गीत

क्षितिजको मित्र प्रकाश धमाला / एडिलेड, अष्ट्रेलिया

ताराका गहना जुनको टीको तिमीलाई दिउँला
बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला
यो शून्य ठाउँमा बिरहको भाका समाई सुनौंला
नभए प्रिय दुई थोपा चिनो आँसुको थामौंला ।

सुखको सपना बुनेर तिमीलाई दिन कहाँ सक्छु र
नौ तले घर, धनको बस्ती लान कहाँ सक्छु र
तर म लान्छु मनको घरमा, मनको बस्तीमा
जहाँ तिमी रम्छौ पवनको सुर चराको गीतमा
प्रेमको प्रतिक गुलाफ टिपी सिरमा सिउरिउँला
नभए ….

यो साथ छुटे नरुनु तिमी बाँच्नु है घाम भै
जलेर आफू दिएर प्रकाश यो सुन्दर संसारलाई
म हेरी रहुँला आकाशबाट तिमीलाई बिहानी
डढेलो लागे मनमा तिम्रो झरुंला भै पानी
तिमीले टेकेको गोरेंटोसँग मितेरी गाँसुला
न भए ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *