घायल त्यो  मातृभूमि 

वासु पोख्रेल
ओहायो, अमेरिका

 

सुनसान त्यो मेरो मातृभूमि
बाढी, पहिरो र चट्याङको चपेटामा परेको छ
धुवाँ, धुलो र प्रदूषणको प्रकोप बटुलेको छ
बटुवाहरू बसी बियाँलो गर्ने वर-पिपलमा
योद्धाहरू युद्ध गर्ने योजना बुन्छन्
भाउजू र बुहारीहरूको सिन्दूर पुछिँदै छ
चेलीहरूको चोली च्यातिन्छ
सुनसान त्यो मेरो मातृभूमि
वैरीहरूको निसाना बन्दै छ ।
बम, गोला र बारुदको आवाज सुनिन्छ
पानी चुहिने ती बलेसीहरुमा
रगतका थोपा चुइदैछन्
घायल त्यो मेरो मातृभूमि
झन् झन् घायल बन्दै छ ।
सुन्दै छु,
गोधुलीमा गीत गुनगुनाउने गौँथलीको
गला निमोठिएर  आजभोलि चुपचाप छन् रे ।
साँझपख झगडिया  स्वरूपमा
मेलमिलापको दर्शन दर्साउने
ती बाँसघारीका चरीहरूको वासस्थान बढारिएको छ ।
गोठ खर्कको गोठालो सुत्ने गोठमा
चन्दा माग्नेको घुइँचो लाग्छ ।
लसुनको बोटमा सुन फलाउने आदेशको पालना नभएको भन्दै,
बेसी, भञ्जयाङ र कुञ्जनीका किसानको कर बढेको छ ।
प्राकृतिक बर्को ओढेर बिस्तारामा जाने,
सुनसान त्यो मेरो मातृभूमि
आज भोलि अनिदै छ ।
 राष्ट्रिय पोसाक र बहुमूल्य पुस्तकको
खरानीको थुप्रोबाट आएको तातो रापले जलिएका
ती निम, तुलसी र सुन्तलाका बोटहरू
अझै पाउलिएका छैनन्,
हिम चुलीको हिउँ पग्लिएर बगेको
आँसुको भेलले तराईका टहराहरू
चुर्लुम्म डुबेका छन् ।
सुन्दै छु,
अमला भीरमा डाले हान्न गएका घाँसेहरू,
टारी खेतमा रोपाई गर्न गएका रोपारहरू,
चिप्ले ढुङ्गा वरपर दाउरा बटुल्न गएका दाउरेहरू,
तीन दशक बिती सक्ता पनि अझै फर्केका छैनन्
काख रित्तिएर  घायल बनेको त्यो मातृभूमि
झन् झन् घायल बन्दै छ ।
लौ अब हाम्रो काँधमा आइपरेको छ
नयाँ युद्ध विराम गर्नु छ
स्वतन्त्रताको जग बसाल्नु छ
तातो खरानी भुमरीलाई किनारा लगाउनु छ
घायल त्यो मातृभूमिलाई मलमपट्टी गर्नु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *