केही रुवाईहरू

मोहन राई
नेदर्ल्याण्ड्स

१)
मैले   रंगाएको   त्यो   सिउँदो   सिन्दुरमा   के  दोष    थियो ?
लगन   मात्र   थिएन   त्याहाँ,  पुरापुरी    मेरो   होस   थियो ।
खै  त  आज   हाम्रो   त्यो   दाम्पत्य   जीवनको     निशानी ?
संस्कारको प्रतिक मात्र हैन त्यस्मा एउटा  पृथक  जोस  थियो ।

२)
नुनिलो  स्वादको नुनहरूमा मलाई  पाऊने  छौ,
संगीतको हरेक  धुनहरूमा   मलाई  पाउने  छौ ।
संसारको जुनै कुनामा रहे पनि  निष्पक्ष  रहनेछु,
बालकरूपी ती गुणहरूमा  मलाई  पाउँने  छौ ।

३)
विदेशमा    पैसा    रूखमा   कदाचित्   फल्दैन   रहेछ,
कतै   रहुँ,  किस्मत   बिना   जिन्दगी   चल्दैन    रहेछ ।
के गर्ने हे दैव? आफ्नो त भाग्य बिधाता नै  महाठग परेछ,
आखिर दशनंग्री  नखियाई  अगेनमा  चुलो  बल्दैन  रहेछ ।

४)
यदि    मानवता     यहाँ    नटुक्रिएको    भए,
संसार मेरै पेवा हो भन्ने सोच नफक्रिएको भए,
आज  किन  विश्वयुद्धबाट  त्रशित हुनु पर्थ्यो र ?
बुद्ध फेरि जन्मन्थे यदि सांसारिक रिति नबिग्रिएको भए I

Leave a Reply

Your email address will not be published. Required fields are marked *