कोरोनाले कोरेको भाग्य

गङ्गा लामिटारे
ओहायो अमेरिका

बिहान बिउँझिदा शरीर भारी थियो र हात-खुट्टा कटकट खाइरहेको थियो,जेम्सको । थकाइले होला भनेर त्यातिर ध्यानै दिएन,उसले । बिहानसम्म पनि सामान्य अवस्था थियो । काममा जाऊँ कि न जाऔँ दोधार भयो उसलाई । “सामान्य हैजा होला, एक दुई दिनमा ठिक भइहाल्छ नि” भनेर ढाडस दिई उसकी श्रीमती जेसिकाले । मन दह्रो बनाएर ६ बजे काममा गयो,ऊ। क्लक-इन गरेर काम गर्न थाल्यो,उसले । ३ घण्टा पछि हन हनी जरो पनि थपियो,उसलाई । खप्नै नसक्ने गरी शरीरका सबै अङ्गहरू दुख्न र पोल्न थाल्यो । “मानो म अब बमजस्तै पड्किन्छु र विस्फोट भएर छरिने छु” लाग्यो,उसलाई । मुर्छित भएर भुईँमा ढली पो हाल्छु कि भनेर भित्ताको सहारामा उभियो,जेम्स ।
दैव संयोग, दुवै दम्पती एउटै कम्पनीमा काम गर्थे, त्यो पनि एउटै विभागमा । छिन छिनमा बिग्रिँदै गएको आफ्नो स्वास्थ्यबारे श्रीमतीलाई अवगत गरायो,उसले । लोग्नेको अवस्था निकै गम्भीर भएको बुझेर छिटो-छिटो मेडिकल सेन्टरमा फोन गरी, र कोभिड-१९ को जाँचको लागि एपोइण्टमेण्ट पनि मिलाइ,जेसिकाले ।

भाग्यवश, “आज कुनै पनि बेला आए हुन्छ, जाँचका लागि ” भन्ने स्वास्थ्य कर्मीको आस्वसनले जेसिकालाई ढुक्क बनायो । मेनेजरसँग बिदा मागेर उनीहरू दुवै गए,मेडिकल सेन्टरमा । महामारीले आतङ्क नै मच्चाएकोले अस्पतालमा प्रवेश गर्न मनाही थियो,त्यस बेला । जेसिकाले “हामी मूल गेटामा छौँ” भनेर स्वास्थ्य कर्मीलाई फोनमार्फत जानकारी गराइ । “गाडीभित्रै बसिरहनु होस्” भन्ने सल्लाह दिए स्वास्थ्य कर्मीले । गाडी भित्रै बसेर स्वास्थ्य कर्मीको प्रतीक्षा गरिरहे,उनीहरूले । ५ मिनटपछि दुई जना स्वास्थ्य कर्मी जाँचका औजारहरूका साथ त्यहाँ आए । झ्याल खोलेर बाहिरैबाट रुई बेरेको लामो घोचो जेम्सका नागभित्र हालेर हल्लायो, एउटा स्वास्थ्यकर्मीले । गिदीमै पुगेजस्तो गरी उ झस्क्यो । च्याप्प हात समाएर तान्यो,स्वास्थ्यकर्मीको ।

“डराउन पर्दैन सर” नम्र एवं भद्र स्वरमा स्वास्थ्य कर्मीले भन्यो ।
कोरोनाबाट सङ्क्रमित छु वा छैन, भनेर जान्नका लागि पनि उसले संयमित हुनु थ्यो र भयो पनि । पुनः त्यो लामो घारो जेम्सका नाकभित्र छिटो-छिटो छिरायो । त्यसरी नै निकाल्यो,स्वास्थ्य कर्मीले । उसले अइय्या नै भन्न नभ्याउँदै नाकबाट घारो निकाल्यो,स्वास्थ्य कर्मीले ।

“यस जाँचको रिजल्ट कहिलेसम्म आउँछ सर ” जेम्सले उत्सुकता प्रकट गर्‍यो । उसको प्रश्न नटुङ्गिँदै ” भरे राती वा भोलि सम्ममा” स्वास्थ्य कर्मीले जबाफ दियो ।
जेसिकालाई भने बिरामीका कुनै लक्षणहरू नै थिएन । त्यसैले परीक्षण गर्न मानिरहेकी थिइन,उ ।
“कोरोना भाइरसबाट संसार आतङ्कित र प्रताडित भएको सङ्कटकालीन समय हो। त्यसैले जाँच नगरी केही पनि जान्न सकिँदैन । को सङ्क्रमित भएको छ वा छैन भनेर । त्यसैले चेक गराएर निश्चित हुनुपर्छ”,जेम्सले पटक,पटक सम्झायो । आनाकानी गर्दै भए पनि उसले लोग्नेको सुझावलाई स्विकार्दै जाँच पनि गराइ । जाँचपछि निकै ठिक भएजस्तो अनुभव भयो,जेम्सलाई। मृत्युको परीक्षण गराएकोमा दुवै खुसी हुँदै घर फर्के । अर्को साताका लागि खाद्य स्टोरहरूमा पसेर उनीहरूले केही सौदा पात गरे । साँझमा घर पुगे, उनीहरू । घरमा पुग्ने साथ जेम्सलाई फेरि जरो आउला झैँ गरेर जीउ कटक खान थाल्यो । औषधिहरू केही पनि थिएन । त्यतिकै सुत्यो उ । जेसिकाले अस्पतालमा फोन गरेर जेम्सका लागि औषधि प्रिस्क्राइब गर्न लगाइ ,डक्टरलाई । शुक्रवार बिहानै उठ्यो, केही हलुका भएको अनुभव गर्‍यो,उसले । घरमा दुई जना दम्पती मात्र । थिए, ४ जना छोरा छोरी पनि । सबैका पखेटा लागे । जसलाई जता मन लाग्यो,त्यतैतिर उडे,चारै जना चरा जस्तै ।

जेम्सलाई जरोका साथै खोकी पनि थपियो । डाक्टरले प्रिस्काइब गरेको जेम्सको औषधि लिन बेलुकातिर क्रोगर गए,उनीहरू दुवै । हिजो जस्तो थिएन,आज त्यसैले उनीहरू दुवै क्रोगर गएका थिए दबाइ लिनका लागि । सौदा-पात सकेर दबाई पिकअपको लाइनमा उभिइरहेका बेला मोबाइलको रिङ बज्यो । गोजीबाट हतार -हतार मोबाइल निकालेर हेर्‍यो जेम्सले । ओहायो मेडिकल सेन्टरको नम्बरबाट फोन आएको रहेछ । डराइ डराइ उठायो,फोन । अब कस्तो खबर सुनाउने हो नि भगवान् भनेर मुटु पनि ढुकढुक गर्न थाल्यो,उसको । हिम्मत गरेर उसले मोबाइल उठायो । कानमा लगेर हल्लो मात्र गरेको थियो । स्वास्थ्य कर्मीले” जेम्स र जेसिका सँग सम्पर्क गर्न सक्छु” भन्यो ।
जेम्सलाई स्पष्ट भयो कि स्वास्थ्य कर्मीले हिजो चेक-जाँच गरेको कोभिडको रिजल्ट सुनाउन चाहँदै छ । अब के भन्ने हो नि । डर लागेर आयो,उसलाई । हतार-हतार जेसिकालाई फोन दियो,उसले । मनमा डर,त्रास र कौतुहलताले एकै पटक गाँजो,उसलाई । सासै रोकेर शुभ खबरको आतुर प्रतीक्षामा उद्वेलित भयो,उ । जेसिकाको अनुहारमा पुलुक्क हेर्‍यो,उसले । अनुहार मरीच जस्तै चाउरी पर्दै थ्यो, जेसिकाको । भाव भङ्गी अचानक बिग्रिएको देख्यो,उसले । अनुहार खुम्च्याइ र ओठ लेप्र्याउँदै जेसिकाले भनी”दुवै जनाको पोजेटिभ”

जुन शब्द सुन्नु नपरोस् भन्दै थियो,जेम्स,त्यही सुन्नु पर्‍यो । मृत्युले आक्रमण गरेको दुखद खबरबाट उ रन्थनियो । संसारमा १२ लाखभन्दा बढी मानिसको ज्यान लिएर पनि नअघाएको मृत्यु आफ्नो शरीरभित्र छिरेको स्वास्थ्य कर्मीको खबरबाट जेम्स बिलकुलै हताश र निराश भयो ।छिटो छिटो घरमा गयो र आफ्ना सम्पर्कमा रहेका साथी र परिवारका सदस्यहरूलाई कोभिड-१९-पोजेटिभ भएको जानकारी गरायो । सबैलाई तुरुन्त कोभिड १९ को जाँच गराउन आग्रह पनि गर्‍यो,उसले ।

१४ दिनसम्म घरबाहिर ननिस्कनु र अन्य कुनै व्यक्तिसँग सम्पर्क र भेटघाट पनि नगर्नु भनेर स्वास्थ्यकर्मीले पठाएको ट्याक्स मेसेज आयो, उसको मोबाइलमा । स्वास्थ्यकर्मीको निर्देशन अनुसार उनीहरू १४ दिनको लागि गुप्त वासमा गए ।

२० देखि २३ जुलाई सम्म जरो मात्र आइरह्यो,जेमसलाई । सामान्य जरोको दबाई खाएपछि जरोले त छोड्यो तर लगातार खोकी सुरु भयो । खोकीका लागि पनि उसले सिरपहरू किनेर खायो । तर पनि २० को उन्नाइस पनि भएन । ३ दिनसम्म निरन्तरको खोकीको चापले छाती र टाउको पनि फुट्ला झैँ हुन थाल्यो,उसको । नाइट कोल पनि मगाएर खायो । त्यसले पनि कुनै लछार पाटो लगाएन । अन्ततः अब बाँचिन्छ नै भन्ने आशा मर्दै गयो,उसको । र पनि घर वरिपरि घुम्ने र हलका एक्स्रसाइसलाई भने निरन्तर जारी राख्यो । आपत्कालीन बाहेकका अन्य सेवाका लागि अस्पतालको ढोका बन्ध थियो,त्यस बेला । अस्पतालमा न एडमिशन नै पाइन्थ्यो नत कुनै किसिमको सेवा नै । कि त होसै गुमाउनुपर्थ्यो कि त मृत्युको सङ्ख्या बढाउनैका लागि जानुपर्थ्यो । अस्पताल लगिएता पनि न जाति भए । न त घरै फर्किएर आए । अस्पताल पनि मृत्युकै अखडा बन्दै थियो। जुन अखडामा जीवन र मरणको महासङ्ग्राम चल्दैथ्यो । त्यस सङ्ग्राममा मृत्युले जीवनलाई पराजित गर्दै थियो । र मृत्युको विजयोत्सव चलिरहेको थियो ।

शोकमग्न थियो संसार । जहिले आँसु र क्रन्दनमा रमाउने मृत्यु छद्म भेषमा घुमी घुमी ताण्डव नृत्य गरिरहेको थियो। कुनै पनि हालतमा यसलाई जित्छु र पराजित गर्छु भन्ने हिम्मत र हौसला गुमाइरहेको थियो,जेम्स । मृत्यु पर्खिनु सिवाय अर्को उपाय थिएन । खोकीले अर्ध मुर्छित पारेको तेस्रो दिन अचानक एक जना शुभ चिन्तकले फोन गरेर भिक्स चकलेट मगाएर खानुहोस्,त्यसले केही सहयोग गर्छ,भन्ने सुझाव दिए । यति धेरै उपचारले त ठिक नभएको नाथे चकलेटले के पो गर्न सक्ला ? पत्यारै पनि लागेन । हुन्छ, भनेर उसले फोन राखिदियो । यो संवाद जेसिकाले पनि सुनिरहेकी थिई । उसले त मगाउनु पर्दैन नाथे भिक्सचक्लेट भन्दैथ्यो । तर जबरजस्ती जेसिकाले एक जना छिमेकीलाई चकलेट किनेर ल्याइ मागी“ के जाने त्यसैले जाति हुने हो कि ? यति धेरै अन्य दबाई त खाएर हेरौँ भने एक पटक त्यसलाई पनि सेवन गरेर हरेनौ, के बिग्रिन्छ” जेसिकाले जिद्दी गरी । केही समय पछि छिमेकी भाइले चकलेट ढोकामा राखिदिएको छ भनेर फोन गर्‍यो । जेसिकाले प्याकेटबाट निकालेर एउटा चकलेट खान दिई । खान त मन लागिरहेको थिएन । तर जेसिकाकै लागि भए पनि एउटा चकलेट जबरजस्ती खायो,उसले । वास्तवमा चकलेट खाएकै दश मिनटपछि खोकी कम हुँदै गयो, बिस मिनटपछि बिलकुलै बन्द भयो,जिउ पनि उघ्रिएको अकास जस्तै चङ्गा र पूर्ति भयो। जबरजस्ती खुवाएको त्यो चकलेट काँडो झिके जस्तै रामवाण साबित भयो, जेमसलाई। अर्को थप्नै परेन,एउटैले कोरोनालाई पराजित गरायो, भन्ने लाग्यो,उसलाई । जीवनको भावी बनेर आएको भिक्स चक्लेटलाई भित्रभित्रै धन्यवाद, दियो जेसिकाले थाह नपाउने गरी।

जेसिकालाई पनि पोजेटिभ भयो तर कोभिडका कुनै पनि लक्षणहरू देखिएन । मात्र उसका नाकले सुगन्ध र दुर्गन्ध छुट्टाउन सकेन । तर त्यो पनि २ दिनमै ठिक भयो,उसले कुनै पनि समस्या भोग्नु परेन जेम्सको जस्तो ।
कोरोनाभन्दा पनि एकान्त वास(कोरोन्टाइन) बढी पीडादायी र खतरा हुँदो रहेछ,भन्ने लाग्यो जेसमलाई । न कुनै किताब नै पढ्न मन लाग्ने न कुनै चलचित्र हेर्न नै । बोल्न मन नलाग्ने ।अर्को बोल्यो भने रिस उठेर आउने । कहिले त झर्को लागेर मोबाइल नै फुटाइदिऊँ जस्तो लाग्ने। हरेक कुरामा झर्को र झन्झट मात्र ।

१४ दिने क्वारेन्टाइन सकेर उनीहरू पहिलो पटक घर बाहिर निस्के । सधैँ चमचमाइ रहने उज्यालो त्यहाँ थिएन । छिमेकी टोल र गाउँ नै सुनसान थियो । गाडीको लस्कर लाग्ने राजमार्ग श्मशान झैँ देखिन्थ्यो । नाकै मुनिको छिमेकी अल्बर्टको घर चकमन्न र भुतबंगला जस्तै देखिन्थ्यो । जसलाई १५ दिन अघि जेम्सले खाद्य सामग्री दहिलोको सामुन्ने राखिदिएको थ्यो,जति बेला कोरोना चेकको जाँचको रिजल्टको प्रतीक्षामा थियो,उ । नजानिँदो गरी दुवै जनाले च्याइ च्याइ हेरे, ५ जना परिवार बस्ने सुन्दर र रमाइलो ३ तले घरभित्र । मानिसको चालचुल थिएन । बत्ती बलेको थिएन । गराजमा गाडी थिएन । घरलाई चारैतिरबाट खतराको फित्ताले कसिएको थियो । महा दुर्घटनाको मुटु नै हल्लाउने सङ्केत दिन्थ्यो,त्यहाँको वातावरणले ।

छक्क परे जेसिका र जेम्स दुवै । जेम्सले बिचमा दुई पटक फोन पनि गरेको थ्यो,अल्बर्टलाई । तर उसले दुवै फोन उठाएको थिएन । सायद, झन्झट लागेर नउठाएको होला भन्ने,उसले सोच्यो । आज उठेन, भोलि गर्छु भनेर उसले फोन राखिदियो । तर राति देखिनै उसलाई पनि कोरोनाले अँठ्यायो । उसले पुन सम्पर्कै गर्न सकेन ।
००

हाँस्दा खेल्दाको एउटा सुन्दर परिवार सिद्ध्याएछ कोरोनाले भन्ने लाग्यो,उनीहरूलाई । उनीहरूका पाइला अघि सरेनन् त्यो ह्रद-विदारक दृश्य देखेपछि । जेम्सका खुट्टा थरर कामे । पृथ्वी नै घुमे जस्तो भयो उसलाई । रिँगटा चलेर थुचुक्क बस्यो भुईँमा । जेसिकाले खरो भयो भनेर पिउन बोकेको पानी अनुहारमा छ्यापेर जेम्स जेम्स भनेर घचघच्याइ । इन्तु न चिन्तु भएर जेम्स ढल्यो,भुईँमा । सासको गति चल्न छोड्यो । नाडीको गति धिमा भएको देखेर जेसिकाले एमर्जन्सी सेवा कल गरी । कल उठेन । मोबाइल मात्रै बजिरह्यो ।
बोकेर घरमा ल्याउन खोजी जेम्सलाई सकिन । हारगुहार गरी कसैले सुनेन । सुनेर पनि कसैले गुनेन । जेम्सलाई त्यहीँ छोडेर घरतिर कुदी जेसिका । दहिलो खोली , चाबी टिपी र गराज खोलेर गाडी स्टाट गरी । सयको रफ्तारमा हाँक्दै जेम्स ढलेको ठाउँमा पुगी । केही न हेरि जेम्सलाई गाडीको पछाडिको सिटमा सुताएर अस्पताल दगुरी ।
बाहिर मान्छेको लामो लाइन छिचोल्दै अस्पतालको गेटमा पुगी उ । मूल गेटमा राखेको एउटा ह्वविल चियर लिएर गई र जेम्लाई कारबाट निकालेर हतार हतार अस्पतालको ढोकामा पुगी । तर दहिलो खुलेन अस्पतालको । लाइनमा उभिएका बिरामी सुसारे बाहेक अस्पतालका कुनै पनि कर्मचारीलाई उसले देखिन ।
मान्छेदेखि मान्छे नै डराउनु पर्नै । पहिचानै विनाको निराकार एउटा जाबो परजीवी जीवाणु । आफ्नो अस्तित्व र स्वरूपै नभएको । तर मानव सभ्यतालाई नै चुनौती दिने कति शक्तिशाली र दुर्जय रहेछ,यो जीवाणु भन्ने पहिलो पटक अनुभूत गरी जेसिकाले ।

अस्पतालको दहिलोमा पङ्क्तिबद्ध उभिएका मानिसहरू बिरामीका सुसारे होइन रहेछन्,ती त कोरोनाले मारेका मान्छेका लास लिन आएका आफन्त रहेछन्, भन्ने बुझी जेसिकाले । बेडहरूमा नअटाएका बिरामीहरू अस्पतालको खाली भुईँभरि पोखिएका थिए। कोरोनासँग कुस्ती खेलिरहेका ती बिरामीहरूले एकपछि अर्को मृत्यु वरण गरेको अभूतपूर्व दृश्यले जेसिकालाई बिलकुलै विचलित र भयभीत बनायो ।
उसले जेम्सतिर फर्केर हेरी । मुन्टो लर्की राखेको जेम्सलाई देखी । कुदेर गई । जेम्स जेम्स भनेर कराइ । शरीर चिसो भइसकेको थियो । जेम्सको भौतिक शरीर मात्र थ्यो त्यहाँ,तर असली र वास्तविक जेम्स त्यहाँ थिएन । मलाइ किन एक्लै छाडेर गयौँ जेम्स, मलाइ पनि साथमा लैजाऊ भन्दै छाती पिटीपिटी रुन थाली,जेसिका । उसलाई कसैले सहानुभूति दिएन । कठै बरा भनेन । निश्चल र निःशब्द भएर मूर्ति जस्तै उभिइरहे त्यहाँ जिउँदा भनिने लासहरू पनि । रित्तो मन,अँध्यारो भविष्य र कोरोनाले कोरेको खोटो भाग्य लिएर जेसिका एकलै घर फर्की ।
लाखौँ महिलाहरूको सिउँदो पुछिसकेको र लाखौँ पुरुषहरूलाई विधुर बनाइसकेको कोरोना मानव सभ्यताकै विरुद्ध कम्मर कसेर अघि बढ्दै थियो,त्यस बेला ।
कोरोना जस्तो महामृत्युसँगको भौतिक युद्ध जिते पनि मानसिक युद्ध जित्न जेसिकालाई महिनौँसम्म लाग्यो । शरीरको स्नायु प्रणाली र पाचन प्रक्रियाहरू भने सबै तस नस बनाइदियो,कोरोनाले । जसलाई पुनर्स्थापन गर्न कहियौँ महिना लाग्यो,उसलाई ।

जान्न र बुझ्न सके कोरोना एउटा सामान्य रुगा खोकी जस्तो मात्र । बेवास्ता र तिरस्कार गरे कालको पनि काल महाकाल रहेछ,कोरोना । बनको बाघले भन्दा पनि मानिसहरूलाई मनको बाघले खाएको रहेछ भन्ने विश्वास भयो,जेसिकालाई । कोरोना भाइरस सामान्य नै भए पनि उसका दुई वटा अवगुणहरू चाहिँ असामान्य र बिर्सनै नसक्ने लाग्यो,उसलाई । “परीक्षण गर्दा नाकभित्र हाल्ने कोचो र १४ दिनसम्मको क्वारेन्टाइनको समय । कोरोनाका सबै अवगुणहरूलाई यसका पीडितहरूले बिर्सिन सक्लान् तर क्वारेन्टाइनको र परीक्षणको घोचो भने उनीहरूका स्मृतिबाट कहिले पनि निस्किएर जान्छ नै भन्न सकिँदैन”कोरोनासँग लडेका २० दिने सङ्घर्षबाट मैले अनुभूत गरेको ज्ञान हो,यो,जेसिकाले भनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *