कस्तो देश हो भूटान ?

वासु पोख्रेल
ओहायो, अमेरिका

अत्तर उत्पादन नगरेपनि कस्तुरीको वासना छर्ने
डम्फु, ढोलक नबजेपनि सङ्गीतको झर्ना झर्ने
मालवाहक पानी जहाज नचलेपनि मृगतृष्णाको ताल तर्ने
दोहोरी साँझ, रोदी-घर नबनेपनि मयुरको नाच हेर्ने
त्रिवेणीको तस्बिर सम्झाउने, प्रकृतिको देश हो भुटान ।

बिग्रेको घडी नबनाएपनि समयको मर्मत गर्ने
चन्द्रमामा पाइला नटेकेपनि मङ्गल ग्रहको पथ कोर्ने
भौगोलिक कुना-कन्दरा नडुलेपनि सूर्यको परिक्रमा गर्ने
शल्यक्रियाको औजार नभएपनि आकृतिको धड्कन फेर्ने
प्रविधिको ढिस्को उठाउने, विज्ञानको देश हो भुटान ।

सीमा रेखा नाघ्न नपाएपनि स्वतन्त्रताको संस्कार झल्काउने
हिमालको हावा तराई नआएपनि शीतलताको पङ्खा हल्लाउने
फूलका थुङ्गा नढकमक्काए पनि मित्रताको वंगैचा गोड्ने
ब्रह्माण्डले अग्रताको पत्र नदिएपनि सफलताको ऐना टल्काउने
हाँसको चङ्गा उडाउने,   खुसीको देश हो भुटान ।

सेक्पियरहरुको जन्म नभएपनि नाटकको विरुवा  रोप्ने
डाँफे मुनालको पखेटा नदिएपछि पिँजडाको कविता लेख्ने
प्रतिरोधीले कापी-कलम नदिएपनि निबन्धको होड जित्ने
रङ्ग-रोधनको फट्के नथापेपनि इन्द्रेणीको गजल टिप्ने
कथाको काव्य सुनाउने,  साहित्यको देश हो भुटान ।

प्रचण्ड क्रान्तिले विश्राम नलिएपनि शान्तिको दियो सल्काउने
तोक्माले डोको-नाम्लो नबिसाए पनि ढुवानीको छल छल्काउने
गगनचुम्बी महल नबेपनि सम्वृद्धीको चट्टान पल्टाउने
थिम्पु दरबार पखेरा नपुगेपनि अनुशासनको टोपी ढल्काउने
बादलको मान्द्रो ओछ्याउने, चट्याङको देश हो भुटान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *