‘आदिकवि’ नै हुन् त भानु बाजे ?
भक्त घिमिरे
पेन्सिल्भिन्या, अमेरिका
मैले यस विषयमा यही प्रकृतिका लेख लेखेको यसपटकमा तीनवटा भएछन् । तर, इतिहासको खोज-अनुसन्धानमा लागेका कोही व्यक्तिविशेषबाट ठोस प्रतिक्रियाहरु आएका छैनन् ! सबैले ‘आदिकवि जयन्ती’, ‘आदिकवि जयन्ती’ भनेर चिच्याइरहेका बेला मैले पनि पाठकहरुको अनुमति माग्दै एकपटक भानुबाजेलाई सम्झिएर फेरि तिनै कुरा कोट्याएँ !
प्रत्येक वर्ष जुलाई १३ का दिन नेपाललगायत नेपालबाहिरका सर्वत्र नेपालीबहुल क्षेत्रहरूमा भानुभक्तको जन्मजयन्ती धुमधामले मनाइन्छ । दार्जीलिङे नेपालीहरुले शुरु गरेको यस परम्परामा उनलाई आस्था र श्रद्धाका मालाहरू अर्पण गरिन्छ । उनी मरेर गएका लगभग डेढ सयवर्ष पुगे पनि नेपाली भाषा–साहित्यप्रेमीहरूको स्मृतिमा उनी ताजै छन् । यो कुरा विभिन्न कार्यक्रम तथा संसारभरिका नेपालीहरुका मनमस्तिष्कमा रहेको उनीप्रतिको आस्थाले प्रष्ट पारेकै छ । त्यसो भए भानुभक्तका कृति-कार्यले, उनको सामाजिक चिन्तन र भाषिक योग्यता तथा उनीप्रतिको आस्थाभावले हो कि उनी सबैभन्दा पहिलो कविता लेख्ने (आदिकवि) भएका कारणले उनको जन्मजयन्ती मनाइएको हो ? यो प्रश्नलाई सबैले गोडेर यथार्थ भेट्टाउने प्रयत्न नगरे नेपाली साहित्यको इतिहासप्रति अन्याय हुन जानेछ ।
भानुभक्त आचार्य नेपाली साहित्यका महान पथप्रदर्शक हुन्, त्यसमा कसैको दुइमत छैन । उनका ऐतिहासिक विरासत बोकेरै हामी आजसम्म नेपाली भाषा र साहित्यको खेती गरिरहेका छौं । केही गर्नका निम्ति कसैको उत्प्रेरणा चाहिन्छ; भानुभक्तको जीवनी इतिहास हाम्रो लागि त्यही उत्प्रेरणाको स्रोत बनिरहेको छ । तर, उनको जीवनचाहिं इतिहास हो कि कथा हो भन्ने कुरामा किटानी गर्न सकिएको छैन ।
इतिहासमा भानुभक्त आचार्यलाई सर्वप्रथम मोतिराम भट्टले लिएर आएका हुन् । नेपाली साहित्यको इतिहासलाई राम्ररी गोडेर हेरे विसं १९४८ मा मोतिराम भट्टले ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ भन्ने पुस्तक लेखेर छपाएपछिमात्र भानुभक्तका कृतिहरूबारे खोजी र विवेचना शुरु भएको हो । भानुभक्तले जे गरे, भाषाको उन्नतिका निम्ति भलो गरे । तर, उनले आदिकविको तक्मा पहिरिन्छु भनेर माग त पक्कै पनि गरेनन् ! उनी पछिकाहरूले नै उनलाई ‘राजा’ चुने र आफू ढोके–भँडारे बन्ने दाउपेचमा उनलाई जबरजस्ती आदिकवि बनाए । आफ्नो आदर्शको ऐतिहाकि पुरुष खोजेर राष्ट्रिय भाषा र साहित्यको निर्माताका रूपमा शिखर मर्यादित बनाउने उद्देश्यले गर्दा नै मोतिरामले फूल–बुट्टाले सजाइएका भानुभक्तको जीवनी लेखेका हुन सक्छन् । आफूले खोजेर पत्तो लगाएका कविलाई प्रतिभासम्पन्न र सर्वप्रिय थिए भन्ने प्रमाणित गर्नलाई उनी आफैंले ‘भानुभक्तले रचेका’ भनेर फुटकर कविताहरू समेटेका पनि भट्टमाथि आरोप छ । भट्ट आफैंले लेखेर भानुभक्तले रचेका भनी दाबी गरिएका रचनाको नमूना घाँसीसम्बन्धी श्लोकहरूलाई लिइएको छ ।
“भर् जन्म घाँसतिर मन् दिई धन् कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भै कन आज यस्तो ।”
उक्त श्लोकको चौथो हरफमा रहेको ‘मो’ शब्द भानुभक्तले प्रयोग गर्ने नभई मोतिरामले प्रयोग गर्ने शब्द भएको नेपाली साहित्यका इतिहासकारहरूले पुष्टि गरिसकेका छन् । हुन पनि हो, भानुभक्तले कतै पनि ‘म’ भन्ने ठाउँमा ‘मो’ लेखेका छैनन् तर, भट्टका प्रायः सबैजसो कृतिहरूमा ‘म’ सम्बोधनलाई ‘मो’ लेखिएको पाइन्छ । पाल्पाको मालखानामा खजाञ्ची रहेका आफ्ना बाबुको खजाना हिसाब गडबडीले गर्दा लागेको मुद्दामा कुमारीचोक जेल पसेका भानुभक्तले ‘कान्तिपुरी नगरी’–लगायत अनेकौं फुट्कर रचना गरेका मोतिरामले दाबी गरेका छन् । हुन पनि भानु बाजेले कुमारीचोकमै रामायणको बालकाण्ड लेखी सिध्याएका इतिहासमा दाबी छ । तर, यथार्थमा भानुभक्तले आफ्नै मौलिक कृतिको रूपमा ‘भक्तमाला’ एउटा कृतिमात्र सृजना गरेका थिए पनि भनिएको छ । ‘भक्तमाला’ उनले बिरामी अवस्थामा आफ्ना छोरा रघुनाथलाई लेख्न लगाएर सिध्याएका नेपाली साहित्यका इतिहासजनित कतिपय पुस्तकहरूले पुष्टि गरेका छन् । उनका नाति नरनाथले केही वर्ष पहिले लेखेका पुस्तकहरू पनि अहिले बजारमा छन् । तर, यी सबैको अध्ययनपछि पनि भानुभक्त नेपालीका ‘आदिकवि’ नै हुन् भन्ने ठोकुवा गर्नसक्ने केही आधारहरू पाइँदैन ।
कुरा यतिमात्र होइन, घाँस बेचेर आर्जेको पैसाले पाटी बनाउने, कुवा खन्ने घाँसीको परोपकारी कुरा सुनेर भानु बाजेलाई रामायण अनुवाद गरी ‘स्वर्ग’ सपार्ने प्रेरणा मिल्यो भन्ने भट्टको दाबी बिल्कुलै निराधार छ । पहाडका नेपाली समुदायहरूमा यसै पनि मरेर गएका मान्छेहरूको स्मृतिमा सामूहिक प्रयासबाट पाटी–चौतारा बनाउने चलन थियो । त्यो पनि भानुबाजेको युगमा पैसा खर्चेर पाटी बनाउने सन्दर्भ नै उठ्तैन । मोतिरामले काँशी (वनारस) को शहरमा धनी मानिसहरूले पैसा खर्चेर धर्मशाला र आश्रम बनाएको कुरालाई तनहुँजस्तो त्यसबेलाको जंगलामुलुकमा ल्याएर जोडेका छन् ।
वास्तवमा इतिहास र घटनाक्रमलाई राम्ररी अध्ययन गर्दा कुनै राजनीतिक नेतालाई झैं ‘सबैभन्दा वरिष्ठ आविष्कारक’ भनिदिएर सबैको ध्यान त्यतातिर एकत्रित गरिदिने अनि त्यही मौकामा आफू ढलिमली गर्ने मनोवृत्तिले भानुभक्तलाई नेपालीका कथित आदिकवि बनाइएको छनक पाइन्छ । भानुभन्दा अघिका कैयौं युद्ध र मानवीय उत्पीडनका कथाहरू नेपाली भाषामा सवाई तथा झ्याउरे लयमा कथेर जनतालाई सुनाउने सर्जकहरूचाहिं नेपालीका आदिकवि नभएर जनविरोधी राणाकालीन साहुहरूलाई खुशी पार्न कहाँको अयोध्याका रामको, एउटा दरबारिया राजखलकको कथा लेख्ने भानुभक्तचाहिं आदिकवि कसरी भए ? भन्ने प्रशस्त विवादहरु छँदै छन् । राष्ट्रियताको दृष्टि र नेपाली जातीय प्रेमको हिसाबले पनि भानु बाजेभन्दा पहिले साहित्य सिर्जनेहरू थुप्रै छन्, उनी नै ‘आदिकवि’ हुनुपर्ने ठोस आधार के छ त ? भन्ने प्रश्नहरू सर्वत्र छन् । यस्ता प्रश्नमा थुप्रै सत्यता पनि छन् । तर, यसैलाई ठोस र पर्याप्त सत्य ठानेर थप्पडी मार्न भने आवश्यक छैन । किनकि कथा र कथानक जहाँको अनि जुनसुकै विषयको भए पनि त्यसको भाषा–शैली र प्रस्तुतिको ओजनमा भानुले नेपाली भाषाका जनप्रिय, सर्वमान्य, उत्कृष्ट, संस्कृतका उपमा, अनुप्रास तथा आलंकारिक लयका प्रदर्शक कवि वा सबैभन्दा श्रेष्ठ शिल्पी कविको दर्जा पाउनुपर्ने कुरा निर्विवाद छ । यद्यपि, आदिकवि भन्ने तक्मा उनलाई भिराउनचाहिं पक्कै पनि हतार गरिएको भनेर विश्वास गर्न सकिन्छ ।
नेपालमा राणाकालीन तानाशाही शासकहरूले जनतालाई न्याय र अधिकारको पक्षमा बोल्न नदिएर त्राही–त्राही पारेका बेला वनारसमा पढेर–बढेर आएका मोतीराम भट्टले उनीभन्दा लगभग ५० वर्षअघि नै बितेका भानुभक्त बाजेलाई एकाएक आदिकवि बनाएर त्यसैको आडमा आफू अघि बढ्ने चतुऱ्याइँ अप्नाएका थिए । निरंकुश शासकहरुका विरुद्धमा अभियान उठाउन साहित्य नै बलियो साधन हुने कुरा कसैले नकार्न सक्तैन । त्यसर्थमा नेपाली साहित्यको जग बलियो पारी उठाउन नेपाली भाषाको जग पहिले खडा गर्नुपर्ने भएकोले भट्टले भानुभक्ताचार्यलाई साधन बनाएका हुनसक्छन् ।
भट्टले साहित्यकारहरूको वृत्तमा भानुभक्तबारे आफ्नो विचार सार्वजनिक गर्दै उनतो कवित्वबारे प्रचार गरे अनि त्यसबेलाका रागी युवा साहित्यकार भट्टकै जोड-बलमा तत्कालीन राणाशासक युद्ध शमशेर जबराले ‘भानुभक्तलाई आदिकवि भने पनि हुन्छ’ भनेर सिफारिश गरिदिए । त्यही हैकमयुक्त घोषणाले भानु बाजेलाई ‘आदिकवि’ बनाइदिएको इतिहासले बताएको छ । तर उनलाई आदिकवि भनेपछि उनीभन्दा अघिका कवि-साहित्यकार अनि नेपाली साहित्यको जग नै बिलाउन पुग्यो । कविता साहित्यको इतिहास केलाउनेहरूलाई भानुभक्तसम्म पुगेपछि अरू अघि बढ्ने जमर्को नै गर्नुपरेन, किनकि उनीहरू ‘आदिकवि’सम्म पुगेकाले ढुक्क भइहाले । यसैकारण नेपाली भाषा-साहित्यले विश्वसाहित्यको तुलनामा आजसम्म निकै पछौटे दर्जा लिइराखेको छ । नेपाली साहित्यमा लोकलय, आख्यान, सवाइ र वीर रसका कविताको सिर्जनाभन्दा धेरै पछिका श्रृङ्गारिक र भक्तिरसयुक्त कविताका सर्जक भानुभक्त साँच्चै कसरी आदिकवि बने, इतिहासप्रति गम्भीर भई न्याय दिने व्यक्तिले गर्नसक्ने सामान्य गल्ती होइन यो । यो अति भावुक लहडमा गरिएको निर्णय हो अनि भाषा-साहित्य र स्रष्टाहरूप्रति, इतिहासप्रति नै अन्याय हो, अपराध हो ।
रम्घाको पाखा–भित्ताबाट परिवारहरू चुँदी बेंसीमा बसाई झरेपछि भानुभक्तले बेंसीमै आफ्ना जीबा श्रीकृष्ण आचार्यको निगरानीमा शिक्षार्जन थालेका इतिहासमा उल्लेख छ । आजसम्म पनि एउटा चौडा पक्की सडक नपुगेको तनहुँको त्यो निर्जन चुँदी-रम्घामा आजभन्दा लगभग २०० वर्ष पहिले नै घाँस काटेर बेच्रे घाँसीको कुरा गर्नु मोतिराम भट्टमा आएको वनारसतिर शहरमा घाँस बेच्ने घाँसीको सम्झनाबाट उब्जिएको अनुमान गर्न सकिन्छ । वनारसमा घाँस बेच्रे घाँसीलाई पहाडका भानुभक्त बाजेसित जोडेर सजीव चलचित्रझैं कथानक निर्माण गर्ने मोतिराम भट्टको तनहुँजस्तो पहाडी क्षेत्रमा कुवा खनाउने कुरा पनि उतिकै हास्यास्पद छ । वनारसमा पढ्न गएका भट्टले त्यतातिर इनार खनेको देखेर कुवा खन्ने कुरालाई भानुभक्तसित जबर्जस्ती जोडिदिएका छन् । तपाई नै अनुमान गर्नुस ! ठूलठूला शहरबाहेक पहाडी इलाकामा बसेर पशुपालनमा निर्भर रहने कहाँका नेपालीले आजसम्म घाँस बेच्रे पेशा अप्नाएका छन् ? मधेशका इनारबाहेक नेपाली बस्ने कुन पहाडमा कुवा खनिएको छ ? हुनसक्छ, पहिले नै पानीको मूल भएको कुनै निश्चित स्थानलाई कुवाको रूपमा बाराबेरा गरिएको थियो ! तर, खनेरै कुवा बनाउने कुरा वनारसमा बाहेक त्यसबेला अरुतिर थिएन । पहाडका कुना-कन्दरामा पानीको जरुवा मूल हुन्छ, त्यसलाई श्रोतको रूपमा बारबेर गरी धारा बनाइन्छ । कुवा नै भए पनि मोतिराम भट्टको दाबीझैं पैसा खर्चेर कुवा खन्ने कुरा पहाडमा सान्दर्भिक छँदैछैन । किनकि पहाडी क्षेत्रमा कुवा खनेर पानी आउँदैन, मूलपानी बारबेर गरी कुवा बनाइन्छ ।
डुम्रे बजारबाट चुँदीको बाटो छोडी सिद्धै पोखरातर्फ जाँदा डुम्रे–दमौलीबीच सडक किनारमा ‘घाँसी कुवा’ भन्ने एउटा धारा भेटिन्छ, तर पहिलो कुरा त्यो कुवा नभएर धारा हो अनि दोस्रो कुरा, त्यो मोतिराम उल्लिखित घाँसीले पैसा खर्चेर बनाएको नभई त्यहींका पूर्वज स्थानीय वासिन्दाले सामुदायिक प्रयासबाट बनाएका पत्तो लागेको इतिहासकारहरुले बताएका छन् ।
काठमाडौं जाने मूलबाटोको मुग्लिन बजारबाट पश्चिमतर्फ गोर्खा जिल्लाको प्रवेशद्वार आँबु खैरेनी हुँदै नेपाली लोकगीतहरूमा प्रशस्तै सुन्न पाइने बन्दिपुर छेउ, डुम्रे बजारबाट लगभग डेढ घण्टाको पैदल यात्रापछि पुगिन्छ भानुभक्तको जन्मस्थान, चुँदीको रम्घामा । डुम्रे बजारबाट उत्तरतिरको भञ्सार गाँउ हुँदै तनहुँ जिल्लाको सानो र पछौटे इलाका टुहुरे पसल नजिकबाट बग्ने चन्द्रावती खोलामा अडेसिएको छ चुँदी बेंसी । आजको नाम ‘शेपा बगैंचा’, फुसको छानाका स–साना झुप्रे घरहरू भएको बजारमा भानुभक्त र लक्ष्मीप्रसाद देवकोटाका दुई खलपत्रे, रगं-रोगन उडिसकेका मूर्तिहरु खडा छन् । शेपा बगैंचा चुँदी बेंसीकै एउटा गोधुली बजारको नाम हो । चुँदी बेंसीबाट पनि आधा घण्टाको उकालो हिँडेर पुगिने रम्घाको डाँडामा अवस्थित भानुभक्त बाजेको गृह अझै पनि भग्नावशेषको रूपमा छँदैछ । यस पंक्तिकारले पनि आजभन्दा २०-२२ वर्षअघि भानुबाजेको जन्मगृहको प्रत्यक्ष दर्शन गर्न भ्याएको छ ।
वर्तमान नेपालका प्रख्यात कांग्रेसी राजनीतिज्ञ रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा रहेको भानुभक्तको जन्मस्थान चुँदी-रम्घा आजसम्म एउटा गतिलो चौडा कालोपत्रे सडक पुगेको छैन । अनि त्यही ठाउँमा आजभन्दा २०० वर्षको हाराहारी पहिले नै कुनै शहरमा झैं घाँस बेचेर त्यो पैसाले कुवा खनाउने मोतिराम भट्टको घाँसी कहाँबाट आयो ? यो मोतिराम भट्टको परिकल्पनाकै घाँसी हुनुपर्छ । तर खुशी हुनुपर्ने कुराचाहिं के हो भने मोतिरामको कथनले मृत्युपछि नै भए पनि भानु बाजेले सम्मान र प्रतिष्ठा पाए-उनी पक्कै पनि जातीयप्रेम बोकेका राष्ट्रिय कवि थिए । यद्यपि, उनलाई अनावश्यकरूपमा भिराइएको ‘आदिकवि’ उपाधिले नेपाली साहित्यको इतिहासलाई लंगडो बनाएको छ । यसबारे सबै भाषाप्रेमी र सचेतवर्गले चिन्तन गर्नुपर्छ । भानुभक्त नेपालीका साँच्चै राम्रा कवि हुन्, आदिकवि होइनन्, ठूला कवि हुन्, जातीय तथा राष्ट्रिय कवि हुन्, आदिकवि होइनन्, सम्माननीय र जनप्रिय कवि हुन् तर, आदिकवि होइनन् ।
कवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, ‘युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसंग’ का लेखक डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औल्याउने मङ्गलदेव परियार आदिका आ-आफ्नै धारणाहरु छन् । कसैले जातीय कवि भनेका छन् कतिले भाषिक रसका कवि भनेका छन् । तर, आदिकवि भन्ने उपमाचाहिं मोतिराम र जुद्ध शमेशेरको हुकूमभन्दा पहिले कतै पाइँदैन । यी सबै कुरामा ध्यान लगाउने हो भने, ‘आदि’ र ‘अन्त्य’ अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका केहीमध्येका एक अभिभावक भानुभक्तलाई ‘आदिकवि’-को तक्मा भिराएर नेपाली साहित्यको खोज तथा अनुसन्धानको ढोका बन्द गर्ने थिएनन्, तर भयो यस्तै ।
उनलाई आदिकवि वा नेपाली साहित्यका प्रारम्भिक विन्दुको रूपमा अघि सारेर हाम्रो साहित्यको ऐतिहासिक खोज तथा अनुसन्धानमा बिर्को लाउने प्रयास गरिएको छ । विसं १९२३ मा जन्मिएर विसं १९५३ को छोटो जीवनमै समाप्ति पाएका मोतिरामले ३० वर्ष बीचको जीवनकालमा नेपाली साहित्यको सेवा र जगेर्नार्थ धेरै काम गरे । नेपाली साहित्यको इतिहासलाई गोडेर हेरे विसं १९४८ मा मोतिराम भट्टले ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ छपाएपछिमात्र भानुभक्त र उनका कृतिहरूबारे खोजी र विवेचना शुरु भएको हो । त्यतिमात्र होइन, सम्पूर्ण नेपाली साहित्यको इतिहासबारे खोज शुरु भएको नै त्यसपछि हो । तर ३० वर्ष भित्रैको युवा जोश तथा उमंगमा भानुभक्तलाई उनले दिएको भावुक तथा अपुष्ट ‘आदिकवि’ उपाधिकै आधारमा आजसम्म नेपाली साहित्यको इतिहासलाई डोऱ्याउने काम भएको छ । भट्टले उनको जीवनमा तत्कालीन परिस्थिति अनुसार काम गरे । तर, उनीपछिका साहित्यकार र साहित्यलाई साँच्चै साहित्यिक दृष्टिकोणबाट मूल्यांकन गर्ने हो भने बौद्धिक नपुंषक साबित गरिदिएको छ ।
युवा साहित्यकार भट्ट अत्यन्तै भावुक थिए भन्ने कुरा फारसी र उर्दु भाषाका उनीद्वारा सिर्जित वा अनुदित प्रेम–प्रणयका गजलहरूले पनि पुष्टि गरेका छन् । भानुभक्तलाई आदिकविका रूपमा उभ्याउन उनले गजलहरू लेखेकै छन् । त्यही लहडमा उनले आस्था पुरुष भानुभक्तलाई आदिकवि बनाएर त्यसअघिका प्रखर तथा मौलिक कविताका सर्जक जनकविहरूलाई बिर्साउने प्रयास गरेका छन् । उनले लहडी भावुकतामा त्यसो गरे भन्दैमा सबैले उनकै गल्ती पछ्याएर इतिहास नै धमिल्याउनु अनि भानुभक्तपूर्वका नेपाली साहित्य सर्जकहरूप्रति अन्याय गरिरहनु भन्नेचाहिं कुन साहित्यमा लेखिएको छ ? मोतिराम भट्टले भानुभक्तलाई आदिकवि भन्ने रुढी विशेषण भिराएकाले त्यही भ्रम अझै हाम्रा कतिपय क्षेत्रका समुदायमा परिरहेकै छ । मोतिरामरचित भानुभक्तको जीवनीमा एउटा वाक्य यस्तो पनि छ–“नेपाली भाषामा हुन त धेरै नामी कविहरू भानुभक्तभन्दा पहिले भए तर, कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।”
विसं २०४९ मा काठमाडौबाट प्रकाशित ‘नेपाली साहित्यको इतिहास’ नामक पुस्तकमा लेखक तारानाथ शर्मा लेख्छन् “भट्टको यही भनाइको सिको गरी दार्जीलिङ–सिक्किमतिरकाहरूले भानुभक्तलाई आदिकवि भनी सम्मान गर्नथाले । त्यतैबाट यस विशेषणले प्रशासनिक मान्यता पाओस् भनी तत्कालीन नेपालका राणाशासकहरूलाई पत्र पठाए । दार्जीलिङेहरूको आग्रहलाई जवाफ दिनैपर्ने भएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध (युद्ध) शमशेरले विसं १९९७ तिर दार्जीलिङबाट प्रकाशित भानुभक्त स्मारक ग्रन्थका लागि यस्तो सन्देश पठाइदिएका थिए–“सगुणस्वरुप भगवान श्री रामचन्द्रको पवित्र चरित्र व्याख्यान भएको आध्यात्म रामायणलाई सरल नेपाली भाषामा श्लोकबद्ध गरी उतारी रामरस फैलाउने कवि भानुभक्त आचार्यलाई नेपाली भाषाका आदिकवि भने पनि हुन्छ, त्यस्ता चिरस्मरणीय व्यक्तिको स्मारक ग्रन्थ नेपाली साहित्य सम्मेलनले प्रकाशन गर्न लागेको बहुतै बढिया हो ।” हो न हो, राणाशासक युद्ध शमशेरको यही भनाइ भानुभक्तको नामअघि ‘आदिकवि’ शब्द जोड्ने लालमोहरछाप साबित भयो । संस्कृत रामायणलाई छन्दोबद्ध ढाँचामा नेपाली अनुवाद गरी आध्यात्म रामरस फैलाउने भानुभक्तलाई आदिकवि भन्नैपर्ने भए त्योभन्दा पहिले महाभारत तथा भागवत गीताबाट कृष्ण चरित्रको नेपाली अनुवाद गरी अध्यात्म कृष्णरस फैलाउने वसन्त पाध्याय लुइँटेललाई के भन्ने ? ल, भानुभक्तको भाषागत शुद्धताकै कारण पछि लेखिएको उनको पद्य रामायणलाई आदि कविता भन्ने हो भने उनको भाषामा रहेका ‘जल्दी, गऱ्या, खाया, भन्या, गया’–जस्ता शब्दहरूलाई के भन्ने ? संस्कृतको रामायणलाई उल्था गर्दैमा भानुभक्तलाई आदिकवि तक्मा दिँदा त्यसअघि नै मौलिक लोक कविता, सवाइ, वीररसयुक्त देशभक्तिका स्वछन्द नेपाली कविता लेख्नेहरूलाई बिना कञ्जुस्याइँ न्याय दिँदा के उपाधि दिइनुपर्ने ?
भानुभक्तको रामायणभन्दा पहिले पृथ्वीनारायण शाहको दिव्योपदेश, त्योभन्दा पनि पहिले विसं १७८० मै छापिएको प्रेमनिधि पन्तको ‘प्रायश्चित प्रदीप’–जस्ता नेपाली साहित्यका गहनतम कृतिहरूलाई साहित्यका हारमै नराखेर ‘पद्य’ अनि ‘राम्रो पद्य’ लेखेकैमा भानुभक्तलाई साहित्यिक इतिहासको प्रारम्भिक विन्दु घोषणा गर्नु भाषा–साहित्यको दृष्टिमा उपयुक्त छैन । भन्नैपर्ने कुरोचाहिं के रह्यो भने, भानुभक्तप्रतिको आस्था जगाउन र बढाउनलाई उनको उपाधिको कुनै खाँचो छैन, उनको काम र योग्यता नै काफी छ ।
पद्य (आभूषण, अलंकार, अनुप्रास इत्यादिमा बाँधिएको छन्दोबद्ध) शैलीलाई मात्र कविता वा साहित्य ठान्ने उर्दू गजल र सायरीहरूबाट प्रभावित मोतिराम भट्टकै भनाइअनुसार; “भानुभक्तले राम्रो भाषा पद्य लेखेकाले उनलाई आदिकवि भन्नैपर्थ्यो ।” ल त, पद्यकै कुरा गर्ने हो भने पनि भानुअघि सुवानन्द दास, शक्तिबल्लभ अर्याल, उदयानन्द अर्याल, राधाबल्लभ अर्याल, सुन्दरानन्द बाँडा, रामभद्र पाध्याय, गुमानी पन्त, इन्दिरस, वीरशाली पन्त, विद्यारण्य केशरीसम्म हामी पुग्नसक्छौं । इतिहासले बताएअनुसार पाटनका सुन्दरानन्द बाँडाले अनुमानित विसं १८५०–१९३५ भित्र रचेका ‘बहादुर शाह वर्णणम्’ का निम्न श्लोकलहरलाई भानुभक्तीय रामायणभन्दा नराम्रो भन्ने ठाउँ छैन । तत्कालीन नायक बहादुर शाहलाई सर्काइ–फुर्काइ गर्ने विन्ति पत्रको रूपमा लेखिएको बाँडाको श्लोक यस्तो छ:
‘साहेब् अर्जि सरण् परोस्
मनमहाँ दुःखी गरिप् दीन हुँ
प्राहारुप दरिद्रसैं मकन ता
उद्धार्गरी बक्सन्या
जस्तै श्रीहरिले गजेन्द्रवरलाई
ग्राहा छुटाइदिया
दुःखी सो गज ता चतुर्भुज भई
वैकुण्ठवासी भया…’
भानुभक्तको जन्मभन्दा २०-२२ वर्षअघि नै रचिएका यस्ता कैयौं अनुदित तथा-मौलिक कृति र कृतिकारहरू हुँदाहुँदै भानुभक्तलाई नै आदिकवि भन्नुपर्ने रडाको र घिडघिडो मोतिरामको नरहेको भए नेपाली साहित्यको खोज–अनुसन्धान विस्तृत हुने’थ्यो । भाषा–साहित्यको इतिहास मान्छे समाजसित जोडिएको हुन्छ । त्यसैले भाषा–साहित्यको आदिपुरुष खोज्न सिंगै समाजको इतिहास केलाउन जरुरी छ । नत्र त, इशाईले आदम, हिन्दूले मनु र इस्लामले मुहम्मदलाई अघि तेर्स्याएर आ–आफ्ना आदिपुरुष दाबी गर्दै रडाको गरेझैं भाषा–साहित्य पनि अन्धो र अविश्वासी हुन पुग्छ । ल, पुराना कविहरूभन्दा भानुभक्तले सातकाण्ड रामायणमा राम्रा कविता लेखे, ठीक छ । तर, राम्रा कविता लेख्दैमा आदिकवि हुनेभए उनीपछिका राम्रो पद्यशैली लेख्ने लक्ष्मीप्रसाद देवकोटा आदिकवि किन भएनन् ? पुरानाभन्दा राम्रो अति उत्तम गद्यशैली लेख्ने भूपि शेरचनहरू पनि ‘झन आदिकवि’ हुनुपर्ने ! यसरी जति नयाँ साहित्य सिर्जना हुन्छ, मोतिरामकै मतमा लाग्ने हो भने त्यति नै आदिपुरुष थपिँदै र फेरिँदै जानेछन् ; होशियार, स्रष्टा र इतिहासकारहरू!
कुरो यतिमात्र होइन, भानुभक्तको जन्म मितिबारे पनि ठूलो अलमल छ । वर्षेनी भानुजयन्ती मनाउँदा भानुको जन्म सालबारे द्विविधा रहने गर्दछ । यसपालि पनि संसारभरि जहाँ जहाँ भानुजयन्ती मनाइयो ती सबैतिर कतै २०४ औं र कतै २०५ औं भनिँदैछ । भारतको दार्जीलिङमा नेपाली साहित्य सम्मेलनले मनाएको प्रथम भानुजयन्तीबाट गनेर ल्याउँदा यो वर्ष २०४ औं नै हुनुपर्ने हो । तर, यो पनि भानुभक्तको जन्म १८७१ साललाई मान्दा मात्र । जन्म वर्ष नै गलत भएपछि हामीले मनाउने उनका जयन्तीहरु पनि गलत भए ।
“चालिस् वर्ष भञा म पुत्र पनि एक् मात्रै छ आठ् वर्षको
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ।”
आफू कुमारीचोकको कैदखानामा रहँदा छोराको ब्रतबन्धको समय आएकोले कैदबाट मुक्त गरिदिन विन्ति गर्दै उनले श्री ३ कमाण्डर इन् चिफ (जंगबहादुर राणा)- लाई विसं १९०९ मा लेखेको सो कवितात्मक पत्रमा भानुभक्तले लेखेको यो कवितांशले उनको जन्म १८७१ साल नभएर १८६९ मा भएको हो भन्ने प्रष्टै बुझाउँछ । भानुभक्तले आफू चालिस् पुगेको कुरा सो विन्ति पत्र लेखिएको १९०९ सालबाट घटाउँदा ठ्याक्क १८६९ हुन पुग्दछ । भानुभक्तले आफ्नो जन्मसाल नै भुलेर कविता लेखे भन्न सक्ने ठाउँ छैन । त्यतिका विद्वत र ज्योतिष शास्त्रसमेतका ज्ञाता भएका कवि भानुभक्तलाई आफ्नै उमेर ज्ञान भएन कसरी भन्नु ! यस अतिरिक्त मोतिराम भट्टको “कवि भानुभक्तको जीवन चरित्र”, (१९४८) मा भानुभक्तको जन्म १९६९ भनेर बारम्बार दोहोऱ्या तेहऱ्याइ लेखिएको छ । भानुभक्त जन्मेको १२७ वर्षपछि उनकी नातिनी (रमानाथकी छोरी) विष्णुमायाले “भानुभक्त मणिमाला” लेखिन् र सो को भूमिकामा रङ्गनाथ शर्मालाई भानुभक्तको जन्म १८७१ हो भनेर भूमिका लेखाइन् ! अब मोतिरामको लेखोटलाई सदर मान्ने कि विष्णुमायाको ? यसरी श्रद्देय स्व.कवि भानुभक्तको जन्म सालबारे अन्योल कायम छ ।
यस सवालमा टुंगो लगाउन स्व. मोतिराम भट्टकृत “कवि भानुभक्तको जीवन चरित्र” (१९४८) र, विष्णुमायाको “भानुभक्त मणिमाला” पढ्नुहोस् अनि नइ प्रकाशनको श्री नरेन्द्रराज प्रसाईकृत “भानुभक्त आचार्यको जीवनवृत्त” (२०७१-पृष्ठ ६७) मा घोत्लिन आइपुग्नु होस् । यसरी गणना गर्ने हो भने भानुभक्त आचार्यको अब हुने जन्मजयन्ती भारतकाहरुले मनाए जसरी जाँदा २०५ औं र नेपालकाहरुले मनाए जसरी जाँदा २०६ औं हुन पुग्दछ ।
भानुभक्तप्रति सम्मान जगाउनलाई उनी दुइवर्ष जेठा वा कान्छा भएर केही फरक पार्ने होइन । १८६९ मा जन्मिए वा १८७१ मा जन्मिए पनि उनी भानुभक्त नै थिए । हामीलाई उनको उमेरसित कुनै आपत्ति होइन । तर, इतिहासजस्तो विषयमा त्यस्ता महान पुरुषको जन्मको समय नै यसरी गल्ती हुन्छ भने अन्य तथ्यहरुमा हामी कसरी भर पर्न सकौं ? भन्ने विषय मूल हो यहाँनेर यो चर्चा उठाउनुको उद्देश्य । यी तमाम तथ्यहरुलाई हेर्दा भानुभक्त जीवनी इतिहास नभएर कथा पो हो कि भनेझैं लाग्छ । त्यसैले भानुभक्तको सन्दर्भलाई इतिहासमा जोड्न अझै कसरत जरुरी देखिएको छ । खोज –अनुसन्धानको आवश्यकता छ ।
कुरा जति गरे पनि निष्कर्षमा भन्नुपर्ने कुरो के हो भने आज नेपाली साहित्यको उन्नति सह्रानीय गतिमा अघि बढिरहेको छ, त्यसको आधारभूमि भानुभक्त व्यक्ति होइन, भानुभक्तीय व्यक्तित्वको काल थियो । यसै कालको जगमा आजको नेपाली साहित्यको उन्नति उभिएको छ । नेपाली भाषा बोल्ने लेख्नेहरु जति जति विश्वभरि छरिँदै गए नेपाली साहित्यको व्योम त्यति नै विस्तृत हुँदै गएको छ । यही नेपाली साहित्यको एउटा भंगालो हामी पनि हौँ। त्यसो त हाम्रो साहित्य नेपाली साहित्य मात्र होइन । हामीले हाम्रो साहित्यभित्रका धेरै भाषा र साहित्यिक मर्महरूलाई समेट्नु अति जरुरी छ । यो एउटा चुनौती हो र अवसर पनि हो । यही विन्दु हाम्रो अस्तित्व रक्षाको केन्द्र पनि हो; भाषिक उन्नति र साहित्यिक परिष्कारको एउटा कोसेढुंगा हो।
नेपाली भाषालाई मात्र आधार मान्ने हो भने पनि आज हामीसँग विभिन्न फरक भूगोलमा तीन प्रकारका पृथक् समाज खडा छन् । भूटान भित्रको समाज भाषिक उन्नतिको हिसाबले नब्बेको दशकमा जे थियो त्यही छ। विद्यालयमा नेपाली भाषा पढाइँदैन । पुस्तकालयहरूको कुरै नगरौं, नेपालीमा प्रकाशित हुने खबरपत्रिका पनि बन्द भएको धेरैवर्ष बितिसक्यो । गाउँघरतिर मिसावट भाषा बोलिन्छ । त्यहाँका केही पढ्न इच्छुक पाठकहरू अङ्ग्रेजी लेख-समाचारको पर्खाइमा हुन्छन् । हामीले परिश्रम गरेर जतनले सिर्जेका ठूलठूला नेपाली अक्षरहरु पनि त्यहाँ पढिँदैनन्। तर, एउटा रोदनपूर्ण हर्षः विष्मित यथार्थः त्यहाँ गैर-नेपालीभाषीले पनि आपसमा सम्पर्कभाषाको रूपमा नेपाली नै बोल्छन् ।
अर्को तथ्य के छ भने हिटलरको ग्यास च्याम्बरबाट फुत्किएका यहुदीहरु संसारभरि फैलिएपछि आफ्नो सुरक्षा गर्न आफ्नै पहिचान लुकाएझैं गरी हाम्रो समाजको केही अंशले शरणार्थी हुँदाको इतिहास सम्झन पनि चाहँदैन । अथाह सम्भावना र अवसरको प्रयोगशालामा उपयोग हुँदै गरेको हाम्रो समाजको यो अंशलाई कसैले दिशानिर्देश गर्ला भनेर आशा नगरे पनि हुन्छ । तर, केही निश्चित समयपछि हाम्रो समाजको यो अंशले पनि आफ्नै पूर्वाधारको खोजी गर्न थाल्नेछ । आफ्नो इतिहासको अध्ययन गर्न खोज्नेछ ।
यसरी अँगार, वनस्पतिको रस, खरी-पाटी, कलम कागज हुँदै साइबर तंरगमा पुगेको छ हाम्रो भाषा र साहित्य । भूटानी मनमा पुनर्बासले एउटा पृथक् मानसिकतालाई जन्म दिएको छ । हाम्रा बालबालिकाहरू सम्पूर्ण अवसरहरूको नजिक छन्; सम्भावनाको क्षेत्र फराकिलो भएको छ । आजको पुस्ता एकातिर अत्याधुनिक प्रविधिको फाइदा लिँदै रमाइरहेको छ भने अर्कोतिर विकृतिउन्मुख पनि हुँदैछ । छिट्टै अमेरिकन, अष्ट्रेलियन वा युरोपियन बन्ने सपनामा आजको युवापुस्ताले पुस्तान्तरणको खाडल फराकिलो पनि बनाउँदै छ । पुनर्बासपछि एकातिर असीमित ई-पुस्तकालयबाट सहज रूपमा लाभान्वित हुँदै हाम्रो साहित्य विकशोन्मुख छ भने एर्कोतिर भाषा सिकाइको क्रम ओझेलमा परेको छ; हाम्रा बालबालिकाहरूले नेपाली भाषा पूर्ण रूपमा बिर्सन सक्ने चिन्ता प्रबल हुँदै गएको छ ।
यस अवस्थामा भानुजयन्ती र यस्ता साहित्यिक गोष्ठी-सम्मेलनहरूलाई भाषा अध्ययन-अध्यापन र साहित्यिक सिर्जनाकै लागि केन्द्रित अभियानका रूपमा फैलाउनसके हामी पनि एउटा कालखण्डका लागि सफल भएको मान्न सकिनेछ ।
सन्दर्भ सामग्रीहरु :
~भानुभक्त स्मारक ग्रन्थ–नेपाली साहित्य सम्मेलन दार्जिलिङ
~नेपाली साहित्यको इतिहास– बालचन्द्र शर्मा
~भानुभक्त –बालचन्द्र शर्मा
~तुलनात्मक सुन्दरकाण्ड–बाबुराम आचार्य
~भानुभक्तका कृति: अध्ययनहरू –सं. इन्द्रबहादुर राई
~प्राथमिककालीन कवि र काव्य प्रवृत्ति–केशवप्रसाद उपाध्याय
~वीरकालीन कविता– सं. दयाराम श्रेष्ठ ‘सम्भव’
~पुराना कवि र कविता– सं. बाबुराम आचार्य
~पिकदूत– मोतिराम भट्ट
~कृष्ण चरित्र (पूर्वार्द्ध)–वसन्त शर्मा
~गोर्खा अस्मिता–मणिकुमार शर्मा (सिलगढी)-प्रकाशिका मञ्जु शर्मा
~नेपाली साहित्यको इतिहास –डा. तारानाथ शर्मा (नवीन प्रकाशन)
~नेपाली साहित्यको संक्षिप्त इतिहास–डा. दयाराम श्रेष्ठ र मोहनराज शर्मा-साझा प्रकाशन
~भानुभक्तदेखि तेस्रो आयामसम्म– डा. तारानाथ शर्मा-साझा प्रकाशन