गिट्टीमा सपनाहरू कुटेर

स्रष्टा तारा पराजुली/ मोरङ-नेपाल

यति बेला
बेखबर जूनलाई सम्झियौ होला
उही पुरानो कुञ्जोमा फेसो हाल्दै
बेपत्ता उसका पाइलाहरू भुइँभरि खोज्यौ होला
अँध्याराका जुनकिरी बोलाएर
बीच बाटाका पदयात्री रोकेर
उसको खबर सोध्यौ होला
उसले लगाएका बरबगैँचा, लटरम्म सुन्तला
आँखाभरि झुन्डिरहँदा
तिमीले पनि फलायौ होला
साँघुरो कोठेबारीमा कतिकति विरह र वेदना ।

हाँडीबाट उछिट्टिएको मकैझैँ
ऊ आँखाबाट ओर्लिएको यस्तैे बेला त हो
सम्झिरहन्छु आवाजहरूमा
अभावको घुम खप्टिँदै
टवाक् ट्वाक् ट्वाक् गिट्टी कुटिरहेकी तिमीलाई ।

चुहुने पालमाथि टाँगेको वर्तमान
उत्तिखेरै चुहुन्थ्यो
अझै, त्यसैले छल्दै हौली यो घामपानी
त्यसैमा टार्दै हौली
यी साँझबिहान ।

मलाई थाहा छ
रहरले फुले जङ्गली फूलहरू
फुल्नै पर्ने भएर फुल्थे आँगनका फूलहरू
त्यो एक्लो र रोगी नियति
उसै गरी पछ्याइरहेको होला
अझै लखरलखर ।

हराएका आँसुहरू खोज्दै
कैयँौँ भोल्गाहरू छाम्यौ होला
भन्थौ, खोजिरहन्छु नभेटिएसम्म आँखाका मोतीहरू ।

रहर गन्हाउने यी माटाका डल्लाहरू देखेर
सराप्छ्यौ होला, धिक्काछ्र्यौ होला, थुक्छ्यौ होला ।
तर नथुक्नू माटालाई
भुक्किएर पनि
नसराप्नू माटालाई
विर्सेर पनि
साह्रै ठूलो गुन लगाएको छ माटाले त,
टेक्ने छाती दिएर
सहने मन दिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *