‘गान्धीजीसँग’ तीन सदस्य
जे.एन. दाहाल-पेन्सिलभेनियाँ/अमेरिका
हवाईमा किन गान्धीजी? मेरो मस्तिष्कमा प्रश्न तरंगीत हुनथाल्यो । केही थप सिंगल तस्वीर लिएर जु -भित्र पस्ने ईच्छा थियो मेरी श्रीमती गंगाको । छोरी सेजलले पनि फर्की फर्की गान्धीजीलाई हेरिन् । उनको हातको लठ्ठी तान्न खोजिन् । दश महिनाकी बालिका, त्यो उनको स्वभाव उमेर अनुसारकै थियो ।
एउटा परिवारका तीन सदस्यको अष्ट्रेलिया र न्यूजील्याण्डको १५ दिने भ्रमणपछि तेश्रो यात्रा थियो हवाई नामक स्टेट । अझ विशेषत हवाईको पनि ‘हनोलुलु’ शहर केन्द्रमा थियो । त्यो परिवारको एक सदस्य म नै हुँ । त्यस्तैले लेखमा कतै म हुनसक्छु । म नहुन पनि सक्छु किनकी मेरो स्थान हामीले लिन सक्छ । स्पष्ट छ त्यसपल म भन्ने शब्द पुरै हामीमा गएर गाभिन्छ ।
तीनदिने ट्रीप । खासमा न्यूजील्याण्ड घुम्ने सोह्र दिनको समय काटेर हनोलुलु, हवाई स्टेट घुम्न निस्किएका जो थियौं । यसलाई ट्रान्जीटको यात्रा भन्न पनि सकिँदैन किनकि त्यो मल्टीसिटीको टिकट जसमा हवाईको एयर्पोटबाट बाहिर चिहाएर भित्र पसी हाल्नुपर्ने अवस्था पनि थिएन ।
त्यसैले यहाँ तीनदिनको ट्रीपको कुरा छ । तीन दिन? अर्थात् बहत्तर घण्टा । त्यसलाई चार हजार तीनसय जति मिनेट भने पनि हुन्छ । यात्रामा निस्किएको मान्छेका लागि चार हजार तीनसय मिनेट कम समय भने पक्कै हैन ।
एयरपोर्टबाट होटल पुग्दा भर्खर बिहानको दश बजेको थियो । नुहाएर हलुका भएपछि श्रीमती गंगाले भनीन्, “आजको दिन ‘हनाउमा बे’ बाट सुरुवात गरौं । माथि प्रस्तुत तीन सदस्यमध्ये श्रीमती गंगा दोश्रो हुन् । गुगलमा मैले ब्राउज गरें- नीलो देखिने बेको पानी, सुन्दर ‘बीच’ रहेछ ।
मैले हवाईयन भाषामा ‘आलोहा’ आकारमा पोज दिएँ, छोरी र श्रीमती आफ्नै तरीकाले क्यामरामा हेरे । ‘आलोहा’ बुढी र कान्छी औंला ठाडो पारी रहल औंला सुताउनु यसको प्रतिकात्मक चिन्ह हुन्छ । आलोहा यस शब्दको अर्थ अंग्रेजीमा ‘हेल्लो’ नेपालीमा भनीने नमस्कार जस्तै हुन्छ । फोटो क्लिक ! क्लिक !! पहिलो दिनको थकाई- हनाउमा बेको भ्रमण र ईण्डीयन रेस्टुरेण्टको खानाले साँझ उडायो ।
जनवरीको अन्त्यतिर मैसम पौंसठ्ठी डिग्री फरेन हाईट, श्रीमती गंगाकै फर्माईजमा परिवारका तिनैजना सदस्य ‘हनोलुलु जु’ पुग्यौं। यो ट्रीपको घट्ना पनि दोश्रो दिनको विवरण हो । उक्त जु पुग्नु हाम्रा लागि थियो । हामी पुग्यौं तर अरुहरुका लागि? आधुनिकताले आफू पुगेर मात्र काफी छैन, अरुका लागि पनि पुग्नु आवश्यक हुँदै लगेको छ ।
सामाजिक सञ्जालमा यात्रामा बसेको, घुमेको, खाएको आदि कुराको प्रमाण चाहिन्छ । त्यसपछि मात्र दुनियाँले विश्वास गर्छ । त्यसैले ‘हनोलुलु जु’ घि उभिएर फोटो खिच्यौं । सामाजिक सन्जालमा अप्लोड गर्नु अघि त्यसलाई श्रीमतीले हेरिन् । फोटो त एन्टीलाईट परेकाले कालो आएछ । कालो भए पनि मेरा लागिचाहिँ पुग्यौं भन्ने प्रमाण थियो । उनको चित्त नबुझेपछि दोश्रो फोटो जुबाट थोरै वर लिने तयारी हुनलाग्यो ।
यसैबीच छोरी भोकाएको शंकेत बुझियो । प्रिय पाठक, परिवारको तेश्रो सदस्य छोरी सेजल हुन् । यसरी तीन सदस्य एउटा क्यामराको तस्वीरमा कैद भयौं । त्यहाँ म मात्र थिईनँ किनकि त्यहाँ हामी थियौं । याद गर्नु भयो, यो फोटो सेसनमा हामीले म एक वचनको शब्दलाई पुरिदिएको अवस्था छ ।
फोटो खिच्न ‘हनोलुलु जु’को अघिल्लीर विच रहेछ । हनोलुलुमा बीच जता फर्किए पनि देखिन्थ्यो । केही उज्यालो ठाउँ तीनै सदस्य जुको गेटमा पुगेर टिकट नकाटी बाहिरबाटै हिँड्यौ । अहो गान्धी रहेछन्- मैले भनें । वैगुनी रंगको माला लगाएर गान्धी ठिङ्ग उभिई रहेका थिए । यहीँ एउटा फोटो खिच्यौं । श्रीमती गंगा र म सेजललाई बोकेर ‘डोयट’ पालै पालो फोटो खिच्यौं ।
छोउबाट हिँड्ने दुईजना टुरीस्टमध्ये स्त्री चाहिँले सोधिन्-‘तीनै जनासंग्गै फोटो खिच्ने हो ?’ हजुर खिची दिनुहोस् भन्दै श्रीमती गंगाले क्यामरा उनको हातमा दिईन् । त्यसपछि मैले छोरी सेजल उनलाई दिएँ । तिनैजना गान्धीको पाउ छेउ दाँया बाँया उभियौं ।
धन्वाद, मैले ती टुरीस्टलाई मुस्कान साथ दिएँ । जसले तीन सदस्यको एउटा परिवारलाई क्यामरामा एकसाथ उतार्न सहयोग गरे । श्रीमती गंगा नानीलाई फर्मुला बनाएर भुल्याउन लागिन् । त्यो समयको फोटो हेर्दा आज पनि सम्झन्छु ‘गान्धी जी र तीन सदस्य !’
हवाईमा किन गान्धीजी? मेरो मस्तिष्कमा प्रश्न तरंगीत हुनथाल्यो । केही थप सिंगल तस्विर लिएर जु भित्र पस्ने ईच्छा श्रीमती गंगाको थियो । छोरी सेजलले पनि फर्की फर्की गान्धीजीलाई हेरिन् । उनको हातको लठ्ठी तान्न खोजिन् । दश महिनाकी बालिका, त्यो उनको स्वभाव उमेर अनुसारकै थियो ।
म टिकट लिन काउनटरतिर लागें । उनीहरू मेरो पछि उभिएका छन् । मलाई त्यो टिकट लिँदा कति डलर खर्च भयो ठ्याक्कै याद छैन। माफ गर्नु होला डलरको याद नहुँदा त्यसलाई रुपियाँमा अनुवाद गर्न पनि सक्ने कुरा भएन ।
जे होस हनोलुलु जु भित्र हात्ती, बाघ, भालु, बाँदर चरा र अन्य प्रजातिका पंक्षी छन् भन्ने साईन बोर्डमा देखाईएको थियो । हामीले त्यहाँ साईन बोर्डमा टालिएको अनुसार रेप्टाईल्स, वर्डस् र म्यामल्स हेर्यौं । यहाँले यसपल्ट याद गर्नु भयो होला, फेरि हामी शब्दले मलाई उछिट्ट्याइदिएको छ ।
सानो पानीको पोखरी बीचमा साना तन्नेरी कछुवा पौरीरेहका र बुढा ठूल-ठूला कछुवा छेउमा घाम तापीरहेका थिए । म तिनको तस्वीर लिन व्यस्त रहें । तिनलाई आफ्नो क्यारामा उठाउने मेरो ध्यान थियो । प्रिय पाठक यसपल्ट यहाँले याद गर्नु भयो फेरि ‘हामी’लाई पछाडी छाडेर जित्तै ‘म’ पात्र भित्रीयो ।
क्यामरा पर्सन मेरो नजिकमा उभिएर श्रीमती गंगापनि छोरी सेजललाई ती जीव देखाउन व्यस्त रहिन् । सेजल बडो अनौठो मानेर ती जीव हेर्न लागिन् । त्यसकै अर्कापट्टि अग्ला सेतो रंगका बकुल्ला एउटा खुट्टा उचालेर ध्यान मुद्रामा देखिन्थे । अन्य रंगीन चरा र जनावरहरु जसको नाम याद राख्न मुस्कील पर्थ्यो ती पनि हेर्यौं । कतै मुजुर, कतै तुनरुङ्ङ झुण्डिएका चिम्पाञ्जी थिए।
त्यसपछि हामी -तिनै सदस्य जुमा देखाइएका दुई एशियन हात्तीको भित्तामा टाँसीएको ठूलो आकारको फोटो हेर्दै त्यतातिर गयौं । हामी मान्छे पनि एशियन फेरि तस्वीरमै एशियन हात्ती लेखिएको थियो । श्रीमती गंगालाई त्यो हात्ती हेर्ने उत्सुकता जाग्यो ।
साईन बोर्ड पछ्याउँदै हात्तीको बासस्थान पुग्यौं । एउटा ठूलो बन्धेज गरीएको ठुलो पर्खाल थियो । त्यसकै वरपर श्रीमती गंगा र म हात्ती खोज्न तल्लीन रह्यौं । पर्खालभित्र हात्तीले कुल्चिएको हिलो माटो र त्यसको गन्ध आलै थियो । त्यहाँ पानीको आहाल पनि देखियो तर हात्ती कतै देखिएन ।
मैले यस्तै, बाह्र वर्षको उमेरमै भारतको बंगाल राज्यमा हात्ती देखेको थिएँ । मैले यस्तै शब्दको प्रयोग गरें किनकी ठ्याक्कै बाह्र या तेह्र हो उहिले त्यो याद हुन सकेन । हात्तीको दृश्य देख्न नपाउनुमा मलाई कुनै दु:ख मनाउ थिएन । भ्रमणमा निस्किएकी दोश्रो सदस्य श्रीमती गंगा केही दुखीत भईन् । बोर्डमा हात्ती देखाईयो भित्र छैन । उनी सही थिईन् -टिकट काटेपछि जु भित्रका सबै जनावर र पशु-पंक्षी हेर्न खोज्नु ग्राहहको चाहना हो । हेर्न पाउनु ग्राहकको अधिकार हो । यसबीच स्टोलरमा कैद छोरी सेजल त्यहाँको तातो हावा र गर्मीका कारण थकाईले निदाई सकेकी थिईन् ।
त्यस दिन हामीले हात्ती त देख्न पाएनौं । तस्वीरमा टाँसिएका हात्तीको विवरण पढ्न थाल्यौं । ती हात्ती ईण्डीयाबाट ल्याईएका रहेछन् । त्यसै त साईन बोर्डमा एशियन हात्ती लेखिएको हो । त्यपछि बाँयातिर रहेका रङ्गीन फूलहरूसँग फोटो खिच्ने ईच्छ श्रीमती गंगाको थियो । म कहिले श्रीमान बन्थें त कहिले क्यामरा पर्सन । त्यसदिन मेरो उनका लागि डबल रोल थियो । फूलको मात्र सिङ्गल फोटो खिचेर उनीतिर फर्की “रेडी?” म बीचबीचमा सोध्थें ।
क्लीक! क्लीक! गर्मीले निधार पुछ्दै दुई सदस्यको थकाई मार्ने योजना बन्यो । त्यहाँ छेवैको बेन्चमा बसेर ‘हनोलुलुमा किन गान्धी?’ म चाहिँ फोनमा रिसर्च गर्नथालें । उनी भने नानीलाई ईस्ट्रोलरमा सहज तरिकाले सुत्ने व्यवस्था मिलाउन थालिन् ।
ईण्डीयाका हात्ती अनि हनोलुलु जुका अघि गान्धीको सालिक! म केही त अवस्य छ भन्ने सम्भावना खोतल्न थालें । आखिर मान्छे हिँड्ने भनेकै सम्भावना बोकेर त हो । फोनमा एउटा आर्टीकले देखें जसमा लेखिएको थियो- स्टेपीन सि लोवे -ले सन १९९० मा गान्धीजीको सालिक निर्माण गरेका थिए । गान्धीलाई एक शान्तिप्रेमी मानिसका रूपमा परिचित भएका र यो क्षेत्र शान्तिको लागि परिचीत छ- भनेर राखीएको हो- भन्ने भाव बोकेको लेख थियो त्यो।
त्यसपछिको हाम्रो यात्रा ‘डाईमण्ड हेड स्टेट पार्क’को थियो । तीन सदस्य दोश्रो दिनको दोश्रो यात्रातिर लाग्यौं ।
डाईमन हेडमा घुमेर थकान भएर साँझ होटल फर्किएपछि श्रीमती गंगाले भनिन्- “त्यो फोन मलाई दिनु त ! हामी हनोलुलु जु र डाईमण्ड हेड पुग्यौं । हामी पुगेको अरु मान्छेले नदेखेसम्म थाहा पाउँदैनन् ।” म समुसुक्क हाँसे। श्रीमती गंगा ठीक भनिरहेकी थिईन। यो आम मान्छेको स्वभाव नै हो ।
प्रिय पाठक, म श्रीमती गंगाको ‘हामी’ भित्रै गायब भएँ । यहाँ पनि एकपल्ट गम्भिर भएर सोच्नु होस्- आजको आधुनिक दिनमा कसैले तस्वीर या भिडीयोमा नदेखेसम्म गफकै भरमा म त्यहाँ पुगें, घुमेर आएँ भन्दा पत्याउने अवस्था छ ? कसले विश्वास गर्छ ? अरुका लागि भएपनि श्रीमती गंगाले सामाजिक संजालमा तस्वीर हालेर हवाई स्टेटको हनोलुलु भन्ने ठाउँ पुग्यौं भन्ने सन्देश पेश गरिन् । जसमा तीन सदस्य गान्धीजीको छेउमा उभिएको तस्वीर विशेष थियो ।