ईटालीमा हनिमून
रमेश दियाली
ओहायो, अमेरिका
त्यो दिन…..!!
बोली सुन्न बित्तिकै मेरो आँखा रसायो। उनी कामी रहेकी थिइन। डरले ओठ थर्रथयाईरको थियो। केही भन्न खोजे झैँ। मेरो निन्द्रा छुट्यो। अहँ! म पटक्कै निदाउन सकिनँ । उनी मेरो नजिक आइन् र अँगालो हालेर ग्वाँ….. ग्वाँ… रोइन्। उनको आँसु मेरो छातीमा लतपतियो। मेरो धड्कन बढ्न थाल्यो। निधारका केही भागमा पसिनाका दाना उम्रिँदै थिए। म सान्त्वना दिँदै सम्हालिँदै थिएँ। बिस्तारै अँगालोबाट हट्दै मेरो आँखामा हेरेर बोलिन-
“अब हामी मर्छौं होला है ?”
फेरि सुँक्क सुँक्क गर्दै आँसु बगाउन थालिन्। आँखा राता राता थिए। म मौन भएँ। शब्दहरू एकाएक विलीन हुँदै हराए। अझ भनौ म आफै हराएँ, एउटा शून्यतामा। फेरि उसै गरी च्याप्प च्यापिन्। मेरो बिस्तारै बोली फुट्यो-
“केही हुँदैन, न डराऊ! म छु नि तिम्रो साथमा।” डरको सास सुस्त सुस्त बाहिर फ्याँकिन् र आँखा बन्द गरिन्।
“म छुट्ट्याउन सक्दिनँ। तिम्रो र मेरो सम्बन्ध प्रेम सँगै श्रीमान् श्रीमतीमा आएर जोडिएको छ। जीवनको स्वर्णिम सुरुवात भर्खरै सुरु हुँदैछ। तिम्रो अँगालो भरिको माया पाउन नै मैले यो यात्रा तय गरेको हो। मेलै मेरो मन र शरीर नै समर्पित गरेकी छु। हिजोको दिनलाई भुली दिएको छु। थाहा छैन भोलि के हुने हो।” उनी बोली रहँदा फोनको घण्टी बज्यो। टि.. नि… नि …! मैले फोन उठाएँ।
“तिमीहरूलाई कस्तो छ ? मैले त नजानु भनेको अस्ति नै ? इटाली पुरै लक डाउन गरेको छ भन्ने समाचार आएको आई छ। मान्छेहरू मरेका मरै छन् रे।” फोन नेपालबाट बुबाले गर्नु भएको थियो। प्रश्न माथि प्रश्न गर्दै हुनुहुन्थ्यो।
भन्दै हुनुहुन्थ्यो -“हामी यहाँ चिन्ताले मर्न आँटी सक्यौ। फेरि बुहारीको बाबा आमाले सोधी रहनुहुन्छ। हामीले के जवाफ दिनु?” बुबाको बोलीमा डर र आक्रोश थियो। मेलै केही भन्न सकिनँ। नाजवाफ भएँ।
“हामी ठिकै छौँ बुबा ..,” भन्दै फोन राखिदिएँ। भन्ने कुरा धेरै भए पनि भन्नै सकिनँ। झ्यालबाट छिरेको प्रकाशतिर हेरेँ। उज्यालो आइसकेको थियो। सुनसान सडक मौन थिए। भ्यानिस सिटी दिउसै अँध्यारो बोकेर बाँची रहेको बेला उज्यालोको खोजीमा मानिसहरू बन्द कोठामा कैद थिए। आज मानव बस्ती पुरै अन्धकार छ।
उनी मोबाइलमा हाम्रो बिहेको फोटाहरू हेर्दै टोलाइरहेकी थिइन्। फोटाहरूसँग सुन्दरताको रङ्ग भर्दै थिइन्। हातको औलाहरूले फोटाहरूलाई स्पर्श गर्थिन्। मायाको स्पर्श अजिबको हुँदो रहेछ। अँ साँची, उनको नाम काव्य थियो। मैले नाम भन्नै पर्छ। हाम्रो बिहे भएको एक महिना भयो। हनिमुनको लागि इटाली आएका हौँ। प्रेम विवाह थियो। एक अर्कालाई नजिकैबाट बुझेका थियौँ। दुई दिन भयो कोठामा बसेको। सोचे भन्दा भिन्न भयो इटाली। हामी आए लगतै डब्लु.एच.ओ .ले कोरोना भाइरस सङ्क्रमण भएका सबैलाई परीक्षण गर्न आवाहन गरेको थियो।
आवाहन गरे लगत्तै इटाली पुरै लक डाउन भयो। अझ भेनिस सिटी त कर्फ़्यू नै लागे जस्तै भयो। सुनसान सडक र पसलहरू बन्द थिए। आवश्यक पसलहरू देखि बाहेक सबै बन्द भए। छिन छिन मै समाचार हेर्थ्यौँ। सोसल मिडियाले झन् त्रास भरिदिएको थियो। कहाली लाग्दो दिन असाध्यै धमिलो थियो। आकाशमा कुहिरोहरू एक आपसमा मडारी रहेका थिए । म कुहिरो भित्रको घामलाई खोज्दै थिएँ। पानी भने परेको थिएन। हामी स्पेलडिट भेनिस होटेलमा बसेका थियौँ। रुम न० १४ । होटेलबाट वरिपरि हेर्दा भेनिस सिटीको खाका प्रस्टै देखिन्थ्यो। सुन्दरताले भरिएको पुराना महल र मूर्तिहरूले थप आकर्षक देखिन्थ्यो । होटेल भन्दा पर ग्र्याण्ड क्यानलमा हरियो रङ्गको पानी आफैसँग रमाई रहेको थियो। आज बोटहरू छैनन् । खुल्ला आकाशमा उडेका चराहरू स्वतन्त्र उडिरहेका थिए। रोड परसम्म मैदानी फाँट जस्तै देखिन्थ्यो। फराकिलो तर एक्लै। सुस्त सुस्त हावामा मसिना फूलका पातहरू नाचिरहेका थिए। मनमोहक दृश्यहरू देखिन्थ्यो। हावा आउँथ्यो र हराउथो। व्यस्त सहर एकाएक शान्त थियो। हामी भने अशान्त थियौँ। मनमा अनेक थरी कुराहरू चलिरेको थियो। दिनलाई बिदा गरेर भेनिस सिटी बास बस्न खोज्दै थियो। कोठाबाट यसो बाहिर हेर्न मन लाग्यो। काव्यले कफीको अडर गरिन्। हामी दुवै कफी पिउँदै झ्यालको पातलो पर्दा हटाएर शान्त भेनिस सिटी हेर्न थाल्यौँ । आँखाहरू पर पर फिजायौं।
गोधुली साँझमा जब घामले पहेँला किरण छोड्दै बास बस्न जाँदै गरेको दृश्य हेर्न हजारौँ मान्छेहरूको भीड लाग्ने ठाउँ आज एक्लो भएको देखिन्थ्यो। नितान्त एक्लो देखिन्थ्यो। पुलको मुनि बसेर घण्टौँ गफ गर्ने प्रेम जोडीहरूलाई पुलले पर्खिरहेको भान हुन्थ्यो। हात समातेर रङ्गिन जीवनका गफ गर्दै वाकिङ गर्नेहरूले सम्झनाका डोबहरू छोडेर गएका थिए । हामी एक अर्कालाई हेर्छौँ। अनुहारमा निराशाका रेखाहरू प्रस्टै देखिन्छ। खै कस्तो ! धमिलो पानी जस्तै, आँखामा धुलो परे जस्तै। आज हाम्रो आँखा बोली रहेको थियो। मुखबाट शब्दहरू निस्किन सकिरहेको थिएन। लाग्छ हामी एक अर्कालाई बिसिर्दै छौँ । काव्यले लामो सास फेरिन्। मैले काव्यको कुममा थुमथुम्याएँ । उनले मेरो कुममा टाउको राखिन्। जीवन कहाँ गएर ठोकिँदो रहेछ, थाहा नहुँदो रहेछ। अनेकौँ घटनाहरू बीच जीवनका गोरेटाहरू निर्माण गर्नु पर्ने। कति खेर के घटना घट्छ पत्तै नहुने। उनी मौन संवाद गरिरहेकी थिइन्। भन्दै थिइन्- “एउटा सुन्दर फूल त्यो खोला बस्तीसँगै झर्दै बग्दै छ। मानव बस्ती बिस्तरै खाली हुँदै थियो। साँच्चै जीवन एकादेशको कथा जस्तै रहेछ।”
“कथा त हो नि जीवन”, – मेलै थपेँ । हामी एक अर्कामा लीन भएर धेरै बेरसम्म गफ गर्यौँ ।
काव्यले भोक लाग्यो भनिन्। मैले यता उता हेरेँ । खाने कुरा केही थिएन,
“पसलहरू बन्द छ के गर्ने त ?” मैले जिज्ञासा सहित प्रश्न गरेँ। उनी केही बोलिनन्। सोचेँ कुनै पसल त खुल्ला होला।
“हेरेर आउँछु। काव्य ! तिमी बस्दै गर म बाहिर हेरेर आउँछु।”
“यस्तो अवस्थामा बाहिर जानु राम्रो होइन। इटाली सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि पन्ध्र दिनसम्म लकडाउन गरेको समाचार आईरेको छ। त्यो तिमीलाई थाहै छ। यो अवधिमा बाहिर जानु भनेको खतरा हुनु हो। मलाई एकदम डर लागिरहेको छ। मलाई एक्लै छोडेर नजाऊ।” काव्यले भनिरहेकी थिइन्।
भोको पेटलाई जसरी भए पनि पेट भर्नु थियो, भोक लाग्यो भन्दा मननै कटक्क चुँडियो। श्रीमानको दायित्वले पनि मलाई रोक्न सकेन। म नआउजेल भित्रै बसी रहनु भन्ने निर्देशन सहित सान्त्वनाका शब्द दिँदै म बाहिर निस्केँ । कोठाको ढोका बन्द गरिदिएँ । होटेलको गेट हुँदै रोड अगाडीको “रेस्टुरेन्ट एण्ड पिज्जा हाउस“ लेखेको बोडतिर पाइला मोडेँ । सुनसान रोडमा फगत म एक्लै थिएँ । बत्तीहरूले उज्यालो प्रकाश छरिरहेको थियो। उज्यालो प्रकाशमा मेरो छाया प्रस्टै देखिन्थ्यो चिल्लो रोडमा। पिज्जा हाउस नजिकै पुगेँ । सिसाको ढोकामा रातो अक्षरले ‘क्लोज’ लेखेर टाँसेको रहेछ। छेउमै पुग्दा थाहा भयो बन्द रहेछ। निराशाको लामो सास फेरेर फनक्क फर्केँ । फर्किँदै गर्दा पुलिसको भ्यान साइरन बजाउँदै आयो। मेरो आँखा रसिदै गयो। डरले लगलग खुट्टा काम्न थाल्यो। म पुलिसको घेरामा परिसकेको थिएँ। के गरौँ कसो गरौँ भयो। छटपटीले सास फुत्त बाहिर निस्केला भने झैँ भयो। अन्योलको भुमरीमा परेँ । कसलाई मदत मागौँ, यो बिरानो ठाउँमा कोही थिएन। एक मनले आफैलाई धिक्कार्दै थिएँ। उकुसमुकुस भएर एकै चोटि कराएछु-
“माई वाईफ !!!! “
“माई वाईफ !!!!”……!
मेलै बिन्ती बिसाएँ।
मेरो कुरा सकिन नपाउँदै मलाई भ्यानमा राखे। भन्दै थिए –
“दिस म्यान स्प्रेड द भाइरस”।
मलाई लागेको छैन भन्नै पाइनँ ।
फेरि गल्ती मेरै थियो। लकडाउनमा बाहिर निस्कन मनाही थियो। काव्यलाई मनभरि सम्झेँ । कति सम्झेँ .., सम्झेँ । म नहुँदा के हालत भयो होला। मलाई पर्खी रहेकी होलिन् । यो कस्तो सजाय दिँदै छौ भगवान्? मैले ईश्वरलाई पुकारेँ। ईश्वरले मेरो कुरा सुने या सुनेनन् थाहा भएन। मलाई बीस मिनेटपछि क्वारेन्टाइन हलमा लगियो। शङ्कास्पद कोरोनाको बिरामीको सूचीमा राखियो। म जस्ता अरू थुप्रै मान्छेहरू पनि थिए। मलाई थाहा छैन कुन कुन देशबाट आएका थिए। कोरोना सङ्क्रमण देखिएको थियो या थिएन। म पुरै अन्धकारको कोठामा कैद भएँ। मुखमा मास्क र सेतो कपडाले शरीर छोपिदिएको थियो। सात दिनसम्म राख्ने कुरा मेरै छेउमा बस्नेले बतायो। म अकमक्क परेँ। क्वारेन्टाइन हुनेहरू धेरै जसो बूढाबूढीहरू थिए। सायद सबै इटालीका नागरिक हुनु पर्छ। मेरो अनुमान, बोली भिन्नै थियो। कसैले कसैले मात्रा अंग्रेज़ी बोल्थे। घण्टै पिछे चेक जाँच गरिन्थ्यो। मलाई कोरोना भाइरस छैन भनेर आग्रह गर्थेँ । मेरो कुरा सुन्नै मान्दैन थिए। रिपोर्ट आउन दुई हप्ता लाग्छ भन्थे नर्सहरू। हामी बाह्र दिनपछि फर्किने टिकट थियो। दुई हप्ताको लागि मात्रा आएका थियौँ । तीनदिन बितिसकेको थियो। म भने काव्यको चिन्ताले थकित थिएँ। उनी बोलेका शब्दहरूले झकझकाई रहो । भरोसा टुट्यो। आशाको दियो निभ्दै गयो। हेर्ने आँखा बिस्तारै बन्द हुँदै गए। प्रश्नमाथि प्रश्न आउँथ्यो । के भयो ? के खाइन् होला ? कति खोजिन् होला ? मन कति आत्तियो होला ? यी यावत प्रश्नहरूले मेरो हृदय पग्लेको थियो। उनको लोलाएका आँखा र निर्दोष अनुहार झलझली आयो। खै कसको भाग्यामा खोट थियो कुन्नि! भोग्दै छु अहिले। यति बेलासम्म मेरो आँखा आशुले डम्म भरिएका थिए। काव्य ! जिन्दगी लामो रहेछ भने फेरि भेट होला। मन मनै भनेँ -“मलाई माफ गर !”
एक हप्ता पछि मलाई एउटा अस्पतालमा सारियो। कोरोनासँग लड्दै गरेका थुप्रै मान्छेहरू थिए। “द.एसटि. जोन एण्ड पावल” अस्पताल शान्त थियो। बिरामीहरूको बाक्लै उपस्थिति थियो। मलाई पनि यही अस्पतालमा राखियो। कोरोना सङ्क्रमण भएकाहरूलाई बेग्लै बिल्डिङमा राखिएको थियो। कयौँ मान्छेहरू मृत्युसँग लड्दै थिए भने कतिले मृत्युलाई जितेर घर फर्किने तयारी गर्दै थिए। डाक्टर र नर्सहरू ब्यास्त थिए। मास्क र सेतो कपडाले ढाकिएको अनुहारहरू प्रस्टै देखिँदैन थियो। अस्पतालको बेडमा छटपटी रहेका बिरामीहरूलाई दबाई खुवाउँदै गरेको र जाँच्दै गरेको नर्स र डाक्टरलाई देख्दा मन्दिरको भगवानलाई सम्झेँ । सायद मन्दिर खाली छ आज। चर्च, गुम्बा र मस्जिद यही हो। यिनै हुन ईश्वर। संसार दुखेको छ। मेरो हृदय पग्लेर पानी भएको छ। खुल्ला आँखाले देख्ने सुन्दर संसार एकाएक मरुभूमि हुँदै जाँदै थियो। एकाएक प्रकृतिले फेरि मानव जातिमाथि अन्य गर्दै थियो। विश्वभरि फैलिएको यो महामारीले हामी मानिसहरूलाई परिवर्तन गरिदिएको छ।
खुल्ला पखेटा फिँजाउँदै आकाशमा चराहरू उडी रहेका छन्। जीव जनवारहरू मस्त छन् आफ्नै दुनियाँमा। तर आज हामी चेतनशील प्राणीहरू बन्द छौ। सोच्नुहोस् त ! के हालत भयो होला बर्षौसम्म चिडियाघरमा बन्द भई बस्दा ? ती निर्दोष जनवारहरूको। म सोचिरहेको छु। अस्तव्यस्त अवस्थालाई चिर्दै गर्दा काव्यलाई सम्झेँ। मनभरि सम्झेँ। सम्झनामा मात्र रहिन् अब । मन आत्तिएको थियो। म अपरिचित थिएँ । रातलाई हेर्दै बिहानीको प्रतीक्षामा बस्थेँ । तीन दिनपछि मलाई जाँच गरियो। सबैले मलाई हेरिरहेका थिए। मेरो नजिकैबाट एक वृद्ध हजुरआमा निको भई हुईल चियरमा लग्दै गरेको देखेँ । कोरोना लागेकाहरू पनि निको हुन सक्छ भन्ने एउटा राम्रो सन्देश थियो। अनुहारमा मुस्कान सहित परिवारहरूले हजुरआमालाई स्वागत गरिरहेको देख्दा मेरो परिवारलाई सम्झेँ। मलाई जाँच गर्न कोठामा बोलाइयो। निकै समयको जाँच पछि म पुनः आफ्नै बेडमा आएँ।
सात दिनको बसाईपछि बल्ल डाक्टरले हातमा कागज र फाइल बोकेर आए। मलाई कुन देशको हो भनी सोधे। मेलै छोटो उत्तर दिए- नेपाल। डाक्टरले ओठमा हाँसो भर्दै भने। तिमी यो सङ्क्रमणबाट मुक्त छौ। अर्थात् तिमीलाई कोरोना भाइरस लागेको छैन। म खुसीले बुरुक्क उफ्रुँला झैँ भयो। डाक्टरलाई धन्यवाद दिएँ। तर डाक्टरले अस्पताल बाहिर नजाने आदेश दिए। नेपाल एम्बेसी र इटाली एम्बेसीको मिलेमतोमा मलाई दुई दिनपछि नेपाल फर्काउने भनेको थियो। डाक्टरले नै यो सब बताएका थिए। म ढुक्क थिएँ। दुई दिनपछि नेपाल फर्काइयो।
“मैले तिमीलाई कति खोजी रहे..। क्वारेन्टाइन हलमा, अस्पतालको बेडमा। म जोडले चिच्याउँथेँ । अस्पतालको नर्स र डाक्टरहरू वरिपरि आउँथे। म शिथिल भए पुनः बेडमा पल्टिन्थेँ । सबैले मलाई हेर्थे। चिन्ता लिनु पर्दैन भनेर सान्त्वना दिन्थे।”
म बोली रहँदा काव्यको हृदय पग्लेर आँसु बनेर बग्दै थियो। आँसुका थोपा भुईँमा खस्न नपाउँदै मैले पुछिदिए।
“हामी केही क्षणका लागि अलग्याइएका थियौँ । समयले फेरि एक बनाइदिएको छ।”
काव्यको मुखबाट कुनै आवाज निस्केको थिएन। एकै छिनको मौनतालाई तोडेर सुँक्क सुँक्क गर्दै बिस्तारै बोल्न थालिन् ।
“तिमी बाहिर गए देखि म फिक्का भएँ । पानी पिएर फालिएको रित्तो काँचको गिलास झैँ फुटेको थिएँ। ह्वारह्वारती तिम्रो याद आउँथे र हराएर जान्थे। म त्यो होटेलको कोठामा निसास्सिएर बन्द भएँ। बाहिर र भित्र गर्दै कराउँथेँ। यसो गर्दा सबैले ट्वाल्ल हेर्थे। पछि होटेलको रिसेप्सनले पुलिसले लगेको कुरा बताए। म त्यसपछि झन् आत्तिएँ। आत्तिएर नै बेहोस भएँ। लडेँ भुईँमै। पछि कसै- कसैले सान्त्वना दिँदै आशा भरिदिन्थे।आशा भन्ने कुरा पनि कति अजीवको हुँदो रहेछ। एकपलकोलागि भए पनि खुसी भरिदिने। तिमीलाई भेट्न कयौँ कोसिस गरेँ तर मेरो कोसिस शून्य भयो। म हारेँ । कुनै गहिरो निन्द्रामा पुगे झैँ भयो। धेरै रातहरू मनोवादमा बित्यो। निदाउनै सक्दिन थिएँ। डरले थर थर काम्थेँ । हे दैव ! मलाई छुटाऊ यो नर्कबाट। मन नै अमिलो हुन्थ्यो । तिमीसँग बिताएका हरेक पल सम्झन्थेँ। अनगिन्ती यादहरूले गिज्याउँदै भाग्थे। म भने टोल्लिइ रहेको हुन्थेँ । आधा मरिसकेको थिएँ । तिमीलाई थाहा छ ? अहँ! तिमी सोच्न पनि सक्दैनौ ? मलाई माया गर्ने मान्छे, मैले छुन र हेर्न नपाउँदा के हालत भयो होला मेरो ? मैले तिम्रो यादहरूलाई बिस्तारै अलग गर्न खोजेँ तर सकिनँ । सूर्य अस्ताउँदै थियो। भोलिको उज्यालो पर्खेर आफूलाई पलगंमा हुत्त्याइदिएँ। भित्ताको चारै तिर तिम्रो वासना थियो। सङ्कटपूर्ण घडी बिस्तारै आफ्नै सुर तालमा दौडिरहेको थियो। संसारको कुना कुनामा हाहाकार मच्चिरहेको थियो। मर्नेको सङ्ख्या दिनदिनै दोब्बर हुँदै जाँदै थियो। म फर्किने दिन पनि आयो। अन्तर्राष्ट्रिय उडान रोक्ने समाचार आइरहेको थियो। म भने तिम्रो याद र पर्खाइमा पुरै बेहोसिएको थिएँ । के गर्ने के नगर्ने ? पत्तै पाईरहकी थिइनँ। अन्योलमा थिएँ। आउँदा तिमी थियौ जाँदा एक्लै। घरमा के भन्ने ..? मर्यौ कि बाच्यौ पत्तो छैन। यी सबैको जवाफ दिनु थियो।
तिमीलाई म यही प्रश्न सोध्ने वाला थिएँ। यदि भेट भयो भने।——- तिमीले मलाई किन एक्लै छोड्यौ? हिम्मत र आँट बोकेर अन्ततः नेपाल फर्केँ । भेट हुन्छ होला भन्ने आस मरेको थियो। एक मनमा माया र विश्वासको डोरीले बाँधेर राखेको थिएँ। घरमा प्रश्नमाथि प्रश्न गरे। सबैको नजरमा म गिरेँ । सोचे ! एक दिन मेरो मायाले डोर्याएर ल्याउँछ। …………अवश्य ल्याउनेछ । — आज तिमी आयौ।