यही मानव आकृति हुँ।

अब ता ती आकृतिहरूलाई मानव सभ्यता तिर ल्याउन सकिन्न होला
गधा धोएर गाई बनाउन अहिले सम्म कसैले सकेको छ र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *