कृति परिचय ११: चौंसठ्ठी चौक (गजल सङ्ग्रह)

कृति: चौँसठ्ठी चौक
विधा: गजल
गजलकार: कृष्णदास भण्डारी ‘काइँलो’
प्रकाशक: भूटान गजल मञ्च
प्रकाशन मिति: बि०स० २०६१ (सन् २००४)

भूटानी नेपाली साहित्य जगतमा गजलको लहर भर्खर भित्रिँदै गर्दा र एकाध मात्र गजलका साधकहरूको उपस्थिति हुँदै गर्दा स्रष्टा कृष्णदास भण्डारीले तत्काल अध्ययन, अभ्यास र साधना गरी चौँसठ्ठीवटा गजलहरूलाई बिटो पारेर यो कृति ‘चौँसठ्ठी चौक‘ सन् २००४ मै पाठक समक्ष पस्कने कदमलाई  एकदम साहसी हिम्मत मान्नुपर्ने हुन्छ ।

चौँसठ्ठी वटा गजलहरू मध्ये ४९ वटा गजलहरू चार सेरका छन्, १२ वटा गजलहरू ५ सेरका छन् र ३, ७ र ९ सेरका एक एक वटा गजलहरू छन् । रतिराग र प्रेम प्रणयका शृङ्गारिक संवाद नै गजल हो भन्ने परिधिलाई नाघेर सबै किसिमका विषयवस्तुलाई समेटेका यी गजलहरूको फैलावट विविध र बृहत्तर देखिन्छ । रुक्न, अरकान र बहरहरूको प्रयोग नदेखिएता पनि काफिया र रदिफको राम्रो प्रयोग छ र गजलहरू गेयात्मक पनि छन् । कहीँ पूर्ण काफिया छन् भने कतै आंशिक र कतै मिश्रित काफिया अनि एकाक्षरी काफिया पनि प्रयोग गरेको देखिन्छ । काफिया गजलको मुटु भएकाले काफिया सबै गजलहरूमा भए पनि कुनै कुनै गजलमा रदिफ प्रयोग नभएको देखिन्छ जो अनिवार्य पनि होइन । तर केही अवस्थाहरूमा काफिया विधान राम्रो खुल्न नसकेको देखिन्छ । प्रत्येक मिसराहरु पूर्ण छन्, स्वतन्त्र देखिन्छन् तथापि मुसलसल र गैरमुसलसल दुवै प्रकारका गजलहरू भेटिन्छन् यस चौँसठ्ठी चौकमा । मतलाहरु आफैँमा स्पष्ट छन् तर गजल नं० छब्बिस, बाउन्न, एकसट्ठी र बैसठ्ठी बाहेकका गजलका मक्ताहरुमा तखल्लुसको प्रयोग भएको छैन । भाषिक शैली सरल छ र गजलहरू मिठासपूर्ण र रोचक छन् ।

भूमिका लेख्ने क्रममा नेपाल गजल मञ्चका तत्कालीन उपाध्यक्ष प्रकाश आङ्देम्बे लेख्छन्, “काफिया दोष, लय भङ्ग, हलुकापन, दोधारे अर्थ इत्यादि यहाँ छ भन्नै पर्ने हुन्छ ।” यसको मतलब गजलहरू कमसल छन् भन्ने होइन तथापि केही साधना र केही परिष्कार आवश्यक देखिएको छ । ती अभावपूर्ण र तनावग्रस्त दिनहरूमा मानिसहरूमा साहित्यिक चेत र मोह नभएको अवस्थामा यत्तिको कृति पस्किनु ठट्टा कुरो भने पक्कै होइन ।

मातृभूमिप्रतिको प्रेम र वियोग, शरणार्थी जीवनले दिएको विपन्नता र त्यही अवस्थामा आँकुराएका प्रेमिल पलहरू, प्राकृतिक सौन्दर्य र सामाजिक कुरीतिहरु जस्ता घटना वा अवस्थामा गजलका सेरहरू खुब रमाएकाछन् । शृङ्गारिक सेरहरूले पनि गजलमा राम्रै स्थान पाएका छन्।

प्रकाशकीय, भूमिका, केही शुभकामनाहरू र गजलकारको वक्तव्य सहित जम्मा ७६ पृष्ठको यो कृतिमा धनबहादुर सारू मगरको आवरण सज्जा रहेको छ । नेपाली रुपैयाँ ५१ मूल्य रहेको यो कृति पठनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *