चुरोटे केटो
जे एन दाहाल
अमेरिका
मान्छेले सम्मान युक्त कार्य गर्दा कुनै पद पाउँछ । कुनै तक्मा पाउँछ । कुनै पुरस्कार पाउँछ ।
ठिक त्यही तरिकाले मान्छेले गलत काम गर्दा समाजले व्यङ्ग्यात्मक टाइटल झुन्डाइ दिन्छ । त्यस टाइटललाई ट्याग भन्न पनि मिल्ला । यस्तो कुनै टाइटल जो पाउने स्वयं थाहा हुन या नहुन पनि सक्छ । सम्भावना आधा आधाको छ ।
जति बेला म चुरोट खान्थे त्यो समय एउटा टाइटल पाएको थिएँ —चुरोटे केटो । त्यो गोलधाप शरणार्थी शिविरमा बस्दा छिमेककी आन्टीले दिएको टाइटल थियो । खास गरी साँझको समय सुनारको दोकानमा, शिविरका बाक्ला छाप्राबिच सानो चेपमा बसेर चुरोटको धुवाँ उडाउँदै थिएँ । भित्रबाट पुरुष आवाजले ‘बाहिरको हो’ भनेर सोधेका थिए । छिमेकी आन्टीले भित्रको पुरुष आवाजलाई ‘चुरोटे केटो हो’ भनी फर्काएकी थिइन् ।
त्यो चुरोट तान्ने उमेरमा म १८ वर्षीय केटो थिएँ । सायद उमेरको त्यही फेरो समाएर आन्टीले त्यो ट्याग भिराएकी हुन सक्छिन् । जुन कुरा अहिले सम्झिएर हाँस्दै संस्मरण गर्दै छु । चुरोट खानु मेरो व्यक्तिगत इच्छा थियो । तर त्यस दिन म यही कारण ‘चुरोटे केटो’ गनिएको थिएँ । अर्थात् धुवाँको बादल मुखमा पुर्याएकाले पाएको टाइटल थियो त्यो।
तर चुरोट सल्काउने प्रत्येकले यस्तो टाइटल पाउँदैनन् होला या पाएको चाल पाउँदैनन् पनि होला । यस मानेमा म आफैँलाई भाग्यमानी ठान्छु, आफ्ना बारे कसैले भनेको नकारात्मक कुरा सुने, बुझेँ र स्वीकार पनि गरेँ । धेरैमा त्यो केलाउने, आत्म समीक्षा र आत्मसात् गर्ने क्षमता पनि हुँदैन ।
यसको मतलब चुरोट नखाने प्रत्येक सर्व गुणी हुन्छन् भन्ने पनि होइन । चुरोट नलिँदैमा ज्ञानी र विद्वान भइन्छ भन्ने पनि होइन । तर यो चाहिँ भन्न मिल्छ, जो चुरोट सेवन गर्दैनन् उनीहरूले आफूलाई गलत आदतमा प्रवेश गर्नबाट वञ्चित गरे । जे गरे तिनले आफ्नो स्वास्थ्यका लागी सही गरेका हुन् जसलाई म सलाम गर्छु ।
चुरोटको यतिका गन्थन गरेपछि सोध्न मन हुन्छ आखिर चुरोट के हो ? यो प्रश्न एउटा भलाद्मीका लागी अनुत्तरित लाग्न सक्छ । यसको सही उत्तर चुरोटको धुवाँले डढेको ओठ र जलेको मुटुले नै दिन सक्छ । खराब आदतमा लिन भएकाहरूलाई चुरोट सप्पै थोक पनि लाग्दो हो । म आफ्नै अनुभवले भन्छु हानिकारक निकोटिन बाहेक चुरोट केही विशेष वस्तु होइन ।
मेरो लागी चुरोट भनेकै सिगरेट हो । सिगरेट नै चुरोट हो । अर्थात् कागजले बेरिएको सुर्तीजन्य खोल नै चुरोट या सिगरेट हुन् । नेपाली होस् या अङ्ग्रेजी भाषा मात्र फरक – चुरोट र सिगरेटको अर्थ उही, भाव उही, प्रयोग र निर्माण पद्धति पनि उही हो।
ओठबाट फोक्सोसम्म हजारौँ चुरोटको धुवाँ पुगेको अनुभवी भएकाले यो पनि बताऊँ सिगरेट भोक होइन । सिगरेट प्यास होइन । सिगरेट अनिवार्यता होइन । सिगरेट आवश्यकता पनि होइन । सिगरेट पिउनु खराब आदत हो । आदत परिवर्तन हुन सक्छ /गर्न सकिन्छ । अथवा उक्त कुरा सेवन गर्ने निजले चाहँदा आदत परिवर्तन हुन्छ ।
मैले यस अघि नै भनी सकेँ चुरोट धूम्र पान हो । धूम्र पान कसैले सेवन गर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा भयो । म त्यसमा दखल पुर्याउँदिन । तर देवकोटाले चुरोट खान्थे भन्दै लेखक बन्न चुरोट खान्छु भन्ने मान्यता गलत हो ।
अँ लेखकका कुरा आउँदा नै सम्झिएँ – बजारमा केही लेखकका कृतिमा पनि धूम्रपान र मद्यपानको गन्ध आएको पाइन्छ र अझै आई पनि रहेका होलान् । तर लेखकका उक्त विषयको उठान मैले सामान्य नै लिएको छु । किनकि आधुनिकीकरण समाजमा धूम्रपान विहीन एउटा फरक संसार कल्पनामा मात्र ल्याउन सकिन्छ । अझ यसो भनौँ विश्व त्यो दिसातिर जाने सङ्केत किन किन देखिएको छैन । हुनसक्छ समाज यस्तै भएकाले केही ती लेखनमा धूम्रपान र मद्यपानको गन्ध आएको हो । भलै यो दुर्गन्धलाई ती वस्तु सेवन गर्नेले मान्छेले सुगन्धको रूपमा लेलान् । तर निबन्धकारको मूल आशय त्यो होइन। त्यसरी बुझ्न/ हेर्न मिल्दैन ।
अठार वर्षीय शरणार्थी शिविरको बसाइ पछि सिगरेट तान्ने बानी आफूसाथै लिएर अमेरिकामा पाइला टेक्छु । यहाँ त गैँडा, खुकुरी, शिखर होइन मार्लब्रो, न्युपर्ट, पलमल, क्यामल आदि ज्यादै चल्दो रहेछ ।
जसरी झापामा हुँदा तान्थेँ ठिक त्यही तरिकाले अमेरिका टेकेर फेरी मैले चुरोट तान्न थालेँ। उही मान्छे, उही स्वभाव र उही आदत भएकाले केही परिवर्तन भएन । औँलाका बिचमा च्यापिएको मार्लब्रो चुरोटको धुवाँ उडुवा बादल बनेर मुटुसम्मको यात्रा तय गर्छ र नाकबाट फुस्स निस्कन्छ । त्यसपछि लाग्यो खुकुरी चुरोटको स्वाद ठ्याक्कै ‘मार्लब्रो’ जस्तो । नाम र प्रोडकको ब्राण्डीङ, प्याकेजीङ फरक तर नसामा केही अन्तर छैन । निकोटिनको उही नसा लाग्यो ।
एउटा पुरानो समय थियो, मान्छे सुर्ती किन्थे र मकैको खोसेला या सेतो कागजमा भरेर तान्थे । बजारीकरणसँगै पछि बिँडी आयो । त्यसपछि चुरोट र अहिले चार्ज गरी तान्न मिल्नेलाई ‘एलेट्रोनीक सिगरेट’ भन्छन् । अरे वाह ! आधुनिकतासँगै चुरोटको उत्पत्ति, आकार र प्रकार तीव्र रूपमा बढ्दो छ ।
तर बढ्दो अवस्था छ भन्दैमा म चुरोट तान्नुलाई समर्थन गर्दिन । विगतमा आफूले चुरोट तानेँ भन्दैमा दोस्रो व्यक्तिलाई चुरोट तान्न प्रेरित पनि गरिन । केही लहडले, केही सङ्गतले, केही पिडाले, केही करकापले चुरोट तान्दा हुन । जाँड, रक्सी, विदेशी बियर या भोड्कामा पनि यी कुरा लागु हुँदो हो । सायद यस्तै कुरा गाँजाको लतमा पनि लागु हुन्छन् । तर कुनै पनि समाजमा गएर कसैलाई चुरोट तान्न हौसाउनु या उक्साउनु हुन्न यो सही काम होइन ।
मैले फेरी चुरोटे केटो भनिएको सम्झिए । अँ एउटा कुरा ख्याल गर्नुहोस्, चुरोट पिउने आदत भएको व्यक्तिले दोस्रोलाई व्यक्तिलाई ‘चुरोटे’ भन्ने सम्बोधन गरिएको कहिले सुनिँदैन । सायद यस्तो व्यवहार उक्त व्यक्तिलाई तिरस्कार या हेय भावको लाग्न सक्छ ।
कोही ‘चुरोटे’ शब्दको प्रयोग गर्छ भने, यो बुझे हुन्छ उसले चुरोट तान्दैन । या तानेर पछि उसले छाडेको भलाद्मी हुनुपर्छ । तर चुरोट तान्दै गरेको आकृति हुन सक्दैन ।
सबैलाई थाहा छ सिगरेट तान्नु स्वास्थ्यको लागी हानिकार छ । आफ्नै अनुभवले यो भन्न सक्छु सिगरेट तान्ने समय, त्यसले स्वास्थ्यमा पुर्याउने हानिमा ख्याल गरिँदो रहेनछ । त्यसको लतमा लागेपछि मान्छेले आफू बाहेकको कुरा सुन्ने पक्षमा हुँदैन । सोच्दैन र त्यता ध्यान पनि पुग्दैन ।
चुरोट केही मान्छे खाना अघि खान्छन् । केही खाना खाए पछि धुवाँ तान्न भनी निस्कन्छन् । जसरी खाए पनि क्षणिक आनन्द हो । प्रत्येक सिगरेट तनाइ र साथीहरूसँगको गफमा कम्तीमा दश देखि पन्ध्र मिनेटको समय चट हुन्छ। कहिले काहीँ त घण्टौँ बसेर गफिँदा दुई तिन वटा चुरोट पनि सल्किएका छन् । हात हल्लाउँदै मच्चिएर फाल्तु गफ र व्यर्थै समय काटेको सम्झँदा पश्चात्ताप लाग्छ।
सिगरेटमा, खास गरी धुवाँका लागी पैसा खर्च भएकोमा कुनै पछुतो छैन। तर समय र शक्ति त्यो सिञ्चित गर्न मिल्ने भए कुनै पोटान्सियल काममा लगाउने थिएँ भन्ने विचार आइजाइ गरी रहन्छ। त्यो ऊर्जा फगत गएकोमा पश्चात्ताप गर्छु ।
मान्छेले बुझेको छ तान्नु छोटिनु हो । चुरोट होइन— आयु ! एक दिन चुरोटको क्षणिक आनन्दले शरीर कमजोर भए जस्तो महसुस भयो । त्यही आनन्द पनि आफूले चुरोट खान्छु भन्नु भ्रम मात्र हो, वास्तवमा चुरोटले आफूलाई खाइ रहेको हुन्छ। यही सोचाइले मैले बिस्तारै चुरोट छाडेँ निर्णय लिएँ । मनमनै सङ्कल्प गरेँ । त्यो पुरा पनि भयो । तर खराब आदतले चाँडै कहाँ छाड्न दिन्छ । दृढ सङ्कल्प, छाड्छु भन्ने अठोट र प्रतिबद्धता मस्तिष्कमा हजार पल्ट ट्रिगर गरेको हुनुपर्छ ।
त्यसपछि मात्र यो आदतमा लिन भएकाले छाड्न सक्छ । नभए यो निबन्ध पढ्ने, मनोरञ्जन लिने र केही क्षणमा बिर्सिने यही हुनसक्छ । चुरोट पिएर या पिउने बहानामा मैले धेरै साथी बनाएँ वा बनिए होला । बडो खुसीको कुरा चुरोट आफैँ मेरो साथी अब रहेन ।