को जान्छ स्वर्गै तिर?

मधु घिमिरे
मासाचुसेट्स, अमेरिका

बढ्दै लोभ घमण्ड द्रव्य बटुली औधी थुपारौं भनी
बिर्सी प्रेम र सद्वविचार भवमा मान्छे बन्यो बैगुनी
हुन् सत्कर्म विवेक बुद्धि गतिला चोला उठे आखिर
थैली पूर्ण भरेर सम्पति लिई को जान्छ स्वर्गै तिर?१

छैनन् सोच नवीन उन्नति हुने बाटाहरूका कथा
बोकी हिँड्दछ हेर मानिस सधै कुण्ठाहरूका बिटा
गर्दा ईश्वर सोच खोज मनले सङ्लिन्छ भित्री घर
थैली पूर्ण भरेर सम्पति लिई को जान्छ स्वर्गै तिर?२

भाषा संस्कृति भेषका नियमको खिल्ली उडाईकन
प्राणीमा गरिने दया र ममता बिर्सेर आजीवन
मेरै शासनमा चलोस् अवनि यो भन्दै छ मान्छे तर
थैली पूर्ण भरेर सम्पति लिई को जान्छ स्वर्गै तिर?३

गोडा हात र चक्षुमा प्रकृतिको मुस्कान झर्दैन रे
ओजस्वी रवि वा शशी किरणको मायाँ हरायो अरे
इन्द्रेणी छ सुरम्य यो प्रविधिको रम्ने यसै खातिर
थैली पूर्ण भरेर सम्पति लिई को जान्छ स्वर्गै तिर?४

शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *