किन…?

मदन दुलाल
पेन्सिल्भिन्या, अमेरिका

किन…..?
आन्द्रामा पहिरो जान्छ
भुँईमान्छेहरूको
कति उष्णता बाफ बनेर उडिसक्दा पनि
कति खहरे नौ-नाडीमा बगिसक्दा पनि
यी भुँईमान्छेहरू
प्रत्येक पल्ट
अन्धकारमा रम्नु पर्ने
किन…..?
किन….?

सधैँ
सूर्य प्रकाण्ड प्रलाप गाउँछ
निरीह तारा/ग्रहादीमाथि
तारा/ग्रहादीहरूको
निर्मम बलात्कार भइरहँदा
गान्धारी पट्टी
बाँधी रहन्छ ईश्वर
किन?
किन….?

जुनको रश्मि उतार्न हिँडेका
सोचहरूमाथि
जिन्दगी जोहो गर्न हिँडेका
पाखुराहरूमाथि

सुनौलो बिहान खोज्न लम्किएका
जुनकिरीहरूमाथि
उल्का बर्सिन्छ हँ
किन ….?
दु:खछन् राम्राहरू नै
किन…?

प्रेमीहरू प्रत्येक रात
सम्मोहीत पुतलीहरू झैँ
आफ्नै सपनाहरूको मलामी जान्छन्
दम्भित वंश पिण्ड
स्नेह उत्सर्जन गर्न उद्धत छ
किन…?
सबै ….. सबै
पतन उन्मुख छन्
तर
किन……?
किन…किन …. र किन?
समय अखण्ड अलाप गाइरहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *