आदिकवि भानुभक्त र उनका केही विवादित पक्षहरू

Partiman Siwa, born in Chirang Bhutan in 1972 and lived his early days at Daifam Bhutan, is one of the first to appear and pass SLC (School Leaving Certificate- a secondary level school education) examination in the early 90s in Bhutanese Refugee Education history. Since then, after receiving proper literary nourishment and education from the then ‘Nepali Bhaasaa Parishad-Bhutan’ (which was subsequently reformed in 2011 to Literature Council of Bhutan), has developed a strong lineage towards Bhutanese Nepali literature.

From those early days, he has committed himself in writing poetry and other literary works contributing to Bhutanese Nepali literary field. His first published book “dobharu” (Nepali: डोबहरू) in 2001 established him as a dynamic poet. After completing his higher secondary education from Biratnagar, he earned a BS in Biology (Zoology) from Bhadrapur, Nepal.

Presently, resettled in Ohio, America, he is still giving continuity in his literary works with a stronger presence. He believes in preserving the mother tongue “Nepali” and its literature and handing it to our coming generations and so on.

 

लेखक
लेखक

प्रतिमान सिव
ओहायो, अमेरिका

 

 

आदिकवि  भानुभक्त आचार्य भन्दा धेरै पहिला सुवानन्द दास र त्यस पश्चात् अन्य धेरै प्रखर कविहरू हुँदा हुँदै पनि उनी आदिकविको श्रीपेच भिर्न सफल भए । उनी आदि नभएर पनि आदि भए, मानिए र स्थापित पनि भए । यो नै एउटा यस्तो प्रसङ्ग हो जसले जोसुकैलाई एकचोटी झस्काउँछ कि यिनी किन आदि बने ।

आदिकवि भानुभक्त आफैमा त्यस्तो चमत्कारी कवि  त थिएनन् । आम नेपाली जस्तै सामान्य व्यक्ति थिए र फरक यती थियो कि उनी हजुरबा श्रीकृष्ण आचार्यका नाति थिए र उनीबाट जीवनभरिको शिक्षा हासिल गर्ने सौभाज्ञ उनलाई मिलेको थियो । सामान्य हुँदा हुँदै पनि उनी यसकारण असामान्य थिए कि उनीमा नेपाली भाषा प्रति बिछट्टै माया थियो, लगाव थियो । उसबेला जताततै संस्कृतको बोलबाला थियो र नेपाली भाषालाई पर्वते वा खस भाषा भनेर हेयभावले हेरिन्थ्यो । हजुरबाको प्रभावले गर्दा र विभिन्न ग्रन्थहरूको अध्ययनले उनीमा कलिलै उमेरमा कवित्व मौलाई सकेको कुरा युवाकवी मोतिराम भट्ट जनाउँछन् । नेपालीभाषा प्रतिको मोह र उनिभित्र फस्टाउन थालेको कवित्वले गर्दा उनी जताततै र जहाँसुकै कविता नै कविता देख्थे, ती विषयवस्तुलाई टिप्थे र रोचक रोचक फुटकर कविता र श्लोकहरू सृजना गर्थे भन्ने कुरा युवाकविद्वारा लिखित भानुभक्तको जीवनीबाट स्पष्ट हुन्छ । यहाँ एउटा यस्तो प्रसङ्ग छ जहाँ कसैले उनीलाई तिमी  को हौ भनी परिचय माग्दा उनी आफ्नो परिचय यसरी श्लोकमा नै दिन्छन् ।

‘पहाडको अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खुप्  उच्च कुल  आर्यवंशि  हुन  गै  सत्कर्ममा मन्दिया
विध्यामा  पनि  जो  धुरन्धर  भई  शिक्षा  मलाई दिया
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया ।’

हो, आदिकवि  भानुभक्त प्रतिभाशाली कवि  थिए, तथापि मोतिराम भट्टको त्यत्रो अथक परिश्रम र योगदान बिना उनको यो प्रख्याती र आदिकविको ताज आज यसरी पक्कै चम्किने थिएन । युवाकवि  मोतिराम भट्टले (जो उर्दूका पनि ज्ञाता थिए र गजल विधाप्रति उनको छुट्टै लगाव थियो) भानुभक्तलाई प्रख्याती दिलाउने लहडमा कति ठाउँ अतिरञ्जित किस्सा र उपकथाहरु जोडेका हुन भन्ने अभियोग वा असहमति देखाउँछन् धेरै जसो अध्येता र अनुसन्धान्कर्ताहरु । जस्तै, भानुभक्तलाई आफ्नो कृति अजम्बरी राख्नका लागि प्रेरणाको श्रोत मानिएका घाँसीको प्रसङ्ग पनि एउटा थपिएको उपकथामात्र हो भन्ने भनाई छ । भानुभक्तले आफ्नो नाम अमर राख्नलाई पाएको प्रेरणाको स्रोत जुन घाँसीलाई मानिएको छ तिनै घाँसीलाई भिन्नाभिन्नै लेखकहरुले भिन्ना भिन्नै नाउँका व्यक्ति बताएका छन् । कसैले उनको नाम  चाँगुनारायण भनेका छन् भने कसैले ठुले मगर भनेका छन् । यो पनि एउटा विवादित पक्ष नै हो । ज-जसले भानुको त्यत्रो चर्चा परिचर्चा र अनुसन्धान गरी प्रकाशमा ल्याउने काम गरे तिनैले घाँसीलाई हमेसा ओझेलमै राखे । यस प्रसङ्गमा लेखिएको श्लोकमा भानुभक्तको घाँसी सङ सम्वाद भैसकेपछि उनले यो पङ्ती लेखेको जाहेर छ ।

भर् जन्म घाँसतिर मन दिइ धन्  कमायो
नाम क्यै रहोस् पछी भनेर कुवा  खानेयो
घाँसी  दरिद्री  घरको  तर  बुद्धी  कस्तो
मो भानुभक्त धनि भई कन आज यस्तो ।’

पहिले आफ्नो परिचय दिँदा लेखिएको श्लोकमा ‘म’लाई म नै लेखिएको छ भने पछि घाँसी सम्बन्धी लेखिएको श्लोकमा ‘म’लाई ‘मो’ लेखिएको छ र मोतिराम भट्टका प्रायजसो रचनाहरूमा कतिपय ठाउँहरूमा ‘मो’ नै लेखिएको हुनाले यो घाँसी-प्रसङ्ग पनि भानुभक्तको जीवनीमा रोचक्ता ल्याउन मोतिराम आफैले भानुका नाममा लेखेका हुन भन्ने धेरैको मान्यता पाइन्छ । अषाढ २०६७ मा नरेन्द्रराज प्रसाईको यही मान्यता हुँदाहुदै पनि छन्दको प्रायोजनमा  ह्रस्वदीर्घको उचित महत्व र स्थानले गर्दा यसो गरिएको कुरालाई पनि नकार्न सकिदैन ।

अर्को एउटा रोचक प्रसङ्ग हो गजाधर सोती श्लोक । तत्कालीन समयमा ‘अतिथिती देबो भव’ अर्थात् अतिथि ईश्वर समान हुन र अतिथिको सत्कार गर्नु सबै सनातन घरानाको अपरिहार्य संस्कार मानिन्थ्यो भने साँझमा बास बस्न पुगेका भानुभक्तलाई गजाधर सोतीकी पत्नीले बास नदिई खेदाएको प्रसङ्ग अमिल्दो छ भनी तर्क गर्छन् कति अन्वेषकहरू । भानुभक्तको जीवनीमा थप कारुणिक्ता पैदा होस भनी मोतिराम आफैले निम्न श्लोक लेखी जोडेका हुन भन्नसम्म पछि परेका छैनन् आलोचकहरु । श्लोक यस प्रकार छ ।

‘गजाधर्सोतीका घर बुढि अलच्छिन्किन रहिछन्
नरक जानालाई सबसित बिदाबारि भइ छन् ।
पुज्ञौं साँझैमा तिन्का पिढिमहाँ बास गरियो
निकालिन् साँझैमा अलिक पर गुल्जार गरियो ।’

तथापि , विभिन्न समस्या र उल्झनहरुबाट मानसिक तनावको सिकार बनेकी गजाधर सोतीकी श्रीमतीले घरको मूल अभिभावकको अनुपस्थितिमा परपुरुष वा परस्त्रीलाई घरमा बास दिनु हुँदैन भन्ने भावले भानुभक्तलाई लघेरेकी पनि हुनसक्ने सम्भावना हुनसक्छ यदि यो प्रसङ्ग साँच्चै घटेको हो भने । यस्ता  आचराणका व्यक्तित्वहरु जुनै देश, काल र समाजमा पनि प्रशस्तै देखिन्छन् तर यो प्र्सङ्ग भानु आफैले जोडेका हुन कि होईनन् भन्ने मात्र विवादको विषय हो ।

यस्तै अर्को प्रसङ्ग छ भानुभक्तको मित्र तारापतिको । मित्र तारापतिको निमन्त्रणामा पाहुना बनी बास बस्न पुगेका भानुलाई सासू-बुहारीको झगडा र लडाँईले रातभरीनै जाग्रम बस्नु परेको घटना हामीले पढ्न पाउँछौँ । झगडा र लडाँईमा कसले बिराएको भन्ने कुरामा ध्यानै नदिई ‘बधु शिक्षा’को रचना गर्न पुगे आदिकवि भानुभक्त ।

‘एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापति
तिम्रा इ जति छन्  जहानहरु ता लडन्या रह्या छन् अती ।
सारै  झोक  उठयो  मलाई  र  बधु शिक्षा बनाञाँ पनी
यसले पत्नी, बुहारी, छोरिहरुको तालिम् गरौंला भनी ।’

पितृ सत्तात्मक पारिवारिक र सामाजिक संरचनामा उभिएको उसबेलाको समाजमा पति परमेश्वर समान हो र पत्नी सधैँ पतिको दासिनी हो र पत्नीले सँधै पतिको सेवा गर्नु पर्छ भन्ने शिक्षा जबरजस्ती लादे । तारापतिको घरमा सासू-बुहारीले झगडा गरे कि गरेनन् तर ‘बधु शिक्षा’लाई अहिलेको चेतनशील नारी जमातले सिधै बहिष्कार गर्दै नारी माथि थोपारिएको कलङ्क मानेका छन् । विश्वभरि भानु जयन्तीका दिन तडक भडकका साथ पर्व मनाईरहदा नेपालमा प्राय नारी समाजले आदिकावि भानुभक्तलाई गाली दिइरहेको हुन्छन् र भानु जयन्ती पनि खासै मनाएको पाइँदैन ।

मोतिराम भट्टले भानुको जन्म १८६९ साल लेखे र त्यही मान्य भयो तर पछि भानुभक्तकी नातीनि विष्णुमायादेवीले १९७१ हो भनि प्रमाण सहित पेस गरेपछि विवादको लहर चलेको थियो ।

यस्ता धेरै अमिल्दा र तथ्यरहित प्रसङ्गहरूले विभिन्न विवादहरू र अराजक्ताहरु सृजना गरेपनि भानुभक्तको नेपालीमा अनुवाद गरिएको रामायण भने जनजिब्रोमा झुन्डियो, अत्यन्तै लोकप्रिय भयो र हरेकका घरघरमा रामायणको पुस्तक सजाइयो । गाउँ घरमा रामायणका मीठा मीठा श्लोकहरु गुन्जिन थाले र नेपाली भाषा नेपाल भरी जनसम्पर्कको भाषा बन्यो । कविताको विकासक्रमको फाँटमा, नयाँ समकालिन उदाउँदा कविहरुले पनि भानुभक्तीय भाषिक लय र शैलीलाई अँगालेर नेपाली भाषालाई अझ लोकप्रियता प्रदान गरे ।

सन्दर्भ स्रोत:

– भानुभक्त आचार्य : नरेन्द्रराज प्रसाई (समकालीन साहित्य, अषाढ, २०६७ )

-भानुभक्त, वर्तमान भूटानी समाज र साहित्य: रमेश गौतम ( भूट्निज लिटरेचर डटकम्, २०१० )

– भानुभक्त आचार्य: विकिपिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *