एक सयौँ शताब्दीको पहिलो साँझ
रमेश सायन,
बिराटनगर, नेपाल
एक सयौँ शताब्दीको पहिलो साँझ
अमेरिकाको न्युयोर्कमा जोनार्ड स्वखलीत हुँदा,
काठमाडौँका सीताहरुले भ्रुण परागसेचन लिन सक्छन् ।
गमलामा प्लाष्टिकका फूलहरु सजीव बन्न सक्छन्,
ढुंगाको पैतला हुन सक्छ
रामबाहादुरको एउटा पुस्ता
मंगलग्रहमा विज्ञान पढ्न जानसक्छ ।
एक सयौँ शताब्दीको पहिलो साँझ,
यन्त्रहरुले सुहागरात मनाउन सक्छन्,
पानीको रासाईन सुत्र O2H हुन सक्छ
चराहरुको जस्तै मान्छेको पंखेटा पलाउन सक्छ
मान्छे पंखेटा फटफटाउँदै उड्न सक्छ,
आकशमा बादल नहुन सक्छ ।
समय रोकेर पृथ्वीले थकाइ मार्न सक्छ,
एक सयौँ शताब्दीको पहिलो साँझ,
खोलामा पानी उकालो बग्न सक्छ
आजका मान्छे किम्वदन्ति हुन सक्छन्
हामीलाई बाँदर भनिन सक्छ ,
इतिहासले हामीलाई
डाईनोसर बनाउँन सक्छ ।
एक सयौँ शताब्दीको पहिलो साँझ,
सके मान्छेका गर्भबाट मेशिन जन्मन सक्छ
भैँसीहरु पाठशाला जान सक्छन्
मान्छे नखाएरै पनि अघाउन सक्छ
हुरी नआउन सक्छ,
समुन्द्रमा छाल नउठ्न सक्छ
हिउँ नपग्लन सक्छ,
मेरो देशको राजधानी अर्कै ग्रहमा हुन सक्छ ।
एक सयौँ शताब्दीको पहिलो साँझ,
मान्छेभित्र कोषिकाहरु, तन्तुहरु, हाड, छाला नहुन सक्छ ।
मान्छेभित्र रगत नहुन सक्छ, मन, मुटु, नहुन सक्छ,
मान्छे फलाम पनि हुन सक्छ
सायद दुख्दैन होला मान्छे
रुँदैन होला, मान्छे ।
एक सयौँ शताब्दीको पहिलो साँझ,
घण्टाघर निदाएपछि मध्य शिशिरमा वसन्त ओर्लन सक्छ,
मेरो घरको टारमा फुलेका नीला शिरीषका बोटका सन्तानहरुले
रगं बदल्न सक्छन्
मेरो घरमा समुद्र जम्न सक्छ
आन्द्रमहासागरमा, सगरमाथा उभिन सक्छ ।
एक सयौँ शताब्दीको पहिलो साँझ,
मान्छेको वीर्य सकिन सक्छ,
फलाम मान्छे र मान्छे फलाम हुन सक्छ ।