पुनर्बासपछि नेपाली भाषाको अवस्था, समस्या र चुनौतीहरू
गङ्गा लामिटारे
ओहाईयो, अमेरिका
प्रस्तुत कार्यपत्रको उद्देश्य भूटानीहरू पूनर्वासपछि नेपाली भाषाको आवस्था, समस्या, चुनौती र सम्भावनाको अध्ययन विश्लेषण गरी परिवर्तित परिस्थितिमा नेपाली भाषाको जगेर्ना र विकासका लागि के कस्ता कदमहरू चाल्न सकिन्छ भन्ने सिफारिस गर्नु हो ।
पृष्ठभूमि
भूटानमा अनेक भाषाहरू प्रयोग गरिन्छ तथापि नेपाली भाषा इतिहासको लामो कालखण्डदेखि विभिन्न जाति बिच सम्पर्क माध्यम भाषाका रूपमा रहिआएको सर्वविदित नै छ । नेपाली भाषीहरूको बाहुल्य रहेका दक्षिणका जिल्लाहरूमा मात्रै होइन देशका सबै ठाउँमा नेपाली भाषाको विस्तार र प्रयोग हुनाले यस भाषाको राष्ट्रिय महत्त्व स्थापित गरिदिन्छ । सन् १९८० को उतरार्धदेखि नेपाली भाषामाथि दमन गर्दै श्रृंखला सुरु गरेपछि सन् १९७० दशकमा आरम्भ भएको नेपाली भाषाको पाठ्यक्रमबाट हटाइएपनि चलनचल्तीमा नेपाली भाषा आज पनि उत्तिकै प्रयोग हुने गरेको पाइन्छ । यद्धपि नेपालीभाषाको लेख्यरूप भने भूटान झन्डै झन्डै सकिन लागेको छ । सभा, समारोह, सरकारी कार्यालय र विद्यालयमा नेपाली भाषा प्रतिबन्धित छ ।वास्तवमा सन् १९९० दक्षिण भूटानीहरूका लागि बिर्सनै नसकिने वर्ष थियो । भाषाकै लागि सङ्घर्ष गर्दा भूटानबाट लखेटिइनु परेको थियो । भूटानी राजाको एक देश र एक जनता नामको सफाइ अभियानबाट सीमा कटाइएका भूटानीहरूले भारतमा खुट्टै टेक्न पाएनन् । भारतीय प्रशासनले ट्रकमा कोचारेर मेची तारेको कसैले बिर्सिएको छैन । यसरी सर्वस्व गुमाएर नेपाल प्रवेश गरेका भूटानीहरुलाई नेपाल सरकारको आग्रह र अनुरोधमा सन् १९९२ देखि विदेशी दातृसंस्थाको सहायताबाट शिविरहरूमा औपचारिक तथा अनौपचारिक शिक्षा कार्यक्रम सुरु भयो । भुटानमा मातृभाषाको अध्ययनबाट वञ्चित मानिसहरूका लागि नेपाली साहित्यको पठनपाठनको व्यवस्था मिलाइएको थियो । नेपाली साहित्य प्रचार समिति सिलगढीले सञ्चालन गर्दै ल्याएको भाषा प्रवीणदेखि साहित्य अलङ्कारसम्मको शैक्षिक उपक्रमलाई शिविरमा औपचारिक रुपम सञ्चालन गर्न थालियो । त्यसपछि तमाम भूटानी महिला,पुरुषहरूले यसकार्यक्रममा सामेल भई अध्ययन गर्ने अवसर पाए जसले भूटानको नेपाली साहित्यलाई यहाँसम्म ल्याउन मद्दत गरेको छ । यस शैक्षिक अभियानमा १७ मार्च १९९३ मा गठित “नेपाली भाषा परिषद्, भूटान”को धेरै ठूोलो योगदान रहेको छ । नेपाली भाषा र साहित्यको विकासमा भाषा परिषद्,भूटानले स्थापना कालदेखिनै साहित्यिक,भाषिक र सांस्कृतिक अभियानहरू निरन्तर चलाइरह्यो । सन् १९९१ देखि २००३ सम्मको अब्धिमा साहित्यका परीक्षाहरूमा सहभागी हुने विद्यार्थीहरूको सङ्ख्या १० हजारभन्दा बढिरहेको छ । जस्तै-५१५ले अलङ्कार(स्नातक सरह), १४सय २५ले भूषण(उच्चमाध्यमिक तह), २ हजार ५ सयले साहित्य प्रवेश(माध्यमिक तह), ३ हजार ९ सयले भाषा प्रवीण(निम्नमाध्यमिक तह) , २ हजारले भाषा प्रवेश (कक्षा ६) र ११ सयले भाषा प्रवेश (कक्षा ४)उत्तीर्ण गरेका तथ्याङ्क छ । तर पुनर्बासको क्रमसँगै ती पठन-पाठन र परीक्षाका अभियानहरू अवरुद्ध हुन पुगे । पठन-पाठनका अभियानहरू बन्द भए पनि यसको प्रकाशन र प्रसारणको कार्य भने निरन्तर भइरह्यो । भूटान लिट्रेचर डट कम नामक साइटका संस्थापक रमेश गौतम र अन्य केही साथीहरूको सहयोगमा सन् २००९ स्थापित अनलाइनबाट नेपाली भाषा र साहित्यको प्रकाशन र प्रसारण भने आजसम्म चलिरहेको छ । परिषद्ले सञ्चालन गरेका शैक्षिक कार्यक्रम र साहित्यिक गतिविधिबाट नै आधुनिक साहित्य सिर्जनाको पृष्ठभूमि तयार भयो एकातिर भने अर्कातिर नेपाल र भारतीय कलेज / विश्वविद्यालयहरूबाट उच्च शिक्षा आर्जन गरेर आउने विद्यार्थीहरूबाट पनि स्तरीय भाषाको प्रोगका साथै साहित्य सिर्जनाका कामहरू भए। भाषा परिषदद्वारा प्रकाशित वार्षिक मुख–पत्र भूटानी कोपिलकोबाट साहित्यिक सिर्जनाको थालनी गर्ने अधिकांश स्रष्टाहरू नै अहिले कवि एवं साहित्यकारका रूपमा उदाउदै गरेका छन् । भूटानमा भाषिकाको रूपमा रहेको नेपाली भाषालाई प्रवासमा भएका शैक्षिक एवं साहित्यिक गतिविधिहरूले स्तरीयता मात्र बढाएन अपितु मानक नेपाली भाषाको रूपमा उभ्याएयो । नेपाली भाषाको स्तरीयता र साहित्य सृजनाको उर्वर मानिएको यसचरणमा भुटानमा प्रयोग गरिने जस्तै:-तपाईँ कता हिँडेको हो सम्धी ! आमा बजारबाट आएन । बाबुले खाना खाएन ! दाजु स्कुल गयो ! दिदी मेला गयो आदि वाक्यहरूको स्थानमा सम्धी कता हिड्नुभा थियो ! बुबाले खाना खानु भएन ! दाजु स्कुल जानू भयो । दिदी मेला जानू भा छ । जस्ता स्तरीय भाषा र शुद्ध वाक्यांशहरूको निर्माण र कुशलताको विकास पनि यसै चरणमा भयो । यसरी भाषा शुद्ध बोल्नका साथै सृजना लेखनको स्तरीय भाषाको अभ्यास र प्रयोग गर्नमा निम्न कार्यक्रम र वातावरणको पनि प्रभाव र भूमिका रहेको मान्नसकिन्छः-
-क्याम्पका स्कुलहरूमा नेपाली भाषाको औपचारिक पठन-पाठले
-नेपाली भाषा परिषद्द्वारा चालिएका साहित्यिक एवं भाषिक अभियानहरू
-नेपाली सञ्चार माध्यमहरू जस्तै-नेपाल रेडियो घटना र विचार/एफएमहरू /स्थानीय पत्र-पत्रिकाहरूः भूटान जागरण/ सन्देश र भूटानी कोपिला आदि
-क्याम्पमा साझा सम्पर्क र औपचारिक कामकाजका रूपमा नेपाली भाषाको प्रयोग
-नेपाल र दार्जिङका कलेजहरूबाट उच्चशिक्षा हासिल गरेर आउने शिक्षित वर्गहरू
-सभा, सेमिनार,छलफल,कार्यशाला र सम्बाद र सम्भाषणहरूको प्रभाव
विषय प्रवेश
पुनर्वासपछि भूटानीहरू (जुन सुकै मुलुकमा) अल्पसंख्याक बन्न पुगेका छन् भाषाले तथा संस्कृतिले दुवै हिसाबले । शिक्षाको माध्यम भाषा नेपालीइतरको भाषा भएइदिएको छ चाहे त्यो अङ्ग्रेजी वा डच वा नर्वेजीयन जे होस् ।
पुनर्बासित जीवन सहज हुँदै जाँदैछ । समाजिकरूपमा सङ्गठित हुने क्रम बढ्दैछ । आर्थिक स्थिति सुध्रिदैछ । शैक्षिक तथा प्रावविधिक क्षेत्रमा उत्साजकनक प्रगति हुँदैछ । अब सामाजिक रूपमा गर्नुपर्ने महत्वपू्र्ण काम भनेको एउटै मात्र छ, त्यो हो नेपाली भाषाको संरक्षण । यो कार्य भन्नलाई जति सजिलो छ तर व्यवहारमा उतार्न त्यतिकै गम्भीर र चुनौतीपूर्ण पनि छ । यो कार्य एकल प्रयासबाट मात्र सम्भव छैन । सामूहिक प्रयास र सांगठनिक प्रयत्नको आवश्यकता छ । त्यसैले सबै एक भएर साझा भाषा नेपालीको संरक्षणका लागि जुट्नुको विकल्प छैन ।पुनर्बासपछि भाषाको संरक्षण गर्ने उद्देश्य लिएर सन् १९९३ मा स्थापना भएको एतिहासिक एवं साहित्यिक संस्था नेपाली भाषा परिषद्र,नेपाली साहित्य परिषद् र साहित्य-परिषद् भूटान हुँदै अमेरिकामा दर्ता भइसकेको छ । र पुनर्वासमा पहिलो एवं एतिहासिक अधिवेशन गर्दै गर्दैछ । पुनर्वासमा नेपाली भाषा लोपोन्मुख स्थितिमा रहेका बेला सम्पन्न हुन लागुको साहित्य परिषद् भूटानको यस अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ । अधिवेशन प्रवासमा भाषा रहे पनि यस पुनर्बासको क्रमसँगै क्याम्पहरूमा परिषद्ले सञ्चालन गर्दै ल्याएका नेपाली साहित्यको पढ्न-पाठन कार्य सन् २००९ देखि अवरुद्ध भए एकातिर भने अर्कातिर भूटान जागरण (पाक्षिक) र भूटानी कोपिला (वार्षिक मुख पत्रिका)को प्रकाशन पनि हठात् बन्ध हुनपुग्यो । यद्यपि क्याप्मा साहित्यिक गतिविधिहरू पुनर्बासका कारण अबरूध भए पनि प्रकाशनलाई निरन्ता दिने कार्य भने भइरह्यो छ । सन् २००९मा स्थापित भूटानी लृट्ट्रेचर डट्कम नामको साइटबाट सो प्रकाशन भने अविरल भइरहेको छ । यसै गरी २००९ मा स्थापना भएको ग्लोबल भुट्निज लृट्ट्रेचर पनि पुनर्बासमा सक्रिय रहेको छ । र भाषा-साहित्य र सिर्जनाको क्षेत्रमा काम गरिरहेको छ । त्यसै गरी मातृभाषा संरक्षण समूह पनि पुस्तकहरू प्रकाशनमा सहयोग गरेर भाषाको सेवा गरिरहेको छ। भाषाकै संरक्षणका लागि एक वर्षअघिदेखि जागरण (मासिक खबर) पत्रिका कोलम्बसबाट प्रकाशन भइरहेको छ । ग्लोबल भूट्निज न्युज र भूटान न्युज सर्वेसले पनि सूचना र जाकारीका माध्यमबाट समुदायलाई सेवा पुर्याइरहेका छन् एकातिर भने अर्कातिर खिम खतिवडाद्वारा तयार गरिएको हाम्रो नेपाली भाषा पाठ्य-पुस्तकको(भाग पहिलो) र (दोस्रो भाग) पनि प्रकाशित भइसकेका छन् । २०१६मा टेनेसी निवासी मंगलसिंह तामाङले पनि नेपाली पाठ्य-पुस्तक प्रकाशित गरिसकेका छन् । यसै गरी पुनर्बासको १० वर्षमा साहित्य-सृजनाको क्षेत्र निकै मौलाएको छ । यस अन्तरालमा दर्जनौँ कृतिहरू प्रकाशन भएका छन् । दर्जनौँ लेखक कविहरू उदाउदै छन् । साहित्य जस्तै गीतसंगीतको क्षेत्रमा पनि उत्साहजनक प्रगति भइरहेको छ । दर्जनौँ गीति एल्बंहरू विमोचन भइरहेका छन् । दर्जा गीत-संगीकारहरू जन्मँदै छन् । साहित्य र गीतसंगीतको विकास र विस्तारका लागि पुरस्कार र सम्मानहरूको घोषणा भएका छन् । यसलाई उत्साह जनक मान्नै पर्छ ।तर नेपाली भाषाको पठ्न-पाठनको अभावमा नेपाली पुस्तक पढ्ने र नेपाली गीतसङ्गीत सुन्नेहरुको सङ्ख्या भने दिनप्रतिदिन खस्कँदो अवस्थामा छ । यद्यपि भाषाकै सन्दर्भमा भन्नु पर्दा पुनर्बासको १० वर्षमा १२ वर्षमुनिका बालबच्चाहरूले नेपाली बोल्न छोडेका छन् । अंग्रजीले नेपाली भाषालाई बिल्कुलै विस्थापित गरेको अवस्था छ । अब उताको जस्तो अगेनाको डिलमा बसेर हजुर आमाले नाता-नातिनीहरुलाई सुनकेसरी रानी र अकबर र वीरबलका कथा सुनाउने प्रचलन पनि रहेन । बरु, घरभित्रै पनि पहिलो पुस्ता र पछिल्लो पुस्ता (हजुर आमा र नाता नातिना)बिच नेपाली भाषामा सञ्चार हुनछाडेको छ । नेपाली लेख्न र पढ्न नजान्नुलाई सामान्य मान्न सकिएला तर बोल्नै नजान्नु चाहिँ पहिचानका लागि खत्रापूर्ण मान्नै पर्छ ।अभिभावकहरू बिचमै पनि नेपाली पठन-पाठनबारे विचार र धारणाहरू पनि भिन्न भिन्नै छन् । १५ प्रतिशत अभिभावकहरूले पुनर्बासमा नेपाली भाषाको आवश्यकता नरहेको भन्ने गरेका छन् भने ८५ प्रतिशतले नेपाली भाषा हाम्रो पहिचान भएकाले संरक्षणमा सबै जुट्न ढिला भइरहेको बताएका छन्। यद्यपि केही स्थानहरूमा औपचारिक/अनौपचारिक रूपमा नेपाली भाषाका कक्षाहरू सञ्चालन भइरहेका छ्न् । तर पनि पर्याप्त स्रोत र साधनका अभावमा ती प्रयासहरू प्रभावकारी बन्नसकेका छैनन् । बच्चाहरूलाई नेपाली भाषा पढाउनका लागि कतिपय स्कुलहरूले स्वीकारे पनि नेपाली पढाउने शिक्षकहरूको शैक्षिक योग्यतालाई-प्रमाणित गर्न कुनै प्रणाली नभएकाले धेरै कठिनाइहरू भएको स्कुल डिस्ट्रिकका अधिकारीहरूले बताएका छन् । नेपाली भाषा पढाउने नेपाली भाषाको पठन-पाठनका लागि अहिलेसम्म कुनै सामूहिक / संस्थागतरुपमा पाठ्यपुस्तक समेत तयार गर्ने पहल हुन सकेको छैन । सञ्चालन भइरहेका नेपालीभाषाका कक्षाहरूलाई एकरूपता दिन र व्यववस्थित गर्न पनि सकिएको छैन । स्वयम् सेवी शिक्षकहरू जुटाउन पनि त्यतिकै चुनौतीपूर्ण छ एकातिर भने शिक्षण गर्दै गर्ने स्वयंसेवी शिक्षकहरूलाई शिक्षणसिकाइ सम्बन्धी सामान्य प्रशिक्षण वा तालिमसम्म दिइन सकिएको छैन । नानीहरूलाई नेपाली भाषाप्रति आकर्षक र प्रोत्साहित गर्ने किसिमको पाठ्य सामग्रीको नभएकाले कक्षामा बच्चाहरूको उपस्थिति प्राय न्यून हुनेगरेको छ । कतिपय अभिभावकहरूलाई पनि साझा भाषाको महत्त्व र आवश्यकताबारे थाह नभएर पनि नानीहरूलाई नेपाली भाषाप्रति उत्साहित र अभिप्रेरित गरिँदैन । समय, स्थान र कामको प्रतिकूलताका कारण पनि चाहने र बुझ्ने अभिभावकरूलाई आफ्ना बच्चाहरू नेपाली कक्षाहरूमा ल्याउन-लान पनि त्यतिकै चुनौतीपूर्ण छ । मातृभाषा नेपाली बोल्न नजान्नुमा बच्चारूको मात्र दोष होइन अभिभावहरू पनि त्यतिकै दोषी छन् । किन भने साधारण बोल्चालका लागि ६ वर्षमुनिका बच्चाहरूले घरमै कम्तीमा ३ हजारदेखि ३५ सय शब्दहरू जानेको हुनुपर्छ । तर हाम्रा नानीहरूले त्यस अनुरूप भातृभाषा सिक्ने वातावरण पाउन सकेका छैनन् । पुनर्वासमा बच्चाहरूले नेपाली भाषा बोल्न नजान्नुका पछि निम्न कारणहरू पनि जिम्मेवार छन्-
-अङ्ग्रेजीलाई पहिलो भाषा बनाउनमा अभिभावकहरूको जोड
-घरमा पनि नेपालीको सट्टा अङ्ग्रेजी सिकाउने प्रचलन
-लगभग नेपाली भाषा अब विस्थापित हुने अवस्थामा
-अभिभावकहरूले नेपाली सिकाउनु पर्छ भन्ने गरे पनि व्यवहारमा भने तदारुकता नदेखाउनु
-प्रवासमा रहेका साहित्यिक संस्थाहरूले पनि भाषा शिक्षणमा बिल्कुलै ध्यान नदिनु
-नेपाली पढाउने शिक्षकहरूको शैक्षिक प्रमाण-पत्रहरूलाई प्रमाणित गर्ने एउटा शैक्षिक संस्थानको आवश्यकता
पुनर्बासमा नेपाली भाषाको सम्भावना-
हरेक समस्या र चुनौतीका बिच पनि सम्भावनाहरू खोज्नुपर्छ । सकारात्मक छलफल, विचार विमर्शबाट जस्तै समस्याहरू पनि समाधान गर्नसकिन्छ । यद्यपि सम्भावनै सम्भावनाको मुलुकमा बसेर असम्भावनाको परिकल्पना गर्नु त्यति स्वाभाविक पनि नठहरिएला । तर केही गर्छु भन्ने हिम्मत,साहस र दह्रो इच्छा शक्ति हुनेहरूका लागि यहाँ असम्भव केही छैन,सबै सम्भावना नै सम्भावना छ । नेपाली भाषा पढ्नुपर्छ भन्दै गर्दा अरू भाषा चाहिँ पढ्नै हुन्न भन्न खोजिएको पनि होइन । सँगसँगै नेपाली पनि नबिर्सियौं भन्न खोजिएको हो । अमेरिकामा हाम्रा नानीहरूले दोस्रो भाषाका रूपमा चिनी,स्पेनिस,र जापानी आदि भाषाहरू पढ्दैछ्न् र ती भाषाको सट्टा हाम्रा नानीहरूलाई नेपाली नै पढ्ने अभिप्रेरित गर्नु सबै अभिभावकको जिम्मेवारी हो । एक भन्दा बढी भाषा जान्नेहरूका लागि अमेरिका वास्तवमै अवसरै अवसरको खानी हो । फेरि बहुभाषी हुनका लागि नेपाली भाषालाई छोडेर अन्य भाषा नै पढ्नुपर्छ भन्ने छैन । अब हाम्रा बच्चाहरूका लागि नेपाली भाषा पहिलो त हुनसकेन सकेन । कमसेकम दोस्रो भाषाका रूपमा त बचाऊँ भन्न मात्र खोजिएको हो । हाम्रा आधुनिक अभिभावकहरू नेपाली पढ्दा नानीहरू कन्फ्यूज भए भन्ने गर्छन् र नानीहरूलाई नेपाली सिकाउन अशब्य ठान्छन् । र घरमा पनि अङ्ग्रेजीकै मात्र प्रयोग गर्ने प्रवृत्ति छ । यसप्रवृत्तिले हाम्रो पहिचान र स्वाभिमान कहाँ पुर्याउने हो त्यो अहिले भन्नसकिन्न। भूटानमा अङ्ग्रेजी,जोङ्खा र नेपाली ३ वटा भाषा पढ्नुपर्दा हामी कहिले कन्फ्यूज भयौन । नेपालमा पनि संस्कृत सहित ४ वटासम्म भाषा पढ्दा पनि कन्फ्यूज भइएन । घरमा नेपाली भाषाको प्रयोग नगरेर जन्मसँगै मातृभाषा सिक्न पाउने बच्चाको नैसर्गिक अधिकारको हनन त गर्दै छैनौ ? गम्भीर भएर सोच्ने बेला भएको छ । भाषा जति धेरै जान्यो त्यति राम्रो । तर नानीहरूले अङ्ग्रेजी नै मात्र जान्नुपर्छ भन्ने बहुलठीपन र प्रवृत्ति चाहिँ धेरै नराम्रो ।नेपाली भाषाको औपचारिक पठन- पाठन नभए पनि अ्मेरिकामा हजारभन्दा बढी मानिसहरू नेपाली दोभासेका रूपमा जागिर खाइरहेका छन् । प्राय अ्मेरिकामा नेपाली भाषीहरूको आवागमन भइरहने हुनाले पनि यो पेसा अझ स्थायी र निरन्तर हुने निश्चित छ । यसका साथै केही सहर वा राज्यहरूमा नेपाली भाषालाई औपचारिक रूपमै स्कुलहरूमा प्रवेश गराउने प्रयासहरू पनि भइरहेका छ्न् । नेपाली भाषा स्कुलरूमा प्रवेश गर्नुका साथै शिक्षकहरूको शैक्षिक प्रमाण-पत्रहरूलाई आधिकारिक मान्यता प्राप्त गरेका खण्डमा दुई /तीन सय दक्ष नेपाली भाषीहरूका लागि रोजगारीका प्रशस्त सम्भावनाहरू बढ्दै छन् । यसो भन्दैमा नेपाली भाषा पढ्नु र पढाउनु जागिर खानकै लागि मात्र होइन । भाषा त हाम्रो जातीय पहिचान र स्वाभिमानसँग जोडिएको विषय हो । पुरुखाहरुले जोगाएर राखेको अ्मुल्य निधि हो हाम्रो भाषा । भूटानबाट पुरूखाले यही एउटा भाषा मात्र लिएर आएका थिए । र २० वर्षपछि पुरूखाले दिएको त्यही एउटा भाषा मात्र लिएर हामी पुनर्बासमा आएका छौ । त्यसैले हाम्रो भाषा भूटानका चिसा जेलहरूमा सडिरहेका कैदीहरूको त्याग हो । गोली ठोकी मारिएका दर्जनौँ सहिदहरूको सपना हो । १७ वर्षसम्म भोको पेट,खाली खुट्टा,धुलो धुवाँ र अभावै अभावमा बाँचेर स्वयम् सेवा गर्ने शिक्षक र त्यही अवस्थामा रहेका हजारौँ विद्यार्थीहरूको मिहेनत र पसिना हो र साँझ-बिहान फर्सीको झोल र बगडाको भान्सा पकाएर ख्वाउने ती बुढी आमाको सन्तुष्टि हो नेपाली भाषा । फेरि हामी आफैमा पनि ड्राइवस छौँ । विविध रङ्ग र आकारका छौँ । विभिन्न विश्वास र आस्था बोकेका छौँ र अनेक मातृ भाषा बोल्नेहरु छौँ । यस अनेकता र विविधतालाई एकतामा बाद्ध्ने,विभिन्न आस्थार विश्वासहरूका बिच पनि सद्भाव कायम राख्ने बलियो र विश्वासिलो आधार भनेकै हाम्रो नेपाली भाषा हो । जुनदिन हामी बिचको यो सद्भावको डोरी छिन्छ, त्यसदिन भाषा त सकिन्छ नै जाति पनि विनाश भएर जाने सुनिश्चित छ । त्यसैले हाम्रा भावी सन्तानहरू बिचको एकता,सद्भाव, विश्वास र पहिचानलाई अझ बलियो र सशक्त गर्न पनि साझा भाषा नेपालीको पठन-पाठन नितान्त जरुरी छ । विचार साट्ने र व्यापार बढाउने मात्र होइन भाषा । भाषा हाम्रो अस्तित्व हो । गौरव हो । सान र मान दुवै हो र हो साझा पहिचान पनि । यसो भन्दैमा भाषाको नाममा हामीलाई छुट्टै देश चाहिएको छैन । जातीयताका नाममा राजनीति गर्नु पनि छैन । हामीलाई चाहिएको छ पहिचान सहितको एउटा शान्त,सङ्गठित र समृद्ध नेपाली भाषी भुटानी समाज । समृद्धिका सँगसँगै भाषालाई पनि लैजान सकियो भने पुनर्वास हाम्रा लागि हार होइन जीतैजीत साबित हुनेछ । त्यसैले पुरूखाबाट प्रदत्त यो भाषारूपी नासो अब भावी सन्तानहरूलाई सुरक्षित हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।निष्कर्ष
पुनर्बासकै १० वर्षमा १० वर्षमुनिका बच्चाहरूले नेपाली भाषा बिर्सिए भने तिनीहरूका छोरा-छोरी र नाता-नातिनीहरूको पहिचान र स्वाभिमान के होला ? नेपाली लेख्न-पढ्न नजान्नुलाई सामान्य मान्न सकिएला तर बोल्नै नजान्नुलाई कदापि सामान्य मान्नसकिन्न । यो त पहिचान र स्वाभिमान बिलयको पूर्वसंकेत हो । जातीय सान,मान र अभिमानको समाप्तिको शंखनाद हो । अब एक दुई वटा गजल लेखेर फेसबुकमा राख्दैमा भाषा बाँच्न सक्दैन । पुस्तकरू प्रकाशन गर्दैमा अस्तित्व बाँच्न सक्दैन । एक दुईवटा झ्याउरे गाएर मात्र स्वाभिमान र आत्मसम्मान बाँच्दैन । पुराणमा भजन गाउँदैमा र चर्चमा प्रार्थना गर्दैमा मात्र पनि हाम्रो सम्मान बाँच्दैन । हाम्रो समग्र जायीय अस्तित्वलाई जीवित राख्ने एक मात्र बलियो आधार भनेको नेपाली भाषाको पठन-पाठन नै हो । अब नेपाली पढाएर हामीले असल लेखक बनाउन नसकौला,चर्तित साहित्यकार र समालोकहरू निर्माण गर्न नसकौला । तर वीर नेपाली भएकोमा गर्व गर्ने विचार/र भावनाको वृजारोपण गर्न सकियो भने त्यसलाई ठुलो उपलब्धि मान्नुपर्ने हुन्छ । वर्तमान संसार भरि छरिएर बिलयको सँघारमा पुगेका हाम्रा सन्ततिलाई भाषा शिक्षण अभियानले अवश्य आफ्नो पहिचान र स्वाभिमानप्रति सजक र सचेत गर्ने नै छ । त्यसैले भाषा शिक्षण अभियानलाई व्यवस्थित,संस्थागत, सहज र समयानुकूल बनाएर लैजानका लागि अब साहित्य परिषद् भूटानले अहँ भूमिका निर्वाह गर्नुपर्छ ।
केही सुझाबहरूः
निम्न उपायहरूबारे छलफल र बहस हुन पनि आवश्यक छ –
पहिलो-रिक्वाएरमेन्ड(मापदण्ड) पुरा भएका सहर वा स्कुल डिस्टिकहरुमा नेपाली शिक्षणका लागि सम्बन्धित अधिकारीहरूसँग छ्लफल र परामर्शको आवश्यकता।
दोस्रो- वर्तमान विभिन्न राज्य वा सहरमा सञ्चालन भइरहेका नेपाली कक्षाहरूले सामना गर्नुपरिरहेका समस्या,चुनौती र कठिनाइहरूलाई सम्बोधन गर्दै एउटै किसिमको पाठ्य-पुस्तक निर्माण वा छनौट गरी त्यसको सही व्यवस्थापन र कार्यान्वायनका लागि निर्देशन र निरीक्षण गर्ने जिम्मेवारपूर्ण संस्थाको आवश्यकता ।
तेस्रो-घरनै बच्चारुको पहिलो पाठ्शाला हो र घरमा नै नेपाली बोल्ने र सिक्ने वातावरण तयार गर्नका लागि सचेतना अभियानहरू/ घुम्ती शिविरहरू/ स्कुलपछिका कार्यक्रमहरू सञ्चालनका लागि प्रयास गर्ने ।
चौथो- दृश्य-श्रव्य सहितको, समयानुकूल साझा पाठ्य सामग्रीको आवश्यकता ।
पाँचौँ-पुनर्बासमा नेपाली भाषा पठनपाठनको अभियानलाई संस्थागत,व्यवस्थित गर्न र नेपाली पढाउने शिकक्षहरूको प्रमाण-पत्रलाई प्रमाणित गराउने प्रक्रियाको खोजी गर्न एउटा समितिको गठनका लागि अब साहित्य परिषद् भूटान उठ्नुपर्छ र वर्तमान सञ्चालन हुँदै गरेका नेपाली कक्षाहरूलाई सङ्गठित गर्दै यस भाषा बचाउ अभियानको नेतृत्व गर्नुपर्छ ।
सन्दर्भ सामग्रीः
१) भाषामा बाँचेको हाम्रो अस्तित्व -धर्मेन्द्र तिमसिना (जागरणको १ अपिल १०१८ मा प्रकाशित)
२) भूटान (मासिक अङ्क २, २०१०) खबर पत्रिका- ओबिसीएद्वारा प्रकाशित
३) भूटानी नेपाली साहित्य विगत र वर्तमान-शिवलाल दाहाल (मार्च १८,२०१३) मा भूटान लिट्रेचरडट्कम)
४) प्रतिभा परिचय (२००३) साहित्य परिषद् भूटान-गङ्गा लामिटारे
५) मानिसहरूसँग गरिएका/प्रश्न, छलफल र अनुभवहरूका आधारमा