गजल-४०४
हिमा ढकाल
पेन्सिल्भिन्या, अमेरिका
भावगंगा आँखाबाट झरेको त्यो पानी भन्छन्
बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्।
आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको
जीवनचक्र बुझ्नेलाई नै आखिरमा ज्ञानी भन्छन्।
रोदन, हाँसो बराबरी चल्छ दिनरात जस्तै
यसैलाई नै दु:ख पिस्ने समयको घानी भन्छन्।
जसको दिन सकिन्छ नि घुम्ने फिर्ने संसारमा
काल आई उसैलाई लान्छ छानी-छानी भन्छन्।
नियम नै हो सृष्टिको यो आउनै पर्ने जानै पर्ने
दु:ख मान्नु व्यर्थ हुन्छ, सत्य जानी जानी भन्छन् ।