कोरोनाभन्दा खतरनाक छ जातीय विभेदको मुद्दा

सम्पादकीय

मानवजाति जति नै सचेत र विकसित भएता पनि स्वभावगत विभेदको दास हो। यो विभेद चाहे धार्मिक, साम्प्रदायिक, राजनैतिक, आर्थिक या जातीय कुनै पनि प्रकृतिको होस्, हानिकारक नै हुन्छ। अरू विभेदहरूलाई मानवले पचाउँदै आएको भए पनि साम्प्रदायिक विभेद र जातीय विभेदलाई रोक्न असफल भएको अवस्था छ। अरूका तुलनामा यी विभेद सबैभन्दा जटिल र खतरनाक प्रकृतिका पनि हुन्।

अमेरिकामा भर्खरै जातीय विभेदसँग गाँसिएको अमानवीय घटना घटेको छ। त्यसो त अमेरिकामा रङ्गभेदसँग सम्बन्धित थुप्रै आन्दोलनहरू इतिहासमा नभएका होइनन्, तर हाम्रा आँखाका सामु भएको यो पहिलो आन्दोलन हो। यद्यपि विश्वका अन्य भूभागमा पनि यस्ता किसिमका विभेदजन्य घटनाहरू घट्ने नै गरेका हुन्, तर अमेरिकाको मिनिसोठा राज्यमा अपराध अनुसन्धानका लागि पक्राउ गर्नेक्रममा पुलिस कर्मीद्वारा जुन अमानवीय हत्या गरियो त्यसले जातीय विभेदको राजनैतिक ताण्डवलाई उत्पन्न गरायो। अपराध नियन्त्रण गर्नु, आपसमा सानातिना झडप हुनुसम्म ठुलो कुरो थिएन, तर नियन्त्रणका नाममा श्वेत पुलिसकर्मीद्वारा अश्वेत व्यक्तिको हत्या नै गरिनु अवश्य पनि निन्दनीय घटना हो। यसरी कानुनका नाममा गरिने उत्पीडन र हत्याले राजनैतिक स्वरूप धारण गर्ला भन्ने कसैले नसोचेको कुरो भयो।

अमेरिका पहिलादेखिनै भाइरस महामारीका कारण विश्वमा सबैभन्दा अधिक प्रभावित देश बनिसकेको छ। जसका कारण एकलाखभन्दा अधिक मानिसहरूको ज्यान गइसकेको छ भने राेग नियन्त्रण उत्तिकै चुनाैतिपूर्ण बनेकाे छ । यसै अवस्थामा घटेको यस नश्लीय घटनाले अमेरिकाभरि आगो सल्काएको अवस्था छ। महामारीबाट बच्न अपनाइने सामाजिक दुरी जस्ता अभ्यास धराशायी बनेकाछन्।

उता प्रदर्शनकारीहरूले जुन प्रकारले तोडफोड, हत्या, आगजनी र लुटपाट मच्चाएका छन् यो झनै डरलाग्दाे भएकाे छ। बाँच्न पाउने अधिकारको नाराले हत्या र हिंसामा मुछिनाले अधिकार र शान्तिको महत्त्व र शक्तिमाथि प्रश्नचिह्न खडा गरिदिएको  छ। न्यायिक आन्दोलनमा अप्रिय घटनाहरू घटिरहेका छन्।

जातीय रङ्ग लिएको यस घटनाले लगाएको आगो कति लामो जाने हो र कति क्षति हुने हो भन्ने अनुमान लगाउन गाह्रो छ, तर यति चैँ निश्चित छ कि अमेरिकामा अब कोरोना भाइरसका कारण हुने सङ्क्रमण र मृत्यु अझ बढ्ने देखिन्छ।

यस अवस्थामा सबैले शान्त रहेर परिस्थितिसँग लड्न नसिके हानी नै हानी हुनेछ। विशेष गरेर हामी जस्ता सोझा-साझा र निम्न आयवर्गका व्यक्तिहरूका लागि रोजगार परक समस्या र आर्थिक सङ्कटको सामना गर्नु पर्ने दिन आउँदैन भन्न सकिँदैन। कतै साँढेको जुधाइमा बाच्छाको मिचाई नहोस् भन्ने ख्याल गर्न भुल्नु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *