कृतिचर्चा: वासदेखि पुनर्वाससम्म

आचार्य घनश्याम रेग्मी  
ओहायो, अमेरिका

जीवनभरिको मानसिक मानवीय मूर्त विधा पनि हो इतिहास I यसलाई कथाको, उपन्यासको, कविताको र मानव जीवनमा भएका सुख-दु:ख, हर्ष-विष्मत, घृणा-निन्दा, जाग्रत-स्वप्न, सुसुप्तिकै वरिपरिको उपज हो पनि भनौं ।

‘वासदेखि पुनर्वाससम्म’ नामक कृतिमा डा.लक्ष्मीनारायण ढकालले आत्मसंस्मरणात्मक कथनभित्र औपन्यासिक ढंगले इतिहास समेटेका छन् I अहिलेसम्म आफूले अन्यत्र पढ्न नभ्याएको भित्र परेको इतिहास भेटिन्छ यसभित्र । विश्वमा आ-आफ्नो तरिकाले आ-आफ्नै जीवनको अनुभूतिले लेखिएका इतिहास भए पनि २१औं शताब्दीमा भूटानी नेपालीहरुले भोगेका जीवनकालको अमर पाईलाको उदाङ्गो कथा र व्यथा हो, यो आत्म संस्मरण ।

एकल आत्म संस्मरण भए पनि समस्त विश्वमा रहने नेपालीहरुको भित्री व्यथा व्यक्त गरिएको यस कृतिले सबै नेपालीको मन छुने सामर्थ्य राख्दछ Iअतः डा. लक्ष्मीनारायण ढकाललाई व्यक्तगर्न सक्ने-नसक्ने, लेख्नसक्ने नसक्ने सबैको तर्फबाट यो इतिहास प्रकाशन भएकोमा बधाई दिनु पर्छ । विद्वदवर्ग, बुद्धिजीवी, समाजसेवी लगायत सामान्य वर्गले समालोचना गर्नु पर्छ I समालोचनाले भित्री अध्ययनको रहस्य खुल्ला उझ्यालो आकाशमा तारासरह देखाउछ, र लेखकले पनि समालोचनीय वस्तुलाई हेक्का राख्नु पर्छ । ‘वासदेखि पुनर्वाससम्म’को सिंहावलोकन गर्दा वल्लोपल्लो आवरण सज्जालाई पृष्ठमा गनिएको छैन, कसै-कसैले यसलाई पनि पृष्ठमा समेटेको देखिन्छ I प्रकाशकीय, मन्तव्य, विषयसूचिपछि मात्र पृष्ठांक राखिएको भए पनि आवरण सज्जाको पुछारमा एक ईन्च हरियो र माथिको भाग मल्टि-हरियो हुनाले कृतिको रुप मनोहर भए पनि भूटानको चित्र, छाप्राहरु र पुनर्वासीय झलक पनि केही मधुरो देखिएको छ, यो सुन्दरता नै किताबमा प्रकृतिजन्य पुरस्कार हो जस्मा पृष्ठ २१ बाट सुरुभई  २३२ पृष्ठको संस्मरणात्मक इतिहास सुहानी देखिएको छ । तर आवरण सज्जाको अघिल्लोभित्र बायां र पछिल्लो भित्र दायांमा रहेका संस्मरणात्मक फोटाहरु राखिएकाले पुनर्संस्करणमा मुक्त राख्नु पर्ने देखिन्छ I आवरण सज्जाको सब्ल्याँटो झलकमा नाम ‘वासदेखि पुनर्वाससम्म, भित्रपट्टि अघाडि आत्म संस्मरण, (भूटानी सरणार्थीहरुको (स) दन्त्य छ, यसलाई प्राविधिक गडबडी नै मान्नुपर्छ । कृतिभित्र मार्मिक संस्मरण,आवरणसज्जादेखि तेस्रोमा ऐतिहासिक संस्मरण, तीनठाउँमा तीनै प्रकारको लेखिएकोछ I जसलाई नयाँ आयामिक परिवर्तन हो भन्न सकिन्छ । आवणको पछाडि- लेखक परिचय, प्रकाशक, अन्तार्राष्ट्रीय कोड (ISBN) रहेको छ । अघाडि सूचिमा- प्रकाशक, शुभकामना, स्वकथनमा क्रमशः- अ, ब, स, वर्णानुक्रम इङ्लीस- A, B, C, को क्रम राखिएको देखिन्छ, जो पारम्पारिक क, ख, ग, घ, मा छैन, यो पनि नयाँ प्रयोग देखिन्छ ।

विषय सूचीमा विषयसंख्या नभएर पृष्ठसंख्या लेखिएको यो किताबमा प्रकाशकले लेखकको आफ्नो सजीव अनुकूल-प्रतिकूलको प्रतिबिम्बरुप हो यो कृति भनिको छ I मन्तव्यमा जीवनको प्रतिविम्ब भनेर पुष्टि गरेको छ । साथै डा० ढकालले आफ्नो कथनमा ‘कुनैपनि ऐतिहासिक कुराहरु विस्मृतिको गर्तमा लोप नहुन भनेर लेखिएको किताब हो’ भनेका छन्,जो पूर्वार्द्ध र उत्तरार्द्ध गरेर ७९ शीर्षक मा समेटिएकोछ ।

पूर्वार्द्धमा भूटान भित्रको भाषिक, शैक्षिक र देश निर्माणमा नेपालीभाषी भूटानीहरूको हरुको योगदान र नेपालमा भएको २००७ सालको क्रान्तिको बाछिट्टाले भेटेको प्रभावले भूटानी नेपालीहरु देश-निकाला भएर शरणार्थी बन्नपुगेको तथ्य छ भने उत्तरार्द्धमा शरणार्थी भएर गरिएको फितलो राजनीति, संस्कारजन्य विषय, मानसिक तनाव, भूटानी नेपालीहरु आफ्ना पुरखाको देश भूटानबाट र पछि नेपाली भएर पनि नेपाल राष्ट्रबाट पनि डांडो कटाउनू र मानवीय मूल्य र मान्यता न बुझेका भूटान र नेपालका राष्ट्राध्यक्षहरुले कालान्तर-कालान्तरसम्म भूटानी-नेपालीहरुसमक्ष ठाडोशिर गर्न न सक्नेगरी गरिएको अन्यायका पक्षधर र पुनर्वास गराउने मनकारी राष्ट्रहरू सबैलाई हार्दिक बधाई दिन पनि लेखकले यो किताबमा भुलेका छैनन् । यस अनुरुप अरुले पनि इतिहास लेख्नु पर्छ, लेखौं ।

लेखक आफू स्वयं विद्वान र लेखक पनि हुनाले लेखकहरु, साहित्यकारहरु, उपन्यासकारहरु, सबैलाई यो किताबले केही साहित्यिक खुराक प्रदान गर्नेछ, किनकि यो नेपाली समाजको गहन साहित्यिक कृति पनि हो । यसकृतिमा सरलशैली, बाहिरभित्र एकै सतहमा मीठो भाषा सलल बगेको छ I शब्द र वाक्यहरुको रहरलाग्दो संयोजन छ ,पढ्नलाई झर्को लाग्दैन I यसमा समाज, राष्ट्र, संगठन र व्यक्ति कसैलाई पनि गाली गरिएको छैन, बरु आफू लेखकलाई केही प्रसंगमा उद्वेग-आवेग आएपनि सहनशीलता र क्षमा लयालु भाषाले सरक्क पस्किएको छ । पढ्न सक्नेहरुले पढ्नु पर्छ, न सक्नेले सुन्न पनि ज़रुरी छ I किनकि यसलाई सानो-सानो एउटा ऐतिहासिक (गीता) नै भन्नु पर्छ । यस कृतिको पछि अंग्रेजी भाषामा पनि अनुवाद हुन जरुरी छ ।

यो कृति बालमनोवैज्ञानिक इतिहास पनि हो I साथै यसमा थुप्रै स्थानहरूमा समाज विज्ञान र जीवन दर्शनका सूत्रहरू पनि भेट्टिन्छन् I किताब आफैं बोल्दैन,बोलाउनु पर्छ I यसैले त अक्षर ब्रह्म हो,सरस्वतीको प्रतीक हो किताब ! नम्र स्वभाव, मृदुभाषी,कुशल विद्वान् डा० श्री लक्ष्मीनारायण ढकाललाई समस्त नेपाली-भूटानीहरुको तर्फबाट र म आफ्ना तर्फबाट पनि हार्दिक-हार्दिक धन्यवाद प्रकट गर्द छु ।
नमन्ति सफलावृक्षा: नमन्ति सज्जना जना:।
शुष्क,काष्ठश्च मूर्खश्च न नमन्ति कदाचन !! ।।

[ यस लेखमा व्यक्त धारणाहरू लेखकका निजी विचार हुन्। यी विचारहरूले Bhutaneseliterature.com को आधिकारिक अवधारणा प्रतिबिम्बित गर्दैनन् – सम्पादन समिति ]  

Leave a Reply

Your email address will not be published. Required fields are marked *