कतै तपाईंले त देख्नु भएन ?
दागाने काइँलो
केही दिन अघि मेरा एक मित्रसित फोनमा मेरो भेट भयो । सहपाठी मित्रसित कुरा नभएको पनि धेरै भएको । उनी विगत केही वर्षदेखि निर्वाशनमा पत्रकारितको अभ्यास गर्दै आएका छन् । पत्रकार, त्यसमा शरणार्थी जीवनमा छटपटाइ राखेका ती मित्रसित केही विशेष कुरा गर्ने मौका पाएँ, सार्है चित्त बुझ्यो ।
पत्रकार मित्रको भनाइमा शरणार्थी शिविरभित्र भूटान कम्युनिस पार्टी (मालेमा)का कार्यकर्तासित सम्पर्क हुन सकेनछ। केही दिन अघि शिविर सचिवका विरुद्ध पार्टीले जारी गरेको एउटा दरिलो प्रेश विज्ञप्तीको बारेमा प्रष्ट्याउनकालागि उनले आफ्ना पहुँचका माओवादी भनेर चिनिएकालाई आधिकारिक व्यक्तिको खोजी गर्न सम्पर्क गरेका रहेछन् । तर आखिरमा कुनै उपलब्धि भएनछ ।
मित्रले सबैभन्दा पहिले काठमाडौमा बस्तै आएका एक माओवादीलाई फोन गरेछन् । उनको पार्टीले कुनै पनि त्यस प्रकारको विज्ञप्ती नलिकालेको कुरा ती मानिसले गरेछन् । बरु कुनै अन्य गुटबन्दी गर्नेहरुले निकालेको कुरा उठाएछन् । त्यस पछि बेलडागी दुई विस्तारितका एक सुपरिचित माओवादीको मोबाइलमा उनले डायल गरेको बताए । विचरा, उनलाई पनि पार्टीको गतिविधिको बारेमा के थाहा उल्टै प्रतिपश्न गरेछन् – कसले निकाले छन् त त्यसतो विज्ञप्ती ?
त्यसपछि मेरा पत्रकारमित्र बेलडागी २ शिविरका एक माओवादी भनेर चिनिएका युवासित आफ्नो मोबाइलमार्फत पुगेछन् । सुरुमा त उनलाई के कुरा हो, कुनै अत्तो पत्तो भएनछ । तर मेरा मित्रको कुरा सुने पछि, आफ्नै तरिकामा भाषण दिन थालेछन् । मित्रको कुरा सुन्ने हो भने ती युवालाई त्यस विज्ञप्तीका बारेका कुनै जानकारी थिएन तर पनि उनी परिपक्व भएर कुरा गर्दै थिए ।
आखिर अनेकौ प्रयाश गरेपछि उनले मलाई फोन गरेर भूटान कम्युनिस पार्टी (माओवादी)का कार्यकर्तासित भेट गर्ने पहुँच मिलाइदिन आग्रह गरे । शिविरमा बसोवास भएकाले उनको त्यसप्रकारको आग्रहलाई स्वभाविकै लिनु पर्छ । तर पत्रकारले पनि पहुँच नपाएको बेलामा मेरो के लाग्छ र? मैले आफ्नो सम्पर्क गराउने हैसियत नभएको जनाएँ। मेरो खल्लो कुरा सुनेर उनी निराश भए ।
आखिर म पनि त्यती बुझ्दिन किन भूटानमा लडिरहेका भन्ने माओवादी साथीहरु संचारमाध्यबाट टाढिएका हुन् भनेर । मेरो विचारमा उनीहरुले पनि संचार र जनसम्पर्कलाई देशकै चौथो अंगका रुपमा लिनु पर्ने हो जस्तो लाग्छ । शिविरका रहेका भूटानीलाई धम्क्याउनु मात्र हैन भूटानमा केही गर्छु भनेर साँच्चै लडेका हुन् भने उनीहरु खुल्ला राजनीतिमा आउनु पर्यो र सम्पर्कमा बस्नु पर्यो। नेपाली माओवादीका उच्चपदस्थ नेताहरु संचारको पहुँचभित्रै बसेका बेला हाम्रा साथीहरु किन गुफापसे, कुन एउटा कम्प्यूटरमा बसेर प्रेश विज्ञप्ती निकाल्दै हुन् वा सबैले चिनेका न्यौपाने र गिरी जस्तै अमेरिका छिरिसके ? यी प्रश्नलाई आज नाजायज ठान्न मिल्दैन जस्तो लाग्छ । विचार गर्नोस् है कतै तपाईले हाम्रा ती लडिरहेका साथीहरुलाई पुनर्वास गराउने देशहरुमा त देख्नु हुने हो कि!