गजल -४२३
खेम रिजाल
ओहायो, अमेरिका
(सङ्गीत:- सत्य -स्वरूप आचार्य; स्वर:- सत्यराज आचार्य; अल्बम:- पहिलो भेट)
पहिलो भेटमै उनलाई मन पराएको छु
मन पराउँछु भन्न पनि डराएको छु ।
ढुकढुकीमा बस्यौ कतै मौनताको प्रीत बनी
लाग्छ अचेल तिमीमा नै हराएको छु ।
देखिएर एकान्तमा फेरि तिमी ओझेल पर्यौ
तिमीलाई सम्झी सपनी मै कराएको छु ।
जिन्दगीमा आइदिन्छौ वसन्तको बहार बोकी
बाँकी जीवन तिमी तिरै सराएको छु ।
कञ्चन त्यो प्रेमको दीप कोमल स्पर्शले
हृदयमाझ कुलेसोमा तराएको छु ।