गुमाने र म -१
“आमा भनेको जीवनको स्रोत हो, आमाको ममताले हामीलाई जुग जुग जिउनु भन्छ, बल्ल बल्ल पाएको मानव चोला व्यर्थैमा फालेर कदापि आत्महत्या गर्नु भन्दैन । त्यसैले आत्महत्या भनेको मानवसभ्यताको विरोधी कदम हो”, नेपालीभाषी भूटानी समाजका एक गायक तथा संगीतकार किशोर सिवाकोटी निकै ठूलो स्वरमा मञ्चबाट यसरी बोलिरहेका थिए । सन्दर्भ के थियो भने ओहायोको एक्रोनमा सन् २०१५, फरवरी २८ का दिन आयोजित “आत्महत्या नगरौं, जीवनलाई माया गरौं” भन्ने सन्देशमूलक सांगीतिक कार्यक्रमका आयोजकमध्ये उनकै दिवंगत आमा मेनुका सिवाकोटीको सम्झनामा स्थापित ‘मेनुका मेमोरियल फाउण्डेशन’ पनि एक थियो । म पनि कार्यक्रममा उपस्थिति जनाउन हत्तारिँदै पुगेको थिएँ । आफूलाई ‘लेबर यूनियन’को मिटिङमा पुगेर नेपालीभाषी कामदारहरुको पक्षमा केही कुरा राख्ने अवसर मिलेको पनि त्यही दिन थियो । एकाध पढे-लेखेका व्यक्तिहरुले अमेरिकाका सामाजिक संस्था र सरकारी कार्यालयहरुमा रोजगारी पाएको कुरा पनि देख्न नपाइएको हैन । तर, नेपालका शरणार्थी शिविरबाट अमेरिका पसेका ८० हजारभन्दा बढी संख्याका भूटानीमध्ये अधिकांशले ‘एन्ट्री लेवल’ मजदूरी नै गर्नुपरिहेको छ यतिका वर्षसम्म । अस्थायी रोजगारी, प्रावधान र नियमावलीहरुको सुझबुझ कम, अनायसै नोकरीबाट निकालिनुजस्ता कुरा पनि आत्महत्याका सहायक कारण भएको मैले महसूस गरेको थिएँ । यसैले आत्महत्या निरुत्साहित गराउने प्रयासस्वरूप सांगीतिक-वैचारिक कार्यक्रम र यूनियनमार्फत मदजूरहरुको सहुलियतका लागि छलफलको उपकारी काममध्ये मैले कुनलाई प्राथमिकता दिने भन्नेमा द्विविधा कायमै थियो । यता वर्षदिनको ‘लिज एग्रिमेण्ट’ सिद्धिएकोले पुरानो घर छोडेर नयाँ ठेगानामा सर्नुपर्ने हतारोले पनि मलाई गाँजेको थियो ।
त्यसैले कार्यक्रम सकिन्जेल बसेर रमिता हेर्नेभन्दा पनि टाढा-टाढातिरबाट आएका केही मित्रहरुलाई भेटेर आफ्नै कामतिर लाग्ने अठोट लिएँ । कार्यक्रम शुरु भइसकेको थिएन त्यसैले, अतिथिहरुको लहर पार गर्दै आयोजक टोलीका सदस्यहरुको अनुहारसम्म हेरीहाल्छु भनेर स्टेजमाथि नै चढें । किशोर सिवाकोटी, अम्बर सुब्बा, अर्जुन रसाइलीलगायत अरु केहीको मेलैले अनुहार हेरिसकेर तल ओर्लिएँ । स्टेजबाट ओर्लेपछि दर्शकदीर्घामा बसेका डा. छविलाल तिम्सिना, डा. नरेश लावती र डा. टेरी क्हुनसँग हातसम्म मिलाउन भ्याएँ र अघि बढ्दैमात्र के थिएँ एक्कासी एमेरिकी सरकारअन्तर्गत ‘ओआरआर’ (अफिस् अफ् रेफ्यूजी रेसटेल्मेण्ट)-का राष्ट्रिय अनुसन्धाता तथा संयोजक गोरन डिबेल्नोजिकसँग जम्काभेट भयो । उनीसँगको सामान्य भलाकुसारीपछि छुटेर फिलाडेल्फिया जनस्वास्थ्य विभाग-अन्तर्गत शरणार्थी स्वास्थ्य संयोजक पऱ्याकुश सुवेदीसँग देखादेख भयो । उनीसँग पनि हल्का परिचयात्म औपचारिकता सकेर ढोकातर्फ बाटो लिँदैथिएँ परैबाट कसैले छेउमा आउने संकेत गऱ्यो । मेरो हतारको समय नबुझी अल्झाएकोमा मनमनै दिग्दार लाग्यो तैपनि छेउमा नगई भएन, कोही चिनेको मान्छे होला, टाढाबाट आएको…! मेरो नैतिक दायित्वले पनि उसको मुस्कान पछ्याउन कर लगायो ।
हात हल्लाउँदै उसकै छेउमा पुगें । पहिले जम्ले हात गरी नेपाली नमस्ते र पछि अंग्रेजी ढाँचाको हत्केला टाँस्ने काम गरेपछि मैले नि उसै गरिदिएँ । उसले मलाई छेवैको सीटमा बस्ने संकेत गऱ्यो, म बसें । कतै देखेको, चिनेकोझैं लाग्ने; फेरि सम्झन सकिनँ । “दाजै, चिन्नुभएन कि, धेरै भो भेटघाट नभा’को, म गुमाने ‘क्या’, सेक्टर बी, राशन गोदाम छेउमा घर (छाप्रो) थियो । हाम्रै घर अगाडि बसेर ‘परतिनिधि’ले सब्जी, चिनी, दाल बाँड्थे ।” यति भन्दाभन्दै उसको अनुहार केही अँध्यारो हुँदै गयो । उसले आफ्नो विवरण पेश गरी सक्ता नसक्तै मेरा एक सहृदयी योद्धा मित्र टि.पी. मिश्रद्वारा भर्खरै प्रकाशित कथा ‘सुसाइड नोट’को एक पात्र धेरै दिनपछि बादल फाटेको आकाशमा चम्किने तारा झैं मेरो स्मृति पटलमा टल्कियो । उही हो गुमाने ठूले…मैले मनमनै किटान गरें, उही हो । माया पनि कति लाग्यो कति, अचम्म पनि लागिरह्यो । हर्षविभोर पनि भएँ । गुमानेको विगतमा गएर मेरो मस्तिष्क अल्झिएछ…टिठ लाग्दो अनुहार देख्यो क्यार मेरो कल्पनाले उसको भावभंगीमा, ऊ बोल्दै थ्यो, म सुन्दैमात्र थिएँ । “दाजै, सबैले भन्छन् जीवन अमूल्य छ; मलाई थाहा छैन यो अमूल्य छ कि मूल्यहीन छ । तर, अग्रजहरुको हौसला र प्रेरणा अनि परिवारका आफूभन्दा ठूला सदस्यहरुको माया पाएर जस्तै चोट पर्दा पनि आँट लिएर बाँचेको छु दाजै ।” उसले त्यसपछि के के भन्यो मलाई याद भएन तर, मानसपटलमा उसकै प्रतिमा सजीव भएर उठ्यो सिनेमाको रिलझैं । पूर्णिमाको फट्टिक चन्द्रमालाई बादलले छोपेझैं मलाई शिविरमा छँदाको सम्झनाले लपेट्यो ।
गुमानेका बा’ सोर्गे भएको दिन घाट लाँदा खास्सै मलामीको संख्या देखिएन । अलिक कमजोर हैसियत र गरीबको न बाँच्ताका हितैषी धेर हुन्छन्; न त मर्दाका मलामी । त्यसमाथि त्यो दिन झरी परिरहेको थियो । शिविरमा दाउराको अभाव त छँदैथ्यो, स्थानीय वनसमितिले निश्चित शूल्क तिरेपछि लाश जलाउन जोखेर दिने गरेको अलिकति काठ पनि पानीले भिजेर बोक्नै नसक्ने अवस्था थियो । गुमानेको अनुहार हेरेर माया दर्शाउन आएका केही लाठेहरुले मरितरि बोके अलिकति काठ, कसैले साइकलमा लादेर त कसैले आफ्नै काँधमा । “लाश जलाउने दाउरा कम, त्यो पनि पानी झरीमा”, मलामीका झुण्डहरुबीच यस्तै गानगुन सुनिन्थ्यो । गुमाने र उसका सानिमापटिका दुई भाइहरु चिण्डो-मुडुलो, चिताको छेउमा झोक्रिरहेका थिए । झरी मत्थर भए पनि दाउरा नपुगेर लाश नजल्ने भएपछि बुढाहरु कराउन थाले,“लु दाउरा खोज्न जाओ ठिटा हो ।” शिविर छेउकै खोला किनारको जंगलबाट एउटा लडेर मक्काउनै लागेको मूढो बोकेर ल्याइहाले केही ठिटाले ।
यसरी दिन ढल्किन लाग्दा लाश जलाएर मलामीहरु शिविरका छाप्रा-छाप्रामा पसिसक्नै पाएका थिएनन्, नजिकैको सामुदायिक वनसमितिका केही मान्छेले गुमानेलाई समातेर कैदीझैं थानामा जिम्मा लाइदिए । शिविर वरपरिको जंगल फाँडेर दाउरा बेचेको, दुई नम्बरी ढंगमा वनविनाश गरी काठ तस्करी गरेको जस्ता आरोपित मुद्दाको दाबी गुमानेमाथि रहेको थानाका पुलिसहरु बताउँदै थिए । कोही पुलिसहरु यसो पनि भन्दै थे’,“एउटा नेपालीले अर्को नेपालीलाई किन यति धेरै अन्याय गरेको, यस्तो दुःख परेको बेला नचिनेकै मान्छेलाई पनि सहयोग गर्नुपर्ने ! आखिर त्यो शिविरको भूटानी भए पनि खून त नेपालीकै हो निः ! साँच्चै भन्दा साहु-महाजन र गरीबका बीचको साइनो यस्तै हुँदो र’छ । शिविरकै भए पनि धनी-मानीहरु त नेपालका गाउँ-बस्तीमा पनि मानिएकै छन् । अड्डा-अदालतमा पनि पैसासँग इमान साटिएकै छ । अब हेरुँ भरे हाम्रा हाकिमले कस्तो न्याय सुनाउने हुन् ।” बाँसको टाटीले बारिएको थानाको चौघेरा बाहिर थुप्रो लागेका केही परिचित र अपरिचित मान्छेहरु खास-खुस गरिरहेकै थिए, “यी प्रहरी पनि कमका छन् र, मुद्दाका बादी-प्रतिवादी जताबाट धेरै घूस आयो उतै पाटोलाई जिताइदिन्छन् । त्यसमाथि स्थानीय वनसमितिको मुद्दा शिविरका शरणार्थीविरुद्धमा ! स्थानीयवासीको गल्ती र अन्याय देखाउने यी पुलिसको कहाँ हिम्मत हुन्छ र शिविरका मान्छेले न्याय पाउँथे यहाँ; यसै थाहा भइहाल्छ निः भरे के हुन्छ भन्ने कुरो ।”
हुन त शरणार्थी प्रभावित क्षेत्रका स्थानीय नेपाली र शिविरवासीको खूनको पुस्तैनी नाता नभएको हैन । तर, उनीहरुबीचमा एकातिर देश नहुनुको पीडा, अभावहरुको खाडलभित्र जीवनले दैनिक मागेका कुराको गर्जो टार्न नसक्ने गरी ‘सुक्को’ पैसो नहुनुको अड्को थियो भने अर्कोतिर स्वाभिमान बन्दकी राखिएकै भए पनि राष्ट्रियता थियो र सामान्य आर्थिक हैसियत थियो । भूगोलको एक टुक्रा माटोमा ठडिएको एउटा घर ‘मेरो हो’ भन्ने धाक उनीहरुमा मौजुद थियो । सूर-ताल नमिलेकै एकोहोरो गीत भए पनि उनीहरुसँग नागरिक स्वतन्त्रता थियो । शरणार्थी प्रभावित क्षेत्र वरपरिका स्थानीय र शरणार्थीबीच बेलाबखत जति नै “तँ-तँ, म-म” हुने गरे पनि दोहोरो समागम भने सुचारु नै थियो ।
गुमानेलाई त्यो अवस्थामा समातेर थाना पुऱ्याउने स्थानीयवासीहरु पनि त्यो दिनमात्र त्यहाँ आएका अपरिचित भने थिएनन् । उनीहरुको रासोबासो शिविरभित्रै जस्तो हुन्थ्यो । दुई बोट साग उमारे शिविरमै बेच्न ल्याइपुऱ्याउँथे, एक पावा दूध पनि बट्टामा एक लिटर बनाएर शिविरमै ल्याइपुऱ्याउँथे । गुन्द्रुक र खुर्सानीमात्र हैन, स्थानीय गाउँबाट बेथु झार, मानेका डाँक्ला लिएर शिविर छिरेकाहरु पनि शिविरबाट एक छाक टार्ने सातु-चामल लिएरै फर्किन्थे । यस्तो सम्बन्ध थियो गाउँ र शिविरबीच ।
गुमानेलाई थाना पुऱ्याएइको केहीबेरपछि सेक्टर बी-मा हल्लै चल्यो,“गुमानेकी आमा सस्तो ज्यालामा धान काट्ने खेताला नगइदिनाले तिनले शिविरमा पसेर यति गराए ।” अलि पर चौरमा दूबो झारमाथि पलेंटी कसेर एकजना छरितो छाटकाँट परेका, फ्रेञ्चकट दारी पालेका व्यक्ति पनि बोलिरहेकै सुनिन्थ्यो यसरी,“धर्म, संस्कृति मिल्ने, भाषा र भावना मिल्ने, पुर्ख्यौली पारिवारिक नातासमेत भएका मान्छेबीच त आर्थिक विपन्नता र राष्ट्रियताको प्रश्नले यति ठूलो पर्खाल खडा गर्नसक्छ भने भूटानमा सदियौंदेखि रहेका नेपालीभाषी र तिब्बतीय मूलका राजखलकबीचबाट उठेको राजनीतिक द्वन्द्वलाई सामान्य मान्नुपर्छ । मान्छे मान्छेबीचमा इर्ष्या, डाह, मोह, लालच, घमण्ड, धुर्त्याइँ सबैथोक सधैं भइरहन्छ, व्यक्तिको इकाईमा सीमित रहेसम्म यो कुरो सामान्य हुन्छ तर, समाज र जातिमै हैंजा बनेर यो कुरो जब फैलिन्छ भने देशकै लागि घातक हुन्छ, भूटानमा यही भयो, नेपालमा पनि एक-दुई वर्षमा त्यस्तै हुने लक्षण देखिँदै छ ।” मैले गुमानेलाई थानाभित्र कसले के भन्छ भन्दा पनि चौरमा पलेंटी कसेर यस्तो भाषण दिने ती व्यक्तिका कुरामा ध्यान बगाएँ तर, तिनका कुरा केही बुझें, केही बुझिनँ !
यस्तैमा एउटा मोटर साइकल हुइँकिएर आई थाना छेउमा रोकियो । थानाका स.ई., एकजना ठिटौले केटा प्रहरी पोसाकमा, हातमा चाबीको झुत्तो घुमाउँदै भित्र पसे । “सेक्टर हेड भित्र आउनु रे, हाकिमले बोलाइस्या छ”, एउटा पुलिस बाहिर आएर उर्दी जारी गऱ्यो । चिण्डो मुडुलो निन्याउरो अनुहार लिएर बसेको गुमानेलाई पनि सेक्टर हेड भित्र पसेको बेला ढोकाबाट पिलिक्क देखियो । वनसमितिका ‘गन्यमान्य’हरु अघिदेखि भित्रै थिए । केहीबेर पछि शिविरको शान्ति व्यवस्था कायम राख्न खटाइएका पुलिस (नेपाल प्रहरी)- का स.ई. ले न्यायाधीश शैलीमा मुद्दाको एकतर्फी फसेला सुनाए,“अमुक भूटानी शरणार्थी शिविर-अन्तर्गत सेक्टर बी- का सेक्टर हेडको रोहबरमा गुमानेलाई उसको बाबुको किरिया गर्न थानाबाट मुक्त गरिँदैछ । तर, किरिया सकेको भोलिपल्ट उसले स्थानीय वनविनाश गरेको क्षतिपूर्तिस्वरूप पाँच हजार नगद जरिमाना तिर्नु पर्नेछ । यसो नगरेको खण्डमा उसलाई बिनापूर्जी पक्राउ गरी जेल चलान गरिनेछ ।”
फेरि पनि ऊ बाबुको काजक्रियामा बसेको बेला स्थानीय वनसमितिका मानिसहरु सयौंचोटि गुमानेको छाप्रोमा आइरहे । एक बेलुकी म उसको घर पुगेको बेला गुमानेले भन्यो,“हैन दाजै तपाईंलाई कस्तो लाग्छ ? नेपालका नेपाली दाजु-भाइहरुले हामी शरणार्थीलाई के सम्झिन्छन् हँ ?” मसँग गुमानेको प्रश्नलाई छोटकरी उत्तर दिने कुनै उपाय थिएन । गुमानेसँग त्यो बेलुकी मसँग भएको कुराकानी अनुसार वनसमितिका मानिसहरु गुमानेलाई कहिले धम्क्याउँथे त कहिले आफ्नो खेती उकास्नलाई एकवर्ष हलुवा बसिदिन राजी भएमा मुद्दा सजिलै मिल्ने वा जरिमाना पनि तिर्न नपर्ने शर्त राख्नथाले । उसलाई थाहा थियो; नेपालका सबै मान्छे शरणार्थीलाई हेयदृष्टि राख्ने, कुबुद्धिमात्र छैनन् । समाज, न्याय, साहित्यिक-सांस्कृतिक तहमा सहकार्य गर्ने र सद्भाव राख्ने भद्र-भलाद्मी र मानवतावादी सज्जनहरु पनि छन् । तर, शिविर वरिपरि त्यस्ता मान्छे अल्पमतमा परेका छन् । अनि शिविरमा पनि कहाँ सज्जन, भलाद्मीमात्र छन् र ! आफूजस्तै मर्म भोगिरहेका अरु शरणार्थीमाथि दूरव्यवहार गर्ने, चोरीचकारी, डकैतीसम्म शिविरमा नचलेका हैनन् । गुमानेको निष्कर्ष थियो, जुनसुकै मानवसमाजमा खराब पक्ष र सुदृढ पक्ष हुन्छ । यिनकै बीचको खिचातानी र असन्तुलित द्वन्द्वले समाजलाई कहिले अघि बढाउँछ, कहिले पछि धकेल्छ । कुरो जे भए पनि मुद्दाको जरिमाना तिर्न गुमानेले कसैको हली बसेर स्वभिमान गुमाउन चाहेन । बरु आमाले पोल्टोभरि छोराछोरीको माया पालेर गिटी कुटी कमाएको आनासुकी र स्कूल छुट्टीको बेला बाटो खन्न गएर कमाएको आँसुसरि पैसाले किनेको नयाँ साइकल बेच्यो उसले जरिमाना तिर्नलाई ।
लोग्नेको निधन, छोरोलाई मुद्दा, जरिमाना, शिविरको चरम गरिबी, आफ्नै पनि वृद्धावस्था आदि कुराले हुनुपर्छ यतिखेरै उसकी आमा पनि सिकिस्त बिरामी परिन् । आमालाई आम्दा अस्पताल लिएर गएको गुमाने पाँच दिनसम्म शिविर फिरेन । आम्दाबाट उतै आमालाई बिराटनगर ‘रेफर’ गरिदिएकाले ऊ शिविर फिर्न पाएन । पाँच दिनपछि शिविर फर्किँदा यता आरसीयू-ले आफूलाई जानकारी नगराई शिविर बाहिर गएको निहुँमा उसको शरणार्थी राहत कट्टा गरिदिएछन् । आरसीयू-को मा जाँदा सुटुक्क टेबलमुनिबाट पाँच हजार नदग बुझाए राशन उठिहाल्ने आदेश पायो गुमानेले । साइकल बेचेर आएको केही रकम र आमाको पोल्टाबाट निस्केको पैसा जरिमाना तिर्दै सकिएको थियो । आरसीयूको खल्ती भर्ने पैसा भएन । टुम्टुम् चलाएर दाना-दाना जोहो गरी साँची राखेको दाल र मट्टीतेल बेच्दै पैसाको दुखेसो टार्ने सेक्टर ‘ए’ की बैदारनी आमै (उहिले दक्षिण भूटानका राजा स्वःकुमार साहेबले अर्दली राखेका दलमान राईकी श्रीमतीलाई दलमान सोर्गे भएपछि पनि सबैले बैदारनी आमै भन्थे)- लाई ऋण माग्यो मुमानेले र आरसीयूको खल्ती पनि भरिदियो । उसले पोहोर साल स्कूल छुट्टी हुँदा पनि नेपालको गोर्खा जिल्लामा बाटो खन्न गएर फिर्दा यसरी नै आरसीयूको खल्ती भरेर राशन उठाउनुपरेको थियो । उसले त्यति नगरोस् त स्कूल जाँदै गरेका मसिना दुई भाइको पढाइमात्र होइन, जिउने बाटै टुट्छ । यसरी राशन उठायो गुमानेले अनि आमालाई भनिराखेर बैदारनी आमैको ऋण तिर्ने पैसा कमाउन हिँड्यो फेरि परदेश बाग्लुङतिर बाटो खन्ने काममा ! उसलाई बैदारनी आमैको ऋण तिरेर अलिकति पैसा आरसीयूको खल्ती भर्न बँचाउनुपर्छ भन्ने पनि थाहा थियो ।
सात कक्षामा पढ्दै गरेको जेहन्दार विद्धार्थी गुमानेको पढाइ यसरी नै टुट्यो । मैले कतिपटक उसलाई पढाइ नछोड्न अर्ती-उपदेश गरें । भूटानमा विगतको आन्दोलनताका शहीद बनेका सपूतहरुको स्मृतिमा पुनर्वाश योजनान्तर्गत पश्चिमा मुलुक पुगेका भूटानी दाजु-भाइहरु मिलेर खोलेको ‘पूण्य फाउण्डेशन’ भन्ने संस्थाले गरीब तथा जेहन्दार विद्धार्थीहरुलाई आर्थिक सहयोग जुटाइदिने कुरा पनि सुनाएँ । ‘पूण्य फाउण्डेशन’का प्रतिनिधिहरु क्रमशः झापा र काठमाडौमा पत्रकारद्वय श्री तीलक निरौला र विद्धापति मिश्रसँग भेटेर कुरा राख्न सल्लाह दिएँ । तर, उसले त्यति सहयोगले परिवारको आर्थिक भार थेग्न नसक्ने, बैदारनी आमैको ऋण तिर्न नमिल्ने बताएर आफ्नै सूर छोडेन ।
यसरी परिबन्दले नेपालको विकासकार्यमा जुटेको गुमाने धेरै महिनासम्म शिविर फिरेको थिएन; धेरैवर्षपछि आज एक्कासी अमेरिकाको एक्रोनमा मेरा अघि उभिन आइपुगेको थियो । पत्तै नपाई हामी बसेको धेरै समय भइसकेछ ! मलाई आयोजित सो कार्यक्रममा वक्ताहरुले राखेको विचार र सुझावभन्दा पनि गुमानेसितको वार्तालाप नै महत्वपूर्ण लागिरहेको थियो । किनभने त्यो आत्महत्यालाई निरुत्साहित गराउने प्रयासस्वरूप एउटा सांगीतिक कार्यक्रम थियो तर, अर्कोपटि एकपटक आत्महत्याको मुखमा पुगेर फिरेको गुमाने थियो । यसो भन्दै गर्दा पाठकहरुले कार्यक्रमको अवमूल्यन गर्न खोजिएको नबुझी विषयको तुलनात्मक मूल्यांकन मात्र बुझिदिने आशा मैले लिएको छु । कार्यक्रमले विशेष रूपमा आत्महत्या गर्नु भनेको एक्लो जीवनको अन्त्यमात्र नभएर समग्र परिवार र समाजकै बर्बादी हो भन्ने सन्देश बोकेको एउटा म्यूजिक भिडियो सार्वजनिक गर्ने उद्देश्य राखेको थियो । जुन काम अत्यन्त सफलतापूर्वक भइरहेको थियो । अभूतपूर्व संख्यामा दर्शकहरु भेला भएका थिए । सो म्यूजिक भिडियोको समीक्षा र मूल्यांकन समयमा हुने नै छ । अहिले नै सो कार्यक्रमलाई खोटी देखाउने प्रयास गर्नु मूर्खता हो ।
यद्धपि यहाँ गुमानेसितको भलाकुसारी र कार्यक्रमको तुलना गरिँदैछ । कुनै पनि कार्यक्रममा बढी औपचारिकताहरु हुन्छन् । भन्नैपर्ने भनेर तोकिएका, छानिएका शब्द र वाक्यहरु हुन्छन् । गीत-संगीत पनि लय र धूनमा आबद्ध हुन्छन्, सरल व्यावहारिक शैली हुँदैनन् । तर, गुमानेसँग मेरो कुराकानी सहज, सरल र अति स्वाभाविक । मेरा अनन्य मित्र रुप पोखरेलको “बाँच्ने आधार” शीर्षकीय कथा पढेपछि गुमानेको विवाह भरखरै भएछ भन्ने ज्ञान पनि मलाई भएको थियो । उसलाई सुखद दाम्पत्य जीवनको कामना व्यक्त गर्न सोच्तैमात्र के थिएँ गुमानेको गोजीमा फोनको घण्टी बज्यो । हत्तपत फोन झिकेर बोल्नथालेपछि एकाएक उसको मुद्रा फेरियो; म पनि झस्कें ।
उसको फोनमा आएका पाको उमेरकी स्त्रीसूलभ शब्दहरु कता कता मेरा कानसम्म पनि ठोक्किन आइपुग्दै थिए, “घर कइले आउँछस् ? छुट्टीको बेला यसो मलाई साइँला काका घराँ पुऱ्याइदेलास् भन्या थें । बुहारी पनि घरको सौदा गर्न बजारतिर लागिन्, म घराँ एक्लै छु ।” आफू आजै घर आइपुगेर आमालाई साइँला काका ‘काँ’ पुऱ्याइदिने बताएर फोन राख्यो गोजीमा । “आत्महत्या रोक्न प्रयास गर्ने कार्यक्रमबारे सुनेर आफ्नो कथा पनि सुनाउँ भन्दै आ’थें दाजै; बेलामा आयोजकहरुलाई भेटेर कुरो राख्न पाइनँ । तर, मलाई लागेको कुरो यो काम सबैले आ-आफ्नै परिवारबाट शुरु गर्नुपर्छ । पारिवारिक मिलन र सद्भाव, सुसंस्कृत सामाजिक व्यवस्था रहेमात्र यो समस्याको न्यूनीकरण सम्भव देखिन्छ दाजै मेरो विचारमा । केही रुढीवादी चलनहरु मासेर हाम्रै पूर्वेली सभ्यता अनुसार हाम्रो समाजलाई बँचाउनुपर्छ । यहाँको व्यक्तिवादी संस्कारमा समाज पस्यो भने आत्महत्या रोकिने हैन, स्टेजका भाषण र गीतहरु चलिरहन्छन् आत्महत्याको निरन्तर सिलसिलासँगै ।” गुमाने विषयमा यति गम्भीर कुरा गर्नसक्ने भएकोमा अचम्म परें अनि भित्रभित्रै गर्वित पनि भएँ । उसले मेरो छेउ मर्म पोख्तै यति भन्यो र हिक्हिकियो भित्रभित्रै तर, बाहिर खुलेर रुनसकेन । टि.पी. मिश्रको ‘सुसाइड नोट’ पहिले नै पढिसकेकाले ऊ किन यसरी भावुक भयो भन्ने कुराको अनुमान गर्न मलाई गाह्रो भएन । यसैलाई भनेहोलान् बुढा-पाकाले, “छोरो मान्छेको मन बलियो हुन्छ; त्यतिकै रुँदैन । पीडालाई उसले अठोटमा बदल्छ र, संघर्ष गर्दछ ।” तर, भित्र मन कुँडिएर पोलेको व्यथा र घातहरु कसले बुझ्नसक्ला ! आखिर छोरी होस् या छोरो मान्छे, मानवीय संवेदना त दुवैको एकै हो !
गुमाने र म भाग २